खेलकुद

प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन चैत २६ मा

इकागज |
चैत १८, २०७८ शुक्रबार १५:२१ बजे

काठमाडौँ – प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले चैत २६ गते चितवनको भरतपुर महानगरपालिकामा प्रज्ञा स्मृति भरतपुर साईक्लिङ म्याराथन आयोजना गर्ने भएको छ । 
काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतिष्ठानकी निर्देशक गंगा दाहालले प्रतियोगिताबारे जानकारी गराएकी हुन् ।

दाहालले क्यान्सर पीडितहरुलाई सहयोग गर्न, युवाहरुलाई साईक्लिङमा प्रोत्साहन गर्न तथा चितवनमा यस खेलका प्रतिभा पहिचान गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताइन् । साईक्लिङ म्याराथन ६० देखि ७० किलोमिटरसम्मको हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एलाईट, मास्टर र भरतपुर विशेष विधा रहेका छन् ।


एलाईटतर्फको विधामा १९ वर्षमाथिका महिला तथा पुरुषले सहभागिता जनाउने पाउनेछन् । यस विधाका महिला तथा पुरुषतर्फको शीर्ष १० स्थान हात पार्नेले क्रमश ४५ हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने प्रतियोगिताका सहसंयोजक रविन्द्र श्रेष्ठले जानकारी गराए । 

मास्टरतर्फ ३० वर्षमाथि तथा ५० वर्षमाथिका पुरुषबीच प्रतिस्पर्धा हुने तथा दुबै विधाका शीर्ष तीन स्थान हात पार्नेले २० हजार, १८ हजार र १० हजार प्राप्त गर्नेछन् ।भरतपुर विशेष अन्तर्गत महिला तथा पुरुष दुबै विधाका विजेता, उपविजेता तथा तेस्रो हुनेले क्रमश २० हजार, १५ हजार र १० हजार पुरस्कार पाउनेछन् । 

करिब १ सय ५० जनाको सहभागिता रहने प्रतियोगिताको रेस नारायणीतिर पुल्चोक हुदै शिवघात, सिद्धिगणेश मन्दिर, राधाकृष्ण टोल, मदन भण्डारी टावर, ज्योतिनगर मेघौली, प्रचन्डपथ हुदै अम्रित चोक, विशाल चोक, पार्वतीपुरबजार, प्रचण्डटोल, गीतानगर, देवनगर, तारेघुम्ती, बाईस विघाबजार, एयरपोर्ट हुँदै नारायणीतिर पुल्चोकमा अन्त्य हुनेछ ।  

प्रतियोगिताका लागि ४२ लाख ७३ हजार ३ सय रुपैया खर्च हुने अनुमान गरिएको छ ।  
 


Author

थप समाचार
x