विचार

संसदीय संवाददाता डायरी : १५

लोकतन्त्रपछि दलहरू यसरी पसे पैसातन्त्रमा

हरिबहादुर थापा |
भदौ ९, २०७९ बिहिवार ८:१० बजे

संसदीय कालखण्डमा एक यस्ता कहलिएका व्यापारिक घरानाका पात्र थिए, जसले राष्ट्रिय सभा सदस्य हुने निरन्तरको धोको कहिल्यै पूरा गर्न पाएनन् । तिनले ‘जोड–बल’मा प्रस्तावक र समर्थकसम्म त पाउँथे, तर जित्ने मत कहिल्यै पाएनन् । त्यसो त, तिनले राजनीतिक दल र नेताहरूलाई ‘चिनी–चास्नीको स्वाद’ नचखाएका होइनन् । 

तर, उतिखेर ठूला दल तथा तिनका नेताहरू यतिखेर जसरी वरिपरि व्यापारी, बिचौलिया, दलालबाट घेरिएको देखाउन चाहँदैनथे, चुनावी चन्दा लिए पनि । त्यहीकारण संसदीय कालखण्डमा चिनी व्यापारी शंकरलाल केडियामा जागृत सांसदको दर्जा भिर्ने धोको कहिल्यै पूरा भएन । पुराना व्यापारिक घरानाका केडियासँग पनि राम्रै चन्दा लिन्थे, दिन्थे । तर ठूला दलले सांसदका निम्ति मत चाहिँ कहिल्यै दिएनन् ।


लोकतान्त्रिक कालखण्डमा मञ्चित दृश्य हेर्ने हो भने केडिया अलि चाँडो जन्मनु वा अलि छिटै मृत्यु हुनु उनैको दुर्भाग्य रहेछ भन्नुपर्ने हुन्छ । उनी लोकतान्त्रिक कालखण्डभित्र परेको भए, सांसद पदको दर्जा सजिलै मिल्ने मात्र होइन कि शासकीय ‘रजगज’कै मौका पाउने रहेछन् । 

बिचरा, केडिया । उनले लोकतन्त्र देख्नै पाएनन् । लोकतन्त्र आउनुपूर्व नै उनको निधन भयो । उतिखेर व्यापारी केडियाका ‘दुःख’ देखेपछि यतिखेर व्यापारीलाई सांसद पद सजिलै मिलेको देख्दा ‘बिचरा’ शब्द जोड्नुपर्‍यो ।

उनै केडिया संसदीय परिसरमा २०५० देखि २०५८ सम्म नेता–सांसदहरू खोज्दै या च्याप्दै यता–उता गरिरहेको दृश्य याद आयो । त्यो दृश्य विस्मृतिमै पुगिसकेको थियो, यतिखेरका राजनीतिकर्मी–व्यापारीहरूका घाँटी अति जोडिँदै र तिनको ‘जगजगी’ देख्दा याद गरायो ।

उनले राष्ट्रिय सभा सदस्य बन्न के मात्र गरेनन्, राष्ट्रिय सभा सदस्यका निम्ति चुनावको मिति घोषणा भएपछि उनी संसद् परिसर पुग्थे । अनि प्रस्तावक खोज्थे, समर्थक खोज्थे । उनलाई नेपाल सद्भावना पार्टीका अध्यक्ष र त्यसै पार्टीका सांसदहरूकोे अलिक बल मिल्थ्यो । त्यसैमा अधिक खुसी हुन्थे । 

शंकरलाल केडिया २०५४ असार ८ का दिन निकै खुसी देखिन्थे । त्यो खुसीको खास कारण चाहिँ उम्मेदवारीका निम्ति प्रस्तावक र समर्थक पाउनु थियो । उम्मेदवारी दर्तासँगै केडिया संसदीय संवाददाता खोज्दै सार्वजनिक लेखा समितिको कार्यकक्ष बाहिर आइपुगेका थिए । उनी भन्दै थिए, ‘प्रस्तावक र समर्थक पाउनु नै मेरो जित हो ।’ 

अब त राजनीतिकर्मीहरूले तिनै व्यापारीमार्फत् दलीय उम्मेदवारीको टिकटसमेत ‘किन्नुपर्ने’ दिन आउँदै छ । 
 

राष्ट्रिय सभा सदस्यका निम्ति प्रत्येक दुई वर्षमा चुनाव हुन्थ्यो, उनले २०५४ असारमा पहिलो चोटि उम्मेदवारी दिएका थिए । त्यो संसदीय कालखण्ड थियो, उनलाई कसले मत दिन्थे र ? त्यतिखेर त सांसदहरू व्यापारिक घरानासँग नजिक भएको समेत देखाउन चाहँदैन थिए, भूमिगत शैलीमा चन्दा लिनुबाहेक ।

राष्ट्रिय सदस्यका निम्ति प्रतिनिधि सभाका सांसदका मतदाता हुन्थे । अनि सांसदहरू नै प्रस्तावक–समर्थक पनि । राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभाद्वारा समानुपातिक प्रतिनिधित्व सिद्धान्तमा आधारित हुँदै एकल संक्रमणीय मतका आधारमा चुनिन्थे । 

केडिया प्रतिनिधि सभा सदस्यकै मतमा सांसद हुने रहर देखाउँदै उम्मेदवारी दिइरहन्थे । प्रतिनिधि सभा विघटनको सिकार नभएका बेला हरेक दुई वर्षमा असार महिनामा त्यसरी चुनाव हुन्थ्यो ।

हुन पनि त्यो दिन उनले आपूर्ति मन्त्री तथा नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहलाई प्रस्तावक बनाउन सफल भएका थिए । त्यतिखेर सद्भावना पार्टी चाहिँ अलि छिन्नभिन्न थियो । अनि केडियाले समर्थकमा एमालेकै सांसदहरू पाएपछि बेजोड खुसीमा थिए । उनलाई समर्थकमा एमाले सांसदहरू कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, यज्ञ न्यौपानेको हस्ताक्षर मिलेको थियो । 

अनि त्यसरी एमालेकै सांसदहरू समर्थक पाएपछि केडियाको खुसीले उचाइ लिनु स्वाभाविकै थियो । ‘हेर्नुस्, पत्रकारज्यूहरू’, उम्मेदवारी दर्तापछि केडियाले भनेका थिए, ‘मेरो त जित भइसक्यो । अब एउटा भोट नपाए पनि के हुन्छ र ? मैले प्रस्तावक र समर्थक पाउनु नै मेरो जित हो । उहाँहरूले मलाई जिताए उहाँहरूको अझै असल हुनेछ ।’

त्यो चुनावमा उनले कांग्रेस सांसदहरूसँग खुला रूपमा मत मागेनन् । उनी एमाले सांसदकै समर्थन पाएपछि मत पनि पाउँछु भन्ने विश्वास थिए । उनी एमाले महासचिव माधवकुमार नेपालसँगै मत माग्न पुगे । त्यतिखेर एमाले–राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रेमपूर्ण समीकरण चलेको थियो । एमालेले त राप्रपालाई खुसी पार्न आफ्नै उम्मेदवारलाई ‘बलिको बोका’ बनाउँदै थियो । त्यस्तो समीकरणका बेला केडियाले एमाले मत पाउने कुनै सम्भावना थिएन ।

केडियाले उम्मेदवारी फिर्ता लिएनन्, आँप चुनाव चिन्हसहित मैदानमा खडा भए । संसदीय संवाददाताहरूसँग भनिरहन्थे, ‘हेर्नाेस्, यो आँपको बिऊ ‘हात’ले रोपेको हो । अनि ‘सूर्य’ले हुर्काएका कारण आँप फल्नेछ ।’

प्रस्तावक सद्भावना पार्टीको चुनाव चिन्ह ‘हात’ थियो । समर्थनकर्ता एमालेको ‘सूर्य’ चिन्ह मिलाएपछि गतिलै ‘आँप’ फल्ने आशामा थिए । अनि केडियाले उम्मेदवारी दिएपछिका एक साता नेता–सांसद भेटमै बिताए । 

त्यसबीचमा उनले कति सांसदलाई ‘आँपको रस चुसाए’ भन्ने तथ्य चाहिँ बाहिर आएन । २०५१–२०५२ मा उनै केडियाले ‘लाइसेन्स’ पाएको लेबीको चिनी कारोबारले एमालेको अल्पमत सरकारलाई संकटमा पारेको थियो । एमालेभित्र खटपट ल्याउने कारक तत्वमध्ये एक चिनी प्रकरण थियो । भारत सरकारले कर छूटमा उपलब्ध गराएको सस्तो चिनीको कारोबार सरकारी स्वामित्वका संस्थानलाई नदिई केडियालाई दिएपछि प्रकरणकै रूप धारण गरेको थियो । संसद्कै सार्वजनिक लेखा समितिले चिनी प्रकरण छानबिन गरेको हुँदा संसद्का निम्ति केडिया नौला पात्र पनि थिएनन् ।

त्यहीकारण उनले उम्मेदवारी दिएपछि संसद् परिसरमा टीकाटिप्पणीका निम्ति मसला बन्ने भयो, ‘केडियाको चास्नीमा को–को डुब्ने हुन् ?’

उम्मेदवारी दिएको छ दिनपछि अर्थात् २०५४ असार १३ का दिन चुनाव भयो । अनि चुनावमा केडियाले चार मत पाए । चुनाव जित्न १७ सांसदको मत चाहिन्थ्यो । अब अर्काे जिज्ञासाको विषय बन्यो, ‘ती चार मतका कसका हुन् ? प्रस्तावक र समर्थकका हुन् कि अरूकै ?’ व्यापारिक घरानियाका पात्रले पाएको त्यो मतसँगै भएसँगै जिज्ञासा–टिप्पणी चल्ने नै भयो । 

सद्भावना पार्टीका गजेन्द्रनारायण सिंह र हृदयेश त्रिपाठीको दुई मत उनलाई पर्‍यो नै । एमालेले सांसदहरूका निम्ति ह्वीप जारी गरेको थियो, समर्थक भए पनि तिनले मत हाल्ने सम्भावना रहेन ।

‘अब बाँकी दुई मत कसको ?’ धेरैको आँकलन रह्यो, कांग्रेसबाट निस्काशित सांसदद्वय चक्रबहादुर शाही, दीपकजंग शाहको हुनुपर्छ । २०५३ फागुनमा शेरबहादुर देउवाले विश्वासको मत लिँदै गर्दा शाह–शाही फरार भएपछि सरकार गिरेको थियो । तिनीहरू फरार हुुनुमा ‘चलखेल’ कारण ठानिएको थियो । शाह–शाहीका कारण कांग्रेस नेतृत्वको सरकार ढलेपछि उनीहरू निष्काशनमा थिए । त्यहीकारण तिनकै मत चिनीमा घोलिएको हो कि भन्ने आशंका व्याप्त रह्यो । यद्यपि कतैबाट छानबिन चाहिँ भएन ।

अर्थात् केडियाले हार्दा पनि चासो र जिज्ञासा चाहिँ रहिरह्यो । उता केडियाको उम्मेदवारी दिँदाको त्यो खुसी पनि मतदान परिणाम घोषणा भएसँगै सकियो ।

त्यसो त, केडिया २०५० असार १३ को चुनावमा पनि नेपाल सद्भावना पार्टीकै समर्थनमा उम्मेदवार बनेका थिए । त्यतिखेर चाहिँ उनी चर्चाका पात्र थिएनन्, किनभने चिनी प्रकरण संसद्सम्म पुगेको थिएन ।

२०५२ असारमा चुनाव हुन पाएन । किनभने त्यतिखेर एमालेले प्रतिनिधि सभा विघटन गराएको थियो, त्यसविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन थियो । २०५२ भदौमा एमाले सरकार गिरे पनि संसद् परिसरमा चिनी प्रकरणको राप–ताप थियो नै । त्यहीकारण २०५२ कात्तिक २७ को चुनावमा चाहिँ उनले उम्मेदवारी दिएनन्, त्यसरी उनले उम्मेदवारी नदिएपछि सद्भावनाले मत दिन ठाउँ नै मिलेन ।

उनको सांसद् चाहना थियो होला, २०५६ असार २६ को चुनावमा पनि । तर ‘परिबन्द’ले उम्मेदवार दिएन । किनभने त्यो चुनावमा त उनका दरिला समर्थक सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह स्वयं उम्मेदवार बनेका थिए । सिंह २०५६ को संसदीय निर्वाचनमा सप्तरी–२ मा पराजित भएका थिए । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकै ‘चाहना’मा सिंह राष्ट्रिय सभा सदस्य उम्मेदवार बने । कांग्रेसकै मतमा विजयी पनि भए । ठूला नेतालाई संसद्बाहिर राख्दा समस्या सिर्जना हुन्छ भन्ने रणनीति मुताबिक सिंहलाई सांसद बनाएको टिप्पणी राजनीतिक वृत्तमा व्याप्त थियो । सिंहको उम्मेवदारीले केडियाको उम्मेदवारीलाई प्रभावित ग¥यो नै ।
चुनावी लत । २०५८ असारमा चुनाव हुँदै गर्दा फेरि त्यसरी नै केडिया उम्मेदवारी दर्ता गराउन आइपुगे । २०५८ असार ३ का दिन राष्ट्रिय सभा सदस्यका निम्ति उम्मेदवारी दिएपछि संवाददाता खोज्दै लेखा समितिमै आइपुगे । उनलाई नेपाल सद्भावना पार्टीका सांसद साथ समर्थन थियो ।

उम्मेदवारी दिएपछि संसदीय संवाददाताहरूसँग भनिरहेका थिए, ‘मलाई हरेक दलले सहयोग गर्छन् । मैले समाजसेवी–उद्योगपतिका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।’ 

उम्मेदवारी दिएसँगै संसद् परिसरभित्रै पार्टीका नेता/सांसदसँग हार–गुहार गर्न पुग्ने नै भए । उम्मेदवारी दिएपछि संसद् परिसरमै प्रत्येक सांसदहरूलाई नमस्ते गरिरहेका हुन्थे । उनी मौखिक रूपमा मत प्राप्तिको आश्वासन खुबै पाउँथे ।

राष्ट्रिय सभाको चुनावमा २०५८ असार १३ मा मतदान हुँदा सबभन्दा बढी राजनीति राष्ट्रिय प्रजातन्त्र पार्टीमा देखियो । त्यो पार्टीमा आधिकारिक र विद्रोही उम्मेदवारबीच झगडा चर्किएको थियो । त्यही झगडाबीच केडियाले राप्रपाको एक मत पाए । अनि चासो टिप्पणीको विषय हुने नै भयो, ‘केडियाले राप्रपामा कसको मत पाए ?’ 

तीन चोटि प्रतिस्पर्धामा रहँदा पनि केडिया सांसद बन्न चाहिँ पाएनन् । बरु व्यापारिक पृष्ठभूमिका लक्ष्मीदास मानन्धर २०५८ को चुनावमा एमालेबाट राष्ट्रिय सभा सदस्य चुनिन सफल भए । यद्यपि मानन्धर २०४८ कै चुनावमा उम्मेदवार बनेका थिए । तर त्यतिखेर कसैको समर्थन नपाएपछि पराजित भएका थिए ।

मुलुक २०६३ मा उदार लोकतान्त्रिक युगमा प्रवेश ग¥यो । त्यो लोकतन्त्र दलहरूका निम्ति मात्र नभई व्यापारिक घरानाका निम्ति ‘उदार चरित्र’मा परिणत भयो । २०६४ चैत र २०६५ वैशाखको उराठलाग्दो मौसम राजनीतिक आकांक्षा राख्ने व्यापारिक वर्गका निम्ति सुखद मौसम बन्यो । त्यसपछि व्यापारीहरूले शंकरलाल केडियाले जसरी ‘दुःख’ झेल्नु परेन । किनभने दलका नेताहरू औद्योगिक÷व्यापारिक घरानाका पात्र खोज्दै हिँड्न थाले ।

कांग्रेसले पनि दिवाकर गोल्छा भेट्यो, एमालेले विनोद चौधरी । अनि मालेले राजेन्द्र खेतानलाई युवा सांसद बनायो । अनि मधेसवादी दलले विमल केडियालाई औपचारिक पत्र नै पठाउँदै चुनावी खर्चसहित संसद्मा पुर्‍याए ।

उनीहरू मात्र होइन, धन भएका थुपै्र पात्र सांसद बने । बैंक, जलविद्युत्, मेडिकल, विद्यालय, सहकारी सञ्चालकसहित कमाऊ कम्पनीका नवधनाढ्य मालिकहरू सांसद बने । जोे संसदीय कालखण्डमा सांसद पद सोच्नसमेत सक्दैनथिए । 

राज्यलक्ष्मी गोल्छाको मुखारविन्दबाट कहिएको सांसद पदका निम्ति खर्चिएको सात करोड कहानी–किस्सा समाजका निम्ति सामान्य हिस्सामै सीमित रह्यो । सात करोडको सांसद खरिद–बिक्रीबारे कतैबाट छानबिन भएन । त्यसपछि एकपछि अर्काे चुनावमा व्यापारीहरूले नै दल र चुनावलाई कब्जामा पार्दै लग्ने नै भए ।

राज्यलक्ष्मी सांसद खरिद मूल्य घोषणा गरिन्, बाँकीले घोषणा नगरेका मात्र हुन् । सांसद पद, त्यसरी नै खरिद भएको हो, जसरी राज्यलक्ष्मी गोल्छाले गरिन् । सांसद खरिद भएसँगै नीति–कानुन व्यापारीकै पक्ष बनिरहेको छ, अर्थात् ती व्यापारीहरूले लगानी राम्रैसँग उठाइरहेका छन् ।

अब दलीय नेता र व्यापारिक घरानाका पात्रहरूको घाँटी यसरी जोडिएको छ कि एक शरीर दुई टाउका जस्ता लाग्छन् । यो दृश्य बाक्लिँदै गर्दा अब त बिस्तारै चुनावी टिकट दलीय नेताहरूले होइन कि व्यापारीहरूबाट वितरण (बेच्ने कर्म) हुन्छ । चुनावका बेला अथाह पैसा चाहिन्छ, त्यो पैसाको जोहो गर्ने वैध–अवैध क्षमता पनि तिनै व्यापारीसँग हुन्छ । 

नेता र तिनका परिवारका बेडरूमसम्म व्यापारी–बिचौलियाको पहुँच छ । अब दलीय मझौला खालेहरूले पनि आफ्ना नेताहरूलाई आमसभामा मात्रै देख्ने हुन् । अब त बिस्तारै राजनीतिकर्मीहरूले तिनै व्यापारीमार्फत दलीय उम्मेदवारीको टिकटसमेत ‘किन्नुपर्ने’ दिन आउँदै छ । किनभने शीर्ष नेताहरूलाई राजनीतिक पात्रहरूले होइन कि वैध–अवधै धनाढ्य–नवधनाढ्य कारोबारी वृत्तले घेर्दैभित्र पार्दै लगेको छ । 

अब यस्ता दृश्य झांगिँदै गर्दा राजनीतिकर्मीहरू चाहिँ संसदीय कालखण्डका शंकरलाल केडिया जस्ता हुन बेर लाग्नेछैन् । हेर्दै जाऊँ...।

र, पढनुहोस् डायरीका यसअघिका यी पाना :

डायरी- १४ : नेपाललाई ‘स्वीजरल्यान्ड’ बनाउने त्यो कानुनको कथा
डायरी- १३ : भ्रष्टाचारको जालो तोड्न खोज्‍ने मन्त्री जो आफैं पदमुक्त हुनुपर्‍यो

डायरी- १२ : ती होमनाथ दाहाल र यो संसदीय बेहाल

डायरी- ११ : २१ वर्षपछि पनि उस्तै नारा, उस्तै पारा

डायरी- १० : २४ वर्षअघि आजैका दिन प्रधानमन्त्री चन्दको मुखबाट ‘मुसा’ निस्केपछि...

डायरी- ९ : इतिहास दोहोरियो भने, कांग्रेस-एमालेबीच ‘मेल’

डायरी- ८ : माधव नेपाल- देउवा सरकार ढाल्नदेखि बचाउनसम्म

डायरी- ७ : विरोधको रिपोर्ट, रिपोर्टको विरोध : पुरुष सांसद सुत्केरी भएकै थिए त ?

डायरी- ६ : हृदयेशको हिन्दीले जब संसद्‌मा हंगामा भो

डायरी- ५ : सदनभित्र अमिलो-पीरो अनुहारमा भीष्म पितामह

डायरी- ४ : प्रधानमन्त्री देउवालाई विश्‍वासको दुई मत नपुगेपछि जे भयो

डायरी- ३ : यता सिंहदरबारबाहिर छत्तीसे कुरेको कुर्‍यै, उता प्रतिनिधि सभा विघटन

डायरी- २ : सकुशल उपसभामुख महन्थ ठाकुरलाई ‘स्‍लाइन पानी’ दिएपछि...

डायरी- १ : प्रधानमन्त्री कोइरालालाई ‘पानीमा विष’ पिलाएको शंकापछि...


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x