शैक्षिक गुणात्मकता र विश्वास आर्जनसम्बन्धी १५ समस्या/चुनौती
उच्च शिक्षा व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षा केन्द्र केन्द्रित नीतिमा सञ्चालित छ । केन्द्रीय तहबाट स्वास्थ्य क्षेत्र पूर्वाधार विकास र विस्तार जस्ता कार्यहरू निरन्तर भइ रहेका छन् । प्रादेशिक तहका उच्च शिक्षा व्यवस्थापनका प्रयासहरू पनि मननीय तथा ध्यान दिन योग्य छन् ।
उच्च शिक्षाका प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रको विस्तारमा धेरै सकारात्मक उपलब्धि, सबलता र प्राप्तिहरू हासिल पनि भएका छन् । तापनि ऐतिहासिक कालखण्डदेखि आधुनिकतासम्मको नेतृत्वदायी विवि तथा क्याम्पसहरूको प्रगतिभन्दा दुर्गतिमा रूपान्तरण हुनाले उच्च शिक्षा व्यवस्थापनका पक्षमा समस्या र चुनौतीहरू धेरै देखिन्छन् । यी सबै पक्षमा उच्च शिक्षा क्षेत्रमा गहन अध्ययन, समीक्षा र विश्लेषण हुनु आवश्यक छ भन्ने देखाउँछ ।
राज्य तह, सरकारी क्षेत्र तथा सम्बद्ध संस्थाहरूबाट उच्च शिक्षाको क्षेत्रमा सामना गर्न परेका, भोगिएका तथा देखिएका समस्याहरू समाधान र निराकरणमा प्रशस्त काम हुन सकेको छैन ।
राज्य तहका नेतृत्वमा उच्च शिक्षाप्रति जुन किसिमको संवेदनशीलता र प्राथमिकता हुनुपर्ने हो, त्यो व्यवहार देखिएन । नेपाल जस्तो कृषि प्रधान र विविधताको मुलुकमा पनि प्राविधिक शिक्षाको प्राथमिकतामा स्वास्थ्य र इन्जिनियरिङ पठनपाठन तथा जनशक्ति उत्पादनलाई मात्र राखियो ।
अन्य विषयगत व्यावसायिक, पेसागत प्राविधिक विषयका क्षेत्रहरूलाई पूर्ण उपेक्षा गरियो । कृषि तथा पशुका प्राविधिक क्षेत्रलाई ओझेलमा पर्ने, पार्ने व्यवहार गरियो । यसैले कृषि, पशु, कृषि तथा पशुजन्य, वनविज्ञान जस्ता विषयका उत्पादनले बजार क्षेत्रमा आक्रामक उपस्थिति जनाउन सकेनन् ।
अर्कोतिर स्वास्थ्य र इन्जिनियरिङ जस्ता विषयका साथसाथै सबै विषय क्षेत्रमा ठूला उत्पादक र कार्य क्षेत्रका उत्पादित जनशक्तिहरूको सबैतिर वर्चस्व र दवदवा देखिन्छ । ती जनशक्तिले सेवामा रहेका पूरक साना समूह र कार्य क्षेत्रका जनशक्तिका उपसमूहलाई कुनै महत्व नदिने तथा निरुत्साहित गर्ने समस्या पनि नेपाली समाजमा विकराल छन् ।
यी सबै परिप्रेक्ष्यमा उच्च शैक्षिक निकायहरूको वितरण र व्यवस्थापन पनि न्यायिक छैनन् । केही शैक्षिक संस्थाहरू अति नै ठूला भीमकाय स्वरूपका तथा केही शून्य अवस्थाका छन् । विश्वविद्यालय जस्ता संस्थाहरू तथा तिनका प्राज्ञिक तथा प्रशासनिक संरचनाहरू राज्यका लागि सेतो हात्ति भनिने अवस्थामा विस्तारित छन् ।
अध्ययनबाट हासिल हुन आएका प्राप्तिमा यी पक्ष नै उच्च शैक्षिक क्षेत्र व्यवस्थापनका मुख्य समस्या तथा चुनौतीहरू हुन् र अवसरहरू पनि धेरै रहेका छन् । तिनै विषयहरूको अध्ययन, विश्लेषण गर्नु, हुनु र समस्या बोध गरी समाधान खोज्नु नै आजको मुख्य आवश्यकता र राज्यका कर्तव्य हुने भएकोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गरिएको नेपालका राष्ट्रिय विश्वविद्यालयहरू सम्बन्धी अध्ययन प्रतिवेदन २०७८ ले देहायको निचोड पक्षमा सारांश निकालेको र यथार्थता प्रकट गरेको छ ।
शैक्षिक गुणात्मकता र विश्वास आर्जनसम्बन्धी समस्या/चुनौतीहरू
- ११ विश्वविद्यालय, ६ शैक्षिक वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको मौजुदा उपस्थितिमा पनि यी विश्वविद्यालयहरूले बजार मागका जनशक्ति विकास तथा समसामयिक विषयवस्तुको पठनपाठन सञ्चालन गर्न, गराउन नसक्नु ।
- शैक्षिक गुणात्मकता अभिवृद्धिमा गम्भीर प्रश्न उठ्ने गरी विविहरूको प्राविधिकता तथा प्राज्ञिकतामाथि प्रश्न उठाउँदै वर्षेति मुलुकमा विदेशी शिक्षण संस्थाको आकर्षण बढ्नु र हजारौँ विद्यार्थी विदेशिनु ।
- नेपालमा १७ वटा उच्च शैक्षिक निकाय पूर्ण स्वायत्तता साथ सञ्चालन तथा तिनका १४३७ शैक्षिक संस्थाहरू क्रियाशील भइरहेको अवस्थामा पनि ८६ वटा वैदेशिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू विस्तार भइरहनु ।
- कुल विद्यार्थीकोे ७६ प्रतिशतभन्दा बढी भार त्रिविमा निरन्तर स्थीर देखिनु तथा उच्च शिक्षाका १७ ओटा उच्च शैक्षिक निकायमा २४ प्रतिशत पनि विद्यार्थी प्रवेश नहुनु ।
- बहुविश्वविद्यालय अवधारणा तथा अन्य विश्वविद्यालयहरू स्थापनाको औचित्य सावित नहुनुृ तथा गम्भीर रूपमा प्रश्न उठ्नु ।
- संस्कृत विश्वविद्यालय तथा बौद्ध विश्वविद्यालय मूल उद्देश्य वा मार्गमा स्थापित नभई विषयान्तर र विचलित हुनु र साधारण तथा प्राविधिक शिक्षाको नाममा असम्बन्धित पक्षमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नु ।
- संस्कृत शिक्षा पठनपाठनप्रति विद्यार्थी आकर्षक नपाइनु तथा समग्र विविका आङ्गिक क्याम्पसमा संस्कृततर्फको विद्यार्थी संख्या (७१७) को तुलनामा शिक्षाशास्त्रको प्रावल्यता २५ सय बढी विद्यार्थी देखिनु (२०७५/०७६ विविआ)
- नेपालमा आफूले खोजेको, रोजेको अध्ययन सुविधा भएन, विषय क्षेत्र र ज्ञान, सीप तथा कामको अवसर उपलब्ध भएन भनी विदेशी विश्वविद्यालयमा अध्ययन गर्न चाह्ने, जाने र उतै बस्ने युवायुवतीको संख्या दिनानुदिन वृद्धि भइरह्नु ।
- विज्ञान तथा प्रविधि, प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको सुविधा बढी शहरकेन्द्रित र पहुँचको सिमितता हुनु ।
- कृषि, पशु, कृषिपशुजन्य, वन, जडीबुटी तथा उद्योग व्यवसाय प्रवर्धक तथा आर्थिक प्रवर्धक शिक्षाप्रति युवायुवतीहरूलाई आकर्षण वृद्धि गर्न नसकिनु ।
- विवि आयोगको शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा नतिजा, उत्तीर्ण दर र उपलब्धिमा प्रायः धेरै विश्वविद्यालयहरूबाट विवरण प्राप्त नहुनु र अवस्था जानकारी हुनबाट वन्चित हुनुपर्ने स्थिति रह्नुले शिक्षा लागत र नतिजाको विश्लेषण हुन नसक्नु ।
- कुल विद्यार्थीको ७६ प्रतिशत विद्यार्थी क्षमताभार त्रिविमा हुनु तथा विद्यार्थीको उत्तीर्ण दर २९ प्रतिशतमा सिमित हुनु ।
- नेपालको विद्यालय शिक्षादेखि मध्यमस्तरको प्राविधिक तथा व्यावसायिक शिक्षा हुँदै, उच्च शिक्षासम्म साधारण प्रकृतिका विषयहरू, प्राविधिक तथा व्यावसायिक शिक्षाका विषय क्षेत्रगत पक्षहरूमा जनशक्ति उत्पादनमा के कति लागत लाग्दछ ? कुनै स्पष्ट मापदण्ड नहुनु ।
- सरकारी, सार्वजनिक, सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूले शिक्षा गुणात्मकताका लागि प्रबन्ध गरिएको व्यवस्था र आर्थिक लागतको चित्र राज्यले निर्धारण नगर्दा शिक्षा प्रणाली नै लुट उद्योगमा परिणत भएको पाइनु ।
क्रमशः
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया