महिनाको महिमा
जनवरीको जोस !
सुरुमा, रोमन क्यालेन्डर केवल दश महिनाको मात्र थियो। त्यतिबेला जनवरी र फेब्रुअरी महिना थिएनन् । रोमका दोस्रो राजा नुमा पोम्पिलियसले रोमन क्यालेन्डरलाइ लुनार वर्ष बराबर गर्न यी दुई महिना थप गरेका थिए। ३० दिनको जनवरी महिनालाई जुलियस सिजरले एक दिन थप गरि एक वर्षका सात महिना ३१ दिनको हुन गयो। मार्च महिनादेखि सुरु हुने जुलियन र ग्रेगोरियन क्यालेन्डर १५३ बिसीदेखि भने जनवरीबाट सुरु भयो । यो नाम ल्याटिन शब्द “ianua” बाट आएको हो। यो महिनाको नाम रोमन देवता जानसबाट राखिएको मानिन्छ। पुरातन रोमन धर्म र मिथक अनुसार जानसलाई सुरुवात, द्वार, संक्रमण, समय, द्वैत, ढोकाको प्रतीकको रूपमा चर्चा गरेको पाइन्छ। वर्षको शुरुवात यही महिनाअनुसार हुने भएकोले पनि यो नामाकरण गरेको हुनु पर्दछ। जानसको प्रतिमामा एउटा टाउको तर दुईटा अनुहार देखाइएको छ। यसको अर्थ पछाडि फर्केकोले बितेको समय वा वर्ष (भुतकाल) र अगाडि फर्केकोले आउने समय वा नयाँ वर्ष ( भविष्य ) देख्न सक्छ भन्ने मान्यता छ। त्यसैले, जनवरीलाई नयाँ सुरुवात, ठूला सपना देख्ने र नयाँ लक्ष्यहरू हासिल गर्ने महिनाको रूपमा लिइन्छ। एङ्ग्लो-स्याक्सनकालमा यो महिनालाई "वुल्फ मोनाथ" पनि भनिन्थ्यो। बन जंगल प्राय जसो हिउँले भरिने र सारै जाँडो हुने भएकोले भोका ब्वाँसोहरू आहारा खोज्न गाउँहरूमा आउने गर्दथे। त्यसैले यो महिनाको पुर्णिमाको नामाकरण पनि ब्वाँसोको नाममा "वुल्फ मुन" भन्ने गरिएको हुनुपर्छ। राजा चार्लेमेनले यसलाई "विंटर मानोथ" भन्थे, जसको अर्थ "जाडो/चिसो महिना " बुझिन्छ।
सामान्यतया उत्तरी गोलार्धमा जनवरी वर्षको सबैभन्दा चिसो महिना हो भने दक्षिणी गोलार्धमा भने जुलाई महिनामा जस्तो गर्मी हुने गर्दछ । डायन्थस क्यारियोफुलस जनवरीको जन्म फूल हो जसलाई बोलीचालीको भाषामा कार्नेशन भनिन्छ। जनवरीमा जन्मेकाहरूको दुई वटा राशि हुन्छन्। जनवरी १९ सम्म मकर र त्यसपछि जन्मनेहरू कुम्भ राशिका हुन्छन्। यो महिनाको बर्थस्टोन गार्नेट हो।
गास्पर डे लेमोसको नेतृत्वमा पोर्चुगलको विजय अभियान सन् १५०२ मा दक्षिण अमेरिकाको तटमा रहेको गुआनाबारा खाडीमा पुग्यो। उक्त दिन क्यालेन्डरमा जनवरी एक देखेको कारण त्यस ठाउँको नाम रियो दि जेनेरियो (जनवरीको नदी) राखे। जुन अहिले ब्राजिलको दोश्रो ठूलो शहर हो। जनवरी महिना मात्रै होइन व्यक्तिको पनि नाम हो। संसारका धेरै ख्याति प्राप्त महिला पुरुष कलाकार,गायन, राजनीतिज्ञ, फुटबलर, लेखकहरूको नाम जनवरी राखिएको पाइन्छ।
विश्वका विभिन्न देशहरूमा विभिन्न प्रकारका सचेतना दिवसहरू मनाउने चलन हुन्छन्। संयुक्त राष्ट्र संघको निर्णयअनुसार मनाइने यस्ता दिवसहरू विश्वव्यापी हुन्छन् भने राष्ट्रिय रुपमा आवश्यकताअनुसार एक दिनदेखि महिनौँसम्म त्यस्ता कार्यक्रमहरू सन्चालन गर्ने गरिन्छ। जनवरी महिनामा चार वटा अन्तराष्ट्रिय दिवस परेका छन्।
प्रत्यक वर्ष जनवरी ४ का दिन अन्तराष्ट्रिय ब्रेल दिवस मनाइन्छ। अहिले संसारमा करिब ३६ करोड मानिस अन्धो भएको अनुमान गरिन्छ।करिब २०० बर्ष अगाडी दृष्टिविहीनहरूलाई स्पर्शद्वारा अक्षरहरू पढ्न र लेख्न सक्ने क्षमता प्रदान गर्ने प्रविधिको आविष्कार भएको थियो। जसलाई ब्रेल भनिन्छ। दृष्टिविहीन व्यक्तिहरूले जीवनमा धेरै चुनौतीहरूको सामना गर्न पर्ने हुँदा यो आविष्कारले उल्लेख्य सहयोग पर्याएको छ। ४ जनवरी १८०९ मा फ्रान्समा जन्मेका लुइस ब्रेलले तीन वर्षको उमेरमा भएको दुर्घटनापछि आफ्नो दृष्टि गुमाए। उनैले सन् १८२४ मा उठेका थोप्लाहरूको पढ्ने प्रणाली आविष्कार गरेका थिए। फ्रान्सको रोयल इन्स्टिच्युट फर द ब्लाइन्ड युथले ब्रेल पाठ्यक्रम अपनाएको दुई वर्षअघि कलिलो उमेरमा नै लुइसको मृत्यु सन् १८५२ मा भएको थियो। विश्वभरि लाखौं मानिसहरूको लागि सञ्चारको माध्यमको रूपमा ब्रेल र यसको महत्त्वमा चेतना जगाउन र फैलाउन सन् २०१९ देखि लुइस ब्रेलको सम्मानमा उनकै जन्म दिनको दिन यो दिवस मनाउने घोषणा गरिएको थियो।
मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा शिक्षाको अधिकार उल्लेख गरिएको छ । घोषणापत्रमा निःशुल्क र अनिवार्य प्राथमिक शिक्षा हुन पर्ने भनिएको छ। सन् १९८९ मा अपनाएको बालअधिकार सम्बन्धी महासन्धिले राष्ट्रहरूले उच्च शिक्षालाई सबैका लागि पहुँचयोग्य बनाउने कुरालाई थप जोड दिएको थियो। सन् २०१८ डिसेम्बर ३ मा संयुक्त राष्ट्र संघको महासभा (UNGA) ले पारित गरेको एक प्रस्तावद्वारा जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवस घोषणा गरिएको थियो। सन् २०१९ देखि प्रत्यक वर्ष शिक्षा दिवस मनाउँदै आएको छ। हिन्दू क्यालेन्डर अनुसार शिक्षाका देबी सरस्वतीलाई बसन्तपञ्चमीका दिन पूजाआजा गर्ने र आफ्ना गुरुबा/आमालाई सम्मान गर्ने चलन छ। उक्त दिन सरकारी बिदा दिने गरिन्छ। यसपाली जनवरी २६ को दिन यो पर्व परेको छ।
सन् २००६ देखि प्रत्यक वर्ष जनवरी २७ मा होलोकास्टका पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दै आएको छ। सन् १९३३ देखि १९४५ सम्म नाजी जर्मन शासन र यसका सहयोगीहरूद्वारा ६० लाख युरोपेली यहूदीहरूको व्यवस्थित रुपमा राज्य-प्रायोजित हत्या गरिएको थियो। सन् १९३३ को जनवरीमा जर्मनीमा एडोल्फ हिटलर र नाजी पार्टी सत्तामा आएपछि प्रलय (होलोकास्ट)युग सुरु भयो। यो मे १९४५ मा मित्र राष्ट्रहरूले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरेपछि मात्र रोकिएको थियो। यसलाई हिब्रु भाषामा "शोआ" भनिन्छ। जसको अर्थ हुन्छ "विपत्ति"। त्यसको साठी वर्ष पछाडि अन्तराष्ट्रिय रुपमा त्यो घटनाको भत्सर्ना स्वरुप यो विशेष दिन मनाउन थालिएको हो।
जनवरी १ मा क्युबाले मुक्ति दिवस,हाइटीले स्वतन्त्रता दिवस र सुडानले राष्ट्रिय दिवस मनाउँछन् ।सन् १९९२ डिसेम्बर ३१ मा चेकोस्लाभाकिया एउटा देशको रुपमा रहेको अन्तिम दिन थियो। जनवरी १ सन् १९९३ देखि छेक र स्लोभाक दुई देश बन्न पुगेको थियो। म्यानमार सन् १९४८ जनवरी ४ मा बेलायतको साम्राज्यबाट स्वतन्त्रताको घोषणा गरेको थियो। त्यसै गरी फ्रान्स र स्पेनबाट मोरक्कोको स्वतन्त्रता दिवसको घोषणा ११ जनवरी १९४४ मा भएको थियो। सन् १९९९ देखि युक्रेनले हरेक वर्ष २२ जनवरीमा एकता दिवस मनाउने गरेको छ। जनवरी २२, १९१९ मा, युक्रेनी जन गणतन्त्र र पश्चिमी युक्रेनी जन गणतन्त्रलाई एउटै स्वतन्त्र राज्यमा सामेल गर्दै एकीकरण ऐन घोषणा गरिएको थियो । त्यस्तै गरी २६ जनवरीमा अस्ट्रेलिया दिवस र ३१ जनवरीमा नाउरुमा राष्ट्रिय दिवस मनाउँछन्। २६नोभेम्बर १९४९ मा भारतको संविधान सभाले नयाँ संविधान स्वीकार गरे पनि त्यसको लागू भने २६ जनवरी १९५० देखि मात्र भएको कारण उक्त दिनलाई संविधान दिवसको रुपमा सार्वजनिक बिदा दिइन्छ।
अहिले पनि अमेरिकामा नयाँ बर्षको दिन उपहार स्वरुप स्याउ दिने चलन छ। उपहारको रूपमा स्याउ दिने इतिहास ख्रीष्ट भन्दा पहिलेको हो। पुरातन ग्रीक र रोमन साम्राज्यहरूमा नयाँ वर्षको आगमनको अवसरमा फलफूल दिने चलन थियो। सेल्टिक संस्कृतिहरूमा पनि, ग्रीक र रोमन साम्राज्यहरूको प्रभावमा, मिस्लेटो, गिल्डेड नटहरू, र पवित्र रूखका हाँगाहरू उपहार दिने एउटा ठूलो परम्परा थियो जुन युरोपभर फैलिएको थियो। अमेरिकामा सत्रौँ शताब्दीमा युरोपबाट स्याउ गएको ठानिएको छ। त्यतिबेला पढाइ गरेबापत् गुरुलाई विद्यार्थीले तलब स्वरुप स्याउ दिने चलन थियो पनि भनिन्छ। स्याउ राम्रो स्वास्थ्यको प्रतीक हुने भएकाले नयाँ वर्षको दिन मानिसहरूलाई स्याउ दिँदा बाँकी वर्षभरि उनीहरू स्वस्थ्य रहन्छ भन्ने मान्यता छ।
५ जनवरी क्रिश्चियन धर्मालम्बीहरूले क्रिसमस पछिको बाह्रौं रातको रुपमा माने पछि क्रिसमस सिजनको आधिकारिक अन्त्य हुन्छ। त्यही दिन सबैले क्रिसमसको सजावटहरू निकाल्ने चलन छ। तर अर्थोडक्स चर्चले अझै पनि पुरानो जुलियन क्यालेन्डर अनुसार येशूको जन्म उत्सब मनाउने भएकोले अर्थोडक्स क्रिसमस डे जनवरी ७ मा पर्दछ। बेलारुस, इजिप्ट, इथियोपिया, जर्जिया, काजाकिस्तान, म्यासेडोनिया, मोल्डोभा, मोन्टेनेग्रो, सर्बिया, रसिया, इरिट्रिया, इजरायल ,ग्रीस,रोमेनिया र युक्रेन जस्ता देशहरूमा जनवरी ७ मा क्रिसमस डे सार्वजनिक बिदा हो। आर्मेनियामा भने जनवरी ६ मा क्रिसमस मनाउँछन्।
साहित्यमा विज्ञान प्रवेश गराउने अमेरिकी कथाकार आइज्याक असिमोभको जन्मदिन २ जनवरीका दिन उनको सम्झना स्वरुप अमेरिकामा राष्ट्रिय विज्ञान कथा दिवस मनाउने गरिन्छ। त्यस्तै जनवरी २५ मा स्कटल्याण्डका राष्ट्रिय कवि रोबर्ट बर्न्सको जन्मदिनको उत्सव, बर्न्स नाइट सपरसँग मनाइन्छ जसमा धेरै परम्परागत स्कटिश परिकारहरू र बर्न्सको कविता सुनाउने गरिन्छ। ।
नागरिक अधिकारकर्मी मार्टिन लुथर किंगको जीवन र कामको उत्सवको लागि जनवरी १६ मा मार्टिन लुथर किंग दिवस मनाइन्छ।
यस वर्ष चिनियाँ क्यालेन्डरअनुसार नयाँ वर्ष जनवरी २२ मा परेको छ। विश्वभरि छरिएका चाइनिजहरूले खरायो वर्षलाई स्वागत गरिन्छ। चन्द्र नयाँ वर्ष चीनमा लामो सार्वजनिक बिदा दिइन्छ। यो अवसरमा ब्रुनाई, इन्डोनेसिया, मलेसिया, उत्तर कोरिया, सिंगापुर, दक्षिण कोरिया र भियतनाम जस्ता देशहरूमा पनि सार्वजनिक बिदा दिइन्छ। यही सेरोफेरोमा नेपालमा तामाङ समुदायले हरेक माघ (ग्रेगोरियन क्यालेन्डरमा जनवरी - फेब्रुअरी) मा विभिन्न गतिविधि र कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाउने गर्दछन्। यस वर्ष भने चाइनिज नंया बर्षकै दिन जनवरी २२ मा परेको छ।
पृथ्वीमा रहेका वन्यजन्तुहरूको संरक्षणमा पनि मानव जातिले विशेष भूमिका निवार्ह गर्नु पर्ने हुन्छ। विश्वबाट जेब्राको संख्या दिन प्रतिदिन घट्दै गएको तथ्यांक छ। जेब्राको संरक्षणका मुद्दाहरूको बारेमा सचेतना जगाउन धेरै देशहरूमा जनवरी ३१ दिन अन्तराष्ट्रिय जेब्रा दिवस मनाउने चलन छ। त्यस्तै बेलायतको रैथाने रातो गिलहरीहरू(स्क्वेरल )लाई आप्रवासी खैरो गिलहरीहरूद्वारा बढ्दो आक्रमन हुने भएकोले उनीहरूको संख्या कम हुँदै गएको छ। २१ जनवरLमा रातो नीलगिरी संरक्षण दिjस विभिन्न कार्यक्रमहरूसहित मनाउने गरिन्छ।
पहिलो विश्वयुद्धको क्रममा सन् १९१५ फेब्रुअरी १९ देखि सुरु भएको ग्यालिपोलीको युद्ध ९ जनवरी १९१६ मा अन्त्य भएको थियो। ब्रिटिश र फ्रान्सेली सेनाहरूले डार्डानेलेस स्ट्रेट (अहिलेको पश्चिमी टर्की) मा ग्यालिपोलीको प्रायद्वीपमा ओटोम्यान साम्राज्य विरुद्ध आक्रमण गरेको यो लडाइमा २८ हजार भन्दा बढी अष्ट्रेलियाली सैनिकहरूसहित लगभग १,८०,००० मानबले हताहतहरू भोग्नुपरेको थियो।
दुनियामा भूमिगत रेलमार्गमा बिशेष महत्व राख्ने लण्डनको ट्युब सन् १८६३ जनवरी १०देखि सुरु भएको थियो। लन्डनभित्र करिब २४९ माइल अर्थात् ४०२ किलोमिटर क्षेत्रमा फैलिएको भूमिगत रेल भनिए पनि झन्डै ५५ प्रतिशत रेल ट्रयाक जमिनमाथि नै रहेको छ। दैनिक करिब पचास लाख मानिसले प्रयोग गर्ने यो ट्युबको ११ वटा रंगका लाइनहरू छन्।
अंग्रेजी जेलहरूमा कैदी बन्दीहरू व्यवस्थापन गर्न गारो भएपछि त्यो समस्या समाधान गर्न जनवरी २६ , १७८८ मा, क्याप्टेन आर्थर फिलिपलको अगुवाइमा ११ ब्रिटिश जहाजहरूमा दोषीहरूलाई बोकेर अष्ट्रेलियाको न्यू साउथ वेल्समा लगिएको थियो। संयुक्त राज्य अमेरिकाको आप्रवासी इतिहास धेरै लामो भए पनि सबै भन्दा महत्वपूर्ण घटना चाहिँ जनवरी १ सन् १८९२ लाइ मानिन्छ। विदेशीहरूलाई अमेरिका बसोबास गर्ने अनुमति प्रदान गर्दै एलिस टापु खुला गरियो। सन् १९५४ सम्म खुलेको त्यो टापु हुँदै करिब दुइ करोढ आप्रबासीहरू अमेरिकामा छरिएर बसोबास गरेको अनुमान गरिन्छ।
बेलायतमा जनवरी महिना लाइ "डिभोर्स मन्थ" को उपनामले पनि चिन्ने गरिन्छ। यहाको पारिवारिक अदालतको त्रैमासिक तथ्याङ्क बुलेटिन अनुसार यो भनाइलाई पुस्टि गरेको देखिन्छ। यो महिनामा पारिवारिक कानुन व्यवसायीहरू अरु समय भन्दा निकै व्यस्त रहने र वर्षको पहिलो त्रैमासिक अन्य समयभन्दा धेरैनै पारपाचुकेका निवेदन परेको देखिन्छ। पारिवारिक खटपटी परे पनि बाल बच्चाहरूसँग क्रिसमस र नँया वर्ष जस्ता महत्वपूर्ण चाडबाडहरू मनाएपछि मात्रै छुट्टिने निर्णय गरिने कारणले पनि जनवरी महिनामा बढी निवेदन पर्ने मुख्य कारण मानिन्छ।
संसारका प्राय सबै देशमा जनवरी १ का दिन नयाँ वर्षको उत्सव मनाउने गरिन्छ। क्रिसमसदेखि नयाँ वर्षसम्म प्राय सबै रमाइलो मुडमा परिवारहरू बिताउने गरिन्छ। तर उक्त दिन अन्तराष्ट्रिय रुपमा पारिवारिक दिवस पनि मनाइन्छ भन्ने जानकारी त्यति धेरैलाई नहुन पनि सक्छ। सन् १९९७ को नोभेम्बरमा संयुक्त राष्ट्र संघले लिन्डा ग्रोभरद्वारा लिखित ‘वन डे इन पिस – जनवरी १, २०००’ पुस्तक विमोचन गरिएको थियो। त्यही वर्ष संयुक्त राष्ट्र संघको महासभाले विश्वका बालबालिकाका लागि शान्ति र अहिंसाको संस्कृतिका लागि अन्तर्राष्ट्रिय दशकको सुरुवात गरेको थियो। सन् २००० जनवरी एकका दिन संयुक्त राष्ट्रसङ्घका सदस्य रास्ट्रहरूलाइ विश्वमा शान्ति र भातृत्व कायम राख्ने प्रयास स्वरुप विशेष कार्यक्रमको आयोजना गरिएको थियो। जुन कार्यक्रम अतिनै सफल भएकोले त्यसलाई निरन्तरता दिंदै सन् २००१ देखि वर्षको पहिलो दिनलाई ‘ग्लोबल फैमिली डे’का रूपमा औपचारिक रूपमा मनाउन थालिएको हो।
नयाँ वर्षको थालनीसँगै प्रायले आफूलाई पनि फरक ढंगले प्रस्तुत गर्ने बाचा गर्ने चलन देखिन्छ। नयाँ वर्षथरि थरिको संकल्प गर्दै आउने वर्ष थप फलदायी बनाउने प्रण गर्दछन्। विशेषत: क्रिसमस र नयाँ वर्षको अवसरमा अतिरिक्त खानपिनले थपिएको वजन घटाउने प्रयास हुन्छ। बेलायतमा जनवरी महिनालाई "सुक्खा महिना " मनाउने चलन छ।
चाडबाडमा घोटिएका क्रेडिट कार्डको पैसा तिर्न खर्च कटौती तथा स्वास्थ्यमा जागरुकता जगाउन यो महिनाभरि मादक पदार्थ सेवन नगर्नेहरूको संख्या उल्लेख्य नै हुन्छ। विश्वमा अहिले जनावरबाट उत्पादन हुने कुनै पनि खाद्य पदार्थ नखानेहरूको संख्या बढ्दो छ। भेजेटेरियन हुँदै भिगन हुनेहरूले यो अभियानलाई थप प्रचार र सफल बनाउन बेलायतमा जनवरी महिनाभरि कुनै माछा मासु दूध दही चीज जस्ता कुनै पनि खाना नखाने संकल्प गर्ने चलन बढ्दै गएको छ।
त्यस्तै जनवरी महिनामा देखाइएका यस्ता जोशहरू वर्षभरि टिकाउन भने त्यति सम्भव हुँदैन। हुन् त अब्राहम लिंकन कुनै पनि व्यक्ति सफल बन्नको लागि अन्य धेरै कारणहरू भन्दा उनको आफ्नै संकल्पलाई नै मुख्य मान्दछन् तर मैले चाहिँ नयाँ वर्षमा कुनै संकल्प नगर्ने बाचा गरेको केही वर्ष भयो। बरु प्रत्येक दिन फरक हुने तथा भोलि कहिल्यै नआउने भएकोले आजकल कसैलाई भेट्दा हेप्पी न्यु इएर भन्ने बानि बसाएको छु। हुन पनि संसारका धेरै देशहरू र देश भित्रकै समुदायहरूको पनि फरक फरक नयाँ वर्ष मनाउने प्रचलन भएको हुँदा सधै नयाँ वर्ष भन्न सान्दर्भिक पनि देख्दछु। ब्राड पेस्लेको यो भनाइले मेरो विचारलाई थप प्रेरणा मिल्दछ "भोलि ३६५ पृष्ठ कपीको पहिलो खाली पृष्ठ हो। एउटा राम्रो लेख लेखौ ।"
(लामो समयदेखि बेलायतमा बस्दै आएका लेखक विगत एक वर्षदेखि धारावाहिक रूपमा महिनाको महिमा लेख्दै आएका छन्।)
श्रेष्ठका अन्य लेखहरू
- नोभेम्बरको नालीबेली
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया