विचार

डेनमार्कभित्रको अर्को देश क्रिस्तियानिया

सुरेन्द्र नेपाल श्रेष्ठ |
चैत १९, २०७९ आइतबार ११:६ बजे

बेलायत आउने निर्णय गर्दा स्थायी रुपमा यही नै बसोबास होला भन्ने कल्पना पनि गरिएको थिएन । शायद हामी प्रायः परदेशीहरूको यही अवस्था हुनसक्छ । आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि भने यहीँ कै नागरिकता पाउने हतारो हुने । त्यतिन्जेलसम्म बेलायत छाडेर अन्त कतै जान र फेरि फर्कन पाउने सुविधा थिएन । त्यसैले करिब सात वर्ष देशबन्दी (नजरबन्द)को अनुभव पनि संगालियो जीवनमा । उसबेला स्थायी अनुमतिको कागज मात्रै पाइयोस् न सारा संसारको चक्कर तुरुन्तै लगाइन्थ्यो जस्तो लाग्थ्यो ।

खै कसरी हो एकपटक संसार घुम्ने इच्छा ममा पनि पलायो । श्रीमतीलाई सुनाउँदा उनी पनि यसको लागि आतुर भइन । अब केही वर्ष पछि परिवारका आधारभूत भूमिका सकाएर विश्व सयर गर्ने रहर पूरा गर्ने योजना बनाउँदै छौँ । मेरो राजनीतिक, सामाजिक सक्रियताको कारणले होला धेरै शुभचिन्तकमार्फत अब नेपाल नै फर्केर केही जिम्मेवारी लिनपर्छ भन्ने सुझाव पाउने गरेको छु । तर मेरो यही संसार घुम्ने सपनाले रातो पासपोर्ट नत्याग्ने विचारमा छु । जहाँ मन लाग्यो, जतिखेर मन लाग्यो, निस्कन पाउने यो हतियार छाडेर फेरि भिसाको लागि आवेदन दिनपर्ने, पर्खनपर्ने झन्झटिलो बाटो किन रोज्ने भन्ने लागेको छ । देशको लागि केही गर्न राजनीतिक जिम्मेवारी वा पद नै लिनैपर्छ भन्ने नलागेर पनि होला म यो निर्णयमा अडिग छु ।


बाहिर निस्कने गेट : अब तिमि युरोप प्रवेश गर्दैछौ लेखिएको छ ।

यसबीचमा पारिवारिक, राजनीतिक, एनआरएन भेटघाट तथा बैठकहरू अनि केही नितान्त बिदा मनाउन मेक्सिको र युईए लगायत युरोपका १८ वटा देशहरू भ्रमण गरेको रहेछु । सबैभन्दा धेरैपटक बेल्जियम पुगेको रहेछु । शायद हाम्रो विवाहको बीसौ वर्षगाँठ भएर होला माल्टाको भ्रमण अविश्मरणीय रह्यो । पहिलोपटक बेलायत छोड्ने मौका जुरेको मिनुको दाज्यु भुपेन्द्र शाक्यको दीक्षान्त समारोहमा सहभागी हन जाँदा लेन्सबर्ग(जर्मनी)को दृश्य, स्विजरल्याण्ड जाँदा इन्टरल्याकन बसेर योङ्गफ्रावसम्म रेलबाट भ्रमण गरेको, पेरिसमा पहिला युकेमा साथै बसेका सीबी घलेसँग दिनबिताएको, मित्र किशोर सापकोटासँग स्पेन भ्रमण

त्यहाँ भयकंर ठूलो रेस्टुरेन्टमा सिफुड खाएको, हेगमा बुद्धको प्रतिमा स्थापना गरेको, नर्वेको पहाडमा जलपरी जस्तो देखिनेहरूले नाचेको, भियनामा (अस्ट्रिया) अन्जिता बहिनीको हातको मीठो खाना खाएको, इन्स्ब्रुक (अस्ट्रिया)मा दीपेन्द्रजीको घरबाट देखिने मनोरम हिमालका श्रृंखलाहरू, चेकमा जितेन्द्रजीको आतिथ्य, स्लोभाकमा धर्मराज खतिवडासँग युरोपकै ठूलो पबमा लन्च, गोठेन्बर्ग (स्विडेन) मा आफ्नै जिल्लाकै साथी कृष्ण ढकालजीको घरमा आगो ताप्दै रेडवाइनको साथमा झन्डै रात काटेको, अजमान (युएई) मा भतिज लक्ष्मणकोमा बितेका दिनहरू विशेष सारजहाको सफारी, टाइटानिक दुर्घटना हुन अगाडि अन्तिम पटक रोकिएको आयरल्यान्डको बन्दरगाह, नेपालको जस्तै देखिने लिस्बन (पोर्तुगल) को पहाड र मौसम, मेक्सिकोमा हेलिकप्टर बिसाउने होटलमा बसेको र क्यानकुनको भव्य ओजेन ओशो आश्रम, मित्र सुनिल खड्कासँग लन्डनदेखि रोमसम्मको घुमाइ बसाइ, बेल्जियमबाट साथीहरूसँग रातभरी गाडी चलाएर बिहान लक्स्जम्बर्ग पुगेको क्षणहरू मानसपटलमा आइरहन्छन । पेरिसमा झन्डै पाकेट मारिएको, दोश्रोपटक स्विजरल्याण्ड पुग्दा पर्स हराएको रेल चढ्ने क्रममा सानो गल्तिको कारण जरिवाना तिर्न परेकोले हंगेरीको राजधानी बुडापेस्टको भोगाइ नमिठो रह्यो । तेह्र महिनामा तीनपटक डेनमार्क पुगेछु । एउटै कामको लागि दुई पटक त्यही ठाउँमा पुग्नु परेको थियो । कोपन्हेगनको यात्रामा अन्य कुनै देशमा नदेखिएको अनुभव संगाल्न पाएको कारण पनि यो यात्रा संस्मरणको विषय बनाएको छु ।

रंगिन कोपेनहेगन

गैर आवासीय नेपाली संघको आठौँ युरोपियन क्षेत्रीय बैठक २१ जुन २०१५ मा डेनमार्कमा तय गरिएको थियो । विनाशकारी भूकम्पका कारण उक्त बैठक हुने वा नहुने भन्दा भन्दै अन्तिममा स्थगित गरिएको थियो । प्रत्यक्ष बैठक बस्न नसकिएको कारण अनलाइन बैठक बस्ने निर्णय भयो । केही दिन अगाडि मात्रै हवाई टिकट लिएको त्यसलाई फेर्न तथा पैसा फिर्ता लिन नमिल्ने, अब फेरि आइएला नआइएला एकपटक पुग्ने नै निर्णयमा पुगेँ । त्यो बैठक प्रत्यक्ष्य रुपमा भएको भए अझ बढी सान्दर्भिक र प्रभावकारी हुन्थ्यो भन्नेमा मेरो मत थियो ।

सन् २०१५ जुन २० बिहान ब्रिटिश एयरको जहाजबाट डेनमार्कको राजधानी कोपेनहेगनको उडान भरियो । एयरपोर्टमा निस्कने बित्तिकै संसारकै खुसी मान्छेहरूको देशमा स्वागत छ भन्ने लेखिएको देख्दा किन त्यस्तो लेखिएको होला भन्ने कौतुहलता लागेको थियो । यसपालि अलि फरक अनुभव लिनको लागि कुनै ठूलो होटल वा साथीहरूकोमा बसिएन । सहर नजिकैको एउटा होस्टलमा दुई रातको लागि बुकिङ गेरेँ । आफूले नचिनेका मानिसहरूसँग मिलेर कोठामा बस्नपर्ने, म बस्ने कोठामा अरु तीनजना थिए । एकजना सिंगापुरका रहेछन् । अरु दुईजना केटा र केटी कतिखेर आएर सुत्थे थाहा नै हुन्थेन । म उठेर निस्कँदा उनीहरू निदाइरहेका हुन्थे, रमाइलो नै अनुभव भयो ।

म त्यहाँ आउने कुरा तत्कालीन युरोप सहसंयोजक सोम सापकोटाजीलाई मात्रै जानकारी थियो । खै किन हो मैले आफ्नो फोन लिएर गएको थिइन् । अन्य उपायबाट सम्पर्क गर्न सकिन्छ नै सोचेको थिएँ । तर नयाँ सिम र फोन नै किन्न पर्ने अवस्था आइलाग्यो । सोमजीले लोकराज शर्मासँग सम्पर्क गराइदिनु भयो । भोलिपल्ट बिहान लोकराजजीसँग सोमजीको घरमा गयौ र त्यहीँ नै बसेर अनलाइन बैठकमा सहभागी भयौँ । लामो समयदेखि सँगै राजनीतिमा संलग्न मित्र उदयराज गौतम डेनमार्क बस्नुहुन्छ भन्ने थाहा थियो तर समय मिलाउन सकिन्न कि भनी मैले जानकारी गराएको थिइँन् । अनलाइन बैठकपछि हामी उदयजीलाई भेट्न गयौँ । त्यसपछि नेपालीद्वारा सञ्चालित नमस्ते नेपाल रेस्टुरेन्टमा तत्कालीन एनआरएन अध्यक्ष दीपक सापकोटा प्रवक्ता कुलराज शर्मासहित केही साथीहरूसँग भेटघाट भयो ।

यसबारे इच्छुक हुन सक्ने अजयराज सुमार्गीलाई मैले त्यहीँबाट फोन सम्पर्क गरेँ । आजै लण्डन आउँदै छु बसेर कुरा गरौँला भन्ने जवाफ आयो । मेरो पनि त्यही रात लन्डन आउने टिकट थियो । लण्डनमा अजय सुमार्गीसँग डेनमार्कसँग हुनसक्ने व्यवसायबारे छलफल भएपछि एकपटक त्यहीँ नै जाने सल्लाह भयो ।

लोकराज शर्मा र कुलराज शर्मा मिलेर आफ्नै व्यवसाय चलाउनु भएको रहेछ । युवा जोश जाँगरका साथ डेनमार्कमा मेहनत गर्दै गर्दा सिकेका ज्ञान सीप नेपालमा पनि लानुपर्छ भनेर नै अभियानमा सक्रिय भएको पाएँ । वहाँहरूको अफिसमा पुग्दा धेरै योजनाहरू बारे छलफल भयो । त्यसबेलामा नेपालले ब्यहोर्न परेको लोडसेडिङ्गको समस्या हल गर्न संसारमै ख्याति प्राप्त सोलार कम्पनीहरू, वातावरणमैत्री काठका घरहरू बनाउने नयाँ प्रविधिको निर्माता कम्पनीसँग कुरा भैरहेको जानकारी भयो । नेपालमा कोही कसैले लगानी गरेमा यी कामहरू तुरुन्तै हुनसक्ने देखियो । यसबारे इच्छुक हुन सक्ने अजयराज सुमार्गीलाई मैले त्यहीँबाट फोन सम्पर्क गरेँ । आजै लण्डन आउँदै छु बसेर कुरा गरौँला भन्ने जवाफ आयो । मेरो पनि त्यही रात लन्डन आउने टिकट थियो । लण्डनमा अजय सुमार्गीसँग डेनमार्कसँग हुनसक्ने व्यवसायबारे छलफल भएपछि एकपटक त्यहीँ नै जाने सल्लाह भयो । म भर्खरै फर्केको फेरि के जानेर भनेको, हैन जानै पर्छ भन्ने भयो । त्यतिबेला यहाँ छोराको लागि एउटा गाडी किन्ने कुरा भएको रहेछ । डेनमार्क जाने भनेपछि हतारहतारमा जुन २६ कै दिन गाडी किनेर मलाई सामानसहित आउनु भन्नुभयो । दिउँसो चार बजेतिर हामी लन्डनबाट निस्क्यौँ । छ दिनको यो अवधिमा पुरै गाडी चलाउने साथी श्याम थापा हुनुहुन्थ्यो ।

क्रिस्तियानिया ।

बाटोमा बस्नको लागि धेरैवटा होटलमा कोशिस भयो तर त्यतिबेला विशेष मेला भयको हुँदा कतै पनि कोठा पाइएन । राति निकै ठूलो वर्षा भयो । बिहानको करिब दुई बजेतिर गाडीको वाइपर बिग्रेकोले चलाउन मिलेन । गाडी बनाउने गाडीले ग्यारेजसम्म तानेर लग्यो तर आठ नबजेसम्म नखुल्ने भएकोले त्यतिकै कुर्न पर्‍यो । दिउँसो १२ बजेतिर जीवा लामिछाने र कुमार पन्तले केही समय अगाडि सञ्चालनमा ल्याएको फ्र्यांकफर्टको स्काइलाइन होटलमा पुगेर आराम गर्‍यौँ । बेलुकीतिर वहाँहरूले स्थानीय निकायसँग निवेदन दिएर प्राप्त गर्न सकिने करेसाबारीमा बसेर वहाँहरूको सपरिवारसहित खानपिन भयो । राति त्यही होटेलमा भवन भट्ट लगायत धेरै साथीहरू आइपुगे । राति अबेलासम्म विविध विषयमा छलफलसहित फेरि खानपिन भयो । २८जुन बिहान दश बजे हिँडेको बेलुकी ८:३० तिर कोपेनहेगन पुगियो ।

भोलिपल्ट दिनभर भेटघाट भयो । डेनमार्ककै एउटा ठूलो सोलार कम्पनीसँग व्यवसाय गर्ने सहमति पनि भयो । तर लोडसेडिङ्ग अन्त्य भैसकेपछि जुनरुपमा सोलार ब्यबसाय संचालन गर्ने कुरा थियो त्यो अगाडि बढ्न सकेन । काठको घर बनाउने प्रविधि पनि गज्जबकै रहेछ । इन्जिनियरले कम्युटरमा डिजाइन गरेपछि त्यही सेटिंग अनुसार प्रिन्ट भए जस्तो प्लाइउड काटिएर विभिन्न टुक्राहरू निस्कने र ति सबै टुक्राहरू जोडिएपछि राम्रो घर बन्ने रहेछ । त्यो फ्याक्ट्री हेरेपछि एउटा जंगलको बिचमा बनाइएको सुन्दर घर देखाउन लगिएको थियो । कति राम्रो त्यही बसीरहुँ जस्तो त्यो घरको वातावरण । वातावरण मैत्री डेनमार्कमा यस प्रकारका घरहरूको बस्ति मात्रै हैन ठूलठूला अफिस, सपिङ्ग सेण्टरहरू नै बन्न थालेका रहेछन् । लोकराजजीले अन्य कामहरू सहित काठको मात्रै घर बनाउने कम्पनी नेपालमा स्थापित गराइसक्नु भएको छ । यो सबै प्रविधिका निर्माता आफैँ नेपालमा गएर सबै व्यवस्था भएको छ । लोकराजजी आफैँ पनि नेपालमा बसेर नयाँनयाँ कामहरू गरिरहनु भएको छ । करिव एक वर्ष पछि २०१६ जुलाई ३० बाट नवौ क्षेत्रीय सम्मेलन पनि कोपेनहेगन मै भयो । त्यो भेला आउदो केन्द्रिय नेतृत्व कस्तो हुनेबारे पनि छलफलको विषय बनेको थियो ।

संसदीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र भएको समाजवादी जस्तो देखिने तर पुँजीवादी भन्न मन पराउने देश डेनमार्क । संसारको कम भ्रष्टाचार हुने, बलियो स्थिर अर्थतन्त्र भएको डेनमार्क कृषि, उद्योग, फलाम, वैकल्पिक ऊर्जामा सर्वोकृष्ट छ । भारतको वाराणसी राज्यभन्दा सानो देशमा करिव ५८ लाख मानिसहरू बसोबास गर्दछन् । राजधानी कोपेनहेगनमा करिव १२ लाख मानिसहरू बसोबास गर्दछन् । कमाईको करिव ५० प्रतिशत (आम्दानी अनुसार) कर तिर्न मन नदुखाउने डेनिसहरू सरकारले दिने सामाजिक सुरक्षा अन्तर्गत निःशुल्क स्वास्थ्य, शिक्षा प्रशस्त काम र कमाईको कारण संसारकै खुसी देश हुन सफल भएको छ । काम गर्ने भन्दा छुट्टी बढी हुने देश जहाँ हप्ताको ३७ घण्टा भन्दा बढी काम गर्नु पर्दैन । निम्न ज्याला नतोकिए पनि राम्रो तलब पाउने हुँदा डेनिसहरूको जीवनशैली अन्य देशहरूको भन्दा स्तरीय मानिन्छ ।

कोपेनहेगन सहर अवस्थित टिभोलि गार्डेन ।

युरोपमै डेनिस राजतन्त्रलाई सबैभन्दा पुरानो मानिन्छ । भाइकिङ राजाहरूले राज गरेको डेनमार्क दशौं शताब्दीका राजा हेराल्ड ब्लुटुथले सन् ९६५ बाट क्रिष्चियन राष्ट्र घोषणा गरेका थिए । केही समय स्वीडेन, नर्वे र डेनमार्क एउटै राजाबाट शासित हुनपुगे । सन् १८४९ देखि भने संवैधानिक राजतन्त्र भयो । राजा फ्रेडरिक एघारौँको मृत्यु सन् १९७२ मा भएपछि उनको छोरी मागरेथ द्धितीय  हालसम्म महारानी छन् । उनको श्रीमान् हेन्ड्री डे लेबोर्डे आफूलाई शायद राजाको पद्वी नपाएकोले त्यहाँको परम्परा अनुसार श्रीमतीसँग लास नराखियोस् भन्ने अन्तिम ईच्छा व्यक्त गरेका थिए । रानीको श्रीमान्लाई राजा नभनी युवराज भनिएकोमा उनलाई चित्त नबुझेको हुनुपर्छ । सन् २०१८ मा उनको मृत्यु भयो ।

डेनमार्कको संसदीय राजनीति अलि फरक खालको देखिन्छ । हालसम्म बहुमत प्राप्त पार्टीले शासन चलाएको निकै कम उदारहण पाइन्छ । प्रायजसो दुई दल मिलेर मात्रै सरकार बन्ने गरेको छ । सोसियल डेमोक्र्याट नेतृ ४२ वर्षीय मेटे फ्रेडरिकसेन सन् २०१९ जुन देखि प्रधानमन्त्री निर्वाचित भएकी छिन् ।

डेनमार्कमा अन्य दुई स्वतन्त्र राज्यहरू ग्रिनल्यान्ड र फारोइ आइल्यान्ड छन् । यी दुई राज्यबाहेक प्रशासनिक रूपमा डेनमार्कलाई सन् २००७ देखि पाँच क्षेत्रमा बाँडिएको छ । १९७० देखि २००६सम्म १५ त्यस अगाडि १७९३ देखि १९७९ सम्म २४ काउन्टीहरू थिए । कोपेनहेगन जाँदा तीनै पटक सहरको बीचमा रहेको फ्रिटाउन क्रिस्चिनिया पुगियो । त्यहाँभित्रको वातावरण हेर्दा लाग्थ्यो त्यो कुनै नयाँ संसार हो । त्यहाँको मूलढोकामा नै यस्तो लेखिएको छ “You Are Now Leaving The European Union” सन् १९७१ मा युवा हिप्पीहरूले मिलिटरीहरूले प्रयोग गरेर छाडेको ब्यारेकलाई कब्जामा लिई त्यहाँ बसोबास गर्न थाल्यो । ठूलो समाजमा बस्न दिक्क लागेर, सरकारी नियम कानुन मान्न मन नलागेर आफ्नै छुट्टै बस्ति बनाउन पुगेका थिए । सहरमा घरबास नहुनेहरूको बासस्थान बन्दै गयो ।

बिस्तारै थप मानिसहरू आउन थाले । त्यहाँभित्र आफ्नै प्रकारका कानुन प्रथाहरू चलाउन थालियो । मानिस सबै समान हौ सबैले सबैलाई समान ढंगले व्यवहार गर्नपर्छ भन्ने उनीहरूको मान्यता छ । त्यहाँभित्र अरुलाई हानी पुग्दैन भने कुनै पनि क्रियाकलाप गर्न छुट छ भनिन्छ । करिब ७. ७ हेक्टर क्षेत्रफलमा रहेको यो बस्तीमा झन्डै १००० मानिसहरू बसोबास गर्दछन् । त्यहाँभित्र उनीहरू आफ्नो छुट्टै झण्डा प्रयोग गर्छन् । रातो चतुर्भुज आकारको, बीचमा तीनवटा पहेलो ठूला बिन्दुहरू छन् क्रिश्चिनियाको तीनवटा आइको माथिको थोप्लालाई थ्री आइजको संज्ञा दिएको बुझिन्छ । त्यहाँभित्र आफू बस्न आवश्यक घर बनाउन सकिन्छ तर किनबेच भने हुँदैन । जेजति बनेको छ, त्यो सबै छाडेर जानुपर्ने हुन्छ । स्वावलम्बी बन्नको लागि सबैले केही न केही उत्पादनमा संग्लग्न गराएको हुन्छ ।

छोराछोरी नबनाउने प्रचलन बढेको कारण बुढाबुढीहरू नातिनातिना नभएकोमा चिन्तित देखिन्छन् । बच्चा हुँदा बाबु वा आमा वर्षदिनसम्म काममा जान पर्दैन सरकारले पूरा तलब दिन्छ ।

रेस्टुरेन्ट, पसल, पबहरू प्रशस्त मात्रामा छन् । यो एक पर्यटकीय क्षेत्र भएकोले त्यहीँ नै उत्पादन भएका र अन्य सामानहरूको पनि बिक्री हुने गर्दछ । गजबको व्यवस्था के छ भने पल्सर स्ट्रीट भनेर एउटा फोटो खिच्न नपाउने The Green Land District भनिएको छ । त्यहाँ भिन्न किसिमका गाँजा, चरेश पाइन्छ । कानुनी रुपमा बन्देज भए पनि त्यहाँ खुल्लमखुल्ला सेवन गरेको देखिन्छ । केही नेपालीहरू पनि यहाँ बसोबास गरेको हुनसक्ने संकेत त्यहाँ नेपाली झण्डा पनि देखिएबाट हुन्छ ।

त्यही दृश्य खिच्न नपाउने भनिएको हो । कसैले यो नियम उलंघन गर्‍यो भने क्यामेरा वा फोन माया मार्न पर्ने पनि हुनसक्छ । खुला समाजको रुपमा संसारमै परिचित डेनमार्कले समलिंगी विवाहलाई सन् १९८९मा कानुन बनाएर वैधानिकता दिने पहिलो राष्ट्र बनेको थियो । तर क्रिस्तियानियामा भने सुरुदेखि नै समलिंगी सम्बन्धी विविध जानकारीसहित Gay House स्थापना गरेका थिए । क्रिश्चियनियामा गाडीभित्र लान पाइदैन । यहाँ विश्वका ख्याती प्राप्त कलाकारहरूद्वारा बेलाबखत ठूल्ठूला कन्सर्टहरू पनि हुने गर्छन् । भित्र प्रवेश गरेपछि यो स्वतन्त्र भूमिमा कुनै हतारो नगरी विस्तारै सबै हेर्नु पिर चिन्ता नलिनु भनेर यस्तो सूचना नै टाँसेको छ Running Causes Panic । वार्षिक करिब पाँचलाख भन्दा बढी पर्यटकहरू त्यहाँ जाने गरेको बुझिन्छ । डेनमार्कको राजधानी कोपेनहेगनको मुख्य केन्द्रमा नै अर्को छुट्टै देश घुमेको जस्तो भान हुने यो ठाउँ भित्र पस्दा अनि बाहिरिँदा अत्यन्तै भिन्न अनुभूति हुन्छ ।

The Little Mermaid यहाँको उत्कृष्ट पर्यटकीय क्षेत्र भनेर लोकजीले त्यहाँसम्म लिएरै जानु भयो । सहरबाट करिब आधा घण्टा हिँडेरै पुगिने ठाउँ रहेछ । ठूलो नहरको तीरमा ढुँगामाथि एक निर्वस्त्र जलपरीको तामाको मूर्ति बनेको रहेछ । खुट्टा चाहिँ माछाको पुच्छर आकारको नेपालमा भए मत्स्यकन्या भनिन्थ्यो । त्यहाँ हेर्न आउने राम्रै हुल थियो । मलाई भने खै के रहेछ जस्तो लाग्यो । अहिले यसबारे खोजी गर्दा यसको महत्व संसारभरि नै रहेछ ।  दन्त्य कथामा प्रसिद्धी कमाएका लेखक क्रिश्चियन एन्डरसनद्वारा लिखित यो पुस्तकमा वर्णन गरिएको जलपरीबारे ओपेरा हेरेपछि त्यसको प्रतिमा बनाउन सन् १९०९ मा कार्ल ज्याकोबसेन् (उनैको नाम बाट उनका बुबाले बियर उत्पादन गरेका थिए) ले स्थानीय कालिगढ  एलेन प्राइसलाई लगाइएको रहेछ ।

विविध कारणले पटक पटक यो मूर्तिलाई क्षति पुर्‍याउने कामहरू भए पनि पूनः मर्मत गरिने गरेको छ । यहाँ प्रति वर्ष पचास लाखभन्दा बढी मानिसहरू आउँछन् । यस्तै देखिने प्रतिमा अहिले विश्वका धेरै देशहरूमा बनाउन थालेको छ । हालसालै फेसबुकमा कसैले यो फोटो राख्दा नाङ्गो तस्बिर भनेर रोक लगाएको र पछि लामो प्रयासपछि समस्या समाधान भएको खबर पनि आएको थियो । यिनै लेखकले लेखेका थुप्रै पुस्तकहरूलाई आधार बनाएर हलिउडका चलचित्रहरू बन्ने गरेका छन् । सन् २०१३ मा १५० डलर खर्च गरेर बनाइएको FROZEN चलचित्रको बक्स अफिस आम्दानी १.२८०बिलियन भएकोले पनि देखाउँदछ, उनका पुस्तकहरूको ख्याति र आकर्षणका सम्बन्धमा ।

१९१३ मा स्थापित, सानो मरमेड ,कोपेनहेगन शहर को प्रतीक ।

सहर नजिकै रहेको टिभोली फन पार्क संसारकै दोश्रो पुरानो मानिन्छ । १५ अगस्त १८४३ देखि सुरू भएको यो पार्क अहिलेसम्म पनि आकर्षक पर्यटकीय स्थल बनेको छ । सन् २०१८ मा ४.८५ मिलियन पर्यटकहरू यहाँ आएका थिए । उत्तरी डेनमार्क Klampenbirg अवस्थित अर्को Dyrehavsbakken पनि सन् १५८३ देखि सञ्चालनमा छ । यो नै संसारको पहिलो फन पार्क हो ।

करिव ४३ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशमा ४४४ टापु मध्य ७६मा मात्र मानव बसोबास गर्दछन् । छिमेकी राष्ट्रहरू स्वीडेन र जर्मनी हुन् । जमीनसँग जर्मनी मात्रै जोडिएको छ भने १६ किलोमिटर लामो Oresund पुलबाट स्विडेन पुग्न सकिन्छ । North Sea काटेपछि युके भेटिन्छ । Skagen भन्ने ठाउँमा बाल्टिक र उत्तरी समुन्द्र मिसिने संसारकै अद्भुत दृश्य देख्न सकिन्छ । डेनमार्कको प्रायः जमीन समथर भएकोले ठूला पहाड वा हिमाल बिनाको देश हो ।

यहाँको अग्लो डाँडा भनेको समुन्द्री सतहबाट १७१ मिटर उचाई मात्रै रहेको छ । यहाँका करिब २० नागरिकहरूले संसारकै उच्च हिमाल सगरमाथाको शिखर टेकी सकेका छन् । समुन्द्रले घेरिएको यो देशको कुनै पनि सहरबाट करिब ५० किलोमिटर पार गर्यो भने समुन्द्री तट भेटिन्छ । केही समय पाउने बित्तिकै यहाँका मानिसहरू समुन्द्रमा पुग्दछन् । यहाँका प्रायः सबै मानिसले पौडी खेल्न जानेका हुन्छन् । विद्यालयमा अनिवार्य पौडी सिकाउनु पनि यसको अर्को कारण हो । यहाँको समुन्द्रको कुनैपनि भूभागमा पौडी खेल्न सकिन्छ । यहाँको पानी असाध्यै सफा मानिन्छ । धाराको पानी सबैले सिधै पिउन सक्छन् ।

सन् १९३२ मा Ole Kirk Christiansen ले उत्पादन गरेको लेगो अहिले संसारभर Lego Land को रूपमा एक आकर्षणको केन्द्र बनेको छ । leg Godt भनिएको यस शब्दको मतलब Play Well भन्ने हुन्छ । अहिले संसारकै सबैभन्दा बढी खेलौना लेगोकै बिक्री हुन्छ । यस कम्पनीले प्रत्येक वर्ष आम्दानी र नाफा बढाउँदै गएको छ । यही कै एक युवा Dr Jaap Haartsen  ले सन् १९९४ मा संसारलाई सञ्चारक्षेत्रमा निकै ठूलो महत्व राख्ने Bluetooth को निर्माण गरेका हुन् । यो नामाकरण दशौं शताब्दीका राजा HeraldBluetooth बाट गरिएको रहेछ । त्यस्तै Skype का दुई जना निर्माता मध्ये एक Janus Friis डेनिस नागरिक हुन् ।

सन् १८४७ मा JC Jacobsen ले कोपेनहेगनमा बियर उत्पादन गर्न थाल्यो । आफ्नो छोरा Carl को नाममा नामाकरण गरिएको थियो । हाल संसारका ५०० भन्दा बढी ब्यान्डसँग यसले सहकार्य गर्दछ । सन् १८८३ सम्म बियर अहिलेको जसरी सबैले पिउन सक्दैन थिए । यसमा मिसाइने Yeast (मर्चा) ले धेरैलाई बिरामी बनाउँथ्यो । Emil Christian Hansen ले कार्लस्बर्गमा काम गर्दागर्दै बियरबाट Yeast को छोक्रा छुट्याउन सक्ने प्रविधिको विकास गरेपछि बियर सबैले पिउन थालेका हुन् । गरगहनाको क्षेत्रमा उच्च स्थान पाएको Pandora कम्पनी पनि यही कै हो । यो सन् १९८२ मा कोपेन्हेगनमा सरु भयो र अहिले १०० भन्दा बढी देशमा सात हजार सात सय भन्दा बढी पसलहरूबाट बिक्री हुन्छ ।

खानामा सौखिन डेनिसहरू सपरिवार बसेर लामो समय बातचित गर्दछन् । यहाँका मानिसहरू बढी मासु खाने गर्दछन् । सबैभन्दा बढी बंगुरको मासु खपत हुने गर्दछ । राजधानी कोपेनहेगनमा मानिस भन्दा झण्डै डबल बंगुर पालिएको छ । बंगुरको भुटेको मासु यहाँ धेरै परिकारहरूमा प्रयोग गर्दछन् । संसारभर चिनिने डेनिस प्याष्ट्रीको इतिहास भने अलि फरक रहेछ ।

सन् १८५० अष्ट्रियाका युवाहरू यहाँ आएर बेकरीको व्यवसाय सुरू गरेका रहेछन् । भियनामा पाउने Plunderback लाई यहाँपछि डेनिस प्याष्ट्रिको नाममा प्रचार भयो । कोपेनहेगनमा मात्रै २५ वटा मिचिलियन स्टार रेस्टुरेन्टहरू छन् । संसारकै उत्कृष्ट रेस्टुरेन्टमा यहाँको NOMA को नाम धेरैपटक आएको छ । डेनिस भाषामा कुनै 'कृपया' Please भन्ने शब्द छैन । कसैले कुनै अवसरमा खाना खान बोलायो भने होस्टले बस नभनेसम्म र सुरू गरौं नभनेसम्म कुर्नपर्ने हुन्छ ।

चियर्सलाई SKOL भनिन्छ । SKOL नभनी पियो भने असभ्य मानिन्छ । भाइकिंगहरूको समयदेखि त्यसरी भाँडोमा वा सिंगमा पिउँदै गर्दा स्कोल भनिने गरिन्थ्यो । त्यसको थेगो संस्कारका रुपमा यद्यपि चलिरहेको छ । त्यसमा पनि आफ्नै खालको विरासत देख्न सकिन्छ । प्लास्टिकको झोला प्रयोगमा पूर्ण रोक लगाउने केही देशहरूमध्ये डेनमार्क पनि एक हो । सहरमा सबैले काम जान आउन साइकल प्रयोग गर्ने गर्दछन् । मन्त्रीहरू पनि यातायातको लागि सार्वजनिक सेवा प्रयोग गर्दछन् ।

गजबको कानुन के रहेछ भने यहाँ अरु देशको झण्डा जलायो भने अपराध मानिन्छ र तीन वर्ष जेल सजाय हुन्छ तर डेनिस झण्डा जलाउन कुनै रोक लगाइएको छैन ।

कारभन्दा दोब्बर साइकलको संख्या छ । सन् २०२५ सम्ममा प्रदूषण मुक्त देश घोषणा गरिएको छ । डेनमार्कको झण्डा सबैभन्दा पुरानो मानिन्छ । सन् १२१९ बाट प्रचलनमा ल्याइएको यो झण्डा अहिलेसम्म कुनै परिवर्तन गरिएको छैन । गजबको कानुन के रहेछ भने यहाँ अरु देशको झण्डा जलायो भने अपराध मानिन्छ र तीन वर्ष जेल सजाय हुन्छ तर डेनिस झण्डा जलाउन कुनै रोक लगाइएको छैन । स्वच्छ मौसम भएर होला यहाँ प्रत्येक अर्को दिनमा पानी पर्छ भनिन्छ । वर्षमा करिब १८४ दिन पानी पर्ने गर्दछ । छिनछिन मै पानी परेको हुने तर मसँग छाता नभएकोले दिनभरीमा चार, पाँच वटा रेस्टुरेन्टमा छिरेको मेरो पनि अनुभव रहेको छ । तर अचम्म के देखियो भने पानी परेपनि जताततै साइकल चलाउनेहरू दौडिरहेकै हुन्थे ।

जनसंख्या वृद्धिमा कमी आउनु यो देशको लागि ठूलै समस्या देखिएको छ । छोराछोरी नबनाउने प्रचलन बढेको कारण बुढाबुढीहरू नातिनातिना नभएकोमा चिन्तित देखिन्छन् । बच्चा हुँदा बाबु वा आमा वर्षदिनसम्म काममा जान पर्दैन सरकारले पूरा तलब दिन्छ । विद्यालय मात्रै हैन कलेजको पनि फिस त तिर्न परेन नै बसोबाससहित थप खर्च ९०० यूरो प्रति महिना प्रति विद्यार्थीलाइ दिने चलन छ । सरकारले नै जोडाजोडीलाई प्रजननमा हौसला थप्न विभिन्न स्किम ल्याउने गरेको पाइन्छ । राष्ट्रियरूपमा नै यसलाई Do It For Denmark भनेर प्रचार गरिएको छ ।

नेपाल र डेनमार्क बीच कुटनीतिक सम्बन्ध सन् १९६७ डिसेम्बर १५ बाट जोडिएको हो । अप्रिल १९९२ देखि काठमाडौँमा डेनमार्कबाट Charge De Affairs को नेतृत्वमा आवासीय प्रतिनिधि बसोबास गर्न थालियो पछि राजदूतको व्यवस्था गरिएको थियो । नेपालले पनि सन् २००७ देखि कोपनहेगनमा दूतावास स्थापना गरेको हो । सन् २०१७ देखि भने डेनमार्कको दिल्लीस्थित दूतावासबाट नेपालमा कन्सुलरमार्फत कुटनैतिक सम्बन्ध अगाडि बढाइरहेको छ । नेपाल र डेनमार्कबीच व्यापारिक सम्बन्ध पनि रहेको छ ।

नेपालबाट कफी, चिया, मसला, साबुन, रम, धूप, तेल, तयारी पोशाक, पस्मिना उनी सामानहरू निर्यात हुने गर्दछन् । सन् १९९० देखि केही नेपालीहरू डेनमार्कमा स्थायी बसोबास गर्न थालेको देखिन्छ । पर्यटन व्यवसायमा लागेका केही नेपालीहरूले यहाँको डेनिस महिलाहरूसँग वैवाहिक सम्बन्ध जोडेर यतै बस्न थालेको केही पर्यटकको रूपमा आएको र पछि धेरै जसो उच्च शिक्षा हासिल गर्न आएको देखिन्छ । सन् २००४ पछि यो क्रम अलि बढेको हो ।

हाल करिब चार हजारको हाराहारीमा नेपालीहरू डेनमार्कमा बसोबास गरेको अनुमान गरिन्छ । ५० भन्दा बढी विद्यावारिधि हासिल गरेका नेपालीहरू विभिन्न ठूलो ओहदामा कार्यरत छन् । उल्लेख्य संख्यामा आईटी व्यवसायमा पनि संलग्न छन् । रेस्टुरेन्ट लगायत अन्य व्यवसाय गर्ने क्रम पनि बढेको देखिन्छ । सामान्य त होटल रेस्टुरेन्ट केयर होममा काम गर्नेहरूको संख्या पनि धेरै नै छ । प्रायजसो सपरिवार बसोबास गर्नेहरू धेरै पाइन्छ 

 गैरआवासीय नेपाली संघलगायत दर्जनौं अन्य संस्थाहरू मार्फत नेपाल र नेपालीहरूको लागि सरसहयोग गर्ने गरिएको छ । नेपाली भाषा स्कुलका साथै लाइब्रेरी प्रत्येक शनिबार बिहान ९ बजे देखि १४ बजे सञ्चालनमा रहेको तथा अन्य गतिविधिहरू डेनमार्क डबली डट कम मार्फत सर्वसाधारणलाई जानकारी गराउने जनाएको गरेको देखिन्छ ।

डेनमार्क नेपालभन्दा भूभागको हिसाबले ३.४ र जनसंख्याको हिसाबले झन्डै ५ गुणा सानो छ । जनसंख्याको आधारमा संसारको तालिकामा डेनमार्क ११५ र नेपाल ४९ स्थानमा पर्दछ त्यस्तै भुभागको आधारमा नेपाल ९३ र डेनमार्क १३०औँ स्थानमा पर्दछ ।

भौगोलिकरुपमा अन्य ठूला देशहरूका तुलनामा डेनमार्कले गौरवशाली इतिहास बोकेको र त्यही लिकमा अहिले पनि हिँडिरहेकोमा डेनिसहरू निकै खुशी देखिन्छन् । देश समृद्ध हुन् ठूलो र धेरै जनसंख्या हुनैपर्छ भन्ने रहेनछ । राजनीतिक प्रणाली मात्रै सबै थोक नहुने रहेछ ।

हरेक देशका प्रतिनिधि विशेषताहरू हुन्छन्, डेनमार्कका पनि ती प्रतिनिधी गुणहरूको साक्षी बनेर यात्रा गर्ने अवसर पाएकोमा दंग छु । निकट भविष्यमा पनि फेरिफेरि यात्रा गर्नेछु र ती पहिले घुमेका र नयाँ स्थानहरूका बारेमा जानकारी लिई छुटेका स्थानको पनि भ्रमण गर्ने सोच बनाएको छु ।

श्रेष्ठका अन्य लेखहरू


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x