विचार

भोकको गीता र मरुभूमिको सपना

राजाराम बर्तौला |
असोज २४, २०७८ ६:४४ बजे

कतारबाट फर्किएको पनि दशक नै बित्यो । धुमिल सम्झनाहरू अझै पनि ताजै छन् । धेरै त समयको गतिले पखाली पनि सक्यो, रंगीन तस्बिरको रंग उडेर खैरो भएजस्तो । तर, कतिपय घटनाहरू चाहिँ बिर्सन चाहेर पनि बिर्सन सक्ने किसिमका हुँदैन रहेछन् । दिल र दिमाग हल्लाउने हुन्छन् । अनपेक्षित, सोच र कल्पना भन्दा बाहिरका त्यस्ता घटनाहरू भइदिन्छन् जिन्दगीमा कि यही पाठ बनेर भविष्यको मार्गदर्शक बनिदिन्छ ।   

डिल्लीबजारको ओरालो झर्दै थिएँ, फुटपाथमा दुई युवाहरू कुरा गरिरहेको देखेँ । आँखा जुधे र चिनेँ पनि । उनै भाइहरू जस्लाई मैले कतारको घोर अन्धकारवाट उद्वार गरेको थिएँ । धेरै अगाडि देखेका यी युवाहरू फेरिएछन् । हृष्टपुष्ट पनि भएछन् । बिहेवारी गरेर घरजम पनि गरे होलान् । काठमाडौँको कुनै ठाउँमा घडेरी जोडेर घर पनि बनाए होलान् । प्रत्येक युवाको सपना त्यही त हो । आफ्नो, घर, रोजगार र सुखी र मायालु परिवार । दिन सधँै एकै किसिमका त रहँदैनन् । फेरिएका दिनहरूले ऋतुहरू फेरिए जसरी जीवनमा परिवर्तन पनि ल्याएकै हुन्छन् । 


अहो ! कस्तो अनपेक्षित । दुवै युवाहरू फनक्क मुन्टो घुमाए, नदेखेझैं गरी । कता कता मनमा चसक्क गर्‍यो । यति बैगुनी त मानिस हुन नपर्ने हो । कि चिनेन् हो ? हुन पनि सक्छ । लामो अन्तरालमा स्मृति बिस्मृतिमा गयो होला । हुनसक्छ सचेत दिमागले तत्काल दिएको प्रतिकृया होस् । मानिसले आत्मसम्मानमा पाएको चोट र उद्वारकलाई भुल्न त कसरी सक्ला र ? तर भुलेको अभिनय गरेर विगतको जीवनको अमिलो र तीतो भोगाइको यथार्थलाई विस्मृतिमा नै राख्न चाहेको पनि हुनसक्छ ।

यसरी बाटो दोबाटोमा घरी घरी विगत ठोक्किन आयो भने त्यो पीडाले चस्स चस्स घोचिरहने हुन्छ । कठै ती दिनहरू नभइदिएका भए हुनेथियो, यही सम्झन्छ मानिसले । तर के गर्ने यथार्थ त्यस्तो हुँदैन । पीडाले कोरिएको विगत, संघर्षले खारिएको वर्तमानले जिन्दगीलाई बज्र समान बलियो बनाउँछ जसरी आगोबाट खारिएको सुन ।
 
विषादयुक्त अनुहार लिएर उ मेरो कार्यकक्षमा प्रवेश गर्‍यो । उस्को पछिपछि अरु पाँच जना युवाहरू पनि छिरे । अनुहारमा कुनै चमक थिएन, उत्साह र उर्जा त झन् थिदैं थिएन । मुर्झाएका फूलहरू जस्ता, कोपिलामा नै ओइलाएर झर्न खोजे जस्ता । भाग्यले ठगिएका र कर्मले पनि साथ छोडेका यी युवाहरूले बाँच्ने जिजीविषा भने छोडेका थिएनन् । अरु सबै गुमाएका यिनीसँग अब गुमाउन बाँकी पनि केही थिएन । आफ्नो र आफन्त स्वदेशमै छोडेर आएका यिनीहरूलाई मुग्लानमा माया गर्ने त को नै थिए र ? त्यही आफ्नो बल, र पौरखको भरमा बगाएको पसिनाको मूल्य पनि नपाउने भएपछि आफ्नो सपना पनि स्खलित हुँदै गएको साक्षी यी आफैँ हुन् । 

ओइलाएको अनुहार, थकित शरीर र उर्जाहीन पाइलासहित यिनीहरू प्रवेश गरे । यिनीहरूसँग केही थिएन, थियो त विषादयुक्त व्यथित जिन्दगीका कथाहरू । त्यही पनि सुन्ने कोही थिएनन् । सबैका आफ्नै कथा र सपनाहरू छन्, यो उजाड मुग्लान सहरमा । आफन्त को हुनु र सुन्नु पीडाका समवेत स्वैर कथाहरू । परिश्रमले थाकेर गलेको हो वा जिन्दगीको बोझले थिचेर उनीहरूको हिँडाइमा रत्ति पनि जोश थिएन । 

रहर र सपना एकातिर, बन्धन र बाध्यता अर्कोतिर हुने रहेछ । जीवनका अवसादहरूलाई छाम्यो जताततै भ्वाङ नै भ्वाङ देखेपछि आफ्नो इच्छाहरूलाई थिचेर, भातका सिताहरूको जोहो गर्दै सपनाहरूलाई जीवितै राख्‍न मरुभूमिको तातो रापमा सेकिनु नै छ  नेपालीहरूको नियति । 

सायद जीवनप्रतिको मोह अझै बाँकी थियो, धिपधिप । त्यसैले झिनो आशा लिएर उनीहरू मेरो कार्यकक्षमा सहयोगको याचना लिएर आएका थिए । यद्यपि, शुभेच्छुक, सहयोगी, सहृदयी, मानवीय भावनाले प्रेरित मानिस पनि हुन्छन् भन्ने कुरा उनीहरूले बिर्सिसकेका थिए । मेरो कुनै मुलुक छ र म त्यसको सम्मानित नागरिक हुँ, राष्ट्रको लागि रगत बगाउन पछि नपर्ने म, मलाई पर्दा मेरो देश अगाडि आउँछ भन्ने त सोचेकै थिएनन् होला सायद । 

‘भाइ के समस्या लिएर आउनु भयो?’
‘के भन्ने सर, भोक र भोगले दिने पीडा लिएर आएको । छ महिना भयो पेटभरी खाएको छैन । अरुले दिएको जुठोपुरो खाएर बाँचिरहेका छौं । बस्ने ठाउँको ठेगान छैन फुटपाथको पाहुना भएका छौं ।’
‘अनि कहिले आउनु भएको हो कतार?’

‘एक वर्ष भयो । छ महिना भयो कम्पनी बन्द भएको । साहु र म्यानेजर भागेर विदेश गए । यहाँ कोही पनि छैनन् हामीलाई हेरविचार  गर्ने । अर्को कम्पनीमा काम गर्न जान वा स्वदेश फर्कन ‘खुरुज’ चाहिन्छ, त्यो दिने कोही पनि छैनन् । हाम्रो राहदानी पनि उनीहरूले के गरे थाहा भएन । हामी त परिचयहीन भएका छौं । हाम्रो बिचल्ली भयो । मर्नु न बाँच्नु भयो । न अर्को काम पाइन्छ, न घर फिर्ता जान नै पाइन्छ । हामी के गरौं ?’

जीवनप्रतिको उत्साह हराएको, बाँचिने आशासमेत गुमाएको अवस्थामा ‘डुब्तेका तिन्केका सहारा’ भनेजस्तै दोहामा राजदूतावासको स्थापना भएपछि आफ्नो पीडा र गुनासो राख्ने ठाउँ पाएका थिए यी र यस्तै अन्य पीडित नेपालीहरूले ।  

मेरो कार्यकक्षमा आफ्नो पीडाको पोको बोकेर आउने छ जना मध्ये दुई जना स्नातकोत्तर उत्तिर्ण, र एकजनालाई छोडेर बाँकी स्नातक थिए । नेपाली स्नातक युवाले मरुभूमिमा भेडा चराउँछ भन्दा सगरमाथाको शीरमा लज्जाको रेखा देखिन्छ । के गर्ने भोको पेटले सगरमाथा चढ्दैन । राष्ट्रियताको दम्भले पेट भरिन्न । विदेशी भूमिमा श्रम बेच्नु र बेचिनु बाध्यता भएको छ । यो वेदना सुनिदिने कस्ले ? स्वेच्छाले कोही परदेश गएको छैन । आँसुका थोपाहरूले प्रेम वियोग सम्हालेका छन् । 

आँखाभरी सपना र मुटुभरी मायाको संसार बोकेर परदेशिएका यी युवा मन कति विरक्तिएको होला ? कति विक्षिप्त भएको होला ? मानवीय समवेदना शून्य समाजमा एउटा गरिबको पीडा कस्ले बुझ्दछ र ? कानुनको घोडा चढेर मानिसहरूलाई कजाउन पाएपछि कोही मरोस् या बाँचोस् के सरोकार पराईलाई । 

अदालतवाट कम्पनीको मालिक र म्यानेजर दुवैले मुलुक छोडेर भागेको हुँदा कम्पनीको कामदारहरूलाई अलपत्र छाड्ने काम गैरकानुनी र अमानवीयसमेत भएको हुँदा यी कामदारहरूलाई अरु कम्पनीमा काम गर्न या स्वेच्छाले घर फिर्ता हुन् पाउनु पर्दछ भनी कानुनी लडाइँ गर्दा कामदारहरूको पक्षमा फैसला गराउन सफल भएकोले यी नेपालीहरूको समस्या समाधानतर्फको पाइला एककदम अगाडि सरेको थियो । 

छ–छ जनालाई नेपाल फिर्ता पठाउन लाग्ने खर्चको जोहो गर्नु चानचुने कुरो थिएन । चन्दा मागेर पनि सकिने अवस्था थिएन । फेरि दूताबासले पालेर नै राख्‍न सक्ने कुरा पनि भएन । यिनीहरूलाई कुनै काममा लगाइ दिन पाए सबैको कल्याण हुने थियो भन्ने सोचले उनीहरूलाई त्यहीँ बसेर कुनै कम्पनीमा काम गर्न र आर्थिक अवस्था राम्रो भएपछि स्वदेश फर्कन अभिप्रेरित गरियो । 

जीवनप्रतिको उत्साह नै घटिरहेको र स्वाभिमानमा ठेस परेर आत्मविश्वास लडखडाइ रहेको अवस्थामा जीवनलाई पुनः भविष्यप्रति आशावादी बनाइ सपना देख्‍ने बनाउने कार्य कठिन थियो । मुर्झाएका पातहरूलाई जलसिंचन गरेर जीवन दिनु जत्तिकै थियो यो प्रयास । मिहिनेत गरेर रंगीन फूलहरू फुलाउनु थियो र स्खलित सपनाहरूलाई पुनर्ताजगी प्रदान गर्नु थियो । कठिन थियो तर मिहिनेत गर्दा सम्भव थियो । 
 
तारतम्य मिल्यो भने पश्चिमाहरू निकै सहयोगी हुन्छन् । त्यस्तै एउटा बेलायती नागरिकले सञ्चालन गरेको कम्पनीमा काम दिएर अतुलनीय गुण लगाएका थिए । पारिश्रमिक पनि कल्पना गरेभन्दा धेरै नै राम्रो दिए । उनीहरूले पाउने आधा तलब नै अरु नेपाली कामदारहरूले पाइरहेको तलब भन्दा धेरै थियो । उनीहरूको प्रशिक्षण सकिएपछि ती बेलायती खुसी हुँदै दूतावासमा आएर भने, ‘तिमीले दिएका कामदारहरूले सफलतापूर्वक प्रशिक्षण पूरा गरे र दक्ष भए ।’

खोरिया खनेर परिवारलाई पाल्न सक्ने भए, भीर पाखाका बारीका फोकटा जोतेर मनग्य आम्दानी हुने हो भने, गाई, भैंसीका दुध बेचेर, खसीबोकाहरू पालेर नगद आम्दानीको आवश्यकता पूर्ति हुने हो भने को जाँदो हो मरुभूमिको धप्धपी प्रचण्ड गर्मीको रापमा सेकिएर बेल्चा चलाउन ।

पहाडी हरियाली र उतुङ्ग शिखरले अग्ला सपना देखाउन सिकाए पनि, साहसले शिखरमा पाइला चाल्न सिकाए पनि, मिहिनतले पहराको चट्टान फोर्न सामथ्र्य बनाए पनि परिश्रमले सपना पूरा गर्न सक्ने बनाएन । संख्या थपिँदै जाँदा, आवश्यकताहरूको चाङ थपिँदै जाँदा, आफूले ओडेको च्यादरले शीर ढाके खुट्टा नछोपिने, खुट्टा छोपे शीर नढाकिने हुन्छ । रहर र सपना एकातिर, बन्धन र बाध्यता अर्कोतिर हुने रहेछ । जीवनका अवसादहरूलाई छाम्यो जताततै भ्वाङ नै भ्वाङ देखेपछि आफ्नो इच्छाहरूलाई थिचेर, भातका सिताहरूको जोहो गर्दै सपनाहरूलाई जीवितै राख्‍न मरुभूमिको तातो रापमा सेकिनु नै छ  नेपालीहरूको नियति । 

जसरी हिमाच्छादित टाकुराहरूले पनि प्रकाश परावर्तन गर्दै आँखाको ज्योति हरण गर्न खोज्दछ त्यसैगरी मरुभूमिमा टलक्क टल्किने बालुवाका कणहरूवाट परावर्तित किरणहरूले पनि आँखाकै ज्योति हरण गर्न खोज्दछ । नेपालीका सपनाहरू हिम किरणमा पनि झल्कन्छन् जसरी त्यसरी नै टल्कन्छन् बालुवाकणमा पनि । 
कपनमार्ग, बाँसवारी
काठमाडौँ ३
२३ आश्विन २०७८



Author

थप समाचार
ad
x