सैनिक शासनले सप्ताह-पार : बर्मामा उठिरहेका तीन औँला
रंगुन (बर्मा) : म्यान्मार सेनाले नौ दिनअघि अर्थात् अघिल्लो सोमबार गरेको ‘कू’को विरोधमा केही दिनयता लगातार हजारौँ मानिस सडकमा उत्रिएका छन् । अलोकतान्त्रिक कदमको खुलेर विरोध गर्दै बर्मामा सैन्य शासनको अन्त्य अपरिहार्य भनिरहेका छन् । दैनिक सडकमा प्रदर्शनकारीको भीड बढ्न थालेपछि पटक- पटक सत्ताको स्वाद लिएको बर्मेली सेनाले आममानिसको दैनिकीसँग जोडिएको इन्टरनेट सेवासमेत बन्द गरिदिएको छ । बर्मावासी सामाजिक सञ्जालविहीन छन् । बेलाबखत भीपीएनमार्फत ट्विटर चलाउने गरे पनि इन्स्टाग्राम र फेसबुक बन्द छन् ।
चीनमा झैँ बर्मामा पनि इन्टरनेटको पहुँच हुँदा सामाजिक सञ्जाल भीपीएनबाट चलाउनुपरेको छ । तर त्यो पनि कतिबेला आक्कलझुक्कल आइरहेको हुन्छ । यो हेर्दा मलाई कता- कता २०६१ मा राजा ज्ञानेन्द्रको ‘कू’ स्मरण गर्न बाध्य हुन्छौँ । यद्यपि नेपालमा सेनाको आडमा राजसंस्थाले यस्तो ‘कू’ गरेको थियो । अन्ततः नेपाली नागरिकले राजसंस्थालाई बिदा गरिदिए । बर्मामा पनि जनता उर्लेर सैन्य नेतृत्वसँग आमने-सामने गरिरहेको र भीड हेर्दा आन्दोलनकारीले काठमाडौँको रिङरोड घेरैझैँ अनुभव हुन थालेको र शाही शासन हल्लिएको अनि तत्कालीन गृहमन्त्रीले पटक- पटक साँच्चै कफ्र्यू लाग्ने भनेका वाणी यहाँ स्मरण गरिरहेको छु ।
प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनासर्त रिहाइको माग राखेका छन् । रंगुन विश्वविद्यालयका विद्यार्थीहरूको प्रदर्शन, कर्मचारीहरू जागिर र काम छाड्दै आन्दोलनमा होमिन थालेपछि सैन्य शासकलाई चस्का देखिन्छ । नेतृ सुकी र राष्ट्रपति मिन्टसहित दर्जनौँ नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्द वा कैदमा कहाँ राखेको छ भन्ने अझै अन्यौल छ ।
विश्वविद्यालय र विद्यालय परिसरभित्र रहेका प्रदर्शनकारीलाई विश्वविद्यालयको मूलढोका बाहिर निस्कन नदिन दंगा प्रहरीको कडा पहरा छ । पानीको फोहोरा फाल्ने ट्रकसमेत तैनाथ छ । म्यानमारमा सेनाले निर्वाचित संसद्को पहिलो सभालाई अवरोध गरी सैन्य कार्य अघि बढाएका हुन् । सेनाको कदमले हुर्कन लागेको म्यानमारको लोकतन्त्रको घाँटी निमोठिएको छ । मुलुक अशान्त बनेको छ । दंगा प्रहरीहरूले रंगुनलगायतका सहरको मुख्य भाग, चोक तथा सडकमा धरपकड बढाएको छ ।
अन्तर्राष्ट्रिय विरोध
म्यान्मारस्थित अमेरिकी दूतावासले त्यहाँको सैन्य नेतृत्वलाई तत्काल सत्ता परित्याग गर्न आग्रह गरिरहेको छ । लोकतान्त्रिक तवरबाट निर्वाचित सरकारलाई पुनर्बहाली गर्दै नजरबन्दमा रहेका नेता तथा कार्यकर्तालाई रिहाइ गर्नसमेत अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले माग गरेको छ । राष्ट्रसंघले समेत तत्काल म्यानमारको सैन्य नेतृत्वमाथि हस्तक्षेप गर्नुपर्ने बताइसकेको छ ।
दूरसञ्चार अवरोध हटाउन तथा हिंसा प्रयोग निरुत्साहन गर्नसमेत राष्ट्रसंघ र लोकतान्त्रिक धारका मुलुकहरूले आग्रह गरिरहेका छन् । म्यान्मारका जनताको प्रजातान्त्रिक ढंगबाट चुनिएको आफ्नो सरकारको पक्षमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको पक्षमा अमेरिका सधैँ उभिने भन्दै सैन्य शासनको विरोधमा अमेरिकीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
हुन पनि बर्मेली सेनाले पाँच जनाभन्दा धेरै भेला नहुनू भनी गरेको निषेधाज्ञालाई बर्मेली नागरिकले अवज्ञा गर्ने लक्षण देखिएको छ । रंगुन सहरमा सयौँको संख्यामा भेला भई प्रदर्शन भएका समाचार बाहिर आएका छन् । सैनिकविरुद्धको प्रदर्शन बढ्दै गएपछि बर्मामा सोमबार राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यू लगाएको थियो । मंगलबारदेखि मुलुकका सबै प्रमुख सहरमा पाँच जनाभन्दा धेरै भेला हुन नपाइने गरी निषेधाज्ञासमेत बर्माको सैन्य सरकारले जारी गरेको छ ।
सैन्य शासनविरुद्ध सडकमा भिक्षु उत्रिए
सामाजिक सञ्जालमा सुले प्यागोडा वरपरको ड्रोन सटहरू राखिएका छन् । जहाँ बर्मेली सबै तहमा नागरिकहरूले सैन्य कदमको विरोध गरिरहेका छन् । सोमबार केही भिक्षु तथा म्यानमार राष्ट्रिय फुटबल टिमका खेलाडीहरू पनि सैनिक कदमविरुद्ध प्रदर्शनमा उत्रेका थिए । बौद्धमार्गी देश बर्मामा वौद्ध भिक्षुहरू सडकमा सेनाविरुद्ध उत्रिए भने त्यसले सेनालाई अप्ठेरो पार्ने बताउँदै आएको छ । भिक्षुहरू सडकमा नजााउन भनेर कतिपय स्तुप, गुम्बाहरूबाट बाहिर आउन र भित्र जानसमेत दिइएको छैन ।
बर्मामा सरकारी र सरकार नियन्त्रितबाहेक अन्य रेडियो, टिभी, पत्रपत्रिका, फेसबुक, ट्विटर, इन्स्टासहितका सञ्चार माध्यम बन्द भएपछि बाहिरी दुनियासँग जोडिने सर्टवेभ रेडियोको माग र बिक्री बढेको छ । हुन त, सन् २०१० पहिले बर्मामा बीबीसी, भीओएसहितका रेडियो सुन्नु विद्रोह गर्नुकै एउटा रूप मानिन्थ्यो । सरकारी टेलिभिजनले सोमबार सूचना प्रकाशित गरेर विभिन्न खाले प्रदर्शनको नाममा शान्ति सुरक्षा खलल पार्ने काम गरिए तीमाथि कारबाही हुने भन्दै जनतालाई निरुत्साहित गर्ने काम गरिरहेको छ । दिउँसोको चार बज्न लाग्दा आज बिहान ८ बजेदेखि सुुरु भएको प्रदर्शनका सहभागी मुख्य चोकबाट फर्केपछि बर्मेली सेनाको समर्थनमा पनि पुनः जुलुस निकाल्ने काम भएको छ । केही सरकारी मानिस र सत्ता नजिकका केही व्यक्तिहरू गाडीमा घुम्दै समर्थन गर्दैछन्, जसलाई बर्माका सञ्चार माध्यमले त्यसलाई सैन्य कदमको पक्षमा जनता भनेर व्यापक प्रचार- प्रसार गरिरहेका छन् ।
आन्दोलन गर्ने नयाँ तरिका
तीन दिन पहिलेसम्म दैनिक दुई- चार सय भेला भएर सेनाको समर्थनमा नाराबाजी गर्थे । दुईपक्षीय जुलुसबीच झडप भए स्थिति तनावपूर्ण हुन्छ कि भन्ने चिन्ता धेरै व्यक्त गर्छन् । नयाँ पुस्ताको आन्दोलन गर्ने तरिका पनि नयाँ छ । साँझ ड्रम बजाएर क्रान्तिकारी गीत गाउँछन् । दिउँसो सैन्य शासनको विरोध र लोकतन्त्रको पक्षमा लोखिएका प्लाकार्डसहित जुलुसमा निस्कन्छन् । एकले अर्कालाई तीन औँला देखाएर ऐक्यबद्धता जनाउँछन् । जुलुसमा आएका सुरक्षाकर्मीलाई फूल र पानी तथा आन्दोलनकारी खाना- पानी बाँड्छन् । स्काउटहरू एक अर्कालाई भेट्दा देब्रे हात उठाएर तीन औँला देखाउँछन् । गाडीमा आएकाहरूले पनि प्रदर्शनकारीलाई तीन औँला देखाएर समर्थन गरिरहेका हुन्छन् । गाडी साइडमा रोकेर केही बेर प्रदर्शनकारीसँग हिँडेका समेत दृश्य देखिन्छ ।
अधिकांशले जुलुसको समर्थन गर्र्दै गाडीको हर्न बजाउँछन् र हातका तीन औँला निकाल्छन् । सडकमा उभिएकाले पनि त्यही तीन औँला देखाएर ऐक्यबद्धता जनाउँछन् । आज पनि हजारौँको संख्यामा जुलुस निस्केको छ र रंगुनमा यो क्रम बढेको देखिन्छ । बर्माभर विरोधको यो तरिका लोकप्रिय भएको छ । सबै जना गाडीको हर्न बजाउँछन् । हातका तीन औँला निकाल्छन् । सडकमा उभिएकाले पनि त्यही तीन औँला देखाएर ऐक्यबद्धता जनाउँछन् । आज सबैभन्दा ठूलो जुलुस निस्केको छ, रंगुनमा ।
बर्माका विभिन्न ठाउँमा यस्तै जुलुस निस्केको खबर भीपीएनमार्फत कहिलेकाहीँ खुलिहाल्ने इन्टरनेटले दिएकै छ । सायद, त्यो नियन्त्रण गर्ने स्थानमा पनि लोकतन्त्र पक्षधर भएर हुनुपर्छ । बेला- बेलामा इन्टरनेट खुल्छ । सैनिक शासनविरुद्ध बर्मेली नागरिक हरेक राति ८ बजेपछि आफूसँग भएका जे भाँडाकुँडा छ, त्यही बजाएर विरोध गरेका छन् ।
नेपाली दूतावास नजिकैको सुले प्यागोडा काठमाडौँको रत्नपार्क जस्तै हो, रंगुन सहरका लागि । बढ्दो जुलुस देख्दा म्यानमारमा सैन्य नेतृत्वले ढिलो- चाँडो घुँडा टेक्ने देख्छु ।
जुलुसमा ‘हामीलाई सैन्य शासन मान्य छैन’ भन्ने नारा लाग्ने गरेको छ । रंगुन सहरमा जारी जुलुस नियाल्दा सहभागी हुनेको संख्या बढ्दै गइरहेको देख्न सकिन्छ । प्रदर्शनकारीको संख्या दिनानुदिन बढ्दै गएको छ । अस्तिभन्दा हिजो ठूलो थियो र हिजोभन्दा आज झन् ठूलो छ । राजधानीमा प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने क्रम निरन्तर छ ।
यो घटना नियाल्दा बालुवाटारमा असंवैधानिक कदमको विरोधमा उत्रेका मेरा सिनियर, सहकर्मी र पत्रकार तथा लेखकहरूमाथिको फोहोरा प्रहार सम्झेको छु । रंगुन सहरको मध्यभागमा अवस्थित कान्डावजी पार्क वरपर देखिएको दृश्यलाई नियाल्ने काम गरिरहेका छौँ । जहाँ नेपाली दूतावास पनि छ । जुलुस सुले प्यागोडातर्फ अगाडि बढ्दै गएको छ । नेपाली दूतावास नजिकैको सुले प्यागोडा काठमाडौँको रत्नपार्क जस्तै हो, रंगुन सहरका लागि । बढ्दो जुलुस देख्दा म्यानमारमा सैन्य नेतृत्वले ढिलो- चाँडो घुँडा टेक्ने देख्छु ।
आफ्नालाई नियुक्ति गर्दै सेना
सरकारी मुखपत्र समाचारमा केही राज्यमन्त्री र सर्वोच्च अदालत तथा प्रदेश अदालतमा धेरै न्यायाधीश थपिएका सूचना आएका छन् । सेनाले भएका न्यायाधीश हटाउने र भकाभक नयाँ न्यायाधीश नियुक्त गर्दैैछन् । जरसाहेबले दिनदिनै यस्तै दर्जनौँ नयाँ नियुक्ति र पुरानालाई हटाएको सूचनाले पत्रिका भरिएको छ । यसो हेर्दा नेपालको माघ १९ पो सम्झना आइरहेको छ । बर्मेली राजधानी नेपिद्अमा निस्केको सोमबारको जुलुसमा वकिलहरू पनि सहभागी थिए ।
शैली गाउँ गाउँबाट उठ ...
रंगुनमा निस्केको जुलुुस हेर्दा लाग्छ, नेपालमा गाउँगाउँबाट उठ... भने जस्तै यहाँ हाम्रो पुर्खाको यो देश भन्ने गीत प्रचलित छ । क्रान्तिमा गाउने । त्यही गीत गाएर मानिस सडकमा निस्केका छन् । पाँचजना भन्दा बढी उपस्थित हुन नपाउने सरकारी अवज्ञा तोडिएको देख्दा कमल थापाले लगाएको कर्फ्यूको स्मरण गरिरहेको छु । बर्मामा सैनिक शासनको आठौँ दिन ।
निजी रेडियो टिभी पत्रपत्रिका बन्द भएपछि बर्मामा सरकारीइतरका खबर पाउने सञ्चार माध्यम भनेकै भीपीएनबाट चल्ने फेसुबक मात्र हो । हिजो ठूला सहरमा जुलुस निस्केपछि आन्दोलनकारी उत्साहित देखिन्छन् । आज दिउँसो पनि प्रदर्शन आयोजना गरिएका छन् । त्यस्ता क्रान्ति जोडिएका गीतसहिन प्रदर्शनकारी आएपछि त्यो विरोधको तरिका सामाजिक सञ्जालमा धेरै लोकप्रिय भयो । त्यसपछि सैनिक शासकले कहिले इन्टरनेट त कहिले सामाजिक सञ्जाल बन्द गर्ने गरेका छन् ।
प्रहरीलाई गुलाफ
भ्यालेन्टाइनको रोज डे सम्झेर होइन । काँडाभित्र कोमलता पनि हुन्छ भनेर होला । बर्मेली आन्दोलनकारीले प्रहरीलाई गुलाफ फूल र खानेपानी वितरण गरिरहेका छन् । बर्माको व्यापारिक केन्द्र तथा पुरानो राजधानी रंगुनका चोकबाट जुलुस निस्केर सुले प्यागोडातर्फ अगाडि बढिरहेका प्रदर्शनकारीहरूमा यो अवस्था देखिएको हो । यो लेडान सेन्टरमा देखिएको जुलुस पाँच किलोमिटर हिँड्दै सुलेमा पुगेका थिए । इन्टरनेट बन्दले पनि रोकिएन सैनिक शासनविरुद्धको जुलुस भन्दै सैन्य नेतृत्व अलमलमा परेको देखिन्छ ।
बर्मामा सरकारी र सरकार नियन्त्रितबाहेक अन्य रेडियो, टिभी, पत्रपत्रिका, फेसबुक, ट्विटर, इन्स्टासहितका सञ्चार माध्यम बन्द भएपछि बाहिरी दुनियासँग जोडिने सर्टवेभ रेडियोको माग र बिक्री बढेको छ ।
चार दिन अगाडिसम्म सेनाको कदममा साथ दिँदै दुई-चार सयको जुलुस निस्केको भए पनि अहिले त्यो दृश्यमा परिवर्तन हुन थालेपछि सैन्य नेतृत्व अत्तालिएका हुन् । बर्मेली राजधानी नेपदिअमा आज बिहान निस्केको मोटरसाइकल जुलुस । जुलुसका सहभागीले सांसदलाई थुनिएर राखेको सरकारी निवास नजिकै परिक्रमा गर्दै नाराबाजी गरेका थिए । सबैको नारा थियो, ‘सैनिक शासन मान्य छैन ।’ जुलुसका सहभागीले सांसदलाई थुनेर राखेको सरकारी निवास नजिकै परिक्रमा गर्दै नाराबाजी गरेका थिए । सबैको नारा थियो, ‘सैनिक शासन मान्य छैन ।’
बैंकको गुनासो
बैँकिङ क्षेत्र पनि आन्दोलित हुन सम्भावना छ । इन्टरनेट कटौतीपछि कामै गर्न नसकिने भन्दै सरकारको विरोध गर्न थालेपछि इन्टरनेट केही समयलाई दिइएको बर्मेली प्राविधिकहरूले बताइरहेका छन् । इन्टरनेट दिइए पनि यहाँ फेसबुक, ट्विटर, इन्स्टाग्राम बन्द छन् । जतिले चलाएका छन् । उनीहरूले भीपीएनको सहारा लिएका छन् । हुन पनि बर्मामा सेनाको कदमविरुद्ध रगुन सहरमा ४० जनाबाट सुरु भएको जुलुसमा हजारौँको संख्या उपस्थित हुन थालेपछि सेना अत्तालिएको हो । यद्यपि प्रदर्शन शान्तिपूर्ण देखिएको छ । सुरक्षाकर्मी र आन्दोलनकारी दुवै संयमित देखिँदा सुरक्षाकर्मीले पनि प्रदर्शकारीको पक्षमा नै लागेको हो कि भन्ने आभास मिल्छ । जुन ६२/०६३ को आन्दोलनमा नेपालमा पनि देखिएको थियो ।
सुकी कता छिन् ?
बिहान आङ सान सुकीको यागौँस्थित घरछेउ पुगेर आउँदा त्यहाँका केही दृश्य कैद गर्न सकेको थिएँ । फूलमा पानी हालेको भिडियोमा उनको घर देखिन्छ । उनको पार्टी एनएलडीको झण्डाको चिन्ह हो, जसले यो चुनावमा ८३५ सिट जितेको थियो । रातोमा सेतो तारा र पहँेंलो मयुर छ । हुन त यहाँ हल्ला भने सुकीलाई यहाँको घरमा ल्याइयो भन्ने पनि छ । त्यो हो जस्तो लागेन । सरकारी मिडिया मात्र सञ्चालनमा रहेकाले यहाँका बासिन्दालाई कुन सही समाचार हो, कुन गलत थाहा पाउनै कठिन छ ।
‘नागरिक अवज्ञा’ आन्दोलनले गति लिएको छ । सरकारी टेलिभिजनसहित समाज कल्याण मन्त्रालयका केही कर्मचारीले आजबाट काम गरिँदैन भनिदिएका छन् । उनीहरूले सोमबार काम गरेनन् । हुन पनि आन्दोलनकारीले जागिर छाडेकाको जीवन चलाउन कोषको व्यवस्था नै गरेका छन् । बर्मामा केही विद्यार्थी र प्राध्यापकले सैनिक शासनअन्तर्गत पठनपाठन नगर्ने आन्दोलन सुरु गरेका छन् । केही स्वास्थ्यकर्मी, वन विभाग, विश्वविद्यालय, सरकारी वकिल, विद्युत् विभागका कर्मचारीले राजीनामा दिइरहेका छन् ।
अनलाइन र अफलाइन गतिविधिको ‘मोनिटर गर्न’ तथा सेनाको कदमको विरोधमा उत्रिएका जोसुकैलाई जहाँबाट पनि बिना ‘वारेन्ट’ गिरफ्तार गर्न सरकारी निर्देशन पनि आएको छ । अहिलेसम्म १३० जना भन्दा धेरै अधिकारकर्मी, लेखक, कलाकार समातिएका छन् । धेरैजना भूमिगत भएका छन् । सेनाको शासनअन्तर्गत रहेर काम नगर्ने भन्दै धेरै सरकारी कर्मचारीले राजीनामा दिन थालेका छन् । राति नेताहरूलाई पक्राउ गरेका छन । जननिर्वाचित राष्ट्रपति, मन्त्री र सांसदलाई नियन्त्रणमा लिएर सैनिक शासन सुरु गरेका सैनिक प्रमुख जनरल मिन आङ लाइङको समर्थनमा बर्मामा सुरुका दुई दिन त जुलुस निस्के ।
संसद् जिउँदै
सैनिक नियन्त्रणमा रहेका ७० जना जननिर्वाचित सांसदले सेनाको घेराभित्रै आज संसद् चलाए । संविधानतः संसद् भंग हुन नसक्ने भन्दै सैनिक कदम अस्वीकार गरे । संसद्को बैठकको अध्यक्षता फ्यू फ्यू थिनले गरिछन् । परार फ्यू फ्यूसँग गाउँतिर डुल्दै एउटा डकुमेन्ट्री बनाएको थिएँ । सैनिक नियन्त्रणमा रहेका बर्मेली राष्ट्रपति विन मिन्ट र उनको परिवारलाई सेनाले बिहीबार साँझ राष्ट्रपति भवनबाट निकालेको तर कहाँ लगेको भन्ने जानकारी नभएको एनएलडी पार्टीले जनाएको छ । राष्ट्रपतिले कोरोनाकालमा भीडसँग भेटी कानुन उल्लघंन गरेकाले नियन्त्रणमा लिइएको सैनिक सरकारले बताएको छ । (इकागजका चन्द्रशेखर अधिकारीले बर्मामा रहेका नेपाली पत्रकार भट्टराईसँग गरेको कुराकानी र ट्विटरमा राखिएका पोस्टमार्फत तयार गरेको सामग्री)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया