मेरो टोलको बरमझियाको पेडा र कम्युनिस्ट दोकान
दुई नम्बर प्रदेशको पूर्वी सिमाना हो, सप्तरी जिल्ला । सप्तरी राजनीतिक, आर्थिक र सामाजिक कारणले चर्चामा रहने गर्छ । त्यसैमध्ये एक हो, बरमझियाको पेडा । पूर्व-पश्चिम् राजमार्गअन्तर्गत कञ्चनरूप नगरपालिका-२ मा अवस्थित छ बरमझिया । पाँच किलोमिटर क्षेत्रफलमा फैलिएको बरमझिया पेडा पसलहरूका कारण चर्चित छ ।
राजमार्गको दुवै किनारमा पसल खुलेको छ । जो कोहीलाई पनि ध्यान तान्ने गर्छ । दिवा तथा रात्रि सेवाका यातायातहरू बरमझियाको पेडा पसलमा घुइँचो लाग्ने गर्छ । बिहानको ३ बजेदेखि रातिको १० बजेसम्म यहाँका पसलहरू खुल्ला नै हुन्छ । सबै पेडा पसलको नाम मिल्दोजुल्दो भएकाले असली पेडा पसल खोज्न मुस्किल नै पर्छ । लेखकको जन्मथलो पनि यही नगरपालिका-८ मा पर्छ ।
राजमार्गमा देखिएको पेडा पसलको ब्रान्ड स्थापित गर्ने व्यक्ति भने बैजनाथ साह हुन् । ७० वर्षअघि बरमझियामा साहले सुरु गरेको पेडा पसलले गर्दा बजार स्थापित भइरहेको छ । बरमझियाको पेडाको चर्चा नेपालमा होइन, भारतको अनेक सहरमा पनि हुने गर्छ । बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशकमा ५० भन्दा बढी पेडा पसल खुलेका छन् । पसल खोल्नेहरूमध्ये आधाभन्दा बढी बैजनाथकै पसलमा काम सिकेकाहरू छन् । बैजनाथको पसल अझै छ तर ५० भन्दा बढी पसलको माझमा उनको पसल खोज्नै मुस्किल छ ।
यता ‘बूढो बाजे’, उता पनि ‘बूढो बाजे’, यता ‘असली’, उता पनि उही ‘पुरानो’ । साइनबोर्ड पनि एकै किसिमका । सबै पेडा पसलको नाममा असली, पुरानो, बूढो र बैजनाथ जोडिएकै हुन्छ । बरमझियामा दैनिक ५० हजार लिटर दूध खपत हुन्छ । पेडा व्यवसायको कारणले यहाँ व्यवसायीले मात्रै होइन, किसानले पनि रोजगारी पाएका छन् । यहाँ पेडाको व्यापार फस्टाएको छ । औसत प्रत्येक पसलले १५-२० हजार रुपियाँको व्यापार गर्ने गर्छ । प्रतिस्पर्धा बढे पनि बरमझियाको पेडाको आकर्षण घटेको छैन ।
सीप, कला, मिहिनेत र लगानी सबै बाजेको पेडाको ‘ब्रान्ड’मा सीमित बनाएर पेडाको व्यापार गर्नुबाहेकको विकल्प छैन । सबैतिर बाघको छाला ओढेर खेत खाइरहेका छन् । यी बिचरा पेडा व्यवसायीको मात्रै के चर्चा गर्नु ? केही दिन अगाडि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव-प्रचण्डलाई खिया लागेको नटबोल्टसँग तुलना गर्दै त्यो फुस्कियो नेकपाको अगाडि बढ्यो बढ्यो भनेका थिए ।
ओलीले पार्टी बरमझियाको पेडा पसल हो र असली र नक्कली छुट्टयाउने भन्दै आफ्ना दलका अर्का अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका थिए । नेपालका कम्युनिस्टहरू पनि बरमझियाको पेडा पसल जस्तै छुट्टै पहिचान बनाउन नसकेर हो अथवा बिक्दैन भनेर, आजसम्म पुरानै तरिकाले घिस्रँदै छन् ।
असली कम्युनिस्ट हुँ, इमानदार हुँ, अग्रगामी हुँ, क्रान्तिकारी हुँ, राष्ट्रवादी हुँ भन्ने प्रमाणित गर्न बरमझियाको पेडाको शैलीमा पार्टी कार्यालयको साइनबोर्ड र चुनाव चिह्न दाबी गरिरहनुपर्छ र ?
आफूलाई असली बरमझिया पेडा जस्तै देखाउन कार्ल माक्र्स र लेनिनको फोटो झुन्ड्याएकै हुन्छन् । २००६ वैशाख १० गते भारतको कलकत्तामा स्थापना भएको नेकपा दर्जनौँ पटक फुट्दै र जुट्दै थिए । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनले अभूतपूर्व सफलता हासिल गरेको थियो । लगभग दुई तिहाइ मतसहित केपी ओली प्रधानमन्त्री बनेका थिए । र २०७५ जेठ ३ गते वाम दलहरूको एकता भएर नेकपा बनेको थियो । केपी ओली र प्रचण्ड नेकपाको अध्यक्ष बनेका थिए । सत्ता स्वार्थको द्वन्द्व दुई अध्यक्षको बीचमा चरम उत्कर्षमा पुगेको छ । विगतमा फुट्दै र जुट्दै आएको कम्युनिस्ट पुनः कानुनीरूपमा विभाजनको अन्तिम दिन कुरिरहेको छ । नेकपा मात्र एउटा छ । बाँकी पार्टी संगठन, अध्यक्ष, कमिटी, पार्टी कार्यालय, भेला, बैठक अलगअलग छन् ।
नेकपा स्थापनाको ७० वर्षमा अनेकौँ पात्र फेरिए, संस्कार चाहिँ अझै उस्तै छ । केशरजंग रायमाझी र पुष्पलाल अथवा मोहनविक्रम सिंह र मोहन वैद्य हुन् पार्टी फुटेपछि एकले अर्कोलाई म मात्रै असली कम्युनिस्ट हुँ र अरु नक्कली हो भनेर दाबी गरेकै हुन् । कम्युनिस्ट पार्टी फुट्दाको रमिता २०५४ सालमा नेकपा एमाले फुट्दा पनि देखिएकै हो । वामदेव गौतमले नेकपा फुटाएर नेकपा माले गठन गरेका थिए । असली कम्युनिस्ट आफू नै भनेर दाबी गरिरहेका थिए । माधव-ओलीहरूले काठमाडौँको खुलामञ्चबाट वामदेवलाई कम्युनिस्ट आन्दोलनको खलनायक, गद्दार घोषित गरिरहेका थिए ।
कम्युनिस्टहरूको मूल संस्कार आफूसँग हुँदा ‘हिरा’ र अर्को हुँदा ‘किरा’ देख्ने समस्याले ग्रस्त छन् । फेरि पनि त्यही संस्कारको पुनरावृत्ति भएको छ । पार्टी फुटसँगै सडकमै बरमझियाको पेडाको शैलीमा असली कम्युनिस्ट पार्टी र अझ असली कम्युनिस्ट पार्टी दाबी गर्ने प्रतिस्पर्धा नै चलेको छ । नेता-नेताबीचमा मात्रै लाग्ने आरोप अहिले कम्युनिस्ट पार्टीको मूल दस्तावेजमै उल्लेख गर्न गरेको छ ।
प्रचण्डले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारीको संरक्षक भन्दै संगीन आरोप लगाउँदै प्रस्ताव पेस गरेका थिए । प्रतिउत्तरमा केपी ओलीले प्रचण्डमाथि जनयुद्धदेखि छोरीलाई मेयर जिताउनेसम्म गरेका क्रियाकलाप गलत भन्दै आरोप लगाएका थिए । अवस्था यस्तोसम्म भएको छ कि दैनिकजसो हुने बैठक र एकले अर्कोलाई आरोप-प्रत्यारोप र कारबाहीको शृङ्खला नै सुरु गरेका छन् । एकतर्फ ओली समूहले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएको छ । अर्कोतर्फ माधव-प्रचण्डले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङलाई हटाएको छ । दुवै समूहबाट हुने कारबाहीको शृङ्खला कुन तहसम्म पुग्ने हो, आगामी दिनमा देखिने नै छ ।
निर्वाचन आयोग पनि दुवै समूहले गरेको दाबीअनुरूप निष्पक्ष निर्णय गर्न सकिरहेको छैन । नेकपाको दुवै समूहले देशलाई आफ्नो द्वन्द्वको सिकार बनाउनु हुँदैन । राजनीतिक निकास दिनुपर्छ । दुवै समूहका नेता ४०-५० वर्षदेखि क्रान्तिकारी हुँ भन्दै दाबी गरिरहेका छन् । अझ ओली त महान् राष्ट्रवादी पनि दाबी गर्छन् ।
असली कम्युनिस्ट हुँ, इमानदार हुँ, अग्रगामी हुँ, क्रान्तिकारी हुँ, राष्ट्रवादी हुँ भन्ने प्रमाणित गर्न बरमझियाको पेडाको शैलीमा पार्टी कार्यालयको साइनबोर्ड र चुनाव चिह्न दाबी गरिरहनुपर्छ र ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया