पर्यटन

विमानभित्र छिर्न लागेका पाइलटलाई निमित्त प्रबन्ध निर्देशक बनाउन लागेपछि...

दिल्ली उड्न २.१८ घण्टा ढिलो, निगमका २२ उडान प्रभावित

इकागज |
असार ८, २०७९ बुधबार १५:१२ बजे

काठमाडौं – नेपाल वायुसेवा निगमको उडान तालिकाअनुसार आज बुधबारका लागि काठमाडौं–दिल्लीको समय राखिएको थियो बिहान ८ बजे । यसको पाइलट तोकिएका थिए क्या. दिपुराज ज्वार्चन । तर ज्वार्चन गएनन् ।

ज्वार्चनलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिने पर्यटन मन्त्री प्रेम आलेको ‘सदीच्छा’ थियो । त्यही भएर ज्वार्चन निमित्त प्रबन्ध निर्देशकको दौडमा लागेर दिल्ली गएनन् । उनी नजाने भएपछि निगममा दिल्ली जाने पाइलटको खोजी भयो । जहाज थियो ९एन–एकेएक्स ए–३२० । निगमले ज्वार्चनको ठाउँमा नरबहादुर विश्वकर्मालाई खटायो । विश्वकर्मा आज राति साढे आठ बजे मलेसिया जाने सूचीमा पनि थिए । 


पाइलटको खोजीले गर्दा दिल्ली जाने जहाज उड्न २ घण्टा १८ मिनेट ढिलो भयो । यो ढिलाईले निगमको आन्तरिक र बाह्य गरी २२ वटा कनेक्टिङ फ्लाइट प्रभावित भए ।

आजकाे अन्तरराष्टिय उडान तालिका

निगमका कार्यकारी निर्देशक युवराज अधिकारीलाई पर्यटन मन्त्री आलेको सिफारिसमा मन्त्रिपरिषद्ले निलम्बन गरी छानबिनमा राखेपछि निगम मुखियाविहीन भएको छ । 

यसअघि केपी ओली सरकारले नियुक्त गरेको डिमप्रकाश पौडेललाई पर्यटन मन्त्रीले बर्खास्त गरे पनि कार्यकारी अध्यक्षले मुखिया चलाएका थिए । तिनै अधिकारी निलम्बन परेपछि काम चलाउन मुखियाको जिम्मेवारी तोकिन लागेको हो । 

निगममा १० तहका वरिष्ठ अधिकारी चारजना छन् । व्यापारिक विभागका निर्देशक जनक कालाखेती, गुणस्तर विभागका विक्रम केसी, इन्जिनियरिङ विभागका प्रज्वल श्रेष्ठ र अपरेशन विभागका रविन्द्र कुमार शेरचन मात्रै वरिष्ठ अधिकारी हुन् । ११ तहमा कुनै पनि कर्मचारी छैनन् । 
निगममा प्रबन्ध निर्देशक १२ तहको हुने गर्छ । यो पदमा अक्सर पर्यटन मन्त्रीले चाहेका व्यक्तिलाई राजनीतिक नियुक्तिमार्फत पूर्ति गरिन्छ । 


Author

थप समाचार
x