पर्यटन

सोल्टीको अन्तर्राष्ट्रिय व्यवस्थापनसँगको सम्झौता सकियो, ‘दी सोल्टी काठमाडौँ’ नामले ब्राण्डिङ्ग गरिने

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १५:५३ बजे

काठमाडौँ : राजधानीको पाँचतारे होटल सोल्टीले आजदेखि अन्तर्राष्ट्रिय व्यवस्थापनसँगको सम्झौता टुंग्याएको छ । ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) सँगको व्यवस्थापन सम्झौता वैशाख ३१ देखि समाप्त भए पश्चात् ‘दी सोल्टी काठमाण्डौं’ को रूपमा पुर्नब्रान्डिङ्ग गर्न लागिएको सोल्टी होटलले जनाएको छ । 

‘अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट पुरस्कृत तथा सम्मानित विशिष्ट सुविधा सम्पन्न होटेलको रूपमा रहेको यस होटेलको व्यवस्थापन तथा सञ्चालन अबदेखि सोल्टी होटल लिमिटेड आफैंले गर्नेछ,’ सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईंले भने । 


सोल्टी होटल सञ्चालनको ५४ वर्ष पूरा भैसकेको छ । सोल्टी होटल लिमिटेड नेपालको अग्रणी आतिथ्यसत्कार कम्पनी हो । ‘दी सोल्टी काठमाडौँ’ का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एल एस जी स्काई शेफ काठमाण्डौ पनि रहेको छ जो नेपालको एक मात्र इन–फ्लाइट केटरिङ्ग सेवा प्रदायक हो । 

‘सोल्टी होटल लिमिटेडले सञ्चालन गरेका यी कम्पनीहरू अन्तराष्ट्रियस्तरको मापदण्डमा सञ्चालित छन् । यस कम्पनीले आई एस ओ २२००० :२०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जिक्युटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा सञ्चालन गर्दै आएको छ ।,’ सोल्टी होटल लिमिटेडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सोल्टीले कम्पनीले नेपालगञ्जमा “सोल्टी वेष्टेण्ड प्रिमियर” पाँचतारे होटेल पनि स्थापित गरेको छ र उक्त होटेल संयुक्त राज्य अमेरिकाको यु.एस. ग्रीन विल्डिङ्ग काउन्सिलबाट लिड (लिडरशिप इन इनर्जि एण्ड एन्भायरन्मेण्टल डिजाईन) प्रमाणीकृत नेपालको एकमात्र होटेल हो ।’ 

दी सोल्टी होटेल २०२३ सालदेखि सञ्चालनमा आएको हो । सोल्टी होटल नेपालमा आतिथ्य सत्कार व्यवसायमा पायोनियर रहेकाले बर्षौ देखि अतिविशिष्ट पाहुनाहरू, राष्ट्र प्रमुखहरू, लब्धप्रतिष्ठित विशिष्ट व्यक्तित्वहरू, शीर्ष प्रतिष्ठित उद्योगपतिहरू लगायत प्रतिष्ठित व्यक्तिहरूले काठमाडौं भ्रमणका क्रममा सेवा लिएको होटलले उल्लेख गरेको छ । 

चार किलोमिटरको परिधिमा अवस्थित छ  लगभग बाह्र एकड जग्गामा बनेको यस होटलमा पर्याप्त गार्डेन, क्यासिनो, २८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरू रहेका छन । प्रथम सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका सातवटा वैभवपूर्ण राजकीय सुइटहरू रहेका छन् । 

सोल्टी होटेलले पाकविशेषज्ञ सेफहरूबाट तयार पारीएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट र स्वादिष्ट भोजनहरु खानाका पारखीलाई पस्कदैं आएको छ । होटेलमा चिनियाँ, भारतीय र इटालियन गरी तीन थरी खानाका परिकार तयार हुने तीन रेष्टुराँहरू सञ्चालनमा छन् । सोल्टीले काठमाडौंलाई उत्कृष्ट प्रीमियम स्तरका सभा सम्मेलन/माईस (मिटीङ्ग, इन्सेन्टीभ, कन्फरेन्स) गन्तव्यको रूपमा समेत परिचित गराउँदै आएको छ । 


Author

थप समाचार
x