पर्यटन

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

इकागज |
असोज ७, २०८० आइतबार ८:३५ बजे

धुलिखेल । पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ ।    
‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–श¬्खु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो ।सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पनौती र नमोबुद्धको महत्व धेरै रहेका कारण यहाँको पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक शान्ति पदयात्रा स्वागतयोग्य रहेको बताए । शान्ति पयदात्राले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै ठूलो महत्व रहने उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।    
    
सांसद एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति पदयात्रामा सहभागी सबैलाई उद्देश्य प्राप्तिमा पुर्याएको योगदानको प्रशंसा गरे । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शान्ति पदयात्राले विश्वमा शान्ति फैलाउन कोशेढुङ्गा सावित हुने धारणा राखे ।    
    
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले पदयात्राले समाजमा सद्भाव स्थापित हुने विश्वास व्यक्त गरे । सो क्रममा उनले काभ्रेको सबैखाले विकासका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए ।    
    
नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले नमोबुद्धलगायत काभ्रेपलाञ्चोक जिल्ला र सिङ्गो मुलुकलाई नै यहाँको सद्भाव, शान्ति र समुन्नत समाज निर्माण गर्न सबैको साझा अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे ।उनले पर्यटकीय क्षेत्रको विकासका लागि जिल्लाका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्नमा थप सहयोग पुर्याउन आग्रह गरे ।    
    



Author

थप समाचार
x