पर्यटन

रारा जाने बाटो

मृत्युमार्गबाट स्वर्गको यात्रा

विष्णु विश्‍वकर्मा |
चैत ११, २०७७ बुधबार १७:२० बजे

काठमाडौँ : रारा ताल नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येमा पर्छ । घुम्न र यात्रा गरिरहने बानी परेकालाई रारा पुग्ने एउटा सपना हो । कतिले यो सपना पूरा गरिसकेका छन् । कतिपय अझै रारा पुग्ने सपना पालेर बसेका छन् । रारा घुम्ने चाँजोपाँचो मिलाउँदै छन् ।

नेपालकै सबैभन्दा विकट प्रदेशका रुपमा परिचित कर्णालीलाई नजिकबाट नियाल्ने सुन्दर मौका पनि रारा यात्रा हो । कर्णाली जति पनि सुनिन्छ । त्यसलाई प्रत्यक्ष अनुभूत गर्न एकपटक रारा जाने बाटोको यात्रा तय गरे पनि हुन्छ ।


जसले रारा पुगेर ‘स्वर्गकी अप्सरा’ हेर्ने रहर मात्रै पूरा गर्दैन्, वास्तविक कर्णाली चिन्ने अवसर पनि प्रदान गर्छ । रारा कस्तो छ ? त्यो शब्दमा ब्याख्या गरेर पुग्दैन । रारा पुगेकाहरुले मात्रै त्यसलाई महसुस गर्न सक्छन् । तर रारा पुगेकाहरु बाटो हेरेर भन्छन्– ‘डरलाग्दो’ । रारा बसाईको भोगाई सुनाउँछन्, ‘अस्तव्यस्त’ । तर सबैलाई यस्तो नलाग्न सक्छ । 

रारा स्वर्ग, बाटो नर्क !

रारा जान कर्णाली राजमार्गको यात्रा तय गर्नुपर्छ । काठमाडौँदेखि सुर्खेत सहजै पुग्न सकिन्छ । गाडीमा सुर्खेतसम्मै पुगिन्छ । हवाई मार्गबाट जानेका लागि नेपालगञ्ज वा सुर्खेत विमानस्थल पुगे पनि हुन्छ । 

खास रारा जाने यात्रा सुर्खेतदेखि सुरु हुन्छ । सुर्खेतदेखि दैलेख, कालिकोट हुँदै जुम्लासम्मको बाटो कर्णाली राजमार्ग हो । दुई सय ७३ किलोमीटर लामो यो राजमार्गमा २०६३ सालदेखि गाडी चल्न थालेका हुन् । २०४८ सालदेखि निर्माण थालिएको यो राजमार्ग बनाउन झण्डै डेढ दशक लाग्यो । 

यो राजमार्ग निर्माण भएर सञ्चालनमा आएको पनि झण्डै डेढ दशक नै पुग्यो । तर अहिले यो राजमार्गले आफ्नो नाम नै फेरिसकेको छ । त्यो नाम हो, मृत्युमार्ग । कर्णाली राजमार्गमा डेढ दशकबीचमा दर्जनौ ठूला दुर्घटना भएका छन् ।

जहाँ सयौँले ज्यान गुमाएका छन् । हजारौ घाइते । अंगभंग । खासगरी वर्षायाममा कर्णाली राजमार्गमा महिनैपिच्छे दुर्घटना हुने गरेका छन् । राजमार्ग सुरक्षित बनाउन नसकेको भन्दै कर्णाली राजमार्गलाई मृत्युमार्ग भन्न थालिएको हो ।

सडक यात्राबाट रारा पुग्नेका लागि मृत्युमार्ग भनिने कर्णाली राजमार्गकै बाटो हिड्नुपर्छ । रारालाई स्वर्ग भन्दा जाने बाटो भने नर्क समान छ । भीरको बाटो, मोड नै मोड अनि साँघुरो भएकाले पनि कर्णाली राजमार्ग नेपालकै सबैभन्दा जोखिम राजमार्ग मानिन्छ । जसकारण दुर्घटना र मृत्युका समाचार सुनिरहनुपर्छ ।

सडकका खण्डहर 

सुर्खेतदेखि सुरु हुने कर्णाली राजमार्गले चार वटा जिल्लालाई समेट्छ । जुम्लासम्म पुग्न दैलेख र कालिकोटको डरलाग्दो बाटो तय गर्नुपर्छ । सुर्खेतको वीरेन्द्रनगरदेखि जुम्लाको खलंगासम्मलाई कर्णाली राजमार्ग मानिन्छ । वीरेन्द्रनगरदेखि जुम्लाको खलंगा बजारसम्मको बाटो कालोपत्रे छ । तर बीचमा पक्की भन्दा धेरै कच्ची बाटो हिड्नुपर्छ । 

सुर्खेतदेखि जुम्लासम्म दुई सय ३२ किलोमीटर दुरी छ । कालिकोट र जुम्लाभन्दा बाटोको अवस्था सबैभन्दा नाजुक दैलेखमा छ । सुर्खेतदेखि दैलेखसम्मको एक सय ३० किलोमीटर यात्रा सकसपूर्ण मानिन्छ । बाटो जति साँघुरो छ, त्यति नै कच्ची । पीच भत्किएर ठाउँ ठाउँमा सडकको अवस्था दुर्दशापूर्ण छ ।

रारा जान वीरेन्द्रनगरदेखि बांगेसिमल, बड्डीचौर, तल्लो डुंगेश्वर हुँदै दैलेखको राकम कर्णालीको यात्रा तय गर्नुपर्छ । पछिल्लो समय सुर्खेतदेखि गढी, गुँरासे हुँदै माथिल्लो डुंगेश्वर भएर पनि दैलेख जान सकिन्छ । 

तल्लो डुंगेश्वर भएर दैलेख जाँदा कतिपय ठाउँमा पीच बिग्रेर धुलाम्मे छ । कतिपय ठाउँमा सुख्खा पहिरो गइरहन्छ । भीर काटेर बनाइएको कर्णाली राजमार्गको जोखिम दैलेखबाटै सुरु हुन्छ । साँघुरो सडक भएकाले यो राजमार्गको दैलेख खण्डमा दुर्घटना पनि धेरै हुने गरेका छन् ।

राकम कर्णालीभन्दा केही माथि पुगेपछि कालिकोटको सीमा सुरु हुन्छ । सँगै सुरु हुन्छ, कर्णालीको करुणादायी कथा । सगरमाथा जस्ता पहाड । चुच्चे ढुंगा । ठाडो भीर कोतरेर निर्माण गरिएको बाटो । केही मोड यस्ता आउँछन् । जहाँ गाडी त हिड्छ । तर मन हिड्न डराइरहन्छ । माथि भीर । तल कर्णाली नदी । यही भीर र नदीको दोसाधबाट यात्रा अगाडि बढाउनुपर्छ ।

दैलेखभन्दा केही राम्रो बाटो कालिकोटमा छ । तर निकै साँघुरो र धेरै घुमाउरो । माथि ठाडो भीर र तल कर्णाली नदी भएकाले दुर्घटना भएमा सास रहने सम्भावना निकै कम हुन्छ, यो बाटोमा । 

कति ठाउँमा मोड छन् । ठूला गाडी बिरलै हिड्छन् । मध्यम गाडीका लागि पनि सकस छ । कालिकोटदेखि मान्म र नाग्मसम्मको बाटो त्यति धेरै खराब छैन् । नाग्म कालिकोट र जुम्लाको सिमाना हो । जहाँबाट रारा जाने बाटो छुटिन्छ । 

नाग्मदेखि सोझै जुम्लाको भुलुभले हुँदै रारा पुग्न सकिन्छ । बाटो पनि राम्रो छ । तर अचेल नयाँ ट्रयाक खोलिएकाले छोटो हुने भन्दै खलंगा बजारबाट भुलभुले हुँदै रारा जानेको संख्या बढ्दो छ । तर बाटो निकै कच्ची भएकाले सास्ती पनि धेरै छ । 

नाग्म-गमगढी हुँदै रारा जाने बाटो भुलभुलेसम्म सहजै लाग्छ । भुलभुलेदेखि सातघुम्ती हुँदै ताल्चासम्म जाने बाटो कच्ची र साँघुरो छ । भुलभुलेबाट ३२ किलोमीटरको यो बाटोमा पहिलोपटक यात्रा गर्नेका लागि मुटु कापिरहन्छ । 

मिनिबसमा हिड्दा कतिबेला गाडी सडकबाट उछिट्टिने हो भर हुदैन् । जीप र मोटरसाइकलमा भने त्यति धेरै डर नलाग्न सक्छ । निकै साँघुरो यो बाटो  विस्तारको क्रममा छ । भुलेभुलेबाट ताल्चा विमानस्थल पुगिन्छ । जहाँबाट मुगुको सदरमुकाम गमगढी र रारा जाने बाटो छुटिन्छ । 

ताल्चाबाट ६ किलोमीटरको यात्रा झन् डरलाग्दो छ । निकै साँघुरो यो बाटोमा जीप पनि मुश्किलले मात्रै हिड्छ । हवाई मार्गबाट रारा पुग्नेहरू पनि ताल्चा विमानस्थल झरेर यो बाटो हिड्नुपर्छ । स्वर्ग भन्दै रारा जाने जोसूकैले पनि ‘नर्क’ भन्दै यो बाटोको सकसपूर्ण यात्रा गर्नुपर्छ ।

माथि भीर । तल खोला । केही गरी गाडीले बाटो छाडेमा कुन खोल्सामा पुग्छ भन्ने टुंगो हुदैन् । हेर्दै डरलाग्दो यो बाटोले धेरैको मन अत्याउँछ । ताल्चापछि रारा राष्ट्रिय निकुञ्जको चेकपोष्ट आउँछ । जहाँबाट रारा जान पैदल यात्रा र घोडचढी दुवै विकल्प छन् । हिड्ने जति हुन्छन्, त्यो भन्दा बढी घोडा चढेर रारा जानेको लर्को देखिन्छ । घोडामा मुश्किलले ४५ मिनेटमा पुग्न सकिन्छ । हिडेर एक घण्टाभन्दा धेरै समय लाग्छ ।

यसबाहेक काठमाडौँबाट नेपालगञ्ज वा सुर्खेत जहाजमार्फत पुगेर त्यहाँबाट मुगुको ताल्जा विमानस्थल हुँदै रारा पुग्न सकिन्छ । रारा मात्रै हेर्नलाई जहाजको यात्रा गरे पुग्छ । तर कर्णालीलाई नजिकबाट नियाल्न कर्णाली राजमार्गको यात्रा नगरी हुदैन् । 

रारा पुगेपछि हर कोहीले स्वर्गको बयान गर्छन् । तालको किनारमा सेल्फी खिच्दै कान्जिरोवा हिमाललाई नियाल्दै रारालाई ‘स्वर्गकै अप्सरा’ देख्छन् । रारालाई हत्केलामा राख्न मिल्ने दृश्य मुर्माटपबाट हेर्न सकिन्छ । तर रारा जाने बाटो र रारा पुगेपछिको व्यवस्थापनले भने स्वर्ग हेर्न हिडेका पर्यटकलाई चसक्क चसक्क घोच्छ ।


Author

थप समाचार
x