पर्यटन

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

इकागज |
जेठ २, २०७९ सोमबार २२:५४ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरेका हुन।

वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीनरूपमा विद्युत् व्यापार गर्न आग्रह गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु रूपमा अगाडि बढिरहेकामा दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि प्रकट गरेका थिए । वार्ताका क्रममा प्रधानमन्त्री देउवाले उठाएका विषयलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक रूपमा लिएका छन् । 


वार्तामा दुवै देशका प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लागि जलविद्युतको महत्वमा जोड दिँदै जलविद्युत् क्षेत्रमा, सार्वजनिक, नीति र साझेदारीका अपार सम्भावनाहरू रहेकोमा सहमति जनाए । प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि भारतको इच्छुक कम्पनीलाई लगानीका निम्ति आग्रह गरे।

पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्रीले सहमति जनाएको मन्त्रालयले वार्तापछि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

वार्ताका क्रममा दुवै पक्षले सम्पर्क सञ्जाल विस्तारमा सहयोग प्रवर्धन, मल आपूर्ति समयमै गर्ने विषयलाई प्राथमिकतामा रहेको व्यापार सन्धिको समीक्षा गरिएको थियो ।

जलविद्युत् उत्पादन, बौद्ध र रामायण परिपथसहितका संस्कृति, पर्यटन, शिक्षा र शैक्षिक सहयोग, भारतीय मुद्रा बढी बोक्न पाउनुपर्ने प्रावधान, पारस्परिक हितका मामलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा सहयोग आदानप्रदान गर्ने बारेमा पनि दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको थियो ।

दुवै देशबीच सुक्खा बन्दरगाह निर्माण, चाँदनी, दोधारामा एकीकृत जाँच चौकी बनाउने, भारतको उत्तराखण्डको पूर्णगिरिमाई र डडेलधुराको पशुरामधाम जोड्ने पूल निर्माणबारे पनि छलफल भएको थियो ।

नेपाललाई भूकम्प, कोभिड–१९ जस्ता महामारीको प्रतिकूल परिस्थतिमा भारतले सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले हार्दिक आभार व्यक्त गर्नुभयो । साथै दुवै प्रधानमन्त्रीबीच गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारतको भ्रमणका बारेमा समीक्षा भएको थियो ।


Author

थप समाचार
x