सप्ताहन्त

जनकलाल शर्मा-६

यसरी पुगे कालिम्पोङ र बर्मामा नेपाली

जनकलाल शर्मा |
बैशाख १८, २०७८ शनिबार ९:१६ बजे

सुन फल्ने ठाउँ छ भन्‍ने सुनेको थिएँ बाल्यकालमा मैले । कहाँ फल्छ, कसरी फल्छ कुनै कुरा थाहा थिएन मलाई । सुनको महत्व भने निकै थियो त्यस समय पनि । कुनै व्यक्ति मृत्युशैयामा छ भने त्यसलाई सुनपानी खुवाउने चलन छ समाजमा । त्यसै कारण अरू धातुभन्दा महँगो छ यो । पहेँलो सुनको कुरा गरेको हो मैले । सेतो सुन यसभन्दा महँगो भए पनि सुन कहलाउँदैन त्यो । 

महँगीकै कुरा गर्ने हो भने बाह्र रुपियाँ तोलाका हिसाबले सुन किनेका थिए अरे मेरा अभिभावकले मेरो विवाहका लागि । आफ्नू छोराको विवाहमा सोह्र सय रूपियाँ तिरेको थिएँ प्रतितोलाका हिसााबले । अहिले नौ हजार रूपियाँजति प्रतितोला भए पनि नातिका पालामा बाह्र हजार प्रतितोला लाग्ला जस्तो छ त्यो । 


मेरो बाल्यकाल बित्यो भारतमा अङ्ग्रेजी साम्राज्य भएका समय । भारतमा सोझै साम्राज्य खडा गरेका होइनन् अङ्ग्रेजहरूले । व्यापार गर्न आएका थिए पहिले । अङ्ग्रेजभन्दा अघि आएका थिए पुर्तगालीहरू । बम्बईलाई आफ्नू अधीनमा पारेका थिए उनीहरूले । इस्वी सन् १६६१ मा विवाह भयो ब्रिटेनका राजा चाल्र्स द्वितीयको पुर्तगालकी राजकुमारीसित । राजकुमारीलाई दाइजोमा दिए बम्बई । वार्षिक दस पाउण्ड नगद तिर्ने गरी ठेक्कामा दिइन् भारतमा व्यापार गर्न आएको अङ्ग्रेजको व्यापारी संस्था इस्ट इन्डिया कम्पनीलाई ब्रिटेनकी महरानीले माइतीबाट दाइजोमा पाएको बम्बई भन्‍ने ठाउँलाई । १६६८ इ. मा ठेक्कामा लिएका थिए ब्रिटेनका व्यापारीले यसलाई । त्यसपछि नै विकास गरेका हुन् अङ्ग्रजहरूले बम्बईको ।

तर त्यहीँ टिकेर बसेनन् उनीहरू । पूर्वतिर बढ्दै जाँदा बङ्गालको खाडीमा पुगे ती व्यापारी । इस्वी सन् १६९० देखि कलकत्तालाई प्रमुखता दिए आफ्नू कम्पनीका लागि । जहाजी बेडाका लागि बन्दरगाहको विकास गर्न उपयुक्त ठाउँ देखे त्यसलाई । सूतानटी, कालीकाता र गोविन्दपुरनामक तीन उपेक्षित गाउँ थिए त्यहाँ । केवल बाह्र सय रूपियाँमा त्यसको जमिदारी किन्यो बङ्गालका नबाबसँग इस्ट इन्डिया कम्पनीले । त्यसपछि बन्दरगाहाको विकास गर्दै लगे त्यस ठाउँमा  कालीकाता कलकत्ता भयो पछि । व्यापार गर्दागर्दै राज्यसञ्चालन गर्न थाले कलकत्ताबाटै समस्त भारतको । अर्थात् समस्त भारतको राजधानी भयो कलकत्ता । कलकत्ताबाट दिल्लीमा राजधानी सारेको त १९११ इ. मा मात्र हो अङ्ग्रेजहरूले । 

बाल्यावस्थामा पढिएका हरेक भूगोलका पुस्तकमा समावेश पाइन्थ्यो बर्मा पनि ब्रिटिस भारतभित्रै । कलकत्तामा कम्पनीको सदरमुकाम भएपछि पूर्वतिर पनि बढ्दै गए उनीहरू । स्याम अर्थात् थाइल्याडबाहेक अन्य ठाउँमा कब्जा जमाएर बसेका थिए ब्रिटेनबाहेक अन्य युरोपीय मुलुकका मानिसहरू  । बर्मा र मलायामा कब्जा जमायो ब्रिटेनले नै । तीन पटक युद्ध गर्नुपर्‍यो इस्ट इन्डिया कम्पनीलाई बर्मा हात पार्न । इस्वी सन् १८२४-२६, १८५३ र १८८५ को समय थियो त्यो । बर्माको प्रशस्त विकास गरे अङ्ग्रेजहरूले । पेट्रोल, तामा, दामी पत्थरको खोजी भयो त्यसै समय । चामल निर्यातमा निकै नाम कमायो बर्माले । अङ्ग्रेजहरू परिचित थिए गोरखा-अङ्ग्रेज युद्धको समय १८१४-१६ इ. देखि नै नेपालीका लागि । अर्काका लागि युद्ध गर्न, भारी बोक्न, कृषिकार्य गर्न र पशुपालनमा अग्रणी थिए नेपालीहरू । 

यस्ता सबै नेपाली वैरिए बर्मामा अङ्ग्रेजी शासन कायम भएपछि । दुई लाख साठी हजार बर्गमिलको देश थियो त्यो । जम्मा एक करोड जनसङ्ख्या थियो पहिले । एक करोड साठी लाखको जनसङ्ख्या भयो अङ्ग्रेजहरूले बाहिरिया मानिस ल्याएर बसाएपछि । कृषि, पशुपालन र कुल्लीबाहेक बन्दुक उचाल्ने काम पाए नेपालीले । व्यापार र साधारण कुल्लीको काम गर्न थाले भारतीयहरूले ।  इस्वी सन् १८८५ देखि १९३५ सम्म भारतभित्र रह्यो बर्मा र त्यसपछि छुट्याइयो अलग अस्तित्व स्वीकार गरेर भारतबाट । त्यसै बर्मालाई म्यानमार भनिन्छ आजकाल ।

धेरै नेपालीहरू पुगे बर्मामा आफ्नू भाग्य अजमाउन बर्मा अङ्ग्रेजी साम्राज्यमा समावेश भएपछि । मेचीदेखि महाकालीसम्मका मान्छे पुगे बर्मामा । इलामको माघे भन्‍ने ठाउँका भट्टराई पनि पुगेछन् त्यहाँ । मेरा पिताका छेत्रिनीपट्टिका मामा रहेछन् तिनी । ब्रिटिस अर्मीमा जागिर पाएछन् उनले । हुँदाहुँदै सुबेदारसम्म भएछन् उनी । सुबेदारको निकै हकडक हुन्छ सेना बाहिरी फिल्डमा खटिएका समय । टाढा पुगेपछि आफ्ना नातागोता सम्झिन पुग्छ मान्छे । भानिजको सम्झना भएछ मामालाई त्यस समय । बाल्यकालदेखि किशोरावस्थासम्मका खेल्ने साथी थिए उनीहरू । चिठी लेखेर पठाए सुबेदारले भानिजले बर्मा आउनुपर्‍यो भनेर । एक्लै जाने आँट आएन भान्जाको । पितापुत्र दुवै प्रस्थान गरे बर्माका लागि । कलकत्ताबाट हप्तामा तीन जहाज जान्थे बर्माका लागि भनेर यात्रु लिएर । प्रतिव्यक्ति दस रूपियाँसम्ममा पनि टिकट पाइन्थ्यो कलकत्ताबाट जहाजको । जहाज भन्‍नाले पनीजहाजको कुरा हो यहाँ । हवाईजहाज हुँदै नभएको त होइन दुर्लभ थियो त्यस समय । पानीजहाजबाटै गए सुबेदारका भानिज र भिनाजु । भव्य स्वागत भयो अरे रङ्गुन पुगेपछि । रङ्गुनलाई याङ्गुन भन्दछन् आजकाल । अपर बर्माको सदरमुकाम माण्डले पुगे दुवै जना । 

सुबेदारका भानिज र भिनाजु बर्मा पुगेको केही समयपछि एउटा धार्मिक यज्ञ गराउने विचार गरेछन् ब्रिटिस सेनाका गोरखाली फौजका अधिकृत र जवानहरूले । सजधजका साथ बनियो यज्ञमण्डप । यज्ञमा आचार्य र उपाचार्य भए बाबुछोरा । झन्‍नै तीस हजारजति दानदक्षिणा जम्मा भएछ यज्ञमा । कागजका नोटको चलनै थिएन त्यस सयम । भिक्टोरियाका टाउका भएका शुद्ध चाँदीका मुद्रा पाइन्थे जताततै । चवन्‍नी, अठन्‍नी र एक रूपियाँका सबै मुद्रा हुन्थे चाँदीका । त्यसपछि अन्य मुद्रा हुन्थे तामाका । अन्‍न भरेझैँ चाँदीका मुद्राले पाथी भर्‍यो भने एक हजारले भरिन्थ्यो एउटा पाथी ।

सुन किनेर राख्‍न पनि भाउको तलमाथिले सम्भव थिएन त्यस समय । चाँदीका मुद्रामा एकरत्ती फरक पर्दैनथ्यो भाउमा । एक रूपियाँ भनेपछि एकै रूपियाँ हो त्यो । यत्रो नगद लैजाने कसरी ? छोडेर हिँड्ने कुरा पनि भएन त्यो । अराकान हुँदै मणिपुरमसम्म पुर्‍याइदियो ब्रिटिस सेनाले नै । मणिपुरमा ठूलाठूला काने कसौँडी किने बाबुछोराले । अनेक कसौँडीमा राखिए चाँदीका मुद्रा ब्रह्मपुत्रको बाटो व्यापारी जहाज (स्टिमर) मा चढेर चटगाउँ पुगे उनीहरू । त्यसपछि सिलीगुढी पुगे पार्वतीपुर हुँदै । भरिया लगाउनु पनि समस्या थियो नगदको गुरूत्वले गर्दा । के बोकेको होला कसौँडीमा सहजै अनुमान गर्थे भरियाहरू । आफ्ना विश्वासका मान्छे हुन्थे बोकेर लैजानका लागि । कसैलाई नभन्‍नू तँलाई मात्र भनेको भन्दै हिँड्थ्यो ओसारपसारमा सहभागी हुने भरिया । गन्धविहीन वस्तु ल्याए पनि त्यसको सुगन्ध फैलिन्थ्यो जताततै । 

सबभन्दा पहिले मेरा मावली आएछन् त्यसको सुगन्ध लिन । इलामको क्याबुङ्ग गाउँका बासिन्दा हुन् मेरा मावली । पौडेल थर हो उनीहरूको । इलामका जङ्गल मासिएपछि दार्जीलिङको खासमहालमा पर्ने झ्यापी भन्‍ने ठाउँमा पशुपालन र कृषिमा संलग्न भए उनीहरू । रिम्बिकबजारकै छेउमा पर्दछ यो ठाउँ मानेभन्ज्याङभन्दा दक्षिणपूर्व । दुहुना गाईको मासिक चार आना तिरेर विभागको पट्टा लिएपछि भएजति सबै गाईवस्तु चराउन पाइन्थ्यो सरकारी जङ्गलमा । बर्माबाट ल्याएको आर्थिक कोसेली भेटे मेरा मावलीले पनि । १८६५ इ. मा भुटानको एक भागमा पर्ने कालिम्पोङलाई दार्जीलिङ जिल्लामा गाभे अङ्ग्रेजहरुले सैनिक हस्तक्षेप गरेर । १८८१ इ.मा रेलमार्ग खोले दाजीर्लिङको पहाडी इलाकामा । कालिङपोङको छेउ गेलखोलासम्म पुर्‍याए रेलमार्गलाई । १९०४ इ. को योङ्ग हजबेन्ड एक्स्पिडिसन अर्थात् तिब्बतमाथिको अङ्ग्रेजी आक्रमणपछि धेरै महत्व बढ्यो कलिम्पोङको । सैनिक दृष्टिले मात्र होइन व्यापारिक दृष्टिकोणले पनि निकै महत्व बढ्यो यसको । तिब्बत-भारत व्यापारमा आधारभूमि हुन आयो यो । हावापानी ज्यादै अनुकूल हुँदा अङ्ग्रेजहरूका शिक्षालयका निकै सङ्ख्या बढे त्यहाँ । शैक्षिक क्षेत्रमा भन्‍नाले ब्रिटिस मात्र होइन समस्त गोरो छाला बुझ्नुपर्दछ यहाँ । धर्मप्रचारको पनि मुख्य थलो हुन आयो यो ।

यस प्रकार त्यहाँ बसोबास गर्ने मानिसका लागि भोज्यपदार्थ पनि चाहियो त्यसै परिमाणमा । डेरी प्रोडक्सन् अर्थात् दूध, दही, नौनी, तर अर्थात् क्रीम, घिउ (खारेको), छुर्बी अर्थात् चीज आदि सबै थोक चाहियो उनीहरूलाई । मासुलाई पनि डेरी प्रोडक्सनमा नै समावेश गर्ने चलन छ युरोपियनहरूमा । खूब पशुपालक भए अङ्ग्रेजहरू कालिम्पोङमा पहिले । पशुपालनमा आकर्षित गरे स्थानीय जनतालाई उनीहरूले । असल जातका गाईका बाछी र बाछो बिक्री गर्न थाले गाउँका मानिसलाई । गाई ब्याएपछि दूध पनि किन्‍न थाले अङ्ग्रेजहरूले खोलेका डेरी फार्ममा । गाउँबाट यसरी दूध आउन थालेपछि आफूले पालेका पशु कम गर्दै लगे उनीहरूले । बुचडका दलाल घरैमा आइपुग्थे कृषिकर्मका लागि गोरू चाहियो किन्‍न पाऊँ भनेर । थाहै नपाएजस्तो गरेर गोरू बिक्री गर्थे गोप्रजक नेपाली पनि ।

‘सुन फल्ने ठाउँ’ भन्‍ने नामकरण गरेका थिए मेरा पिताका ईष्टमित्र र दाजुभाइले बर्मालाई । ‘बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै’ भन्थे बूढापाकाहरू ।

पशुपालनमा निकै नाम थियो मेरा मवलीको । मेरा मामाकी एउटी दिदीको विवाह भयो कालिम्पोङको इच्छे भन्‍ने ठाउँका एक जना अचार्ज थरका उपाध्याय ब्राह्मणसित । दूधको व्यवसाय राम्रो चलेको छ भन्‍ने सुने आफ्नी दिदीबाट मेरा मामा कुलचन्द्र पौडेलले । दार्जीलिङ जिल्लाको खासमहालमा पर्ने झ्याँपी भन्‍ने ठाउँको सम्पूर्ण खायल बर्माबाट ल्याएको प्रसादमा थपेर जिम्मा लिनुपर्ने भयो मेरा पिताले । गोपालनका लागि कालिम्पोङ पुगे मेरा मावली । पहिले इच्छे बस्तीमा गोपालन गरे उनीहरूले । सफलता नै सफलता देखे त्यहाँ । इच्छे बस्तीबाहेक सिन्घेबुङ बस्ती, कालिम्पोङमा पनि नौ एकडको घडेरी किनेर घर बनाए उनीहरूले । कालिम्पोङ खूब फाप्यो उनीहरूलाई । मेरा मावलीको लगनशीलतादेखि  प्रभावित भए अङ्ग्रेजहरू ।

बाह्र जिल्लामा विभाजित थियो सम्पूर्ण असम प्रान्त त्यस समय । असममा पनि कृषि र पशुपालनको विकास गर्न चाहन्थे अङ्ग्रेजहरू । कालिम्पोङको परिश्रम देखेर असम जान प्रेरित गरे अङ्ग्रेजहरूले मेरा मावलीलाई । साढे चार हजार एकड गोचरभूमि पट्टामा पाए उनीहरूले पशुपालनका लागि । त्यस समयको असम प्रान्तको बाह्र जिल्लामध्ये ग्वालपाडा जिल्लाको बोङ्गाई गाउँको छेउ पाटावारी भन्‍ने ठाउँमा बसोबास गर्न थाले उनीहरू । बाह्र जिल्ला असमको लाइभस्टक परामर्शदाता पनि भए अवैतनिक रूपमा । ग्वालपाडा जिल्लाको अनरेरी बिट अफिसर थिए वन विभागको । एउटा हात्ती उपलब्ध गराइएको थियो जङ्गलको निरीक्षण गर्न । सोह्र-सत्र सय गाई पालेको त आफ्नै आँखाले देखेको थिएँ अङ्ग्रेजहरू भारतमा भएसम्म अर्थात् भारत स्वतन्त्र नभएसम्म । बोडो प्रभावित क्षेत्रमा पर्‍यो त्यो ठाउँ अहिले । परिवारका केही व्यक्ति शहीद पनि भइसके बोडो आन्दोलनकारीका हातबाट । छोड्न पनि सक्तैनन् मेरा मावलीहरू र उपयोग गर्न पनि पटक्कै सहयोग गर्दैन नेपाली मूलको मान्छेलाई भारत सरकारले । काउछो भइरहेको छ त्यो अहिले । केही जमिनमा तोरी र सुपारी खेती गरेर सन्तुष्ट छन् उनीहरू । खानु न निल्नु भएको छ त्यो अहिले । 

बर्माको प्रसाद लिने मावली मात्र होइनन् मेरा । नेपाल अधिराज्यदेखि सिक्किमम्मका ईष्टमित्र र नातागोता थिए त्यस समय । कसैको एक पैसा बैमान गर्दैनथ्यो कुनै व्यक्तिले । तिर्ने सावगास पनि हुँदैनथ्यो आर्थिक मन्दीले गर्दा । चारपैसा सेर चिनीको भाउ थियो त्यस समय । पैसा माग्यो भने जमिन देखाउँथे सबै र दिन्थे पनि त्यै पञ्चकीर्ते मोलमा । नेपाल अधिराज्यको साप्तरीदेखि सिक्किमको पल्लो छेउसम्म जताततै जमिनैजमिन भए मेरा पिताका । सबैभन्दा सस्तो वस्तु थियो जमिन त्यस समय । कुन राख्ने कुन फ्याँक्ने कुनै समझमा आउँदैनथ्यो हाम्रो परिवारलाई ।

मेरो दुई जना दाजु परलोक भएछन् मावलीले हामीलाई बेचेको झ्याँपी भन्‍ने ठाउँको खायलमा । साठी हलको मेलो बारी थियो त्यहाँ । घास, बाँस, दाउरा, पानी, चरन कुनै कुराको कमी थिएन एउटा गृहस्थलाई चाहिने कुरा त्यहाँ । हप्तैपिच्छे बाह्र-पन्ध्र जना लाठेले खोर्सानीका भारी लिएर जान्थे पुलबजार भन्‍ने ठाउँमा । दार्जीलिङ जिल्लाको प्रसिद्ध बजार हो त्यो । प्र्रत्येक शुक्रबार ठूलो हाट लाग्दथ्यो त्यहाँ । चारैतिरका व्यापारी धुइरिन्थे त्यहाँ व्यापार गर्न । एक ढाकर खोर्सानीको मुस्किलले तीन वा चार रूपियाँजति आउँथ्यो पैसा । बोकेको चार आना र एक आना खाजा खर्च पाउँथ्यो बेलुकीपख सबै खोर्सानी बिक्री भएपछि एउटा ढाक्रेले । थोकमा बिक्री गर्दा केही कम मूल्य आँकिन्थ्यो खोर्सानीको । आर्थिक दृष्टिले फापे पनि दाजुहरूको निधनले अफाप सिद्ध भयो त्यो जग्गा । महँगोमा किनेर सस्तोमा बिक्रीगर्नुपर्‍यो त्यसलाई । जग्गा बेच्न केही निहुँ चाहिन्छ मान्छेलाई । हजुरआमा परलोक हुनुभयो एउटा निहुँ त्यै भयो हाम्रा लागि । ठूली बहिनी परलोक भई त्यही भयो अर्को निहुँ । यसै प्रकार हजुरबुबा, भाइ, मुमा सबैको भाग पुर्‍याउँदै ल्याएको छ हाम्रो परिवारले । त्यसै कारण झन्‍नैझन्‍नै विस्थापित हुन पुग्यो यो परिवार । 

बर्माको आवतजावतले निकै परिवर्तन आयो हाम्रो आर्थिक पक्षमा । दाजुभाइ, इष्टमित्र सबै ईर्ष्या गर्न थाले त्यसको । त्यसलाई टार्ने उपाय पनि थिएन मेरा पितासित । द्वितीय विश्वयुद्ध प्रारम्भ हुनुभन्दा केही समयअघिको कुरा हो यो । ‘सुन फल्ने ठाउँ’ भन्‍ने नामकरण गरेका थिए मेरा पिताका ईष्टमित्र र दाजुभाइले बर्मालाई । ‘बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै’ भन्थे बूढापाकाहरू । केवल काठमाडौँ उपत्यका नेपाल कहलाउँथ्यो त्यस समय । सुन फल्ने ठाउँमा पठाइदे हामीलाई पनि भनेर मेरा पितालाई कचकच गरेको सुन्थेँ केटाकेटी हुँदा । अन्त्यमा दुई-तीन परिवारका मानिस जाने भए केही व्यक्ति घरकुरुवा बस्नेबाहेक सुन फल्ने ठाउँमा मेरा पिताको चिठी लिएर । बर्मातिर प्रस्थान गरिसकेका थिए काका र फुपूफुपाजूहरू । मेरा पिता तीर्थयात्राका लागि प्रस्थान गर्ने तयारीमा लागे त्यसै समय । बर्मातिर प्रस्थान गरेपछि तीन वर्षभन्दा घटीमा फर्कन मन गर्दैनथ्यो कोही ।

नेपालमा ठूलो राजनीतिक घटना घट्यो त्यसको केही समयपछि । द्वितीय विश्वयुद्ध प्रारम्भ भयो त्यसै समय । कलकत्ताको शिवकुमार भवन छात्रावासमा अध्ययनरत थिएँ म । पिताजीको देहान्त भएको खबर आयो त्यसै समय । सम्भवतः विक्रमसंवत् १९९७ साल फागुनको कुरा हो यो । स्वर्गद्वारीका महाप्रभु परलोक भएको पनि त्यसै साल मङ्सिरमा हो भनेर कुरा गर्थे मान्छेहरू । पिताको श्राद्ध सकेर पुनः कलकत्ता पुगेँ म । पिताको वार्षिक श्राद्धपछि अर्को पटक घर पुग्दा अर्को नराम्रो खबर सुन्‍नुपर्‍यो मैले । बर्माबाट ब्रिटिस सेनाले एउटा ट्रकमा राखेर बर्माको सीमा कटाउँदै थियो काका र फुपूफुपाजूको परिवारलाई १९४२ इ. मा ।

ब्रिटिस सेना भाग्दै छ भन्‍ने ठानेछ बर्मामा युद्धरत रहेको जापानी सेनाले । त्यसै कारण बम प्रहार गर्‍यो भाग्न लागेको ब्रिटिस सेनामाथि जापानी सैन्यले । अनेक परिवारका मानिस थिए त्यस काफिलामा । फुपूका परिवार त पूरै गएका थिए एक, दुई छोराबाहेक । एघार जना त एउटै परिवारका परे त्यसमा । पण्डित टीकालाल निरौला र नन्दलाल ढकालले श्राद्ध गरे आफ्नाआफ्ना मृतकको । पिताको वार्षिक श्राद्धमा घर गएका समय म पनि सम्मिलित भएँ त्यस दुर्घटनाको आशौचमा । सुन फल्ने ठाउँको नाम लिँदा कहाली लाग्छ आज पनि मलाई ।

(‘जनकलाल शर्माका संस्मरण !’ नामक पुस्तकबाट । प्रा.डा. माधवप्रसाद पोखरेल र प्रा.डा. सुमन ढकालद्वारा सम्पादित यो पुस्तक अजम्बरी पब्लिकेसनले पुनः बजारमा ल्याउन लागेको छ । यो लेख ‘मधुपर्क’ मासिकको पूर्णांक ३६२, असोज २०५६ मा पहिलो पटक प्रकाशन भएको थियो ।)


Author

थप समाचार
x