सप्ताहन्त

महामारीका समाचार हेर्दाहेर्दा वाक्क–दिक्क

राजाराम बर्तौला |
जेठ ८, २०७८ शनिबार ६:५१ बजे

कोभिडको कारणले दिनहुँ दुई सयको हाराहारीमा नेपालीहरूले प्राण त्यागिरहेका छन् । अरु मुलुकको अवस्था हेरेर यस किसिमको विषम परिस्थितिको आँकलन गरिएको थियो । दोस्रो लहर विकराल हुनसक्ने यथेष्ट पूर्वानुमान गरिएका नै हुन् । बुझेकाहरूले पूर्वतयारीका लागि सुझाएका पनि हुन् । तर हामीलाई फुर्सद कहाँ ? पहिलो लहरको चोट सकिएपछि हामीले सोच्यौँ कि अब सकियो, फर्केर आउँदैन । 

सम्भावित जोखिमबाट क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुको ठाउँमा हास्यविनोद र ठट्टा गर्दै कोरोनालाई उडाइयो । यो क्रममा कहिले बेसारपानीले, कहिले हाच्छिउँ गरेर त कहिले अम्बाको पातको सेवन अचुक हुने भन्दै रोगलाई सामान्य ठानियो । मुलुकको जिम्मेवार नेताबाट नेपालीको रोग प्रतिरोध क्षमता दक्षिण एसियामा अरु भन्दा बढी भएको भन्ने भ्रमपूर्ण भाषणबाजी गरियो । परिणाम, अहिले स्थिति भयावह छ । महाव्याधि समुदायस्तरसम्म फैलिएर गएको छ । 


बन्दाबन्दीले जीवन कष्टकर बन्दै छ । मनोवैज्ञानिक त्रासले डेरा जमाएर बस्न थालेको छ । प्रौढहरूमा एक किसिमको चिडचिडाहट, बैचेनी देखिन्छ भने, वयस्कहरूमा पेसागत सुरक्षा र सुनिश्चितताको भय । युवकयुवती हुन् या बालबालिका मानसिक तनावबाट गुज्रिरहेको आभास पाइन्छ । 

कोभिडले पूरै समाजलाई तनाव दिएर राखेको छ । रोजगार जसोतसो जोगिएकाहरू भोकको गर्जो कसरी टार्ने भन्ने समस्यामा छन् । किसानको उत्पादन बारीमा नै सड्ने अवस्थाले चिन्ताका रेखाहरू प्रष्टै देखिन्छन् । लड्नु छ रोगसँग, भोकसँग एक्लै मानिसले । अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर भौँतारिँदै, अस्पतालको ढोकाढोका चहार्दै, वल्लो किनार पल्लोधार गर्दै, छटपाउँदै प्राण त्याग्नु परेको विषम अवस्था पनि देख्नुपर्‍यो । 

वाक्क लाग्ने गरी, दिक्क लाग्ने गरी समाचार बुलेटिनहरू आउँछन्, मृतकका संख्या बोकेर, विवशता र लाचारीको दर्द बोकेर । अस्पतालका बरन्डाहरूमा एकमुठी सासका लागि तड्पिरहेका बिरामीहरू र तिनीहरूका आफन्तहरूको टिठलाग्दो अनुहार, अक्सिजनको सिलिन्डरको पर्खाइमा आशाको झिनो सम्भावनाको त्यान्द्रोलाई टेको लिएर छटपटाइरहेको विवश बिरामी । 

सर्वांग उदाङ्गो भएर उध्रिएको, जति टाले पनि भ्वाङ नै भ्वाङ देखिने लाचार स्वास्थ्य उपचार व्यवस्था हाम्रो समाचारको शीर्ष बुलेटिन बनेर ङिच्च दाँत देखाउन आइपुग्छ घरीघरी टेलिभिजनको पर्दाबाट चियाउँदै बैठक कोठाहरूमा । महाव्याधि महाकाल बनेर गाउँ सहर पसेको छ बेलगाम । लगामबेगरको उन्मत्त महाव्याधि हावामा विषांशको ज्वरले सारा धरती लपेटूँ, रक्त जिब्राले चाटेर ध्वंश गरुँ भन्दै दिगदिगन्तर चहार्दो छ । नुनिलो आँसुको दहमा पौडी खेलुँला भन्दैछ, त्यो पापी । समुदाय त्रस्त छ । सरकार फर्केर पनि हेर्दैन । 

भो, बन्द गर टेलिभिजन । स्वरका धनी मृदुभाषी समाचारवाचिकाका आवाजहरू कर्कस लाग्न थाले । समाचारमा  आउने श्रव्यदृश्य चित्रहरू झनै भयावह । आँसुका दहमा डुबेका, दैवको मारले थिचेका, शोकको भारीले दबिएका बेसहारा शोकाकुल यी जनहरूले पीडा पोख्ने ठाउँसम्म पनि पाएका छैनन् । आफ्नै शासकीय नालायकीको चरम नमुना, अस्पतालको बरन्डामा चित्कार लगाइरहेछ, आर्तहरूको पुकार सुन्ने कोही छैनन् । दनदनी आगोको लप्काले श्मसानघाट चिता जल्दैछ, केही अगाडिसम्मको जिउँदोे जीव, वाँच्ने जिजीविषामा संघर्ष गर्दै थियो, आफैँभित्र खरानी भएर निख्रिँदै छ । लास जल्दै छ । लासको सपना हुँदैन, ऊ धुवाँ भएर उड्दो छ, प्रियजनको मन जल्दो छ चितामा लास जलेसरी । मल्हम लगाउने कोही छैनन् । सबै घाट कुरिरहेछन् । आरोग्यगृह कहाँ आरोग्य रह्यो र यो त घाटेवैद्यको प्रतीक्षालय रह्यो । 

बेथितिले सिर्जना गरेको, व्यग्रता, छटपटी, जीवनदानका लागि याचनाका चित्कार सुन्न, अस्पतालको बरन्डामा छटपटाइरहेका बिरामीले बाँच्न गरिरहेको संघर्ष, एक सिलिन्डर अक्सिजनको लागि तड्पिरहेको बिरामीको अवस्था हेर्दा मन चिराचिरा भइसक्यो । भो, अब टेलिभिजन बन्द गर । 

दिनै संख्याको लगत सुनाउन अभ्यस्त छन्, सरकारका सूचना अधिकारीहरू । पाषाण दिलहरू, संवेदनविहीन आवाजहरू पीडाका कथाहरू यसरी ओकल्छन्, मानौँ ती उनीहरूका सफलताका कथा हुन् । उपचारको अभावमा छटपटाइ छटपटाइ मर्न विवश नागरिकहरू सरकारको लागि फगत एउटा तथ्यांक बनेर रहेको छ । राज्यको मन हुँदो हो त दुख्दो हो । तर राज्यको मन हुँदैन, त्यसैले उसलाई दुख्दैन । अस्पतालको बरन्डामा अक्सिजनको अभावमा एउटा नागरिक अकाल मर्दछ, राज्यलाई त्यसको पीडाले कतै छुँदैन । राज्यसँग समवेदना हुँदैन । राज्य हाँक्नेहरूसँग त त्यो क्लेस मात्र पनि नहुँदो रहेछ । त्यसैले ऊ चिता जलेको आगोमा आँसु बगेको देख्दैन । एउटा सपनाको अवसान पनि देख्दैन । 

झ्यालबाट बाहिर हेर्दा सबै फूलहरू मुर्झाएका देखिन्छन् । धुलोका कणहरू पनि मृत्युघोष गरिरहेझैँ लाग्छ । एम्बुलेन्सका साइरनहरू एकोहोरो शंख बजेको प्रतीत हुन्छ । आक्रान्त छ सडक, बस्ती, घर र टोल । 

सामान्य अवस्था हुँदो हो त कोही कसैसँग परापेक्षी पनि हुने थिएनन् । सहयोगको याचना पनि गर्ने थिएनन् । असामान्य अवस्थाको विधि र उपचार पद्धति सामान्य अवस्थाका जस्ता हुँदैनन् र हुनुहुँदैन पनि । असामान्य अवस्थाले सिर्जन गरेको परिस्थितिको सामना असामान्य तरिकाको सोच र विधिहरूको प्रक्रिया अवलम्बन गरेर मात्र साध्य हुन्छ । अनि दुसाध्य रोगको प्रतिरोध, नियन्त्रण र समन गर्न पेसागत दक्षता, विज्ञता र बौद्धिक तिक्ष्णता भएका विज्ञहरूको बौद्धिक सहकार्य, सरकारी संयन्त्र, स्रोत र साधनहरूको अधिकतम प्रयोग आवश्यक पर्दछ । समुदायसम्म चेतनाको सञ्चार, नागरिक सकृयता र समुदायस्तरबाट पूरक साथ र सहयोग भएमा मात्र परिस्थितिको जटिलतालाई न्यूनीकरण गर्न सकिन्छ । 

सामान्य अवस्थामा त नागरिकहरू आआफ्ना पेसा व्यवसाय गरेर खाएकै हुन्छन् । कसैले विशेष सहयोगको अपेक्षा पनि गरेका हुँदैनन् । असामान्य अवस्थामा न हो समुदाय चाहिने, राज्य चाहिने र सरकार चाहिने । असहज परिस्थिति आइपरेको अवस्थामा पनि सरकार नागरिकहरूको जीवन रक्षाको लागि अगाडि आउँदैन भने सरकारको उपादेयता समाप्त भएको मान्नु पर्दछ । नागरिकले राज्यको वैधानिकता खोज्ने भनेकै विपदको अवस्थामा हो । सरकारबाट विशेष सहयोगको अपेक्षा गर्ने भनेकै असहज अवस्थामा हो, प्राकृतिक विपद् या स्वास्थ्य महाव्याधिको अवस्था आइपर्दा हो । 

जनतालाई जतिखेर सरकारको विशेष आवश्यकता छ तर सरकार आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम छैन वा अनिच्छुक देखिन्छ भने वा परिस्थितिलाई हुलुका र सतहीरूपमा लिएर नियन्त्रणबाहिर जान दिन्छ भने त्यस किसिमको सरकार र सरकारी संयन्त्र अव्यवस्थाको सिकार भएको वा जनताप्रति गैरजवाफदेही भएको अनुमान गर्न कठिन हुँदैन । यस्तो सरकारले बृहत्तर राष्ट्रिय स्वार्थभन्दा आन्तरिक लाभहानिलाई प्रश्रय दिने हुँदा जनताको मतको उपेक्षा गर्दछ । यस्तो सरकार आफ्नै चारित्रिक गुण दोषभागको कारण पतनको दिशाउन्मुख रहन्छ । 

सरकारको मुढाग्रह वा अतिदर्प वा विषयको गाम्भीर्यलाई हल्काफुल्का रूपमा लिने, सवै विषयको ज्ञाता आफू नै भएको, विज्ञताको सल्लाह र सुझावले कुनै अर्थ नराख्ने सोचको अधिकताले विषय जटिल बन्दै गएको देख्दा देख्दै पनि समयमा नै त्यसको नियन्त्रणको लागि योजना, स्रोतको परिचालन र व्यवस्थापकीय परिबन्ध नगर्ने, विशेषज्ञहरूको परामर्श आवश्यक नसम्झने मुढावृत्तिले समस्याको मात्रा झन्झन् बढ्दै जटिल र विकराल बन्दै गएको देखिन्छ । 

यो अवस्था आउनुमा अभावको भन्दा अव्यवस्थाको, समन्वयताको र नेतृत्वको अभाव देखिन्छ । मानवता हराएको यो बस्तीमा कसैलाई अक्सिजनको सिलिन्डरमा आम्दानीको स्रोत देख्दछ । औषधिमा कालोबजारी र भ्रष्टाचारको लिप्सा देखिन्छ, शक्तिकेन्द्रमा हुनेहरूका लागि । यी सोच्दछन्, ‘म कालजयी हुँ ।’

झ्यालबाट बाहिर हेर्दा सबै फूलहरू मुर्झाएका देखिन्छन् । धुलोका कणहरू पनि मृत्युघोष गरिरहेझैँ लाग्छ । एम्बुलेन्सका साइरनहरू एकोहोरो शंख बजेको प्रतीत हुन्छ । आक्रान्त छ सडक, बस्ती, घर र टोल । सन्त्रास बनेर आउँछ प्रत्येक बिहानी र उच्छवास छोडेर डुव्दछ साँझको घाम । आज पनि कुनै शुभ समाचार पढ्ने छैनन् टेलिभिजनले । भो, बन्द गर । 

सरकारले लाचारी देखाउँदै हात उठायो रे । हुन त ठूलो अपेक्षा नै के थियो र । लाचारी नै देखाइसकेपछि यसलाई कटाक्ष गरेर नै पनि के पाइएला र ? दुःखमा सँगै बसेर वेदनामा स्वर मिलाइदिए पनि हुने । केही गर्न नसके, नागरिकको पीडाको मलामीसम्म बनिदिए हुने । त्यति पनि गर्न सक्दैनौँ भने, यो निराशाको दलदलबाट बाहिर ल्याउन सक्दैनाँै भने भो तिमी त्यहाँ नबस, जाउ खरानी घस बरु ।


Author

थप समाचार
x