सप्ताहन्त

नारायणहिटीको सुख्खा दसैँ : आशीर्वाद न दक्षिणा, मात्र ट्याक्क टीका

डा. राज कुमार भट्टराई |
कात्तिक ६, २०७८ शनिबार १३:४४ बजे

झरी, हिलो र सिकसिको सकिएको, अलि–अलि चिसो हावा चल्न थालेको, घाम पारिलो हुँदै गएको, बारीमा अम्बक पहेलै पाक्न थालेको अनि बुवा–आमाहरू पनि खेतबारीको कामका कुरा नगरेर रुपैयाँ–पैसाको जोहो गर्ने, नयाँ लुगा किन्ने, केरा र खसीको बन्दोबस्तो मिलाउने, चिउरा कुट्ने, बाटो र चौतारो खुर्किने जस्ता कुरा गर्न थाले पछि दसैँँ आउँथ्यो । गाउँमा लिङ्गे पिङ र रोटे पिङ हाल्ने कुराले बेग्लै महत्व राख्थ्यो । दही–चिउरा–केरा र मासु–भात खाने, नयाँ–नयाँ लुगा लगाउने, मन लागे जति खेल्न पाउने अनि मावल टीका लगाउन जाने नै मेरा लागि दसैँ थियो ।

मलाई खाने र खेल्ने कुराले भन्दा पनि मावलमा टीका लगाएर दिने पैसा (दक्षिणा) ले लोभ्याउँथ्यो । आफ्ना मावली, बुवाका मावली, आमाका मावली र ठूलीआमाहरूले दिने दक्षिणा जम्मा गर्दा एक–दुई रुपैयाँ भए भने त भुइँमा खुट्टा नै हँुदैन थे । सोचेभन्दा कम दक्षिणा दिनेसँग चैँ अर्को पल्ट टीका नलगाउने भन्थेँ तर, अर्को दसैँ आएपछि सबै बिर्सिन्थेँ ।


आफ्नो र आफ्ना दाजुभाइका घरमा टीका लगाउँदा मेरा दिदी–बहिनीहरूलाई चैँ दक्षिणा दिने तर मलाई चैँ उल्टै गोडामा पैसा राखेर ढोग्न लगाउने चलनले मलाई विरक्त पाथ्र्याे । गोडा ढोग्न लगाएकामा त खासै केही लाग्दैनथ्यो तर पैसासमेत राख्न लगाइकामा चैँ सारै चित्त दुख्थ्यो । त्यति मात्र होइन, चेलीबेटीलाई त तैँले पनि टीका लगाइदिनु पर्यो नि भनेर टीका लगाउन लगाउने र टीका लगाइसकेपछि खोई दक्षिणा दिएको ? उधारोमा टीका लगाउनु त हुँदैन नि भनेर दक्षिणा दिन लगाउँदा चैँ मलाई खपी नसक्नु नै हुन्थ्यो । 

मसँग ढोग्ने पैसा हुँदैन भन्ने चैँ मेरी आमालाई थाहा हुँदो रहेछ । आमाले ढोग्ने पैसा भनेर मलाई छुट्टै दिनुहुन्थ्यो, ती पैसा बोक्ता निकै धनी भएजस्तो लाग्थ्यो तर तिनै पैसा ढोगेर सक्नु पर्दा चैँ सारै दुःख लाग्थ्यो । तर, के गर्नु मेरो पैसा चैँ सबै सकिन्थे, दिदीबहिनीहरूका चैँ थपिँदै जान्थे । म दुःखी भएको देखेर नै होला २०२८ सालको दसैँमा चँै मेरी दिदीले ला तँलाई भनेर आठआना पैसा दिँदा भएको खुसीको त बयान गरेर नै सकिँदैन ।

डाँडाघरे दाइले मेरो दुःख राम्ररी बुझेरै होला, ‘तँ पैसा रोप्दैनस्, कसरी तँसँग धेरै पैसा हुन्छ त’ भनेर मलाई पैसा रोप्ने तरिका सिकाइदिन्छु भने । कति बिउ चाहिन्छ भनेर सोद्धा ‘जति रोपे पनि हुन्छ, एक रुपैयाँ रोप्यो भने दश रुपैयाँ हुन्छ । तर पैसा रोप्ने कुरा कसैलाई नभन्नु, मलाई मात्रै भन्नु, रोप्ने तरिका सिकाइदिन्छु’ भने । दसैँपछाडि पाँच रुपैयाँ रोप्न सक्ने भएँ । 

कसैले थाहा नपाउने गरी पैसा रोप्ने कुरा दाइलाई भनेँ । उनले एक माना जति नुन र चोयाबाँसका पाँचवटा पट्याँस लिएर भिरमाथि आऊ भने । भिरमाथि चिलाउनेको रुखको फेदमा सानो खाल्टो खन्न लगाए र त्यो खाल्टोको तल र वरिपरि पट्यास राख्न लगाए । आधा नुन खाल्डोमा हाल्ने, त्यसमाथि सबै पैसा राख्ने, पैसालाई बाँकी नुनले छोप्ने, त्यसमाथि पट्यास राखेर ढुङ्गाले किच्न लगाए र भने, ‘अब सात दिनपछि मात्रै हेर्नु । तर कुनै राति स्याल करायो भने चैँ बिउ पनि हराउँछ नि, विचार गर्नु पनि ।’ त्यो दिन त स्याल कराएको सुनिनँ तर भोलि पल्टै राति स्याल करायो, बिहानै उठेर हेर्न गएको त पट्यास मात्रै भेटिए । 

अर्को सालको दसैँँमा सबै दक्षिणा जोड्दा पाँच रुपैयाँ पनि पुगेन । मैले आमालाई कसकसले कतिकति दक्षिणा दिए सबै सुनाएँ । आमाले थोरै दिएछन् भन्नुको सट्टा ठिकै हो भन्दा मलाई ठिक लागेको थिएन । पछि आमाले मलाई एक सय रुपैयाँ दिनुभयो र भन्नुभयो, ‘यी रुपैयाँ दसैँमा दक्षिणा दिनका लागि ठीक पारेका हुन् ।’ मैले सोधेँ, ‘यत्रा पैसा दक्षिणा दिने हो र ?’ ‘हामीसँग दसैँमा टीका लगाउन यी यी आउँछन् र कसकसलाई कतिकति दिने हो तँ आफैँ भन् र जोड्दै जा’ भनेर मलाई लगाउनु भयो । थोरै थोरै दिँदा पनि ती सय रुपैयाँले पुग्दै नपुग्ने पो रहेछन् । त्यस दिन मलाई दक्षिणा दिनेका त धेरै पैसा पो सकिँदा रहेछन् भन्ने लाग्यो ।

समय सँगसँगै हुनेखानेका लागि दसैँ र दक्षिणा दुवै समस्या नभएर हैसियत देखाउने अवसर भएको देख्न थालेँ । दक्षिणा घेरै दिने सम्भावना भएका घरमा टीका लगाउन जानेको संख्या बढेको र थोरै दिने घरमा जानेको संख्या कम हुँदै गएको पनि आफ्नै नातागोतामा भेटिन थाले । धेरै दक्षिणाका साथै विभिन्न परिकारका मीठामीठा खानेकुरा खुवाउनेको प्रशंसा अर्को दसैँँसम्म गरेको सुनिन्थ्यो । कतिपयले त दक्षिणासँग इज्जत जोडिएको ठानेर दक्षिणा र खानेकुराका लागि ऋण काढेको र ऋण तिर्न नसकेर बिलौना गरेको पनि देखिन्थ्यो ।

हाम्रो घरमा चैँ बुवा पैसाको लेनदेन गर्ने कुराबाट टाढै बस्नुहुन्थ्यो । कसैले उहाँलाई दिएको दक्षिणा घरमा आइपुग्नेबित्तिकै हामीलाई दिइहाल्नुहुन्थ्यो । पैसाको कारोबार सबै आमाले नै गर्नुहुने र त्यसमा बुवाको कुनै चासो नहुने हुनाले नै होला २०३४–३५ सालदेखि नै आमाले मसँग कसलाई कति दक्षिणा दिने भन्नेबारेमा सल्लाह गर्नुहुन्थ्यो । खासगरी चिम्फाङ्का भिनाजुलाई कति दिने भन्ने कुरामा चैँ हजुरआमाहरूले समेत निकै सोच विचार गर्नुहुन्थ्यो । उहाँ सबैभन्दा धेरै पढेलेखेका, धनी र नाम पनि चलेका ज्वाइँ भएकाले पनि धेरै सोच्नुपरेको होला । तर, टीका लगाउन आउँदा के कस्तो कोसेली ल्याएको छ त्यसले पनि दक्षिणाको टुङ्गो लगाउन सहयोग चैँ गर्थ्यो । किनभने कोसेली एक सय रुपैयाँ बराबरको ल्याएको छ भने कम्तीमा पनि दुई सय रूपैयाँ दक्षिणा दिने भन्ने मान्यता थियो । वास्तवमा त्यो मान्यताले सबैतिर काम गरेको चैँ थिएन किन भने कोही–कोही कोसेली नलिइकनै टीका लगाउन आउँथे, दक्षिणा दिनै पर्थ्यो ।

कति दक्षिणा दिनु उचित हो भन्ने प्रश्नले मलाई बिस्तारै सताउन थाल्यो । उत्तर खोज्न थालेको पनि चालीस वर्षभन्दा बढी नै भइसक्यो । एकातर्फ जति दिन सकिन्छ त्यति नै दिनु उचित हो भन्ने पनि लाग्न थाल्यो तर अर्कातिर कोसेली ल्याएको–नल्याएको, कति टाढा–नजिकबाट आएको, सधैँ आइरहने कि कहिलेकाहीँ मात्र आउने, आर्थिक अवस्था सवल भएको कि दुर्बल भएको, केटाकेटी कि बूढाबूढी, साइनो लाग्ने कि नलाग्ने, नजिकैको नातेदार कि टाढाको जस्ता अनेकौँ कुराले उचित दक्षिणाको टुङ्गो लगाउन अप्ठ्यारो पारी नै रहे । समय बित्तै गयो, दक्षिणाको प्रभाव पनि बढ्दै गयो । बिस्तारै दक्षिणाको रकम मात्र होइन नोट पनि नयाँ हुनुपर्ने भयो । दसैँँको दक्षिणाले सर्वसाधारणलाई मात्र प्रभाव पारेन नयाँ नोटको व्यवस्था मिलाउन राष्ट्र बैङ्कलाई समेत लगायो ।

दक्षिणा लिनेमा भन्दा दिनेमा धेरै बढी संलग्न हुनुपर्ने भएर होला लामो समयसम्म दक्षिणाको धेरै आस लागेको थिएन । तर २०४३ सालको दसैँमा घर जाने खर्च भएन । दसैँको अष्टमी र नवमीका दिन काठमाडौ सुनसान हुन्छ, पसल र खाना खाने ठाउँ पनि बन्द हुन्छन् भन्ने थाहा पनि भएन । महिनाभरिका लागि खाना खान भनेर पैसा तिरेको होटल पनि अष्टमीको बिहानको खाना खान जाँदा बन्द गरेर साहुजी बिहानै बनेपा गएको भन्ने थाहा भयो । पैसा सकिएको, होटल बन्द भएको र स्थानीयसँगको आत्मीयता पनि बढी नसकेको अवस्थामा नवमीको भोक पनि थपियो । 

दसैँमा भोकै बस्नुपरेको त्यो नै मेरो जीवनको पहिलो अनुभव थियो । निद्रा लागेन, मनमा अनेक कुरा खेल्न थाले र दसैँँको दक्षिणाको झल्झली याद आउन थाल्यो । त्यस्तै बेला छिमेकमा बजिरहेको रेडियोले राजाकहाँ टिका लगाउनेबारेमा भनिरहेको सुनेपछि चैँ भोक तिर्खा सबै बिर्सिइयो । सबै भाडावाला घर गएको हुनाले बिहान नुहाउन पनि मनग्य पानी पाइयो । नुहाइ–धुवाइ सकेर भएका सुकिला लुगा लगाएर राजाकहाँ टीका लगाउन सात बजेतिर हिडेँ । सामान्य मान्छेले त दसैँमा टीका लगाएर खाना खुवाउँछन् र एक–दुई रुपैयाँ भए पनि दक्षिणा दिन्छन् भने राजाले त पक्कै पनि मज्जाले खान दिन्छन् अनि सय रुपैयाँभन्दा कम त दक्षिणा पनि दिँदैनन् भन्ने आश गर्दै नारायणहिटीको दक्षिण ढोकामा आठ बजेतिर पुगेँ ।

ढोकामा सैनिक तयार थिए । टीका लगाउने कता हो भन्दा बेला भएको छैन भने । नारायणहिटीलाई फन्को लगाउँदा मधेसतिरबाट राजासँग टीका लगाउन भनेर आएका मान्छे चैँ फाट्फुट्ट भेटिन थाले । साढे नौ बजेतिर दक्षिण ढोकाको पश्चिमपट्टि सर्वसाधारणले लाइनमा बस्नुपर्ने उर्दी आयो । राजासँग टीका कहिल्यै नलगाएको र लगाउँदा के कसो गर्नुपर्ने हो थाहा नभएको हुनाले पन्ध्र–बिस जना पछि मात्रै लाइनमा बस्ने र आगाडि जानेले गरेको हेरेर सिक्ने निधो गरेँ ।

दिउँसोको दुई बजेतिर अब सर्वसाधारणको पालो आयो रे भन्ने सुनियो, अगाडिको गेट खुल्यो, लाइन भित्र छिर्यो । राजदरबारको मूल ढोकामा जाने सिँढीको दाहिनेपट्टि राजा वीरेन्द्र उभिएर गिलो पारेको अबिरमा दाहिने हातको बुढीऔँला चोब्दै लाइनबाट जानेलाई ट्याक्क–ट्याक्क टीका लगाएको देखिन थाल्यो । म पनि नजिकै पुगेँ, राजाको बुढिऔँलाको छाप निधारमा परेको थाहा पाएँ, के आशीर्वाद पाउँछु भनेर ध्यान दिएर सुनेँ, दक्षिणा कताबाट लिने भनेर यताउता सबैतिर हेरेँ । त्यति नै बेला एक जना सैनिकले आफूतिर आउने इसारा गरे । म उनैतिर गएँ, त्यसपछि अर्का सैनिकले बाटो देखाए । दक्षिणा लिने र खाना खाने ठाउँतिरको बाटो देखाएका होलान् भन्दै दायाँ–बायाँ हेर्दै हिडेँ, हिँड्दा हिँड्दै त्यै दक्षिण गेटको पूर्वतिरबाट बाहिर पो निस्किएँ । चर्को घाम, भोक र तिर्खाले होला बाहिर निस्केपछि भनन्न रिङ्गटा लाग्यो । थामिँदै थामिँदै हिँडेँ । रत्नपार्कतिर पुग्नुपनेर्, नागपोखरी पो पुगेछु ।

राजाले चैँ सर्वसाधारणलाई दसैँमा टीका लगाइदिँदा आशीर्वाद दिनु पनि नपर्ने, दक्षिणा पनि दिनु नपर्ने, खान पनि दिन नपर्ने देखेर ‘कति दक्षिणा दिनु उचित’ भन्ने प्रश्न भन्दा पनि ‘किन दक्षिणा दिनुपर्ने’ भन्ने प्रश्न बलियो हुन थाल्यो तर, मेरो प्रश्नले महत्व भने पाउन सकेन । मैले दक्षिणा नलिने र नदिने अथवा लिनु–दिनु नै परिहाले पनि एक रुपैयाँभन्दा बढी नलिने र नदिने काम नगरेको पनि होइन तर, लोकका अगाडि मेरो केही लागेन, दक्षिणाको सिलसिला चलि नै रहयो । 

पछिल्लो दश–बाह्र वर्षदेखि त टीका लगाउने कि नलगाउने भन्ने निधो गर्न दक्षिणाकै ठूलो भूमिका रहेको देख्न थालेँ । आफ्नै नातागोता र चिनाजानामा समेत दसैँ मनाउने अनौठो चलन आयो । दसैँँमा खसी काटेर मासु खानसमेत खान हुने तर छिमेकी मरेको वर्ष दिन पुगेको छैन भनेर टीका चैँ नलगाउने देख्दा र सुन्दा अनौठो लाग्न थालेको छ । त्यति मात्र होइन २०७६ सालको दसैँँमा त टीका लगाउन भनेर आफन्तकामा गएको थिएँ । त्यहाँ छिमेकी मरेकाले टीका नलगाउने भएका मान्छे पनि पुगेका देखेँ । मनमनै सोचेँ, यो बेला यी मान्छे यहाँ किन आएका होलान् ? टीका लगाउन सुरु भयो । ती टीका नलगाउने भएकाको पनि पालो आयो । उनले ‘म चँै टीका लगाउँदिनँ’ भने तर, ती आफन्तले दिएको दक्षिणाको खाम चैँ सरक्कै लिएर खल्तीमा राखे, दिएका खानेकुरा सबै खाए । त्यस्तै अर्को कुरा त २०७८ सालको टीकाको दिन पनि भेटेँ । मामा बित्नु भएकाले मेरो टीका लगाउनु थिएन । बिहानको हिँडाइ हिँड्दै गर्दा मेरा अगाडि–अगाडि मोबाइलमा कुरा गर्दै हिँडिरहेकी एउटी महिलाले भनेको कुरा मेरा कानमा परे, ‘ज्वाइँलाई दक्षिणा चैँ अलि धेरै पठाइदिनु नि, यहाँ मैले नानाथरी कुरा सुन्नुपर्छ’ ।


Author

थप समाचार
x