शरद शृंखला
आईबी दाजु र कुमार दाजुले मलाई हेप्नुहुन्छ, साहित्यकार मान्नुहुन्न
एक दिन नयाँ सडकमा कवि दलसिंह ‘अकेला’ र म बरालिँदै थियौँ, एक्कासि जम्काभेट भयो, मत्स्येन्द्र प्रधान दाइसँग । निकै हतारमा हुनुहुन्थ्यो, दाइ । हातमा सधैँझैँ ब्रिफकेस भने थिएन । दाइको ‘सिग्नेचर ब्रिफकेस’ गायब देखेर अनौठो लाग्यो । पछि दाइले भन्नुभयो, ‘ब्रिफकेस त चोरी भएछ अनि दाइले दुःख गरेर लेखेको कथा संग्रहको पाण्डुलिपि पनि ब्रिफकेससँगै गायब ।’ दाइले निकै भावुक हुँदै भन्नुभयो । २०४२ सालतिर साहित्य अकादमी पुरस्कार पाएको ‘नीलकण्ठ’पछि दोस्रो कृति थियो, दाइको । तर, नियतिले त्यो पाठकसामु पुग्नै पाएन ।
मत्स्येन्द्र दाइसँग मेरो भेट अनौठो ठाउँमा भएको थियो, ३८ वर्षअघि । जापानी पद्धतिमा उपचार गर्ने विधि (अभय उपचार)को प्रशिक्षण लिने क्रममा दाइ पनि सामेल हुनुभयो, मजस्तै । यो प्रशिक्षण दाइकै घरमा भएजस्तो लाग्छ ।
चाँदबारीमा घर थियो, दाइको । तुलनात्मक रूपमा निकै राम्रो । नेवार समाज पनि त्यहीँ थियो, जहाँ नेवारी संस्कृति र भाषालाई जीवित राख्ने प्रयास गरिन्थ्यो । उमेरको निकै ठूलो अन्तराल भए पनि दाइ र मेरो सम्बन्धमा ठूलो खाडल थिएन । दार्जिलिङ छोडेर काठमाडौँ आएको केही समयपछि बालाजुमा स्कुल खोल्नुभयो, प्रिसियस हाइस्कुल ।
म त्यहाँ प्रायः गइरहन्थेँ । साहित्य, शिक्षा, संगीतबारे खुबै चर्चा गर्थें । मेरो घरमा पनि आइरहनुहुन्थ्यो, परिवारिक सदस्यजस्तै । तर, दाइ निकै दुःखी हुनुहुन्थ्यो । पहिलो श्रीमतीबाट छुट्टिएपछि दोस्रोबाट पनि सुख पाउनु भएन । विभिन्न कारणले उहाँहरू अलग्गिनुभयो ।
पछिल्ला दिनमा स्कुल पनि बेच्नुभयो भन्ने सुनेको थिएँ, आफन्तबाटै जालझेल भयो भन्थे । तराईमा जग्गा किनेको भनेर सुनेको थिएँ, त्यहीँ स्कुल खोल्छु भन्नुहुन्थ्यो । दाइले कुनै बेला काठमाडौँको नयाँ बानेश्वरमा आफ्नो जमिन भएको प्रसंग सुनाउनुहुन्थ्यो । २०२५/२६ सालतिर बुवाले जमिन देखाउँदा यो काम छैन, बेचेर दार्जिलिङमा लगानी गरौँ भन्नुभयो मत्स्येन्द्र दाइले । पछिसम्म पछुताएको कुरा गर्नुहुन्थ्यो, दाइ ।
साहित्य मलाई कृत्रिम अनि सीमित मात्र होइन, अनावश्यक पनि लाग्छ, कहिलेकाहीँ । केवल साक्षरका निमित्त मात्र हो, साहित्य ।
मत्स्येन्द्र प्रधान अस्तित्ववादको ज्ञाता हुनुहुन्थ्यो । दर्शनशास्त्रको गहन अध्ययन थियो, उहाँमा । सुनेको थिएँ, दर्शनशास्त्रमा मास्टर्स गर्नुभएको थियो रे । केही समय कलेजमा अध्यापन पनि गरेको । जीवनमा स्थिर भएर कमै काम गर्नुभयो । कहिले ठेकेदारी भने कहिले रेसको घोडा पालेर बाजी लगाउने काम पनि ।
सम्पन्न परिवारमा जन्मेका मत्स्येन्द्र दाइले सानैदेखि बुवाबाट संगीत सिक्नुभयो । सितार र तबला बजाउन निपुण तर कहिले पनि संगीतलाई व्यावसायिकतामा ल्याउनुभएन । अंग्रेजी भाषामा निकै दखल थियो, दाजुको । मैले पनि सुरुसुरुमा लेखेको अंग्रेजी लेख दाजुलाई देखाउँथेँ र राम्रो सुझाव दिनुहुन्थ्यो ।
दाजुले आफैँले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेको कथा (च्याउ) भारतीय साहित्य अकादमीले प्रकाशित गरेको अंग्रेजी पत्रिका प्राचीमा छापिएको थियो । दाइले भारतीको २०१२ सालको कात्तिक-मंसिर अंकमा ‘आँसुले पिर्नेछ’ कथा छापेर आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएको थियो । तर, उहाँले धेरै कथा लेख्नुभयो ।
६० को दशकमा दार्जिलिङमा एउटा बौद्धिक जमातको उदय भयो । त्यसको नेतृत्व लिनुभयो, इन्द्रबहादुर राई । उहाँको पदछापलाई अनुसरण गर्दै आउनुभयो, कुमार प्रधान, राजनारायण प्रधान, मत्स्येन्द्र प्रधान ।
उहाँहरूले दार्जिलिङको साहित्यलाई वैचारिक उच्चता दिनुभयो । विदेशी साहित्यसँग परिचित गराउनुभयो । धेरै गहकिलो र ओजपूर्ण पत्रिका र पुस्तक निकाल्नुभयो । तर, मत्स्येन्द्र दाइले सधैँ गुनासो गर्नुहुन्थ्यो, ‘मलाई उनीहरूले हेप्छन् ।’
अनेकन् कवि र लेखकबारे लेख्ने इन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधानले मत्स्येन्द्र प्रधानको ‘नीलकण्ठ’बारे केही लेखेनन् । सुप्रसिद्ध कवि/लेखक मनप्रसाद सुब्बा लेख्छन्, ‘नीलकण्ठ असीको दशकमा सवार्धिक चर्चित र सवार्धिक पढिएको उपन्यास हो । यद्यपि यो कृतिलाई लिएर आलोचक समाज अहिलेसम्म नै मौन बस्यो । कि त उपन्यासलाई खोतल्ने आँट गरिएन कि त मत्स्येन्द्र प्रधानलाई किनारीकृत गरियो । यद्यपि ‘आज रमिता छ’पछि भारतीय नेपाली साहित्यिक समाजमा भुइँचालो ल्याउने कृति यो मात्र हो ।’
‘नीलकण्ठको आख्यान समाज नै वृक्षीय छ । टुसा बढ्दै बढ्दै हजारौँ हाँगाबिगा भएको झ्याम्म वृक्षजस्तो,’ सुब्बाले केलाए, ‘नीलकण्ठ पढ्नु भनेकै जीवनलाई विभिन्न रूपले बुझ्नलाई हो । किनभने नीलकण्ठमा पात्रहरूले अत्यधिक गह्रौँ जीवन बोकेका छन् ।’ सुब्बाका अनुसार ‘नीलकण्ठ’ले आस्वादनमा जुन सहजता दिएको छ, ‘आरोहण’ले त्यसको तुलनामा पाठकबाट अत्यधिक धैर्य माग्छ ।
प्रसिद्ध कथाकार गुप्त प्रधान लेख्छन्, ‘आलोचकहरूले किनारमा पारेका लेखक हुन्, मत्स्येन्द्र प्रधान । तर, कृतिले भने इन्द्रबहादुर राईकै समकक्षमा उभिएका आख्यानकार पनि हुन् । मत्स्येन्द्र प्रधान आफैँ पनि उनको कृतिमाथि आलोचकहरूको मौनतादेखि पीडित थिए । नीलकण्ठ लेख्नुअघि मत्स्येन्द्र प्रधानले ‘नयाँ सूर्य’ शीर्षकको उपन्यास लेख्दै थिए । पछि त्यसलाई त्यतिकै थन्क्याएर ‘नीलकण्ठ’ लेखे । छापे र साहित्य अकादमी पनि पाए ।’ उहाँको अर्को उपन्यास ‘आरोहण’को भूमिकामा मत्स्येन्द्र प्रधानले ‘नयाँ सूर्य’ नै ‘नीलकण्ठ’को नाममा निस्केको स्वीकारेको छ ।
नीलकण्ठको समीक्षा गर्दै पवित्र रेग्मी (अधिकारी) लेख्छन्, ‘श्री मत्स्येन्द्र प्रधान लिखित नीलकण्ठ उपन्यासले नेपाली उपन्यासको क्षेत्रमा एक विशेष र छुट्टै स्थान सुरक्षित राखेको छ । यो उपन्यासले मानव जीवनमा अस्तित्वका विसंगतिहरूको वर्णन गर्ने जमर्को गरेको छ । अस्तित्ववादी सिद्धान्तका आधारमा यसले आत्माको अमरत्व, जीवन र मृत्युसम्बन्धी प्रश्न खडा गरेको छ । यसरी नीलकण्ठ नेपाली साहित्यमा एउटा नयाँ परिपाटी र ढाँचाको कृति हो । अति भौतिक विषयमा लेखिएको यो उपन्यासमा वस्तुविन्यास र शिल्पशैली अत्यन्त कुशलतापूर्वक गरिएको छ ।’
निरक्षरका निमित्त साहित्यको मूल्य र उपयोगिता छ कि छैन कुन्नि ? साक्षरको भन्दा निरक्षरको प्रतिशत सर्वाधिक छ । साहित्य त सायद केवल एउटा विशिष्ट वर्गको बसिबियाँलो मात्र पो हो कि ?’
साहित्य कसका लागि ? मत्स्येन्द्र दाइ लेख्नुहुन्छ, आरोहणको भूमिकामा, ‘पहिलो उपन्यास ‘नीलकण्ठ’को पाण्डुलिपि लेखेर सिद्धाएको चार वर्षसम्म बोकेरे हिँडेँ । प्रकाशनमा ल्याइहाल्नुपर्ने हतार आजसम्म कहिले पनि लागेन मलाई । यसमा मेरो आफ्नै दृष्टिकोण छ । वास्तविकता त के भने साहित्य मलाई कृत्रिम अनि सीमित मात्र होइन तर अनावश्यक पनि लाग्छ, कहिलेकाहीँ । केवल साक्षरका निमित्त मात्र हो, साहित्य । निरक्षरका निमित्त साहित्यको मूल्य र उपयोगिता छ कि छैन कुन्नि ? साक्षरको भन्दा निरक्षरको प्रतिशत सर्वाधिक छ । साहित्य त सायद केवल एउटा विशिष्ट वर्गको बसिबियाँलो मात्र पो हो कि ?’
नीलकण्ठ र आरोहणको आवरण चित्र प्रसिद्ध चित्रकार कृष्ण सुब्बाले बनाएका हुन्, जो पुलिसको गोली लागेर दार्जिलिङको चोक बजारमा सहिद भएका थिए, सन् १९८१ तिर । दार्जिलिङका नेपालीले भोगेको पीडा र दुःखलाई ती चित्रमा चित्रण गरेको अनुभव कृष्ण सुब्बाकी दिदी विमला सुब्बा सुनाउँथिन् ।
मत्स्येन्द्र दाइको दुई-चारवटा किस्सा गजबको छ । साहित्य अकादमी पुरस्कार पाएपछि इन्द्रबहादुर राई सरले दाइलाई भनेको कुरा सुनाउनुहुन्थ्यो । सरले दाइलाई भन्नुभयो रे, ‘भाइ अब तपाईं १० वर्षसम्म सिरक ओडेर सुते हुन्छ । नीलकण्ठले तपाईंलाई जीवित राख्नेछ, १० वर्षसम्म केही नलेखे पनि हुन्छ ।’
एकपटक झोंछेमा मत्स्येन्द्र दाइ, राजनारायण प्रधान सर, दल सिंह ‘अकेला’ र म सोमरस पिउने पसलमा थियौँ । दाइ र सरले खुब स्वाद मान्दै छोइला र ऐलाको आनन्द लिइराख्नुभएको थियो, अचानक मत्स्येन्द्र दाइ आवेशमा आउनुभयो र भन्न थाल्नुभयो, ‘राज, तपाईं, आईबी दाजु र कुमार दाजुले मलाई हेप्नुहुन्छ, साहित्यकार मान्नुहुन्न । अनि दुःखेसो पोख्नुभयो, राज, तपाईंले मभन्दा धेरै लेखे पनि म जतिको अध्ययन गर्नुभएको छैन ।’ अवाक् भएर राजनारायण सर मुसुमुसु हाँसिरहनुभयो ।
काठमाडौँमा मत्स्येन्द्र दाइ केही साहित्यकारको नजिकमा आउनुभयो, एउटा पुरस्कार पनि पाउनुभयो । तर, दाइको मृत्युको खबर कुनै पनि समाचारपत्रले प्रसारित भएको मैले थाहा पाइनँ । उहाँका हितैषी साहित्यकारले पनि मत्स्येन्द्र दाइबारे लेख्ने जाँगर चलाएजस्तो लागेन । कुन्नि किन हो, पछिल्ला दिनमा मत्स्येन्द्र दाइ मबाट निकै टाढिनुभयो । दाइ बितेको खबर पनि एक हप्तापछि मात्र थाहा पाएँ ।
जात्राहरूमा निकै रमाउने दाइको प्रिय जात्रा थियो, इन्द्र जात्रा । इन्द्र जात्राको बखत हनुमान ढोका गएर श्वेत भैरवको मुखबाट निस्केको रक्सी खान निकै रमाउनुहुन्थ्यो । भगवान्को प्रसाद हो भन्नुहुन्थ्यो । रोगले थलिए पनि समयसमयमा सोमरस पिउन पछि पर्नु हुन्नथ्यो ।
अनेकन् कवि र लेखकबारे लेख्ने इन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधानले मत्स्येन्द्र प्रधानको ‘नीलकण्ठ’बारे केही लेखेनन् ।
मत्स्येन्द्र दाइको ‘नीलकण्ठ’को पहिलो प्रकाशन दार्जिलिङ ग्रन्थकार सहकारी समिति र ‘आरोहण’को अस्मिता प्रकाशन दार्जिलिङले गरेको थियो । यी दुवै पुस्तकको नयाँ संस्करण हाल सांग्रिला बुक्स नेपाल-भारतबाट बजारमा छ ।
मत्स्येन्द्र दाइको देहावसान गुमनाम भयो, न कुनै पत्रिकामा समवेदना आयो, न मृत्युको खबर । सन् १९३९ मा जन्मेको थाहा पाए पनि कुन सालमा मृत्यु भयो भन्ने पत्ता लगाउन सकिनँ । केही जानिफकारलाई सोधेँ, तर कहीँबाट पनि सही उत्तर आएन, कस्तो विडम्बना । साहित्य अकादमी पुरस्कार प्राप्त गरेको साहित्यकारबारे यति अल्प सूचना छ भने अरू दिवंगत साहित्यकारको अवस्था कस्तो होला ?
मत्स्येन्द्र दाइले जीवनमा थोरै कविता लेख्नुभयो तर २०४८ मा मेरो सम्पादनमा प्रकाशित भएको साहित्यिक पत्रिका आस्थामा एउटा कविता छापिएको थियो । सायद त्यो कविता पहिलोपटक पाठकले पढ्न पाएका होलान् कि :
स्वागतम
आँधी बोकेर आऊ तिमी वीर ।
तुफान बोकेर आऊ तिमी वीर ।
आँधी बोकेर आऊ तिमी वीर ।
जगाउँदै जम्मै खेतहरू, बारीहरू,
बारीका गह्रा गह्रामा उम्रेर हुक्रेका
दालभात, डुकु, ढिँडोलाई जिन्दगी भन्ने
अपाहिज हाम्रो मनोवृत्तिहरू !
तूफान बोकेर आऊ तिमी वीर
भत्काउँदै जम्मै छानाहरू, पर्खालहरू
कोठाको सानो चारैतिरबाट घेरिएको,
निस्सासिने परिवेशलाई संसार भन्ने,
नपुंसक हाम्रा चिन्तनहरू !
यो कोठाभन्दा बाहिर, बारीको गह्राभन्दा पर,
खेतहरूका साँध, सिमाना, फैलावटभन्दा पर,
सग्लो एउटा जिन्दगी छ, सिंगो एउटा संसार
सम्भावनाका नयाँ क्षितिज, विस्तृतिलाई बगर ।
त्यही जिन्दगीको एउटा नमुना, ल्याइदेऊ तिमी वीर ।
आँधीभित्र अदम्य शक्ति लुकेको हुन्छ,
तुफानभित्र अजस्र पुरुषार्थ सुतेको हुन्छ,
लगेर जम्मै लधु मनोवृत्ति, अपांग हाम्रा चिन्तनलाई
बोधको एउटा नयाँ शिखर, देखाइदेऊ तिमी वीर !
बिन्ती केही क्षणलाई मात्र भए पनि होस्
आँधीसँग साहस केही, पैँचो मागिदेऊ तिमी वीर ।
यसअघिका शरद-शृङ्खला
- इन्द्रबहादुर राईको तेस्रो लीला
- पारिजातका प्रेमी धनुवरदेखि उनले जलाएका चार उपन्याससम्म
- प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया