सप्ताहन्त

संस्मरण र अनुभूति

दोभानबाट निस्किएको अठोट

वसन्त लोहनी |
फागुन २८, २०७८ ९:१० बजे

वेदप्रसाद जन्मेको डिल्लीबजार १९७२ सालको, सन् १९१५ । चन्द्र शमशेरको हुकुमको वेला । दरबार स्कुलमा सर्वसाधारणले पढ्न पाए पनि त्रिचन्द्र कलेज खुल्न अझै तीन वर्ष बाँकी थियो । डिल्लीबजारको भूगोल फरक, सामाजिक बनावट फरक । छरिएका थिए यथास्थितिका प्रतिविम्बहरू । बट्टाई लडाएर आल्हादित हुनेहरूको बलियो पकड थियो ।

त्यसलाई टेवा दिन आरनमा निकालिएको जस्तो वैचारिक ऊर्जाहरू । एउटा उदाहरण भट्टराई बन्धुको कविताका हरफहरू – हा राम ! चन्द्र शमशेर बडा प्रतापी, देखिन्न कहीँ प्रभुतुल्य कहीँ कदापि । यी बिक्री गर्नेहरू ठालु थिए, प्रतिष्ठित बुद्धिजीवी बनेका । मूलतः यसैको परिष्कृत स्वरूपको सेरोफेरोमा नै छन् अहिलेका पालित बुद्धिजीवी पनि । त्यसको स्वरूप र बनावटबारे पछि छलफल गरौँला ।


त्यति बेलाको कुरा गर्दा राणाजीको चाकरी गर्ने ठाउँ पाउनु नै ठूलो इज्जत र प्रतिष्ठा हुन्थ्यो समाजमा । त्यस्तो जागिर नै पनि हुन्थ्यो । उठेर कुनै बार्दलीमा उभिँदा तलबाट अनेक ‘हिजडा मुद्रा’बाट हँसाउन सक्नुपथ्र्याे त्यो राणालाई । त्यति गर्न सकेपछि राणाको हुकुम हुन्थ्यो– ल जाऊ, भयो आजलाई । ‘जो निगाह सरकार’ भन्न पाएपछि त्यो दिनको जागिर पाक्थ्यो । तर त्यो मौकाको लागि कहिलेकाहीँ दिनभर पनि तल चिसो चउरमा कुरिरहनु पर्थ्यो बार्दली हेरेर । यसरी इज्जतसाथ जहान छोराछोरी पाल्नेहरूमध्ये थिए डिल्लीबजारमा पनि । त्यस्तै, दृश्य अदृश्य चेतनाको उद्गमस्थल पनि थियो डिल्लीबजार परीवर्तनको– भोलिको सुन्दर बिहानीको लागि । 

भूगोल पनि त्यस्तै डिल्लीबजारको । मूल सडकको एउटा ओरालो पूर्वतर्फ, अर्को पश्चिम । पश्चिमको पुतलीसडक जान्छ भने पूर्वको धोबीखोलातिर । अझ भनौँ पुरानो मन्दिर मैतीदेवी जाने मोडतिर जहाँबाट पूर्व त्यो मूल सडकको बस्ती सकिन्थ्यो । त्यसपछि पूरा धान खेत । दुवै ओरालोमा ढुङ्गेधारा–कलकल पानी आइरहने पहिलेको खाने पानी । र, दुवैतिर गणेश मन्दिर पनि ।

पहिलो यस्तो ढुङ्गेधारा लिच्छवि कालमा सन् ५५० मा हाँडीगाउँमा बनेपश्चात् यसको प्रचलनमा विकास हुँदै गएर यो टोलमा पनि रहेका थिए । पूर्वको ओरालोमा एउटा ठूलो पीपलबोट छ । र, त्यसैको आडमा वीरधारा । श्री ३ वीर शमशेरले काठमाडौँवासीलाई पहिलो पटक पाइपबाट ल्याएको पानी ख्वाउने काम सन् १८९५ मा गरे । बागमतीको मुहान क्षेत्र शिवपुरीबाट पानी ल्याएर महाराजगन्ज पानी पोखरीमा जम्मा गरी वितरण गरिएको थियो ।

त्यसैले सार्वजनिक धारालाई वीर धारा भन्थे । लेखिएकै हुन्थ्यो । पछि भीम शमशेरले ‘त्रि–भीम धारा’ भनेर लेखे । लाग्छ, २०१४ सालसम्म त पानी हरेक दिन बिहान केही घण्टा आउँथ्यो त्यो धाराबाट । त्यसपछि बन्द भएको यो कलधारामा दुई वर्ष अघिदेखि फेरि पानी आउन थालेको छ । पहिले त्यहाँको दैनिक दृश्य हुन्थ्यो पानी थाप्ने झगडा आइमाईहरूबीच । पानी भर्न गाग्रोको लाइन केही दक्षिण भएर पूर्व नाल बन्दीको घरसम्म गएको हुन्थ्यो । घोडामा नाल ठोक्ने काम गर्नेको घर भएकाले त्यसलाई नाल बन्दीको घर भन्थे । हतारोमा लाइन मिचिन्थ्यो । एउटा आइमाईलाई हतार हुन्थ्यो र मिच्दै भन्थिन्– मेरो लोग्नेलाई कस्र्यापको ढोकामा पालो बस्न जान ढिलो भइसक्यो । अनि अर्को भन्थिन्– तेरो त ढोका पाले । मेरो लोग्नेले त जस्र्यापको बेलायतबाट ल्याएको कुकुरको झारा फेराउन ढिलो भइसक्यो । अनि भुत्ला भुत्ली ।

यही धारको छेउको पीपलबोटबाट उत्तरतिर एउटा गल्ली जान्थ्यो ज्ञानेश्वरको राजेन्द्रप्रसाद शाहको ढोकासम्म । त्यहाँ पुगेर सकिन्थ्यो । मूल सडक जस्तै चालू त्यो गल्ली । अलि अगाडि गणेशको मन्दिर । यो उत्तर लाग्ने गल्ली बायाँ अग्लो भाग र दायाँ भिरालो भागको बीचबाट गएको थियो । पीपलको बोटबाट छिरेपछि देब्रे अग्लोतिर सल्यानी राजाको दरबारको पूरा पर्खाल र बासको झाङ पर वेदप्रसादको फुपूको घरसम्म जान्थ्यो । त्यसपछि वेदप्रसाद जन्मेको घर । त्यो लामो घरको हातासँग अलिकति मोडिएर गल्ली अगाडि गएपछि जोशीको घर थियो । यी वैद्य थिए । वटु टोलतिर गएपछि त्यो ठाउँमा तीन देवल छ अहिले । यिनको छोरा देवीका नाथ जोशी वेदप्रसादको केटाकेटीको साथी थिए । मित्रता जीवनपर्यन्त रह्यो यी दुईबीचको । 

उनको घर कटेपछि केही खाली ठाउँ र त्यसपछि राजेन्द्रप्रसादको कम्पाउन्डको पर्खाल नसकिन्जेलसम्म यो गल्ली नै रह्यो धेरै पछिसम्म पनि । यसै गरी दाहिने भिरालोतिर मजदुरी गर्नेहरूको लहरै घर । कसाई थिए ती । त्यसमध्येको एक थिए वेदप्रसादको केटाकेटीको खेल्ने साथी जो चिनिन्थे काले कसाई भनेर । र, जसलाई मैले धेरै पछिसम्म पनि देखे कालो जुँगा भएको भलादमी मान्छेका रूपमा । वेदप्रसादले फलामको व्यापार गर्दा फलामे सत्तरीहरू ओसारपसार गर्ने टोलीको नाइके थिए । वेदप्रसादको कपाल फुलिसक्दा पनि उसको जुँगा कालै थियो ।

ती घरहरू काटेपछिको भिरालोतिर दान विलासको घर । त्यो कटेपछि ड्राइभरको घर । उनी डिल्लीबजारको गुरुज्यूको ड्राइभर थिए । त्यसपछि कुमार चाको ठूलो परिवार जो राँगो काटेर बेच्ने काम गर्दथे । अनि अरू दुइटा लगालग घरहरू । त्यसमध्येको पहिलोमा साहित्यकार तथा महाकविका गणेश श्यामदास वैष्णव बस्थे पछि । अनि ढुङ्गे धारा र तल खेतमा जाने बाटो । त्यसपछिको भिरालो जमिन खेतसम्म जान्थ्यो । पूरै धान खेत थियो त्यो फाँट पूरै हरियो, बीचबीचमा फाट्टफुट्ट केही घरबाहेक । 

यही नै थियो वेदप्रसाद जन्मिँदाको त्यो टालिएका झ्यालहरू भएको घरबाहिरको परिवेशको सेरोफेरो । पीपलको बोटबाट त्यो गल्लीभित्र छिरेपछि सिधा जुन ठाउँमा ठोकिन्थ्यो त्यो नै घर थियो उनको । यो घर त्यहाँको अग्लो ठाउँमा थियो जहाँबाट तला सबै सङ्लो खेत थेखिन्थ्यो । त्यसपछि त्यो गल्ली मोडिन्थ्यो अलिकति दायाँतिर । त्यो ठोकिने ठाउँमा गल्लीबाटै दर्सिन ढुङ्गा ठोकेको सिँढी सुरु हुन्थ्यो १२ खुड्किला थिए । त्यसको माथिल्लो खुड्किलो चौडा थियो जहाँ घर कोरेर बाघचाल खेल्थे फुर्सदिलाहरू ।

त्यसपछि हरियो चउरको आँखा जस्तो सानो चौडिल जसको बायाँबाट अर्को एकदम सानो गल्ली पाण्डेको घरमा गएर टुङ्गिन्थ्यो । टुङ्गिने अगाडि बायाँतिर ध्यानबल्लभ पन्तको घरको बाहिरी ढोका थियो । उनी वेदप्रसादको बज्यै कल्पकुमारीको आफ्नो छोरी ज्वाइँ थिए । र, कल्पकुमारीले छोरीलाई नजिकै राखेकी थिइन् । 

चौडिलबाट ठीक अगाडि दक्षिण फर्किएको ढोकाबाट छिरेपछि त्यो घर सुरु हुन्थ्यो । दुई नाले तीन तले पूर्व–पश्चिम वारपार बार्दली भएको घरको इँट छापेको चोकमा पुगिन्थ्यो । त्यसको दायाँ सानो फूलबारीमा ठूलो थल कमलको रूखमा सेतो फूल फुलेको हुन्थ्यो । त्यो चोक कटेपछि पूर्व–पश्चिम फैलिएको लामो फलैँचा । दाइने लागेमा इँटा छापेको भित्री चोक जसको पूर्व–पश्चिम फैलिएको घर पूर्व–उत्तर फैलिएर गएको थियो । बीचमा ठूलो स्लेट ढुङ्गा इँटको बराबरीमा छापिएको र तीनतिरको किनारमा बगैँचा । उत्तरतिरको पर्खालसँगै एकैनासे दुई कामिनीका बोटहरू । त्यो पर्खालको ढोकाबाट छिरेपछि कुल देवताको स्थान पुगिन्थ्यो । त्यसको एक भागमा घोडाको तबेला । त्यसपछिको पर्खालको पूर्व जोशीको घर ।

त्यस्तै फलैँचाको देब्रेतिर पूर्व खुलेको मूल ढोका जसको अगाडि तेलिया इँट ठोकेको सानो भाग गोबर र रातो माटोले पोतेको र दुबैतिर सानो खोपाहरू । यो मूल ढोकाबाट छिरेर दायाँतर्फ मोडिएपछि भर्याङ नचढेर सीधा पश्चिम लागेमा अर्को पूर्व पश्चिम लामो चोक जसलाई भान्छा भएको चोक भनिन्थ्यो । चोकको देब्रेतिर करिब पैँतीस चालिस जना खाने ठूलो भान्छा जहाँ दुबैतिर लहरै चौका थिए, हरेकमा पिर्का । व्रतबन्ध गरेकाहरू धोती फेरेर ती चौकामा बसेर खान्थे दालभात ।

भान्छाको अर्को पुछारमा चुठ्ने ठाउँ र लहरै राखिएका पानीका गाग्राहरू । बाँकी एक भागमा जाँतो र ढिकी । अर्को भागमा छिँडीहरू थिए पानी उम्रिने चिसो । तलतिर नाली । सार्वजनिक ढल कतै थिएन । देवकोटाले ‘सार्की’ भन्ने कवितामा यस्तो छिँडीको वर्णन गरेका छन्– ‘नाली तलतिर छिंडीमा रीप, अन्धकारको मूल समीप’ । त्यस्तै थिए ती छिँडीहरू ।

सेनाका जवानहरू डेरा गरेर काठमाडौँका घर घरका यस्तै छिँडीमा बस्थे किनकि त्यति बेला सेनाको ब्यारेक थिएन । अपर्झट परेमा धरहराबाट बिगुल लाग्थ्यो । खान लागेको भात छ भने त्यो पनि छोडेर दौडादौड गरेर टुँडिखेल दाखिल हुनु पर्थ्यो । त्यसपछि गाइको गोठ । र, गोठालो बस्ने कोठा त्यो अलि न्यानो हुन्थ्यो गाईलाई कुँडो पकाउने हुँदा । यसका लागि गोबरको गुइँठा परिन्थ्यो । पश्चिमको आखिरी भाग थियो यो । त्यसपछि छिमेकी पाण्डेको घर । उत्तरतर्फ केही जमिनमा फलफूलका रूख थिए– भोगटे, हलुवाबेद आदिको । र तरकारी बारी जहाँ रायोको साग रोपिन्थ्यो । त्यसपछि राजेन्द्रप्रसाद शाहको ठूलो घर कम्पाउन्ड । उनी चौतरिया थिए त्यसैले रइस ।

भरेङबाट उक्लेपछि दुई बरन्डाहरू– एउटा काठको र अर्को इँटको, जसको देब्रेतिर लहरै कोठाहरू र दाइनेतिर खुला थियो र चोक देखिन्थ्यो । अर्को भरेङ उक्लेपछि पनि कोठा चोटा र पूजा कोठा । अझ माथि एकापट्टि बुइँगल थियो जहाँ धानको भकारी थिए । अर्कोतिर टिनपाता जहाँ मस्यौरा, मिठावरी आदि सुकाइन्थ्यो । मिठावरी भने सेतो पातलो मलमलले छोपिएको हुन्थ्यो माखा नबसोस् भनेर । ठूलो जहान घर भएको हुनाले यहाँ सधैँ 
हल्लाखल्ला र चाडबाड भई नै रहने हुँदा यो घर जीवन्त थियो । करिब पाँच रोपनीभित्रको यो घर सबैतिर पाको इँटले बनेको थियो ।

त्यति बेला सबैतिर पाको इँटले बनेको घर कम हुन्थे । गारोले नै घरको भार थाम्नुपर्ने हुँदा ती मोटो हुन्थे र दलिन सल्लाको । धेरै ठाउँमा गारोको भित्री भागमा काँचो इँट र बाहिर मात्र पाको इँटा लगाइन्थ्यो । पैसाको सधैँ हाहा हुने त्यो बेलामा सबै पाको इँटको घर बनाउन सजिलो थिएन । कतिपय घर त भित्रबाहिर नै काँचो इँटको नै हुन्थ्यो । भित्र लिउन लगाएर चुन पोतिएको तर बाहिर प्लास्टर र रङ लगाएको हुँदैन थियो । राणा कालमा घरमा रङ लगाउन वर्जित थियो सर्व साधारणलाई ।

त्यसैले वेदप्रसाद जन्मेको त्यो घर पाको इँटको भए पनि बाहिर रङ लागेको थिएन । अहिले जे हामी भन्छाँै बाथरुम त्यो त सोचभन्दा बाहिरको कुरा । बारीको आखिरी कुनामा छुट्टै सानो टहरामा खाल्डो खनेको र दुइटा ढुङ्गा राखिएको हुन्थ्यो । टुक्रुक्क बस्दा ब्यालेन्स फुस्किएर खसिएला भन्ने नै डर । ध्यान त्यतापट्टि जान्थ्यो । खाल्टोमा स्याउँस्याउँ सलबलाएका किराहरू ।

केटाकेटीहरू त त्यो गल्लीमा भिरालोपट्टि नीलकाँढाको झाङतिर जान्थे, लहरै । कुक्कुर कुरेर बसेको हुन्थ्यो कहिले भ्याइसक्लान् भनेर । खाल्टोको लिन भने खर्पनको दुबैतिर टिनको भाँडो हालेर आएको मान्छेले लग्थ्यो खेतमा काउली फलाउन । त्यसैले भन्थे – पेटको खेत, खेतको पेट । पानीको अभाव हुनु पनि एउटा कारण थियो यस्तो हुनुमा । तर अझ ठुलो कारण अनभिज्ञता नै थियो । सक्नेले घरमा इनार राखेकै हुन्थे पानीको लागि त । सायद धार्मिक अन्ध परम्पराले पनि ढाकेको थियो । त्यो भन्दा धेरै बढी अमानवीयकरणले । त्यो मध्यम वर्गको परिवारमा समेत कोपराको चाङ लगाएर राखेको हुन्थ्यो । र, धाईहरूले त्यो मलमूत्र बाहिर लगेर फाली कोपराहरू माझेर राखिदिन्थे ।

शासकहरूको ठूला दरबारहरू जुन ५÷६ सय रोपनीमा फैलिएको हुन्थ्यो र सबै किसिमको सुविधा सम्पन्न हुँदा पनि मलमूत्र त्याग गर्ने प्रथा यही नै थियो । एसियाकै ठूलो दरबार मानिने सिंह दरबारभित्र मूल भवनमा त्यो बेला शौचालय थिएन । श्री ३ महाराज राज्यको निर्णय लिन आफ्ना भाइभारदारसँग छलफल गरिरहेको बेला आवश्यक पर्दा दुइटाले कपडा ल्याएर छोप्थे पर्दा लगाएर अनि अर्को दुई केटीले भाँडो थाप्थे । यस्तो सामाजिक स्वीकृति थियो अमानवीयकरणको । यस्तो परिवेशको सेरोफेरोभित्र वेदप्रसाद जन्मिएका थिए त्यो गल्लीभित्रको घरमा जसका दक्षिणका झ्याल टालिएका थिए । 

राजाको दुइटा महारानी हुनु अनिवार्य थियो राजसिंहासनमा बस्न । अरू रानी र भित्रिनीहरूको त कुरै भएन । र, यो नै नेपालको राजकाज र राजनीतिको सबभन्दा दुर्भाग्य रह्यो । दुइटा आधिकारिक रानी हुने चलन नभएको भए न प्रधानमन्त्रीलाई झुन्ड्याउने, मारिने र सेरिएर मर्नुपर्ने हुन्थ्यो, न कोत पर्व हुन्थ्यो । दुई महारानी राख्नुपर्ने यो चलनलाई राजा महेन्द्रले तोडेका हुन् । यहाँनिर यो भनिहालौँ राजा महेन्द्रले आफ्ना तीन छोरीको विवाह नेपालभित्र गरेर भारतमा विवाह गरेर दिने चलन पनि तोडेका हुन् ।

त्यतिबेला पछि विवाह गर्न योग्य बनाउन भनेर सानैमा डोला मैयाँ ल्याइन्थ्यो भने रानी र भित्रिनी बनाउन सयौँ अरू साना कन्याहरूलाई दरबारमा राखेर तालिम दिने काम हुन्थ्यो । जङ्गबहादुरको श्रीमती कति हो कति ? त्यसको गणना नै छैन । थाहा भएसम्म पनि दुई दर्जनभन्दा बढी थिए । उनको एउटा छोरी डम्बर कुमारीले त बनारसमा वेश्यालय नै खोलेर बसेकी थिइन् । शासकहरूको यो आमोद प्रमोद परिटाठी नै बन्यो । गुर्जु, पुरोहित, साहेबज्यू, चौतरिया हुँदै र शासन गर्नेहरूको हकका रूपमा स्थापित भयो यो मान्यता । बाहिर टाढा टाढा खटिएर जाने कर्मचारीहरूका लागि देउती राख्ने चलन यसैको विस्तारित स्वरूप हो । ती तोकिएका हुन्थे – डिट्ठाको, अमिनीको लप्टानको वा सुब्बाको भनेर । यसले गर्दा सर्वसाधारणमा पनि बहुविवाह स्वीकृत सामाजिक मान्यता बन्यो । सबैले गरेनन् तर धेरैले दुई विवाह गर्थे त्यतिखेर ।

रुद्र प्रसादले दुई विवाह गरेका थिए । पहिलो थिइन महामाया जो नुवाकोटको टुटुङको पाण्डे परिवारको । उनीबाट जेठो छोरा फणीन्द्रप्रसाद जन्मिसकेका थिए । त्यसपछि रुद्र प्रसादले दोस्रो विवाह गरे प्याफलका पाण्डेका छोरी तोय कुमारीसँग । यिनीबाट जन्मिए वेदप्रसाद र अरू ५ छोराहरू । महामायाबाट अर्को छोरा जन्मिए, होमप्रसाद । रुद्रप्रसादको दुई पत्नीबाट जन्मेका ८ छोराहरूमध्ये माइलो छोरा हुन् वेदप्रसाद । र, घरमा बोलाउने नाउँ कृष्णबाबु । भाइहरूले कृष्ण दा र छोरा पुस्ताले माइलो बुबा ।

सानोमा बिफर आएकाले अनुहारमा एक ठाउँमा भएको हलका दाग हम्मेसि देखिँदैन थियो । वेदप्रसाद लोहनी हुर्के थानसिङे लोहनीको वंशाणुगत संस्कारअन्तर्गत । यो पैतृक सम्पत्ति सरह थियो । त्यो भनेको ठूलो भएर असल मान्छे बन्नु पर्दछ भन्ने सोच हो । रुद्रप्रसाद कडा अनुशासनकर्ता भएकाले झन् मजबुतसँग हालिदिएका थिए यो संस्कार । त्यो बलियो चरित्र र त्यो मेहनत गर्ने बानी जुन जीवनको श्वास–प्रश्वास सरह रह्यो उनको जीवनभर । परिवेश अझ ठम्याउन त्यो बेलाको अर्थतन्त्र झ्वाट्ट मात्र हेरौँ । 

जमिन केन्द्रित आर्थिक गतिविधि त्यति बेलाको । र, राज्यको आम्दानी जमीनबाट प्राप्त हुन्थ्यो । त्यो आम्दानी व्यक्तिको आम्दानी सरह श्री ३ महाराजको हुन्थ्यो । राज्य चलाएर बचेको सबै उनको निजी बन्थ्यो । श्री ५ महाराजाधिराजले पनि श्री ३ सँग माग्नु पर्दथ्यो थप रकमका लागि । राजा त्रिभुवनले यसरी माग्दा जुद्ध शमशेरले नदिएका घटना पनि छन् अरूले थाहा पाउने गरी । आम जनताको आवश्यकता र आकांक्षा सीमित थिए । रोजगारी दिने राज्य मात्र थियो । बाटोघाटो नहुँदा र सम्पर्क हुन नसक्ने हुँदा पहाडका कन्दराहरूले मुलुक मात्र होइन जनतालाई छुट्टयाइदिएको थियो एक आपसबाट ।

यसरी छरिएका स–साना अनकन्टार हिस्साहरूमा एकमुष्ठ भएर बाँचेका थिए आम जनता । परिस्थितिले उनीहरूलाई आफँै बाँच्न सिकाएको थियो । त्यसैले त्यति बेलाको अर्थतन्त्र आफैँमा सक्षम हुनेतिर केन्द्रित थियो । काठमाडौँमा नै हेरौँ बढी आवश्यकता भएको ठाउँ । खानका लागि चामल यही उत्पादन गर्थे । त्यस्तै तरकारी । मासको दाल गेडागुडी वरपर हुन्थ्यो । लगाउने कपडा यही बुन्थे । आफैँले गर्ने हो भन्ने नै थियो । आत्मनिर्भरतर्फ थियो परनिर्भरतातिर होइन अहिलेको जस्तो ।

काठमाडौँको मध्यम वर्गका जागिरेहरूको अलि फरक । हरेक वर्षको पजनीमा जागिर जोगियो र श्री ३ समक्ष दाम राख्न पायो भने ज्यान बचेको जस्तो अवस्था थियो । नत्र बाँच्नको लागि कालापानी जानुपर्थ्यो । मेहनती र श्रम गरेर बाँचेको यो लोहनी परिवारमा नगद आम्दानीको स्रोत भनेको रुद्रप्रसादको जागिर मात्र थियो । उनी गुर्जुको पल्टनको कप्तान भएकाले पजनीमा पर्नु पर्दैन थियो । परिवार ठूलो–आठ छोरा र पाँच छोरीहरू भएको । 

बालविवाहको चलनले गर्दा नाति नातिनीहरू चाँडै । खानका लागि वरिपरि नैकाप, कपन र बुढानीलकण्ठमा खेतहरू थिए । त्यस्तै नुवाकोटको थानसिङ, मदानपुर र बट्टारमा, नलगाउँ र बट्टारमा खेतीपाती र फलफूलको बगैँचा । त्यसैले मासको दाल, धान, आँप कटहर आदि घरमा छेलोखेलो भए पनि नुन तेलका लागि र चाडबाड चलाउन गाहारो थियो । जबकि कतिपय काम गर्नेहरूको सेवा नगदमा होइन धान दिएर लिइन्थ्यो ।

नगद ज्यादै महँगो थियो । तलब वर्षको हिसाबमा दिइन्थ्यो । हाकिम हुन्थ्यो १२०० खाने । त्यो भनेको महिनाको एक सय रुपियाँको जागिर जुन रुद्र प्रसादको थियो । आफ्नो बाबुलाई नगदको सधैँ अभाव भएको वेदप्रसादले हुर्किंदै जाँदा देखेका थिए । बाबुले चौबिसै घण्टा खटिएको पनि देखेको थिए । र, बाबुको खरो इमान र कडा स्वभाव पनि देखेका थिए । बालकको जस्तो निश्छलता र प्राविधिक ज्ञान पनि देखेका थिए आफ्नो बाजेको । वेदप्रसादले बाबुको खरो इमान र कडा स्वभाव अङ्गीकार गरे भने बाजेको प्राविधिक ज्ञानलाई पछ्याए । यो दोभानबाट निस्किएको थियो उनको अठोट– जीवनमा केही गर्नु पर्दछ भन्ने । 
क्रमशः

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x