विश्व

आसाममा बाढी पहिरो : करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो

इकागज |
असार १०, २०७९ शुक्रबार ६:४४ बजे

नयाँ दिल्ली- भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । 

बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार जनाएका छन् । 


बर्षापछि थुप्रै ठाउँमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो गएर पाइपहरू बगाइदिँदा कतिपय स्थानमा खानेपानीको अभावसमेत देखिएको छ । 

बुधबार राज्यभर १२ जनाको मृत्यु भएको स्थानीय समाचारमा जनाइएको छ ।

बाढीले आसाममा बाढी आउन थालेपछि मे महिनाको मध्यदेखि मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।  हाल राज्यका ३२ जिल्ला बाढीबाट प्रभावित छन् । 

प्रभावित जिल्लामा झण्डै पाँच हजार गाउँ डुबानमा परेको र ९९ हजार २६ हेक्टर क्षेत्रफलमा बाली क्षेत्रमा क्षति पुगेको अधिकारीहरुले बताए ।

स्थानीय तहले प्रभावित जिल्लामा १ हजार ८७१ राहत शिविर र वितरण केन्द्र स्थापना गरेका छन् । शिविरमा सात हजार ९७८ बालबालिकासहित २७ हजार १२५ जनाले आश्रय लिइरहेका बताइएको छ । 

प्रभावित जिल्लाका स्थानीय प्रशासनले उद्धार र राहत कार्यलाई तीव्रता दिएको बताइएको छ । ठाउँठाउँमा हेलिकोप्टर प्रयोग गरी राहत सामग्री उपलब्ध गराइएको छ ।  मनसुनको समय आसाममा वर्षेनी बाढीले हजारौँ व्यक्ति प्रभावित हुनेगरेका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x