विश्व

कोभिड-१९ बढेपछि दिल्लीमा निषेधाज्ञा

इकागज |
बैशाख २, २०७८ बिहीबार १८:५२ बजे

नयाँ दिल्ली : भारतको केन्द्रीय राजधानी समेतरहेको दिल्लीमा  निषेधाज्ञा जारी  गरिएको छ । कोभिड-१९ भाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गरेको हो । “कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कर्फ्यु  लगाउनु पर्ने निष्कर्षमा हामी पुगेका हौँ,” दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने ।  

सरोकारवाला र विज्ञहरूसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रिय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे । गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना सङ्क्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।  


दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । ती मध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ । दिल्लीमा मात्रै कोभिडका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ । 

भारतभरी भने गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको छ । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा सङ्क्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित भएको बुधबार पहिलो पटक हो । 
यसअघि मंगलबार एक दिनमा १ लाख ८४ हजार बढी व्यक्ति संक्रमित भएका जनाइएको थियो । 

कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी संक्रमित भएका हुन् । यो तथ्या‌कले भारतमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ । 

भारतमा गत जनवरी १६ बाट कोभिडविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरूले खोप लगाइसकेका छन् । (रासस)


Author

थप समाचार
x