विश्व

फिलिपिन्समा सडक दुर्घटनामा १७ जनाको मृत्यु

इकागज |
चैत १२, २०८० सोमबार २१:२५ बजे

मनिला- दक्षिणी फिलिपिन्समा बालुवाले भरिएको एउटा डम्प ट्रक र एउटा यात्रुवाहक भ्यान आपसमा ठोकिँदा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दुर्घटना मिन्डानाओको दोस्रो सबैभन्दा ठूलो टापुस्थित उत्तरी कोटाबेटो प्रान्तको एन्टिपास नगरपालिकाको मुख्य सडकमा दिउँसो भएको हो । 

प्रहरी क्याप्टेन गोडोफ्रेडो तुपाजले मृतकहरू भ्यानका चालक र यात्री रहेको बताए । यसअघि मृतकको सङ्ख्या १३ रहेको बताइएको थियो । तुपाजका अनुसार मृतकमध्ये छ वर्षका बालक पनि रहेको र उनको अस्पतालमा मृत्यु  भएको छ । घाइते एकको उपचार भइरहेको छ । 


दुर्घटनामा डम्प ट्रकका चालक र त्यसमा सवार दुई यात्रु बचेको र चालकलाई प्रहरी हिरासतमा राखिएको तुपाजले बताए । प्रत्यक्षदर्शीहरूले दुई सवारी ठोक्किनुअघि ट्रकको ब्रेक फेल भएको बताएको आपत्कालीन अधिकारी माइक गारफिनले जानकारी दिए । उनका अनुसार सम्भवतः दुर्घटनाका कारण भ्यानमा आगो लागेको थियो । 

फिलिपिन्समा घातक दुर्घटनाहरू सामान्य हुन् । यहाँ चालकहरू प्राय नियमहरूको उल्लङ्घन गर्छन् र सवारीहरूको मर्मत खराब हुन्छ । साथै ती सवारीमा क्षमताभन्दा बढी सामान लोड गरिन्छ । रासस/एएफपी


Author

थप समाचार
x