विश्व

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

इकागज |
चैत २१, २०८० बुधबार १८:२८ बजे

फाइल फाेटाे

काठमाडाैँ - विश्व बैंकले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत कायम रहने अनुमान गरेको छ । यसैगरी सन् २०२३/२४ मा उत्पादन वृद्धि ७.५ प्रतिशत पुग्ने अपेक्षा गरिएको ‘जब्स फर रेजिलेन्स’द्वारा दक्षिण एसियाली विकास अपडेटमा मङ्गलबार सार्वजनिक पछिल्लो तथ्यांकमा उल्लेख छ । 

यसले दिगो विकासलाई कमजोर पार्ने खतरा रहेको र यस क्षेत्रको रोजगारी सिर्जना गर्ने र जलवायु सन्तुलनसम्बन्धी गतिविधिमा असर पुगेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । 


बैंकका उपाध्यक्ष मार्टिन रेजरले छोटो अवधिमा दक्षिण एसियाको वृद्धिको सम्भावना उज्ज्वल रहेको तर कमजोर वित्तीय स्थिति र बढ्दो जलवायु प्रभावले समस्या हुनसक्ने बताएका छन् । विकासलाई थप लचिलो बनाउन निजी लगानीलाई बढावा दिँदै रोजगारी वृद्धिलाई सुदृढ पार्न नीतिहरू अपनाउनु आवश्यक रहेको उनले बताए । 

प्रतिवेदनले पाकिस्तानको अर्थतन्त्रमा पनि आर्थिक वर्ष २०२४/२५ मा २.३ प्रतिशतको वृद्धिको अनुमान गरेको छ । 

यसैगरी सन् २०२५ सम्ममा श्रीलंकामा विदेशी मुद्रा सञ्चिति, विप्रेषण र पर्यटनमा पुनः सुधारका साथ उत्पादन वृद्धि २.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

बङ्गलादेशमा, उच्च मुद्रास्फीति र व्यापार तथा विदेशी विनिमयमा प्रतिबन्धले आर्थिक गतिविधिलाई बाधा पुग्दा आर्थिक बर्ष २०२४/२५ मा ५.७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिवेदनले व्यावसायिक उदारीकरण गरी पहुँच बढाउन, व्यापारिक वातावरण तथा संस्थाहरूमा सुधार गरी वित्तीय प्रतिबन्धहरू हटाउन, शिक्षामा सुधार, र महिलाको आर्थिक गतिविधिमा देखिएका प्रतिबन्धहरू हटाउनेजस्ता दृढ विकासलाई प्रोत्साहित गरी रोजगारीलाई बढावा दिन विभिन्न नीतिहरू सिफारिस गरेको छ । 

यसअघि मार्च २७ मा मोर्गन स्टान्लीले आर्थिक वर्ष २०२४/२५ (वित्त वर्ष २०२५) का लागि भारतको कुल गार्हस्थ उत्पादन वृद्धिको अनुमानलाई ६.५ बाट बढाएर ६.८ प्रतिशत पुग्ने बताउनुभएको थियो ।

यी उपायहरूले विकास र उत्पादकत्व बढाउन र जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि ठाउँ खाली गर्न पनि मद्दत गर्ने विश्व बैंकले जनाएको छ । रासस


Author

थप समाचार
x