विश्व

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ

इकागज |
बैशाख ७, २०८१ शुक्रबार २१:५० बजे

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ ।


वर्ड फ्लुको यो प्रजातिका कारण दशौं लाख कुखुरा जङ्गली चराहरूको मृत्यु भएको छ भने जमिन र समुद्री स्तनधारीहरू पनि सङ्क्रमित भएका छन् ।

गत महिना यसबाट सङ्क्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको बिषय बनेको छ । 

अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट मुक्त भएको बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भने, 'टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ । यसले हामीले पहिले बुझेको भन्दा सङ्क्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ ।'

संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुको लागि एक मानव परीक्षण गरिएको यो दोस्रो घटना थियो र भाइरसले जङ्गली चराहरूको सम्पर्कमा आएका झुण्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो ।

झाङले भने, 'अहिले हामीले अमेरिकी राज्यहरूमा गाईका धेरै झुण्डहरू प्रभावित भएको देख्छौं, जसले स्तनधारी जनावरहरूमा भाइरस फैलिने अर्को कदम देखाउँछ ।' सङ्क्रमित जनावरको दूधमा पनि यो भाइरस देखिएको छ ।

झाङले भने, 'याईको काँचो दूध (छाले दूध) मा भाइरसको सघनता धेरै थियो, तर विशेषज्ञहरूले अझै पनि दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेका छन् ।

टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको सङ्क्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दूध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ । 

झाङले भने, 'मानिसहरूले सुरक्षित खाद्य अभ्यासहरू सुनिश्चित गर्न महत्त्वपूर्ण छ । यसका लागि ‘पास्चुराइज्ड’ दूध र दुग्धजन्य उत्पादनहरू मात्र उपभोग गर्नु सुरक्षित हुनेछ । 

सन् २००३ देखि यस वर्षको अप्रिल १ सम्म विश्व स्वास्थ्य सङ्गठनले २३ देशमा ८८९ जना मानिसमा सङ्क्रमण हुँदा ४६३ जनाको मृत्यु भएको जनाएको छ ।

झाङका अनुसार पछिल्ला केही वर्षयता युरोप र संयुक्त राज्य अमेरिकामा भाइरस बढेयताका मानवीय घटनामा हल्का सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म मानिसमा फैलिरहेको कुनै प्रमाण भेटिएको छैन । यदि आवश्यक भएमा उपचारका लागि एचफाइभ एनवानविरुद्धको केही खोप उत्पादनको तयारी भइसकेको झाङले बताए । 

उनले भने, 'हामी आवश्यक परेको खण्डमा मानवका लागि छिटो खोप उत्पादन गर्न तयार छौँ ।' रासस/ /एएफपी


Author

थप समाचार
x