विश्व

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

इकागज |
असार १, २०७८ मंगलबार ६:१८ बजे

ब्रसेल्स : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुगेका छन् । राष्ट्रपति बाइडनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श गर्नेछन् । 

हाल ३० वटा मुलुक सदस्य रहेको नेटोसँग सम्बन्ध पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चिस्सिएको थियो । सोमबार हुने नेटो शिखर बैठकमा राष्ट्रपति बाइडनले चीन र रसियाका अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न व्यापक समन्वयका लागि युरोपेली मुलुकहरुलाई आश्वस्त पार्नेछन् । बाइडनले आर्थिक र राष्ट्रिय सुरक्षाका मामिलामा रसिया र चीनबाट भइरहेका हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने पहिल्यैदेखि बताउँदै आएका छन् ।


बाइडनले नेटो गठबन्धनको घोषणापत्रको धारा ५ मा व्यक्त अमेरिकी प्रतिबद्धताप्रति पुनः जोड दिनु हुनेछ । यस धारामा कुनै पनि एक सदस्य मुलुकमाथि आक्रमण भए सबै सदस्य मुलुकमाथि आक्रमण भएको मान्यता राख्छ र त्यसको सामूहिक प्रतिवाद गरिने छ भन्‍ने उल्लेख छ । 

गत साता पनि बेलायतमा रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडनले नेटो गठबन्धन र धारा ५ प्रति अमेरिका पूर्ण प्रतिबद्ध रहेको बताएका थिए । राष्ट्रपति बाइडन हाल युरोपेली मुलुकको आठ दिने भ्रमणमा हुनुहुन्छ । उनले यसअघि नै बेलायतको कोर्नवालमा आयोजित विश्वका 'सम्पन्‍न सात' (जी-७) को बैठकमा सहभागिता जनाएका थिए । राष्ट्रपति बाइडनले जेनेभामा बुधबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ता गर्नेछन् । (एपी) 


Author

थप समाचार
x