विश्व

एउटा सुँगुरको मृत्युले स्तब्ध चीन

इकागज |
असार ३, २०७८ बिहीबार १८:४ बजे

चीन :  उनी ‘ह्यान्डसम’ थिएनन्, तर ‘बलिया’ थिए ।  त्यसैले उसको नामै ‘जु जियाकियाङ’ रहन गएको थियो  जसको नेपाली अर्थ हुन्छ, ‘बलियो सुँगुर’ ।  चीनको सिचुआन प्रान्तमा २००८ मे १२ गते गएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पमा परेर ८७ हजार मानिसको मृत्यु भएको थियो ।

तर यो सुँगुर भने अचम्मसँग बाँच्न सफल भयो । त्यसपछि मानिस र जनावरहरूको बीचमा यी ‘जु जियाकियाङ’ चर्चित बनेका थिए ।  ३ सय ३० पाउन्डको यो सुँगुर ३६ दिनसम्म फोहोरको थुप्रो मुनी फसेको थियो । ३६ दिनसम्म उसले कोइला र वर्षाको पानीको भरमा प्राण धानेको थियो ।


३७ दिनको दिन बल्ल उद्धारकर्मीले उनको उद्धार गरेका थिए । द जकार्ता पोस्टले लेखेको छ, ‘जब ‘जु जियाकियाङ’ भेटिएका थिए, निकै ख्याउटे थिए, खान नपाएको बाख्रा जस्तो ।’ 

केयरटेकरहरूले उनलाई केही दिनमै स्वस्थ बनाए । त्यसपछि उनलाई सिचुआनको ज्यानकुआन संग्रहालयमा राखियो र पछि उनको स्थायी घरमा सारियो । जहाँ उनलाई भेट्नको लागि नियमित रूपमा आगन्तुकहरू आउँथे । २०११ मा ‘जु जियाकियाङ’ बुवा बनेका थिए । उनले एकैपटक ६ वटा स–साना सुँगुरहरू जन्माएका थिए । वैज्ञानिकहरूले क्लोन विधिको सहायतामा ‘जु जियाकियाङ’बाट यी बच्चाहरू जन्माएको एनपीआर मिडियाले उल्लेख गरेको छ ।

मे महिनाको मध्यतिर १४ वर्षीय ‘जु जियाकियाङ’ निकै विरामी रहेको साउथ चाइना मर्निङ पोस्टले लेखेको थियो । त्यसको एक महिनापछि यसले धर्ती छाड्यो ।  ‘जु जियाकियाङ’ को बुधबार राति ‘बुढ्यौली र थकावट’का कारण मृत्यु भएको उनका केयरटेकरहरूले जनाएका छन् । 

‘जु जियाकियाङ’को मृत्युको खबर बाहिर आएपछि चिनियाँ सोसल मिडिया साइट ‘वीइबो’मा उसँगको सम्झनाहरू साट्नेहरू ह्वात्तै बढेका छन् । उनको मृत्युमा चीन यति स्तब्ध भएको छ कि उनको मृत्युपछि वीइबोमा पोस्ट गरिएको भिडियो करोडौंले हेरेका छन् ।

योसँगै सामाजिक सञ्जालमा ह्यासट्याग 'स्ट्रङ पिग डाइड' भन्ने ह्यासट्याग अभियान पनि स्वतःस्फूर्त रुपमा चलेको छ । ‘रेस्ट इजी, वोल्ड फ्रेन्ड । यु आर दि मिराकल अफ लाइफ एन्ड सिम्बोल अफ स्ट्रेन्थ’ उनलाई श्रद्धाञ्जली दिँदै एक जनाले वीइबोमा लेखेका छन् ।  

 


Author

थप समाचार
x