विश्व

अफगानिस्तानमा हवाई आक्रमणमा ३० को मृत्यु

इकागज |
साउन ९, २०७८ शनिबार २०:६ बजे

काबुल -  सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । 

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।


त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरुले प्रयोग गर्नेगरेको सामग्रीहरु पनि बरामद गरेका छन् ।  

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।  (रासस)
 


Author

थप समाचार
x