विश्व

अफगानिस्तान पुनःनिर्माणको मुख्य साझेदार चीन हुनेछ : तालिबान

इकागज |
भदौ १८, २०७८ शुक्रबार १८:३९ बजे

फाइल फोटो

काठमाडौँ - अफगानिस्तानको सत्तामा फर्किएको तालिबानलाई अहिलेसम्म कुनै पनि मुलुकले मान्यता दिइसकेको छैन । यद्यपि अफगनिस्तानसँग सीमा जोडिएका चीन, पाकिस्तान, इरान लगायतका मुलुक तालिबानसँग सहकार्य गर्न तयार रहेको बताइएको छ । तर शसर्त मात्रै । 

आर्थिक रुपमा रुग्ण रहेको अफगानिस्तानलाई वैदशिक सहयोग अपरिहार्य हो । विदेशी दाताको सहयोगविना तालिबानले अफगानिस्तानको सत्ता सञ्चालन गर्नसक्ने अवस्था छैन । यस्तोमा उसले चीनको सहयोगको अपेक्षा राखेको छ । जसको पुष्टि हालै तालिबानका प्रवक्ताले गरेका छन् । अफगानिस्तानको पुनःनिर्माणका लागि चीन प्रमुख साझेदार हुने तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदको भनाइ थियो । 


‘अफगानिस्तानको विकासमा चीन प्रमुख साझेदार हुनेछ । हाम्रो मुलुकमा लगानी गर्न चिनियाँ तयार छन् । हामी अफगानिस्तानको पुनःनिर्माण गर्न चाहन्छौँ । यसका लागि विदेशीको सहयोग चाहिन्छ । त्यसका लागि चीन तयार छ,’ इटालियन अखबार ला रिपब्लिकासँगको अन्तरर्वार्तामा मुजाहिदले भनेका छन् । 

त्यसै अन्तर्वार्तामा मुजाहिदले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति पनि तालिबान सकारात्मक रहेको पनि बताएका छन् । अफगानिस्तानको तामा उत्खनन् गर्न र त्यसको विश्वव्यापी बजार खोज्न पनि चीनको सहयोग रहने अपेक्षा मुजाहिदको थियो । चीन बाहेक रुसको साथ पनि आफूहरूले खोजेको उनको भनाइ थियो । 

मुजाहिदले चाँडै नै काबुल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने पनि बताए । हाल सो विमानस्थलका पूर्वाधार सही अवस्थामा नरहेकाले सञ्चालनमा आउन केही समय लाग्ने उनको भनाए थियो । विमानस्थल सञ्चालन गर्न टर्की र कतारले सहयोग गर्ने मुजाहिदले जानकारी दिए । गत अगस्ट १५ मा काबुल कब्जा गरेको तालिबानले सरकार बनाउने प्रयास गरिरहेको छ । शुक्रबार नै नयाँ सरकारको घोषणा हुने अनुमान गरिएको छ ।  


Author

थप समाचार
x