अपराध

धनुषामा छोराले गरे बुवा र श्रीमतीको हत्या, खाल्डोमा भेटियो गाडिएको शव

इकागज | भदौ ८, २०७८

जनकपुरधाम - प्रहरीले आफ्नै बुवा र श्रीमतीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-५ ललिया निवासी ३० वर्षीय भागेश्वर मण्डललाई ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २१ वर्षीय अमृता मण्डलको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ससुरा बुहारीबीच अनौतिक सम्बन्ध रहेको आशंकामा भागेश्वरले सोमबार राति आफ्नो बुवा र श्रीमतीलाई हत्यागरी घर नजिकको झाडीमा शव गाडेको फेला परेको प्रहरीले जनाएको छ । आज बिहान ससुरा बुहारी बेपत्‍ता भएपछि स्थानीयले खोज्दै जाँदा शव गाडिएको शंकास्पद भएपछि प्रहरीलाई खबर गरेको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले बताए।

प्रवक्ता बस्नेतका अनुसार घटनाको प्रकृति हेर्दा भाटा लिएर टाउकोमा प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । दुवैको टाउकोमा गहिरो चोटका कारण मृत्यु भएको हो, तर शरीरका अन्य भागमा पनि चोटपटकको निशान देखिएको छ ।

घटनालगतै आरोपित भागेश्वर घरबटै पक्राउ गरी अनुसन्धान प्रक्रिया बढाइ सकिएको छ । आरोपिले भागेश्वर आफ्नो बुवा र श्रीमतीबीच अनौतिक सम्बन्ध रहेकोले हत्या गरेको स्वीकार गरेको प्रवक्ता बस्नेतले बताए ।

शव उत्खन्न गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइ सकिएको र आरोपितविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

स्थानीयको भनाइ उदृत गर्दै प्रवक्ता बस्नेतले भने भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । सो कारणले दिनहुँ बुवा र श्रीमतीसँग उनको झगडा हुँदै आएको थियो । सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । भागेश्वर र अम्रिकादेवीका दुई छोरा र छोरी छन् ।