सोलु करिडोर प्रसारण लाइन : नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गर्ने

इकागज | चैत १७, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले सोलु कोरिडर प्रसारण लाइनको संयुक्त उद्घाटन नयाँ दिल्लीबाट गर्ने भएका छन् ।

भारतीय निर्यात–आयात (एक्जिम) बैकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भई गत फागुन २ गतेदेखि सञ्चालनमा आएको उक्त प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन हुने भएको नेपाल विद्युत् प्राधिकरण स्रोतले बतायो । 

स्रोतका अनुसार भोलि शुक्रबारदेखि हुने प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा आगामी शनिबार (चैत १९ गते) नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले डिजिटल रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनेछन् । 

सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । 

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई गत फागुन २ गते सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । यो प्रसारण लाइन ९० किलोमिटरको छ भने यसमा ३०२ वटा टावर छन् । सिरहाकोे मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको यो प्रसारण लाइन विस्तारित छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी,८ एमभिए क्षमताको सबस्टेसन निर्माण  गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुने छ । 

ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको थियो । 

सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको यो संरचनाबाट सोलु खोला (२३.५ मेगावाट) सहित माथिल्लो सोलु (१८ मेगावाट), सोलु खोला (दूधकोसी ८६ मेगावाट)  तल्लो सोलु खोला (८२ मेगावाट) लगायतका जलविद्युत आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।  

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रुपमा ३३ केभी लाइनमा जोडिएको थियो । 

तिंला सबस्टेसनबाट विद्युत आपूर्ति हुँदा सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घटेको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३को असोजबाट कार्यान्वयनमा आएको थियो ।