फुटबल

पोचेटिनो र मेस्सीको होला त मिलन ?

इकागज | माघ ७, २०७७

काठमाडौं : हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक रहेका माउरिसियो पोचेटिनो र बार्सिलोनाका कप्तान लियोनल मेस्सी दुवै अर्जेन्टिनाका भएपनि कहिले पनि एउटै क्लबबाट खेल्न पाएनन् । तर पोचेटिनो पीएसजीको प्रशिक्षक बनेसँगै नुएल्स ओल्ड ब्याइज एकेडेमीका उत्पादनहरूको मिलन हुने सम्भावना जिवित बनेको छ । 

मेस्सीको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिने भएकाले उनी पीएसजी लगायतका क्लबहरूसँग जोडिँदै आएका छन् । त्यसकारण पनि पोचेटिनो र मेस्सी एउटै क्लबमा रहने सम्भावनाका बारेमा फेरी बहस हुन थालेको हो । यसै विषयमा पाचेटिनोबाट प्रतिक्रिया पनि आएको छ । 

‘मेस्सी पीएसजी आउन सक्छन् वा सक्दैनन्, त्यसमा मेरो केही टिप्पणी छैन् । मेस्सीसँग मेरो सम्बन्ध राम्रो छ । हामीले विगतमा सँगै खेल्न पाएनौं । तर त्यसका लागि हामी नजिक भने थियौं । म इस्पानयोलबाट खेलिरहँदा युवा मेस्सी सोही क्लबमा आउने प्रक्रिया चलिरहेके थियो । तर अन्तिममा उनको स्थान्तरण सफल भएन,’ पोचेटिनोले स्पेनी रेडियो कार्यक्रम एल लारगुएरोसँग कुरा गर्दै भने । 

सन् २००९ देखि १२ सम्म इस्पानयोलको प्रशिक्षक रहेका पोचेटिनो सन् १९९४ बाट ०१ सम्म र २००४ मा सोही क्लबका खेलाडी रहेका थिए । पोचेटिनो इस्पानयोल करियरको उर्ताद्धमा हुँदा मेस्सीको स्थान्तरण सो क्लब तर्फ हुन लागेको स्पेनी अखबारहरुले जनाएका थिए । 

फ्रेन्च लिग वान च्याम्पियन पीएसजीले पोचटिनोलाई प्रशिक्षक बनाएसँगै आउँदो सरुवा बजारमा ठूलो खर्च गर्ने अनुमान गरिएको छ । त्यसै नीति अनुरुप मेस्सीलाई पेरिस ल्याउन सम्भावना रहेको पनि बताईदै आएको छ । मेस्सी आफैले कुन क्लब जाने भन्‍ने बारेमा केही नभने पनि पीएसजी बोहक म्यानचेस्टर सिटी पनि उनलाई अनुबन्ध गर्न चाहिरहेको तथ्य लुकेको छैन ।