गृहमन्त्री बालकृष्ण खाणद्वारा राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको निरीक्षण
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको निरीक्षण गरेका छन् । हिमपात, शीत लहर, अत्यधिक चिसोलगायत विपद्को जोखिम बढेपछि न्यूनीकरणका लागि आवश्यक पर्ने पूर्वतयारीबारे जानकारी लिन गृहमन्त्री खाणले केन्द्रको अवलोकन गरेका हुन् ।
सिंहदरबारमा रहेको केन्द्रले प्राकृतिक विपद्को न्यूनिकरणका लागि योजना बनाउने र विपद्बाट क्षति हुन नदिन कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउँछ ।
निरीक्षणका क्रममा मन्त्री खाणले केन्द्रले हिमपात, शीत लहरबाट हुन सक्ने जोखिम एवं सम्भावित जनधनको क्षति न्यूनिकरणका लागि पूर्वतयारी एवं प्रतिकार्यका लागि गरेको प्रयासबारे जानकारी लिए ।
मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीप कोइरालाले अहिलेसम्म गरेको पूर्वतयारी र प्रतिकार्यका लागि गरेको प्रयासबारे मन्त्री खाणलाई जानकारी गराए । केन्द्र महाशाखा अन्तर्गत पर्छ । गत मंसिर २९ गते गृहमन्त्रीस्तरीय निर्णयबाट आपतकालीन बन्दोबस्तीका सामाग्री खरिद गर्न ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मनाङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुलु, डोल्पा, कालिकोट, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले पठाउने निर्णय भएको थियो । त्यो निर्णय कार्यान्वयनका लागि जिल्ला जिल्लामा पठाइसकिएको कोइरालाले मन्त्री खाणलाई जानकारी गराए ।
त्यस्तै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई १२ लाख रुपैँया तथा नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीलाई ८ लाखका दरले विपद व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी खर्च गर्न जिल्ला प्रशासन कार्यालयमा पठाइ सकिएको जानकारी मन्त्री खाणलाई गराए ।
मन्त्री खाणले मुलुकभर भएका विपद्का घटनाबारे तत्काल केन्द्रसम्म कसरी जानकारी आइपुग्छ र केन्द्रबाट तत्कालको लागि राहतका सामाग्री पठाइन्छ भनेर जिज्ञासा राख्नु भएको थियो । मौसमको पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाबाट सिधै आउने र अन्य विपद्का घटना जिल्ला प्रशासन कार्यालयमार्फत सिधै केन्द्रमा आउने जानकारी केन्द्रका कर्मचारीहरूले मन्त्रीलाई गराएका थिए ।
गृहमन्त्री खाणले बिहानमात्रै लुम्बिनी र मधेस प्रदेशका मुख्यमन्त्री तथा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर शीतलहरको अवस्था र न्यूनिकरणका लागि भएको पूर्वतयारीबारे जानकारी लिएका थिए ।