प्रमुख समाचार

डाक्टरको भोट माग्ने शैली : ‘थाइराइड ठीक छ ?’

इकागज | कात्तिक २०, २०७९

चितवन-भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा यतिबेला धेरैले हेरिरहेका छन् । फिजिसियन डा अधिकारीले उक्त क्षेत्रका धेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका थिए ।    
    
आफ्नो बिरामी देख्नेबित्तिकै डा अधिकारीको पहिलो प्रश्न हुने गर्दछ, स्वास्थ्यको । बिमारअनुसार उनले अवस्था सोध्ने र बुझ्ने गर्छन् । झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्षेत्रका धेरै मतदाता अधिकारीका नियमित बिरामी छन् । मतदाताले विकास निर्माणभन्दा स्वास्थ्यका कुरा धेरै सोध्ने  गरेका छन्।    
    
अधिकारीसँगै प्रचारमा रहेका साजन अधिकारीका अनुसार पहिलो प्रश्न उपचारकै हुने गर्दछ । लामो समयदेखि अधिकारीको परीक्षणमा औषधि खाइरहेकाहरूले जितेर आफूहरूलाई नजाँच्ने हो भने भोट नै हाल्दैनौँसमेत भन्ने गरेका छन् । डा अधिकारीले भने, “मसँग धेरैले स्वास्थ्यको प्रश्न गर्छन् ।” हिँड्दै गर्दा आफ्ना बिरामी देखेपछि सोध्न मन लाग्ने भन्दै उनले फकाउनका लागि भन्दा पनि अरु बेलामा झैँ सोध्ने गरेको बताए । उनले भने “अरु बेलामा पनि म बिरामीलाई भेटेपछि स्वास्थ्य अवस्थाका बारेमा सोध्ने गर्छु ।”
    
भरतपुर अस्पताल विकास समितिका अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा उभिएका अधिकारी जिल्लाका चिनिएका फिजिसियन डाक्टर छन् । दुई हजारभन्दा बढी आफ्ना नियमित बिरामी आफू चुनाव लड्दै गरेको क्षेत्रमा रहेको उनको भनाइ छ । प्रचारकै क्रममा कतिपय बिरामी प्रेस्क्रिप्सन बोकेर देखाउन आउने गर्दछन् । कतिपय जटिल बिरामीलाई डा अधिकारीले गाडीबाट झरेर अवस्था बुझी आवश्यक सुझाव दिने गरेका छन् ।    
    
औषधि सकिएकाहरूलाई थप गर्न र मङ्सिर १० गतेपछि अस्पताल आउन डाक्टरले सुझाव दिने गरेको सहयोगी साजनले बताए । कतिपयले आफू डाक्टरको उपचारले निको भएको भन्दै खुशी प्रकट गर्ने गरेको साजनको भनाइ छ । दश वर्षपछि राजनीति गर्ने तयारीमा रहनुभएका अधिकारी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा निर्वाचनमा उम्मेदवार हुन गएपछि दाहालको उत्तराधिकारीका रूपमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार छन्। 

गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

इकागज | कात्तिक २०, २०७९

सुदूरपश्चिम- आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरूलाई भोट...

लालपुर्जा दिनेलाई भोट

इकागज | कात्तिक २०, २०७९

नवलपुर - आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलो...

डडेल्धुरामा दुई चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा, आजै काठमाडौं फर्कने

इकागज | कात्तिक २०, २०७९

काठमाडौं - नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरा...

पश्चिमी वायुको सामान्य प्रभाव : पहाडी क्षेत्रमा वर्षाको सम्भावना

इकागज | कात्तिक २०, २०७९

काठमाडौं - मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश...