टिकटक बन्द गर्ने निर्णय सरकारले तत्काल सच्याओस् : गगन थापा
काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयको बिरोध गरेका छन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले बिरोध गरेका हुन् ।
टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको थापाले बताए । सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय भएको उनले बताए । सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता'लाई कुण्ठित गर्ने देखिएको उनको दाबी छ ।
'टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरूत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो' थापाले फेसबुकमा लेखेका छन् 'यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन ।'