झिनियाँ बेचेर मनग्य आम्दानी
गलकोट- तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।
झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् ।
विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताइन् । 'तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ ।
अहिले म जस्ता दर्जनौँ महिला झिनियाँसहितका रोटीका परिकार बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छौँ', उनले भनिन्, 'तिहारमा मात्रै रू चार/पाँच लाखको झिनियाँसहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।'
यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले रोटीका परिकारको बिक्री भइरहेको बताइन् । उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिइन् ।
हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरी घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ ।
मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन् ।
'तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो', मिराले भनिन्, 'पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।'
मिरासँगै उनका श्रीमान् र छोराले दसैँअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरू बनाइराखेका छन् । तिहारका समयमा बढीमात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरूले धान्दै आएका छन् ।
मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार बिक्रीबाट रू सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिइन् । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उनको भनाइ थियो ।
रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।
रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकालेसमेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।
बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू दुई सय ५० र सानोमा रू एक सय ४० मा बिक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर बिक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू ८०, फिनी रू ७०, भेली रू ५० र नमकिन रू ५० मा बिक्री भइरहेको छ । रासस