चार दलीय बैठक
कांग्रेसले राष्ट्रपतिमा दाबी नछोड्ने
काठमाडौँ - चार दलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समँजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा कांग्रेसले आफ्नो अडान कायमै राखेको हो ।
बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वभाविक दाबी गरेको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताए । बैठकमा कांग्रेस बाहेकका दलहरूले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको बताए । महामन्त्री थापाले प्रस्तावमा आएका नामबारे दलहरूले आ-आफ्नो पार्टीमा छलफलगरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको बताए । 'विभिन्न विकल्पहरूबारे छलफल भएको छ । छलफल सकारात्मक छ,' उनले भने, 'हामी टुंगोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ । साँझ ५ बजे बस्नेगरी सकिएको छ ।’
महामन्त्री थापाले काँग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरूले पनि सहयोग गर्ने अपेक्षा राखेको बताए ।