सिसडोलमा फोहोरमाथि बनेको सडकमा गाडी फसेपछि काठमाडौँमा फोहोरको डंगुर
काठमाडौँ- दुई सातादेखि काठमाडौँको चोक-चोकमा घर तथा होटलबाट निस्केका फोहोर थुप्रिएका छन् । सडकमा फोहोर थुप्रिएर वरिपरि हिंड्दासमेत फोहोरको दुर्गन्ध फैलन थालिसकेको छ । लाग्छ याे रहरको सहर होइन, फोहोरले साम्राज्य जमाउन थालेको सहर जस्तै बनेको छ ।
उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ महानगरपालिकाले पाएर नुवाकोटको सिसडोलमा फोहोर थुपार्दै आएको छ । ललितपुर महानगर लगायत १८ वटा स्थानीय तहको फोहोर त्यहाँ लाने गरिएको छ । काठमाडौँदेखि २५ किलोमिटर टाढा रहेको सिसडोलमा फोहोरको डंगुर थुप्रिए पछि उपत्यकाको स्वरुप बदलिएको छ ।
सिसडोलमा फोहोरको पहाड निर्माण हुँदा उपत्यकाको सडकमा बिस्कुन फिजाएँ जस्तो फोहोर थुप्रिन थाल्छन् । सडकमा थुप्रिएका फोहोर उठाउन न स्थानीय सरकारको ध्यान जान्छ न त केन्द्र सरकार को नै । कोभिड-१९ को महामारीमा मुलुक फसिरहेको छ । फोहोरकै कारण संक्रामक फैलिने जोखिम पनि बढेको छ ।
यतिखेर सिसडोल क्षेत्रमा बाटो बिग्रेकाले फोहोर लाने सवारीसाधन सहजै पुग्न सकेका छैनन् । वर्षात र स्थानीयको अवरोधले गर्दा बाटोमा फोहोरका गाडी रोकिएका छन् । फोहोरमाथि बनेकाे सडकमा फोहोरका २० ओटा गाडी फसेका छन् । एक्साभेटर प्रयोग गरेर फसेका गाडी हटाउन पनि वर्षात्ले समस्या भएको काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।
सिसडोलमा हिलाम्मे सडक छ । सडकको बिचमा फोहोर गाडीको बिसाइरहेका छन् । फोहोर थुपार्ने ठाउँसम्म गाडी पुग्न सक्दैनन् । वर्षेनी फोहोर व्यवस्थापनमा समस्या आउनुमा बाटोको उचित व्यवस्थपान र वैकल्पिक स्थानको खोजी नगर्नु नै हो । वर्षाको सुरुवाती भएसँगै फोहोर व्यवस्थापन अवरुद्ध हुने गरेको छ ।
सिसडोल फोहोरका पहाडले भरिएपछि बञ्चरे डाँडालाई वैकल्पिक ल्यान्डफिल्ड साइट बनाउन थालिएको तीन वर्ष बितिसकेको छ । आपतकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने अन्य वैकल्पिक उपाय महानगरसँग अहिले केही पनि छैन । जसका कारण उपत्यकाबाट तत्काललाई फोहोर उठ्ने कुनै सम्भावना छैन । महानगरका अनुसार पानी रोकिएपछि मात्र फोहोरमाथि बनेको सडकको मर्मतसम्भार गरी त्यहाँ फसेका फोहोरका गाडी निकाल्न सकिन्छ र त्यसपछि मात्र फोहोर उठ्न सुचारु हुन्छ ।
स्थानीय हिलाम्मे सडकमा ओहोर-दोहोर गर्न बाध्य छन् । जहाँ उनीहरूको दैनिकी जोडिएको छ । खाद्य सामग्री बिक्री गर्नेदेखि खरीद गर्ने सम्म त्यहीँ बाटो बन्छ । स्थानीय बिरामी भइहालेमा सहजै उपचार पाउने अवस्था छैन । हिलो बाटोमा न मानिस हिडन सक्छन् न त एम्बुलेन्स जस्ता महत्त्वपूर्ण सवारीसाधन नै । तर, त्यो बाटोमा हिजोआज न स्थानीय सहजै हिंड्न पाएका छन न त फोहोरका गाडी नै बिसाउन पाएका छन् । सहरको फोहोर पहाडको फेदीमा थुप्रिएको छ ।
दश वर्षअघि महानगरपालिकाले फोहोर संकलन गर्न सिसडोललाई प्रयोग गर्यो । सुरुमा दुई वर्षसम्मका लागि फोहोर थुपार्ने सहमति भए पनि महानगर र केन्द्र सरकारले वैकल्पिक स्थान खोज्न नसक्दा वर्षैपिच्छे उपत्यकाको सडक र चोकमा फोहोर थुप्रिने समस्या अन्त्य भएको छैन ।
काठमाडौँ महानगर स्थानीयले गरेको अवरोध हटाउन जान्छ र एक थान सहमति गरेर आउछ । सहमतिको मसी सुक्न नपाउँदै फोहोरका गाडीका लागि बीचबाटोमा ढाट अवरोध बनिदिन्छ । जहाँ स्थानीयको समस्या महानगरले बुझेन र फोहोरकै कारणा बस्तीमा हैजाका कारण मृत्यु भएको हो स्थानीयको भनाइ बन्छ । केहीदिनदेखि स्थानीयले पनि फोहोर फाल्ने गाडीलाई जान दिएका छैनन् । हैजाको कारण स्थानीयको मृत्यु भएको भनाइ छ । उनीहरूले क्षतिपूर्ति मागिरहेका छन तर महानगर भने वार्ताका लागि धाइरहन्छ ।
आखिर कहिलेबाट काठमाडौँको फोहोर सडकमा देख्न पाइदैन । चोक-चोकमा रहेका हरिया र राता प्लाष्टिक कहिलेबाट हटछन् । किन वर्षा भएसँगै फोहोर उपत्यकामा थुप्रिन्छन र फोहोरको गाडी सधैँ स्थानीयले अवरोध गर्छन्?
फोहोर व्यवस्थापन गर्ने ठाउँमा बाटो निर्माण नभएको र स्थानीयले अवरोध गर्दा समयमा फोहोर व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगर वातावरण व्यवस्था विभागका प्रमुख श्रेष्ठ बताउँछन् । वर्षा हुनासाथ फोहोरमाथि बनेको सडक भत्केकाले पनि व्यवस्थापनमा समस्या हुने गरेको उनले बताए ।
'भवन विभागले बन्चरे डाँडामा निर्माण गरिरहेको डम्पीङ साइट समयमा निर्माण सिसडोलको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ,' सिसडोलको फोहोर संकलन गर्ने स्थानको अवलोकन गर्न गएका श्रेष्ठले भने,' कोभिड महामारीको कारण देखाउँदै निर्माण कार्यमा ढिलाइ भएकाले विभागले हस्तान्तरण हुन नसकेको हो ।'
श्रेष्ठले चोक-चोकमा रहेको फोहोर उठिरहेको दाबी गरे । तर, फोहोर संकलन केन्द्रमा गाडी पुग्न नसकेर पार्किङ गरेर राखिएको छ । हिलाम्य सडक निर्माण नभए सम्म फोहोर व्यवस्थापनमा समस्या आउने प्रस्ट देखिएको छ ।
बन्चरे डाँडामा निर्माण भइरहेको डम्पिङ साइटलाई महानगरले बेवास्ता गर्दा पनि फोहोर व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । यद्यपि डम्पीङ साइट भने भवन विभागले निर्माण गरिरहेको छ ।
वर्षाको कारण हस्तान्तरण हुन सकेन बन्चरेडाँडा
बन्चरे डाँडामा नवनिर्मित फोहोर प्रशोधन केन्द्र निर्माणको अन्तिम चरणमा रहेको भवन विभागका उपमहानिर्देशक कुमारप्रसाद घिमिरेले बताए । उनकाअनुसार काठमाडौँ महानगरलाई जेठको पहिलो साता हस्तान्तरण गर्ने कार्यक्रम भए पनि वर्षाका कारण हुन सकेको छैन । निरन्तर वर्षाको कारणले निर्माण कार्यमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
'निरन्तर पानी पर्दा फोहोर फोल्ने ठाउँ नभएकाले अहिले सफाइको काम भइरहेको छ,' घिमिरेले भने,' दुई वटा सेलमा परेको पानी निकाली सकेपछि चाँडै फोहोर फाल्न सकिन्छ ।'
उनका अनुसार फोहोर फाल्न दुई वटा सेल बनाइएको छ । पहिलो सेल फोहोर ट्रिटमेन्ट्र गर्ने र फोहोर राख्ने ड्याम बनाइएको छ । 'सेल वान' निर्माण सम्पन्न भइसके पनि फोहोरबाट निस्कने लेदोलाई व्यवस्थापन गर्न टयांकीको निर्माण हुन सकेको छैन । 'सेल टु' को निर्माण कार्यसमेत थालनी हुन सकेको छैन ।
पहिलो सेल निर्माणका लागि ४४ र दोस्रोमा ४६ करोड रुपैयाँ लागत लागेको घिमिरेले जानकारी दिए । दुवै सेल गरी २० हजार घन मिटर फोहोर अट्ने क्षमता रहेको उनले बताए ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन साइट निर्माण गर्न मन्त्रिपरिषदले सहरी विकास मन्त्रालयलाई २०७५ मंसिर १७ गते जिम्मा दिएको थियो । बैशाख १२ गते बन्चरे डाँडामा शिलन्यास गरी त्यसको औपचारिक सुरुवात गरिएको थियो ।