पोखरा म्याराथन बिजेताले ४ लाख पाउने
पोखरा- १६ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले यो वर्ष ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख रुपैयाँ पाउने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।
गतवर्ष बिजेताले २ लाख रुपैयाँ र उप बिजेताले १ लाख रुपैयाँ पाएका थिए । महिलाको हाफ म्याराथको बिजेताका लागि भने पुरस्कारमा बढाइएको छैन् । महिलामात्र सहभागी हुने हाफ म्याराथन बिजेताले १ लाख र उप बिजेताले ७५ हजार रुपैयाँ पाउनेछन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै दुई चरणमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
सफल पोखरा अन्तर्राष्ट्रिय खुला म्याराथन ४२.१९५ किलोमिटर र महिलातर्फको २१ किलोमिटरको हाफ म्याराथन दौड निर्धारित समय फागुन ७ गते आयोजना हुने भएको छ । यसैगरी १० किलोमिटर महिला पुरुष, विद्यार्थीहरुका लागि ५ किलोमिटर छात्रछात्रा तथा दृष्टिबिहिन र ह्वीलचियर दौड चैत १२ गते गर्ने निर्णय भएको अध्यक्ष पराजुलीले बताए ।
मञ्चका महसचिव कृष्ण तिमिल्सिनाले म्याराथनलाई सफल बनाउन विभिन्न समिति तथा संघ संस्थालाई सहयोगका लागि आग्रह गरे । प्रतियोगितामा सहभागी हुन केन्याका धावकले अनलाइनमार्फत नाम दर्ता गरिसकेको महासचिव तिमिल्सिनाले बताए । यो वर्ष नेपालका १७ जिल्लाबाट म्याराथन तर्फ १ सय ६२ पुरुष र हाफ म्याराथनमा ३९ महिलागरी २ सय १ जनाले भाग लिन आयोजकले जनाएको छ ।