म एमालेमा लागे हुन्थ्यो भन्‍ने उहाँको इच्छा रहेछ

श्यामप्रसाद | भदौ १४, २०७८

सुप्रसिद्ध शिक्षाविद्, साहित्यकार र राजनीतिज्ञ आनन्ददेव भट्टसँग मेरो पहिलो भेट र परिचय २०१० सालको माघ महिनामा राजधानी उपत्यकामा भएको नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा भएको हो । 

त्यस बेला म पर्सा जिल्लाको प्रतिनिधि भएर वीरगन्जबाट आएको थिएँ । सभामा आनन्ददेवले आँटिलो भएर प्रस्टसँग आफ्ना आलोचना र सुझाउहरू अघि सार्नुभएको देख्ता म प्रभावित भएँ । 

अनि सभा स्थगित गरिएको बेलामा उहाँनिर गएर उहाँको गुणको प्रशंसा गर्दै चिनजान गरेँ । त्यस बेला नेकपा प्रतिबन्धित न थियो । त्यसैले त्यो महाधिवेशन गुप्त रूपबाट गरिएको थियो । 

ने.क.पा.को केन्द्रीय समितिको निर्णयअनुसार म पार्टीको मुखपत्रको सम्पादन र प्रेसको व्यवस्थापनको कामको निम्ति २०१२ को माघमा वीरगन्जबाट काठमाडौँमा आएँ । 

अनि त आनन्ददेवसँगको सम्बन्ध क्रमशः बढ्दै जान पायो र हामी निकै घनिष्ठ हुन पुग्यौँ । २०१६ मा पार्टीको काठमाडौँ जिल्ला–समितिले साहित्य क्षेत्रमा विचार बुझ्न आनन्ददेव, कृष्णचन्द्रसिंह, भूपी शेरचन, रमेश विकल र मसमेत केही साथीहरूलाई भेला गरेर राय बटुलेको थियो । 

त्यसको एक महिनापछि प्रगतिशील लेखक सङ्घ (प्रलेस)को पुनर्गठन प्रारम्भ गरियो । अस्थायी कार्यसमितिमा आनन्ददेव, केदारनाथ न्यौपाने, तारानाथ शर्मा (सचिव), पूर्णमान तपोल र म थियौँ । 

त्यस बेला सदस्यहरूको संख्या १२ मात्र थियो । ०१६ कै फागुनमा प्रलेसले आनन्ददेवको प्रवचनको आयोजना गरेको थियो । उहाँले पूर्व पहाडतिरको आफ्नो साहित्यिक भ्रमणका अनुभवहरू सुनाउनुभयो । ‘लेखक, कवि, साथीहरुले वर्षको दुई महिना भ्रमण गर्ने गर्नुपर्छ’ भन्नुभयो । 

त्यही वर्ष चैतमा सोभियत संघबाट नेपाली साहित्यबारे खोज गर्न कोरोलेभ र मोरोजोभ नाउँका दुई जना यहाँ आउनुभएको थियो । आनन्ददेव, तारानाथ, धर्मराज थापा र म राजदूतावासमा गएर उहाँहरूसँग कुरा गयौँ । केही पुस्तक र नेपाली पुस्तकहरूको सूची पनि दियौँ ।

२०४९ सालको असारमा आनन्ददेवले मसँग फोन–सम्पर्क गरेर बैतडीमा साढे तीन महिना बिताई आफू आएको कुरा बताउनुभयो । उता प्रलेस र बुद्धिजीवी परिषद्सम्बन्धी पनि काम गर्ने उहाँको विचार रहेछ । 

केही महिनापछि फेरि उता जाने कुरा बताउनु भयो । त्यसै दिन उहाँसँग प्रलेसमा भेटसमेत हुन पायो । त्यहाँ खगेन्द्र सङ्ग्रौला, मुरारी अर्याल र शक्ति लम्साल पनि हुनुहुन्थ्यो । ०४९ कै भदौमा आनन्दले प्रलेसको कार्यालयमा फोन गरेर कर्णाली अञ्चलको प्रत्येक जिल्लाका लेखकहरूसँग सम्पर्क राख्ने प्रयत्न गरियोस् भन्ने सल्लाह दिनुभयो । 

२०५० को पुसमा आनन्ददेवले मसँग निकै लामो कुरा गर्नुभयो । नेकपा (एमाले) मा लागे हुन्थ्यो भन्ने उहाँको इच्छा रहेछ । मैले हरेक देशमा पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिको समेत आवश्यकता रहन्छ त्यसैले नेपालमा पनि त्यस्ता व्यक्तिहरू हामीले तयार पार्नुपर्छ भन्ने आफ्नो विचार उहाँलाई बताएँ । आफू कुनै राजनीतिक दलपट्टि नलागी स्वतन्त्र वाम व्यक्तिका रूपमा भूमिका पूरा गर्न चाहन्छु भनेँ । अनि उहाँले मलाई प्रलेसमा गत कार्यकालको भन्दा पनि बढी सक्रिय भई आधिकारिक रूपबाट काम गर्नुपर्यो भनी उत्साहित पार्न खोज्नुभयो । उहाँले बैतडीलाई नै आफ्नो कार्यक्षेत्र बनाउन चाहनु भएकामा समर्थन गरेँ ।

(यो लेख श्यामप्रसाद शर्माले २०६४ असोज ११ मा लेखेका हुन् । श्यामप्रसाद नाममा छापिएको यो लेख शेषराज सिवाकोटीको सम्पादनमा प्रकाशित ‘आनन्ददेव भट्ट : अक्षरको अभिवादन’मा प्रकाशित छ ।) 
 

यिनै दल र नेताबाट देश समृद्ध हुन्छ भन्‍नेले ‘हुँदैन’ भन्‍नुस्

राजीव ढकाल | भदौ १४, २०७८

के तपाईंलाई अझै लाग्छ, नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलहरू नेपालको समग्र आर्थिक, सा...

सुशासन अभिवृद्धिमा सिन्को नभाँचेकाहरूबाट संवैधानिक अंग बचाऔँ

मुलुकको समृद्धि तथा हरेक पक्षमा विकासका लागि दक्ष जनशक्ति उत्पादन तथा तिनको सदुपयोगका विषय अति महत्वपूर्...

अफगानिस्तान मामलामा बाेल्न बाधा गर्ने सार्क बडापत्र

दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)को कान्छो सदस्य मुलुक हो, अफगानिस्तान । जसले भारतको प्रस्तावमा सार्कम...

सार्वजनिक संस्थान : बालुवामा पानी कि आम्दानीको खानी ?

राज्यको भूमिकामा आएको बढोत्तरीसँगै सार्वजनिक संस्थानको उदय भएको पाइन्छ । लोक कल्याणकारी राज्यमा सार्वजनिक...

कुशासनको उपहार : बढ्दो आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचार

सोमबहादुर थापा | भदौ ९, २०७८

भर्खरै सार्वजनिक महालेखा परीक्षकको प्रवितेदनले बेरुजु, आर्थिक अनियिमतता र भ्रष्टाचारको जालो संघीय सरकारद...