पर्यटनबारे हामीले सोच्नुपर्ने केही प्रसंग
नेपाल सबै खाले पर्यटन गतिविधि वा क्रियाकलापहरूमा एउटै बसाइमा भाग लिन चाहने पर्यटकहरूका लागि एक मात्र (पहिलो र अन्तिम) गन्तव्य स्थल वा आकर्षक थलो हो, र नेपालमा सञ्चालन हुन सक्ने ती सबै खाले पर्यटन क्रियाकलापहरूलाई सम्बोधन गर्ने एउटै नेपाली नाम समेत हो- भूपर्यटन (जीओटुरिज्म) ।
भूपर्यटन भूविविधताका आयामिक सम्बन्धमा रहेका भौगोलिक तथा भौगर्भिक आकर्षणमा आधारित पर्यटन गतिविधि हो । भूविविधता जैविक र अजैविक विविधताको एकीकृत रूप पनि हो । यसर्थ भूपर्यटन स्थलविशेषले प्रदर्शित गरेको विशिष्ट आकर्षणमा आधारित पर्यटन गतिविधि हो । भूपर्यटनले दीगो पर्यटनको अवधारणालाई आत्मसात् गर्दै गन्तव्यस्थलको स्थानीय भूगोलभित्र कैद प्राकृतिक एवं साँस्कृतिक सम्पदा र भौगर्भिक अभिलेखप्रतिको महत्वलाई एकैसाथ विशिष्टिकरण समेत गरिरहेको हुन्छ ।
यसकारण नेपालको पर्यटन विकासका लागि हामीले उठाउनुपर्ने अबको मुद्दा हो- भूपर्यटनका लागि नेपाल र नेपालका लागि भूपर्यटन । भूस्वर्ग समान नेपाली भौगोलिक विशेषतामा विकसित नेपालको विविधतायुक्त प्राकृतिक तथा सांस्कृतिक वातावरणमा विद्यमान आकर्षणबाट एउटै बसाइमा भिन्नभिन्न प्राकृतिक र सांस्कृतिक अनुभव बटुल्न सकिने थलो नेपाललाई विश्वव्यापी रूपमा चिनाउनुपर्दा वा नेपाली मौलिक विशेषता र विविधतालाई एकै शब्दमा भन्नुपर्दा अति प्रयुक्त नाम भूपर्यटन नै हुन आउँछ । फलस्वरूप नेपालमा रहेको यस किसिमको बहुआकर्षण जसले विश्व पर्यटन बजारलाई दिँदै आएको प्राकृत स्वादलाई पर्यटन प्रवद्र्धनको नयाँ आयाम दिन भूपर्यटनको अवधारणा अनिवार्य हुन आउँछ । जसले सेन्स अफ लोकालिटी वा प्लेसको मर्मलाई दुरुस्तै उतार्नसमेत निरन्तर मद्दत पुर्याउँछ ।
भूपरिवेष्ठित मुलुक नेपाल जहाँ मुगा टापु, ज्वालामुखी टापु र सामुद्रिक स्वरूपबाहेकका पृथ्वीमा विकसित अन्य सबै प्रकारका भूआकृतिक विविधता, जलवायु विविधता, वानस्पतिक विविधता, माटोमा रहेको विविधता आदि विविधतालाई एकसाथ उपस्थित गराएको छ, जसले हाम्रो विकसित मानव सांस्कृतिक विविधतालाई जीवन्तता दिएको छ ।
भूपर्यटनको वर्गीकरण
पर्यटन विकासको पछिल्लो विश्वसन्दर्भलाई बृहत् रूपमा भूपर्यटन र अन्तरिक्ष पर्यटन गरी दुई भागमा बाँडेर हेर्न सकिन्छ । प्याराग्लाइडिङ र बञ्जी जम्पिङले नेपाली सन्दर्भमा मात्रात्मक रूपमा अन्तरिक्ष पर्यटनको तृष्णा मेट्ने काम गरे पनि जुन गतिविधिको मुख्य उद्देश्य आफैँमा स्थलीय आकर्षणको मात्र दृश्यावलोकनमा रुचि राख्ने साहसी पर्यटकहरूका लागि गरिएको प्रयोग मात्रै हो । तसर्थ नेपाली पर्यटनको मूल चरित्र वा मूलधार भने भूपर्यटन नै हो र नेपालले पर्यटनको संस्थागत विकास गर्ने मूख्य क्षेत्र पनि यसकारण भूपर्यटन नै हो । भूपर्यटनको अवधारणाअनुरूप नेपाली पर्यटन क्रियाकलापको विभाजनलाई नेपाल हिमालयको भूस्वरूपको भूदृश्य र भूउपयोगको भूदृश्य गरी दुई भागमा विभाजन गरी सूक्ष्म ढङ्गबाट संस्थागत गर्न सकिन्छ । भूस्वरूपको भूदृश्यले यसको प्राकृतिक आकर्षणलाई जनाउँछ भने भूउपयोगको भूदृश्यले नेपालको सांस्कृतिक जीवनलाई प्रतिनिधित्व गर्दछ ।
भूस्वरूपको भूदृश्य
कुल २ हजार कि.मि. लामो चार दिशामा भएको नेपालको भूविस्तारको अवस्थालाई आधार मानेर नेपालको पर्यटन विकासको सम्भावनाको खोजी यसको चार किल्लाका रूपमा रहेको दक्षिणी विन्दु लोदावरी(झापा), उत्तरी विन्दु लाप्चेभञ्ज्याङ (हुम्ला), पश्चिमी विन्दु दोधारा (कञ्चनपुर) र पूर्वी विन्दु काकरभिट्टा (झापा) को बीच विस्तारित नेपालको भूभाग जो मध्य एसियाको वायव्य तिब्बती सुख्खा पठारदेखि ऊष्ण गङ्गाको मैदानी वातावरणीय प्रभावको जमघटलाई पर्यटन विकासका लागि उपयोगमा ल्याउँदा अर्थात् राष्ट्रिय चरित्रअनुरूप नेपाली पर्यटन क्रियाकलापलाई उचाइ दिनुपर्दा भूपर्यटन नामकरणको औचित्य पुष्टि हुन आउँछ र जसलाई सूक्ष्मीकरण रूपमा विभाजन गर्दा भौगर्भिक र भौगोलिक गरी यसको आयामिक महत्वलाई मुख्यरूपमा दुई अवधारणामा विकास गर्नु आवश्यक छ ।
भौगर्भिक पर्यटन भूस्वरूपको भूदृश्यमा आधारित अर्थात् पूर्णतः भौतिक वातावरणभित्र विद्यमान सम्भावनाहरूको खोजीमा रहेको अन्तर्राष्ट्रिय चासोमा केन्द्रित छ । मध्यजीव महाकल्पवाट सुरु भएको नेपालको मुख्य हिमालयको निर्माण र जसको चट्टानी स्वरूपमा रहेको जन्तुहिन प्राग्जैविक तत्वको उपस्थिति र भौगर्भिक दृष्टिकोणले पर्वत निर्माणकै क्रममा रहेको हिमाली क्षेत्र अध्ययनको हिसाबबाट भौगर्भिक पर्यटन विकासका लागि समेत महत्वपूर्ण देखिन्छ ।
जसले मूलतः उत्खनन र अन्वेषणमा आधारित रहेर भौगर्भिक रूपमा रहेको धरातलीय असमान स्वरूपभित्र पृथ्वीको विकासक्रम, पर्वतीय निर्माणक्रम, महाद्विपीय विस्थापनको विगत र वर्तमान स्वरूप लगायत विशुद्ध पृथ्वीको सन्दर्भसँग जोडिएर हुने वैज्ञानिक अध्ययन, अनुसन्धान तथा उत्खनन र विभिन्न भौगर्भिक संरचनाहरूको दृश्यावलोकनमा आधारित गतिविधिलाई वुझाउँछ । पृथ्वीको संरचनासंग जोडिएर गरिने अध्ययनको रूपमा एकातिर लिन सकिन्छ भने अर्कोतिर विभिन्न भौगर्भिक कालखण्डमा विकास भएका भौगर्भिक संरचनाहरूको दृश्यावलोकनमार्फत मानव सभ्यताको भविष्य निर्धारणमा समेत जानकारी लिन सकिन्छ । जसमार्फत रिज ट्रेकिङ ट्रेल र गर्ज ट्रेकिङ ट्रेलको थप पर्यटकीय पदयात्रा मार्गको विकास गरी पर्यटन गतिविधिहरूलाई थप विविधीकरणका साथ विकास गर्न सकिन्छ ।
भूउपयोगको भूदृश्य
त्यसैगरी नेपालको पर्यटन क्रियाकलापको निरन्तरतालाई मूलप्रवाहीकरणको स्वरूप दिँदै आएको भूस्वरूप र भूउपयोगको दुवै भूदृश्यमा आधारित रहेर भौगोलिक पर्यटनको विकास गर्न सकिन्छ । जसलाई यसको स्थलीय गतिविधिमा रहेको विविधतालाई आधार मानेर पारिस्थितिकीय रूपमा, उचाइको आधारमा, स्थानिक आधारमा, मौसमी आधारमा र विविधतामुखी आकर्षणमा गरी मुख्यरूपमा आकर्षणका पाँच भागमा विभाजन गरी पर्यटन विकासलाई संस्थागत गर्न सकिन्छ ।
जसमध्येको पहिलो पारिस्थितिकीय प्रणालीको आधारमा नेपालको पर्यटनलाई हिमाली, पहाडी र तराई पर्यटनको रूपमा संस्थागत स्वरूप दिइरहँदा हिमाली र पहाडी पर्यटनलाई हाल प्रयोगमा आइरहेको पर्वतीय पर्यटनकै नामवाट पनि बुझ्न सकिन्छ र पर्वतीय वातावरणबाट घनीभूत नेपालको तराई पर्यटनलाई भूपर्यटनको एकीकृत अवधारणामा समेट्न अर्को शब्दमा पादपर्वतीय पर्यटनको रूपमा पनि लिन सकिन्छ ।
नेपाल हिमालयको पारिस्थितिकीय प्रणालीलाई हिमाल, पहाड, र तराई गरी भूस्वरूपको तीन भागमा विभाजित प्रकृतिअन्तर्गत विभिन्न जीव, जीवाश्म, वनस्पति, एवं चट्टानको भूस्वरूप अनुरूपको उपस्थिति र सोको अन्तक्र्रियात्मक सम्बन्धमाथिको विद्यमान मानवीय कौतूहललाई केवल दृश्यावलोकनको स्रोत मात्र नबनाएर विषयको अन्तरानुशासनअनुसार गहन अध्ययनको आकर्षणको केन्द्र बनाउँदै लान सकेमा अध्ययन पर्यटनको विकासका लागि नेपालको सम्भावना विश्वव्यापी भएर जान सक्दछ । पर्यटन स्वयंमा बहुआयामिक गतिविधि भएका कारण पर्यटनको सो बहुआयामिकतालाई हाम्रो भूस्वरूपमा रहेको विविधतायुक्त पारिस्थितिकीय प्रणालीमार्फत प्रवद्र्घन गर्न सर्वप्रथम बृहत आकर्षणको सूक्ष्म पहिचान अनिवार्य रहन्छ ।
नेपालको पर्यटन विकासका लागि हामीले उठाउनुपर्ने अबको मुद्दा हो- भूपर्यटनका लागि नेपाल र नेपालका लागि भूपर्यटन ।
त्यसैगरी नेपालको परिचयप्रधानता अर्कोतिर पहाडसँग ठोक्किएर आउँछ । पर्वतीय संरचनाअन्तर्गत ठूलो हिस्सा ओगट्ने नेपालको पहाडी क्षेत्र पर्यटन विकासका लागि टावर प्वाइन्ट हो । किनकि जहाँबाट एकैसाथ उत्तरतर्फ फर्कंदा मनोरम हिमाली शृंखलाहरू र दक्षिणतर्फ फर्केर हेर्दा विशाल तराईका फाँट देख्न सकिन्छ । पहाडी पर्यटन जसलाई टेरेन टुरिज्म पनि भन्न सकिन्छ । जस्तो आफू उस्तै च्यापू भनेझैँ नेपालको भूव्यवस्थापनमा महत्वपूर्ण समेत मानिँदै आएको गह्रा प्रणालीमार्फत कृषि उत्पादनमा हुन गएको भूमिको उपयोगमा रैथाने ज्ञानको यो नमुना विश्वका लागि समेत अनुकरणीय समेत भएर गएको छ ।
यसप्रकार हिमाली तथा पहाडी पर्यटन गतिविधिलाई एउटै आयाममा हेर्दा जसलाई एकाकार गर्ने काम पर्वतीय पर्यटनले गर्दछ । पर्वतीय मुलुक नेपालको पर्यटन विकास आरम्भ स्वयंमा पर्वतीय क्षेत्रवाट नै हुन गएको हो । नेपाली पर्यटन विकासले जुनकिसिमको संस्थागत रूप पाएको छ, जसमा पर्वतीय वातावरणको भूमिका नै महत्वपूर्ण रहेको तथ्य मुलुकको ६ दशक लामो पर्यटन अनुभववाट समेत प्रमाणित हुन जान्छ ।
नेपाली भूस्वरूपमा रहेको उच्चवर्ती र निम्नवर्ती भूस्वरूपलाई एकीकृत विकास अवधारणामार्फत विकास गर्न पर्यटनको आकर्षणको दोस्रो रूप उचाइका आधारमा गतिविधिलाई सञ्चालनमा ल्याउन सकिन्छ । उच्चवर्ती भूभागको वातावरण तथा मानविय संस्कृति र निम्नवर्ती भूभागको वातावरण र मानवीय संस्कृतिमा रहेको विविधताको अध्ययन अवलोकनमा पर्यटकहरूले सहजरूपमा सहभागी हुन सक्ने अवस्था नेपालसित छ । जसले एकैसाथ पर्यटकहरूलाई दुई भिन्न वातावरणको अनुभव प्रदान गर्दछ । जसले छोटो दूरीमा यस किसिमका दुई अनुभववाट पर्यटकहरूलाई कम समयमै भिन्न भिन्न अनुभवको सँगालोमा पुर्याउँछ ।
त्यसैगरी तेस्रो विविधतामुखी पर्यटनलाई नेपाल र नेपालीको राष्ट्रिय जीवनमा उपस्थित भौतिक र सांस्कृतिक वातावरण जसमा विद्यमान आकर्षणलाई मुख्यतः पुँजीकृत गर्दा भूप्राकृतिक पर्यटन र भूसांस्कृतिक पर्यटन गरी दुई भागमा विभाजन गरी विकास गर्न सकिन्छ । भूप्राकृतिक पर्यटनलाई मुख्यरूपमा दुई क्रियाकलापमा विभाजन गरी विकास गर्न सकिन्छ । किनकि जुन क्रियाकलाप नेपालको पर्यटन विकासको आदि सत्य पनि हो । जसमा पहिलो स्थलीय पर्यटन र दोस्रोमा जलीय पर्यटन पर्दछ । भूसांस्कृतिक पर्यटनले मानवद्वारा विकसित वा सिर्जित पर्यटन गतिविधिलाई बुझाउँछ ।
भूउपयोगमा आधारित रहेर हुने पर्यटनका विभिन्न गतिविधिहरू जसलाई सांस्कृतिक पर्यटन पनि भन्न सकिन्छ । स्थानिक आधारमा विकास हुने पर्यटन क्रियाकलाप नै भूउपयोगमा आधारित पर्यटन हो र जसलाई भौगोलिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक आधारमा विभाजन गरी प्रवद्र्धन गर्न सकिन्छ । यसअलावा भूउपयोगमा आधारित पर्यटनअन्तर्गत मानिसद्वारा गरिएको प्राकृतिक स्रोतहरूको व्यवस्थापन जस्तै निकुञ्ज निर्माण लगायतका क्रियाकलाप पर्दछन् ।
अन्त्यमा,
भूपर्यटन स्थल विशेषले प्रदर्शित गरेको विशिष्ट आकर्षणमा आधारित स्थलीय पर्यटन गतिविधि हो । नेपालको पर्यटन विकासको संस्थागत विकास प्रयास नै भूपर्यटनमार्फत हुन गएको र स्थल विशेषमा रहेको भिन्नता र सो भिन्नताले सुरक्षित गरेको आकर्षणप्रतिको बढ्दो मानवीय लगावबाट नै नेपालमा पर्यटनको विकास विस्तार हुँदै आएको परिप्रेक्ष्यमा पर्यटनको संस्थागत विकासको उचाइले आधार पाएको हो र नेपालको पर्यटनको जीवन पनि यदि कहीँ छ भने भूपर्यटनमा नै रहेको तथ्यलाई बिर्सन मिल्दैन । भूपर्यटनको विकल्पमा नेपालको पर्यटनको विकास सम्भावनाको खोजीको प्रयास यदि कहीँ कतै गरिन्छ भने जसले प्रदान गर्ने लाभबाट राज्यले राखेको उद्देश्यअनुरूप प्रभावकारी नरहने र पर्यटन सीमित क्षेत्रभित्र अप्राकृतिक मानवीय गतिविधिमा सीमित हुने अवस्था मात्र रहन्छ ।
भूपर्यटनले दीगो पर्यटनको अवधारणालाई आत्मसात् गर्दै गन्तव्यस्थलको स्थानीय भूगोलभित्र कैद प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौगर्भिक अभिलेखप्रतिको महत्वलाई स्थापित गर्नुका साथसाथै विशिष्टीकरणसमेत गरिरहेको हुन्छ । जसका लागि नेपालमा पर्यटनको विषयमा बृहत् अध्ययनको खाँचो रहेको छ । जुन अध्ययनका लागि अपनाउनुपर्ने विधि संयन्त्र भनेको भूदृश्य वा भूसांस्कृतिक वातावरणको मूल्याङ्कनमार्फत पर्यटकीय आकर्षणहरूको सूक्ष्मतम अध्ययन गरी विभिन्न ठाउँमा पर्यटन तथा मनोरञ्जन सूचना केन्द्रको स्थापना गरी भूदृश्य मूल्याङ्कनका लागि परियोजनाको सञ्चालन गर्नुपर्दछ । उदाहरणका लागि, नेपालको नक्सालाई प्रत्येक २० किमिमा आधारित रहेर ठाडो तथा तेर्सो रेखाको आधारमा विभाजन गर्ने र रेखाहरू एकापसमा क्रस गर्ने विन्दुमा पर्यटन स्रोत पहिचानका लागि परिचालन गर्नुपर्ने परियोजनाको सञ्चालनका लागि पर्यटन सूचना केन्द्रको स्थापना गर्नु पर्दछ । फलस्वरूप पर्यटकीय आकर्षणका स्रोतहरूको एकीकृत पहिचान र निर्धारण गरी पर्यटन विकासको संस्थागत विकासमा सहयोग पुग्न सकोस् ।