संसदीय संवाददाता डायरी- ५
सदनभित्र अमिलो-पीरो अनुहारमा भीष्म पितामह
एमाले अध्यक्ष मनमोहन अधिकारी भन्दै थिए, ‘सत्ता प्राप्ति निम्ति जस्तो हत्कण्डा प्रयोग गर्ने ‘कुसंस्कार’ छाड्नुपर्छ ।’ २०५३ फागुन २३ मा जब शेरबहादुर देउवा सरकार विश्वासको मत लिन नसकेपछि गिर्यो तब नयाँ सरकारका निम्ति चरम ‘चलखेल’ तीव्र बन्यो । एमाले सत्तारूढ हुने दौडमा तालमेलको हात बढाउँदै थियो । एमालेको रोजाइमा राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकेन्द्रबहादुर चन्द समूह पर्यो ।
अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्रबहादुर चन्दलाई शिरमा चढाउन राजी थिएनन् । तर वृद्ध नेता अधिकारीका ‘कुरा’ कसले सुन्ने ?
अन्ततः एमाले चन्दलाई प्रधानमन्त्री बनाउन राजी भयो । देउवा सरकार गिरेको चार दिनपछि अर्थात् २०५३ फागुन २७ मा पञ्चायतका अन्तिम प्रधानमन्त्री चन्दलाई सात वर्ष नपुग्दै एमालेले शिरमा चढायो ।
त्यो दृश्यसँगै एमालेका एकथरी नेता÷सांसदहरू रौसिए । अर्काथरी पीरो अनुहार लगाउँदै मौन रहन बाध्य भए । सँगै त्यस्तो परिस्थितिमा अँध्यारो मुख लगाउनुको विकल्प वृद्ध नेता अधिकारीसँग थिएन ।
सबभन्दा अनौठो दृश्य चाहिँ चन्दले विश्वासको मत लिँदाका दिन देखियो । जसबारे संसद्भित्र हल्का टिप्पणी र अलि फरक माहौल पनि पैदा भयो ।
त्यो दिन थियो, २०५३ चैत ६ को मध्यान्ह ।
चन्द नेतृत्वमा एमाले सत्तारूढ भएसँगै सदनभित्रको दृश्यमा फेरबदल हुने नै भयो । त्यो दिन एमाले अध्यक्ष अधिकारीलाई अधिक ‘अप्ठ्यारो र असहज’ भएको दृश्य सदनभित्र घोचपेच-टीकाटिप्पणीका निम्ति मसला बन्यो, जब अधिकारी सत्तारूढ बेञ्चको सातौँ लहरमा बस्न पुगे ।
यद्यपि संसद्भित्र सत्तारूढ पूर्वप्रधानमन्त्रीका निम्ति अघिल्तिरै ‘साइड’मा ‘छुट्टै कर्सी लहर’को व्यवस्था थियो । उता विपक्षीतिर पनि पूर्वप्रधानमन्त्रीका निम्ति त्यसरी नै साइडमा कुर्सी राखिएको थियो । विपक्षीतिर भर्खरै प्रधानमन्त्री निवृत्त भएका शेरबहादुर देउवा बस्ने भए, प्रमुख विपक्षी नेताको कुर्सीमा गिरिजाप्रसाद कोइराला बसेपछि ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेको गठबन्धन भएसँगै सत्तारूढ पूर्वप्रधानमन्त्रीको लहरमा सूर्यबहादुर थापा बस्न पुगे । थापासँगै जोडिएर पूर्वप्रधानमन्त्रीको हैसियतमा अधिकारीलाई बस्ने व्यवस्था थियो । संसद् सचिवालयलले मर्यादाका खातिर पूर्वप्रधानमन्त्री र उपसभामुखका ‘मर्यादित कुर्सी’ मिलाएको थियो । पूर्वप्रधानमन्त्री पछिल्ला बेन्चमा बस्न नसुहाउने ठहरमा सचिवालय थियो ।
त्यो दिन थापासँगै पूर्वप्रधानमन्त्रीको कुर्सीको लहरमा बस्न वृद्ध अधिकारी अघिल्तिर गएनन् । सत्तारूढ बेन्चको सातौँ लहरको छेउमा खुसुक्क बस्न खोज्दै थिए । एमाले सांसद् हिक्मतबहादुर शाही चाहिँ अधिकारीलाई अगाडि राख्न खोज्दै थिए । तर अधिकारीले मानेनन् । आफैँ लहर गन्दै सातौँ लहरमा बस्न पुगे, जहाँ एमालेका सांसद धु्रवराज लम्साल बसिरहेका थिए । लम्साललाई पर सर्न निर्देशन दिँदै सातौँ लहरमा टुसुक्क बसे । त्यो दृश्य अलि असहज नै थियो ।
सत्तारूढ र विपक्षी सांसदहरू अधिकारीको अनुहार हेर्दै थिए । सबभन्दा अप्ठ्यारो स्थिति त्यतिखेर पैदा भयो, जब एमालेकै सांसदहरू अधिकारीभन्दा अघिल्ला बेन्चमा बस्न पुग्थे । आफ्ना अध्यक्ष पछिल्तिर बसेको देखेपछि तिनमा एकाएक ‘सकस’को स्थिति पैदा हुन्थ्यो । तिनीहरू कुर्सीमा बसिसकेपछि पछिल्तिर अधिकारीलाई देख्थे । अनि तिनीहरू पनि आफ्नो कुर्सी छाड्दै अधिकारीभन्दा पछाडि बस्न पुग्थे ।
अघिल्ला बेन्चमा बसिरहेका झलनाथ खनाल, सीपी मैनाली, विद्यादेवी भण्डारीले अधिकारीलाई अघिल्लो लहरमा बस्न निकै कसरत गरे । तर अधिकारी मानेनन् । अघिल्ला बेन्चमा सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरू थिए । राप्रपासँग अनुहार जोड्दै बस्न अधिकारीलाई ‘सकस’ परेको अनुभूति हुन्थ्यो ।
उता सत्ताबाट विपक्षी कुर्सीमा पुगेका कांग्रेस सांसदहरू पनि अप्ठ्यारै परिस्थितिमा थिए । उनीहरू सदनको माहौल अलि तताउन ‘हँसीमजाक’ गर्ने माहौल खोजिरहेका थिए । अनि मनमोहन अधिकारी त्यति ‘पछि’ बसेको देखेपछि तिनलाई जिस्काउने ‘मसला’ मिल्यो नै । अधिकारीलाई ठट्यौलो पारामा जिस्काउँदै प्रतिपक्षी कुर्सीमा कांग्रेसी सांसदहरू अभ्यस्त हुँदै थिए ।
हुन पनि चन्दको आगमनसँगै अठार महिनापछि सत्ताबाट प्रतिपक्षी कुर्सीमा पुगेको कांग्रेस सांसदहरू ती कुर्सीसँग अभ्यस्त भइसकेका थिएनन् । ‘अध्यक्षज्यूभन्दा अघिल्तिर बसेका सांसदहरू जति सबै मन्त्री हुने सूचीका हुन् कि ?’ कांग्रेस सांसदहरूको ठट्यौलो प्रश्नसँगै सदन हाँसोमा गुन्जियो नै, ‘अध्यक्षज्यू नै यसरी यति पछाडि बस्नुको राजनीतिक अर्थ के हो ?’
कांग्रेस सांसदहरूले जिस्काइरहेपछि राजनीतिलाई महाभारतसँग जोड्ने कलामा पारंगत प्रदीप गिरिले त भाषणकै विषय बनाए । उनले अधिकारीलाई महाभारतकालीन भीष्म पितामहसँग जोडे ।
संसद्भित्र महाभारतको व्यंग्यात्मक वर्णनसहित गिरिले भने, ‘भीष्म पितामहलाई विरोधी भएर लड्दा असत्यवादी दुर्याेधनको अनुहार देख्नुपर्ला भन्ने लाग्यो । दुर्योधनकै पक्षबाट लड्दा सिधै दुर्याेधनको अनुहार देख्नुपर्दैन थियो । किनभने दुर्योधन आफ्नै अघिल्तिर हुने भए ।’
गिरिको व्यंग्यमिश्रित शब्द थियो, ‘संसद्भित्रको दृश्य हेर्दा कम्युनिस्ट आन्दोलनका भीष्म पितामह अधिकारीलाई त्यस्तै स्थिति आइपरेको छ । आदरणीय नेता अधिकारी पनि भीष्म पितामह जसरी नै पीडामा हुनुहुन्छ ।’
गिरिको व्यंग्यले धेरैको ध्यान खिच्यो नै ।
उता, आफूसँगै र आफ्नै ठाउँमा अधिकारी बस्न नआएको दृश्य सूर्यबहादुर थापालाई पचिरहेको थिएन । उनी पनि के बाँकी छाड्थे र ? सदनमै भने, ‘हेर्नाेस्, अब एमालेले हाम्रो पार्टी राप्रपालाई पतिका रूपमा वरण गरिसकेपछि ‘गर्लफेन्ड’ जस्तो नक्कली व्यवहार किन ?’ उनको यो प्रश्नले संसद् तात्ने नै भयो ।
चन्द प्रधानमन्त्री भएकामा सबभन्दा ‘असन्तुष्ट’ उनै थापा थिए । उनी सत्तापक्षलाई समर्थन गर्न बाध्य थिए । उनी एक साता अघिसम्म देउवालाई जसरी भए पनि प्रधानमन्त्रीकै कुर्सीमा राख्न थापाले भए-भरको शक्ति लगाएका थिए । थापाले भने, ‘आज म हर्षले विभोर भएको छु, एमालेको क्रान्तिको प्रतीकका रूपमा राप्रपालाई पाउँदा । हामीलाई गनाउने लास भन्दै हुनुहुन्थ्यो, आज सुगन्धी श्रीखण्डको चन्दन जसरी निधारमा लगाएको हुँदा म अत्यन्त खुसी भएको छु ।’
उता एमालेका दस्तावेजहरूमा चाहिँ राप्रपाका हकमा ‘प्रतिक्रियावादी-पुनरुत्थानवादी’को संज्ञासहित आलोचनाका प्रशस्त शब्द पोखिएका थिए । ‘अब एमालेको ‘पति’ राप्रपा भएपछि किन त्यस्तो शब्द राख्ने ?’ थापाले सदनमा एमालेप्रति व्यंग्य कसिरहेको दृश्य सत्तारूढ एमालेजनका निम्ति पीरो बनेको थियो ।
त्यसो त, थापामा अनौठो शैली थियो, पूर्वप्रधानमन्त्री भए पनि बेलाबखत सांसदहरूसँग आपत्ति-नियमापत्तिमा उत्रन्थे । बुढेसकालमै भए पनि थापा चर्कै स्वरका धनी थिए । त्यो दिन थापाले एमालेप्रति व्यंग्य कुनै कसर बाँकी छाडेनन् ।
हुन पनि एमालेले राप्रपा शिरमा राखेपछि राप्रपा ‘पवित्र’ बन्यो । त्यसपछि संसद्मा राप्रपाविरुद्ध कसैले बोल्यो भने उनै थापा तत्कालै प्रतिवादसँगै धम्कीपूर्ण स्वरमा भन्थे, ‘शिशाको घरमा बसेर अरुको महलमा ढुंगा नहानियोस् ।’
चन्दलाई शिरमा राख्नुपर्दा क्रान्तिकारी एमालेजनका निम्ति सहज थिएन । एमाले यतिखेर जसरी ‘परिवर्तित’ भइसकेको पनि थिएनन् । एमाले ‘द्विविधा’कै स्थितिमा थियोे । त्यतिखेरम्म उसका पाइला सत्ता र सुख-भोगी चरित्रतिर भर्खरै मात्र अघि बढ्दै थियो । एमालेसँग केवल नौ महिने सत्ता-अनुभव मात्रै थियो ।
त्यसो त, एक-दुई वर्षअघिसम्म पनि एमालेले नेतृत्वले ‘कोक’ पिउने नेता÷कार्यकर्तालाई साम्राज्यवादी कित्तामा उभ्याउँदै थियो । अनि अमेरिका भ्रमण गएका तीन सांसदलाई ‘साम्राज्यवादीको भड्काउ’मा लागेको अभियोगसहित अनुशासनको डन्डा मात्र लगाएकै थियो र पार्टीबाट सांसद निलम्बन गरेको पृष्ठभूमि पनि आलै थियो ।
चन्दलाई शिरमा राख्नुपर्दा एमालेका केही सांसदहरूले शब्द ‘क्वाइन’ गरेका थिए, ‘अन्तरआत्माको आवाज सुनौँ ।’ उनीहरूले ‘अन्तरआत्माको आवाज’ सुन्दै चन्दलाई विश्वासको मत दिँदैनन् कि भन्ने धेरैलाई लागेको थियो । चन्दसँग सरकार बनाउन जति वामदेव गौतम लालयित थिए, त्यति केपी शर्मा ओली थिएनन् । त्यो दिन ओली पनि अन्तिम कुर्सीमा बसेका थिए । त्यो कुर्सीमा बस्नुमा उनको असन्तुष्टि जाहेर हुनु थियो ।
त्यो दिन ओली र ‘अन्तरआत्माको आवाज सुनौँ’ समूहका सांसदहरू चाहिँ अन्तिम समयमा मतदानमा गएका थिए । ‘अन्तरआत्मा’मा चुकुल लगाउँदै चन्दलाई मत दिए । सँगै चन्दले ११३ मतसहित संसद्बाट विश्वासको मत पाए । उनलाई आवश्यक संख्याभन्दा दश बढी मत प्राप्त भयो । उनलाई एमाले, राप्रपा, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टीले मत दिएका थिए । कांग्रेस र मसाल समर्थित दुई सांसदको मत विपक्षतिर पर्यो, अर्थात् ८५ मत विपक्षमा ।
अनौठो चाहिँ नारायणमान बिजुक्छेको नेपाल मजदूर किसान पार्टीले देखायो । चन्दप्रति ‘आलोचनात्मक समर्थन’ दर्ज गर्न दुई सदस्यमध्ये एक मत मात्र पर्यो । अर्थात्, बिजुक्छेले आफू बहिष्कार गर्दै आशाकाजी बासुकलालाई चन्दको पक्षमा मतदान गर्न पठाए । उनी कुर्सीमा बसिरहेको दृश्यसँगै सभामुख रामचन्द्र पौडेलको आग्रह आइरहेको थियो, ‘कोही छुट्नु भएको छ भने मतदान गर्न जानुस् ।’ उता बिजुक्छेको जवाफ रह्यो, ‘आधा मतदान गर्ने र आधाले नगर्ने ।’
संसद्भित्र महाभारतको व्यंग्यात्मक वर्णनसहित गिरिले भने, ‘भीष्म पितामहलाई विरोधी भएर लड्दा असत्यवादी दुर्याेधनको अनुहार देख्नुपर्ला भन्ने लाग्यो । दुर्याेधनकै पक्षबाट लड्दा सिधै दुर्याेधनको अनुहार देख्नुपर्दैन थियो । किनभने दुर्याेधन आफ्नै अघिल्तिर हुने भए ।’
बिजुक्छेको कांग्रेस-एमाले दुवैसँग तिक्ततापूर्ण सम्बन्ध थियो । कारण थियो, दुवै पार्टीले उनका सांसद चोर्नु । बिजुक्छेका एक सांसद भक्तबहादुर रोकाया कांग्रेसतिर मोहित हुँदै राज्यमन्त्री बनिसकेका थिए, अर्का विनोदकुमार शाह चाहिँ एमालेमा प्रवेश ।
देउवा सरकार गिरेपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला स्वयं पनि प्रधानमन्त्रीमा ‘अति इच्छुक’ थिए । त्यसैका खातिर कांग्रेस संसदीय दलको नेताबाट देउवालाई पाखा लगाउँदै कोइराला आफैँ नेता बनिसकेका थिए । देउवालाई ‘कार्यवाहक सभापति’को लोभ देखाउँदै फकाएका थिए । त्यही वचनमा लोभिँदै देउवा संसदीय दलको नेताको प्रतिस्पर्धामा उत्रिएनन् । कोइराला ‘सर्वसम्मत’ नेता बने ।
तर पछि कोइराला पनि प्रधानमन्त्री हुन सकेनन् । उता देउवाले त्यसरी नै ‘कार्यवाहक सभापति’ पनि पाएनन् ।
कोइराला ‘१०३’ संख्यातिर लाग्दा-लाग्दै एमालेले लोकेन्द्रबहादुर चन्दलाई उचाल्यो । कोइराला प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्नु अगावै चन्द ‘आशीर्वाद’ थाप्न कोइराला निवास पुगे । राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोगबेगर ‘सरकार’ बन्न सक्ने अवस्था नै थिएन ।
कोइरालाले एमालेसँगै समीकरण-वार्ता गरेका थिए । तर एमालेले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने अड्डी लिएपछि कोइरालाको प्रधानमन्त्री सपना अधुरै रहेको थियो । चन्दले विश्वासको मत लिइरहँदाका बखतमा प्रमुख विपक्षी नेता कोइरालाले एमालेसँग तिक्तता पोखे ।
कोइरालाले एमालेसँग प्रश्न गरे, ‘एमाले मित्रहरू, कसको दबाबमा परेर चन्दलाई प्रधानमन्त्री स्वीकार गर्नुभएको हो ? आफैँ प्रधानमन्त्री नेतृत्व नलिई किन चन्दलाई बनाउनुभयो ? चन्द सरकारले जनआन्दोलनको मर्मको उचित प्रतिनिधित्व गर्न सक्छ ?’ कोइरालाको प्रश्नमा एमालेबाट जवाफ फर्किएन ।
चन्द प्रधानमन्त्री हुँदै गर्दा कांग्रेसभित्र पनि लफडा मच्चिएको थियो । देउवाले अरुका कारण नभएर आप्mनै पार्टीका ‘दुई सांसद’का कारण प्रधानमन्त्री गुमाएका थिए । देउवा २०५३ फागुन २३ मा आफ्नै पार्टीका दुई सांसद चक्रबहादुर शाही र दीपकजंग शाह ‘मतदान’का एकाएक भूमिगत भएपछि पद गुमेको थियो । ठकुरी परिवारका सम्पन्न व्यक्ति शाहलाई चुनावमा टिकट पनि उनै देउवाले दिलाएका थिए । उतिखेर कांग्रेसी वृत्तमै आएको टिप्पणीमा, ‘शाहकी श्रीमतीसँग देउवाले टिका लगाउँथे । तर उनैबाट धोका पाए ।’
त्यो सरकार गिराउन ‘भूमिगत भूमिका’मा पार्टी सभापति कोइराला संलग्नता शंका-आशंकाले कांग्रेसी घरहरू पनि रन्किरहेका थिए । आम तहमा दुई सांसद हराउनुमा कोइरालालाई दोष-अभियोग लगाइयो । कोइराला समूहले प्रतिवाद गर्यो, ‘झूठा अभियोग हो ।’
संसदीय राजनीतिमा अन्तिममा ‘डुबाउने चाहिँ सधैँभरि’ आफ्नैले हो । पार्टी र दलमा गुट बलियो बनाउन उत्साहित हुने नेताहरूले नबुझेको तथ्य हो, ‘तिनीहरू अवसर निम्ति गुटमा भित्रिएका हुन्, तिनले अवसर नआउने देखेपछि सजिलै परिवर्तन गछन् ।’
नेपाली राजनीतिमा त्यसरी गुट फेरबदल गर्दै अनि नाफा-अवसर लिँदै गुटका मालिकलाई धोका दिनेको मति र संख्या उतार्ने हो भने ठेली नै बन्छ ।