कांग्रेस महाधिवेशन र नेतृत्वको चर्चा

गोविन्द बीसी | असोज २, २०७८

बदलिँदो परिवेशमा नेतृत्वको बहस र चर्चा प्रायः चलिरन्छ । नेपाली कांग्रेस अहिले आन्तरिक नेतृत्व चयनको प्रक्रियामा छ । देशभर कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनको सरगर्मी चलिरहेका बेला उम्मेदवारी घोषणा र नेतृत्व चयन हुँदैछ । पार्टीको सांगठनिक संरचनाको बलियो आधारशीला वा मेरुदण्ड मानिने सबैभन्दा तल्लो तह वडादेखि नयाँ नेतृत्व चयनसँगै जिम्मेवारी हस्तान्तरण प्रक्रिया गरिँदैछ । 

वडा अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरू स्थानीय तहमा पालिका अधिवेशन, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशनमा सहभागी हुने र नेतृत्व चयन प्रक्रियामा प्रत्यक्ष संलग्न हुनेछन् । त्यस्तै, केन्द्रीय नेतृत्वका लागि मताधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्न वा छान्न क्षेत्रीय प्रतिनिधिहरू निर्णायक हुनेछन् । 

कांग्रेस वृत्तमा महाधिवेशनको सरगर्मी चलिरहँदा विभिन्न जिल्लामा युवापंक्तिले नेतृत्व तहमा अग्रसरता लिन थालेको विषयले चर्चाले पाइरहेको छ । पार्टीको नेतृत्व छनोट प्रक्रियामा अत्यन्तै प्रभाव राख्ने प्रारम्भिक चरणको अधिवेशनबाट कतिपय स्थानमा अधिकांश युवाहरू वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको परिणाम हेर्दा २५ वर्षमुनिकै युवाहरू पनि कांग्रेसको स्थानीय तह अन्तर्गतको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । कार्यसमिति र क्षेत्रीय प्रतिनिधिको झण्डै ६० प्रतिशत हिस्सा ४० वर्षभन्दा कम उमेरका नेताहरुले ओगटेका छन् । 

सात दशकभन्दा लामो गौरव र संघर्षमय राजनैतिक इतिहास बोकेको नेपाली कांग्रेस महाधिवेशनको संघारमा आइपुग्दा राजनैतिक असन्तुष्टि र प्रतिस्पर्धालाई द्वन्द्व र विभाजनबाट होइन, लोकतान्त्रिक विधिबाट समस्या हल गर्ने अठोट लिएर अघि जानु कांग्रेसका लागि उपयुक्त मार्गदिशा हुन सक्दछ । 

हालसम्म सम्पन्न वडा तहको अधिवेशनका क्रममा सर्वाधिक चर्चामा आएका केही प्रतिनिधिमूलक घटनालाई हेरौं । 
जस्तैः दैलेखको दुल्लु नगरपालिका वडा नम्बर–३ बाट वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत निर्वाचित भइन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ की २१ वर्षीया पूजा फुयाँल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भइन् । त्यस्तै, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ बाट जिल्लामै सबैभन्दा कम उमेरका हलिम खान १८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधि चयन भए । तनहुँको म्याग्दे गाउँपालिका–५ का १९ वर्षीय जुपिटर वाग्ले कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए, सल्यानको बनगाड कुपिन्डे नगरपालिका–७ को वडा कार्यसमितिको उप–सभापतिमा सुसन केसी निर्वाचित भए । सार्वजनिक सञ्चारमाध्यमबाट चर्चामा आएका यी केही प्रतिनिधिमूलक घटनाहरू अध्ययन र विश्लेषणका विषय बन्न सक्दछन् । 

त्यसैगरी, प्युठान जिल्लाबाट बीएस्सी फिजिक्स पढ्दै गरेकी २२ वर्षीया प्रतिभा पौडेल र कास्कीबाट २५ वर्षकी इन्जिनियर विद्या बराल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिको रूपमा विजयी भएका छन् । अधिकांश विद्यार्थी राजनीतिमा सक्रिय युवाहरू कांग्रेसको स्थानीय अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यसबाट के बुझ्न सकिन्छ भने, युवाहरूको नेपाली राजनीतिमा प्रवेश र आकर्षण बढ्दो छ । नेपाली राजनीतिमा युवाको आकांक्षा बढ्दै जानुले व्यवस्थाभन्दा अवस्था र नेतृत्वको कार्यशैलीप्रतिको वितृष्णा र अविश्वास हो । 

अहिलेको युवा पिढीले पुस्तान्तरण मात्रै होइन, नेतृत्वबाट दृढ संकल्पसहित परिवर्तन र रूपान्तरणको मार्गदिशा खोजिरहेको छ । तर, युवा नेतृत्व भनेर मात्रै सबै उपलब्धीको रक्षा र सम्मान हुँदैन । त्याग, तपस्या र संघर्षमय इतिहास बोकेका पुराना नेताकार्यकर्तालाई पन्छाएर अघि जानु हुँदैन ।

कांग्रेसको केन्द्रीय नेतृत्व तहमा ६० देखि ७५ वर्ष उमेर समूहका नेताहरू फेरि पनि गुटउगुट सृजना गरी नेतृत्व सम्हाल्ने होडबाजीमा छन् । वीपी कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको हिमायती कांग्रेसभित्र विभिन्न गुटका हाँगाहरू झाङ्गिदै छन् । 

यो अवस्थामा एकातिर राष्ट्रिय राजनीतिको मूलप्रवाहमा एजेन्डा स्थापित गर्न आन्तरिक चुनौती छ, अर्कोतिर नेता-कार्यकर्तामा भावनात्मक एकता, सद्भाव र मेलमिलाप बिग्रदै जाने देखिन्छ । नेपाली कांग्रेसको विधानले दिएको भन्दा २ वर्ष बढी अर्थात् ६ वर्षसम्म कांग्रेसको नेतृत्व सम्हाल्दा महाधिवेशन हुने नहुने आशंकाका बीचमा सुरु भएको छ । अझैसम्म क्रियाशील सदस्यता विवाद टुंगोमा लाग्न सकेको छैन । नेपाली कांग्रेसको विधानमा सदस्यता प्राप्त गरेको एकवर्ष पुगेपछि क्रियाशील सदस्यता लागि आवेदन दिन पाउने व्यवस्था र प्रत्येक ६ महिना सदस्यता विवरण अद्यावधि गर्नुपर्ने प्रावधान छ यो कार्यान्वयन हुन सकेन । 

पार्टीका भातृ तथा शुभेच्छुक संस्था विधानत: समयमै विस्तार हुन सकेनन् । दसौं वर्षदेखि तदर्थवादमा चलेका भ्रातृ संस्थाको अधिवेशन गराउनसमेत अग्रसरता देखाएनन्। आफैं अधिवेशन गर्न भ्रातृ संस्था स्वायत्त छैनन्। पार्टी नियन्त्रणले थिचिएका नेविसंघ, तरुण दललगायत भ्रातृ संस्था अहिले नेतृत्वको निगाहमा प्रत्येक ६ महिना म्याद थप्दै चलेको स्थितिमा छन्। 

पार्टीलाई चलायमान बनाउने विभागहरू पार्टी सभापति शेरबहादुर देउवाको चारवर्षे कार्यकाल सकिँदासम्म गठन भएनन्। आधाजसो विभाग कार्यकाल सकिएर महाधिवेशनको तिथि घोषणा भइसकेपछि गठन भए तर विवादका कारण तिनले पनि काम गर्न सकेनन्। 

स्वतन्त्रता‚ समानता‚ पहिचान‚ समावेशीता‚ समन्याय‚ मानवअधिकार‚ लोकतन्त्र‚ समाजवाद जस्ता वैचारिक एवं सैद्धान्तिक अवधारणाहरूले राजनीतिक, सामाजिक र आर्थिक क्रान्तिका माध्यमबाट परिवर्तनको दिशाबोध गर्‍यो । 

यी अवधारणालाई आत्मसात गर्दै सात दशकभन्दा लामो गौरव र संघर्षमय राजनैतिक इतिहास बोकेको नेपाली कांग्रेस महाधिवेशनको संघारमा आइपुग्दा राजनैतिक असन्तुष्टि र प्रतिस्पर्धालाई द्वन्द्व र विभाजनबाट होइन, लोकतान्त्रिक विधिबाट समस्या हल गर्ने अठोट लिएर अघि जानु कांग्रेसका लागि उपयुक्त मार्गदिशा हुन सक्दछ । 

यहाँ भावी नेतृत्वमा आवश्यक केही गुण र विशेषताको चर्चा गरौं :

विश्वासयोग्य, क्षमतावान नेतृत्व : 

वैचारिक रूपले आत्मनिर्भर नेतृत्व संगठनमा चाहिन्छ । विश्वासिलो, भरोसायोग्य, सक्षम नेतृत्वका लागि उसको उमेर, अनुभव, समय, योग्यता र योगदानमा भरपर्छ । नेपाली कांग्रेसको महाधिवेशनमा सबै तहका संगठनात्मक संरचनामा नेतृत्वका आकांक्षी पनि धेरै छन् तर, कार्यक्षमताको मूल्यांकनका आधारमा व्यवस्थापन गर्नुपर्ने अवस्था छ । कांग्रेसलाई सम्पूर्ण नेपालीको विश्वासयोग्य र भरोसायोग्य बनाउन क्षमतावान्, ऊर्जावान्, गतिशील र वैचारिक नेतृत्व चाहिन्छ। केही अनुभव, कुशलता र दक्षता हासिल गरेको नेतृत्वले मात्रै सहि मार्गदिशामा लैजान सक्दछ । जिम्मेवारी लिनु सरल विषय होइन, यो बौद्धिक शक्ति, सामर्थ्य र व्यावहारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । 

चुस्तदुरुस्त संगठन :

सही ठाँउमा सही मानिसको व्यवस्थापन भए मात्रै पार्टी तथा संगठनलाई चुस्तदुरुस्त राख्न सकिन्छ । पार्टी संरचनालाई वैज्ञानिक र प्रभावकारी बनाउनु आजको आवश्यकता हो।
त्यसैले, नेतृत्वमा निर्णय गर्न सक्ने क्षमता, इच्छाशक्ति, डर व्यवस्थापन, भावनात्मक विकास, दीर्घकालीन सोच, लक्ष्य निर्धारण, तथ्य वा विषयगत ज्ञान, अध्यननशील, सामूहिक कार्य, वक्तव्य वा तार्किक क्षमता आदि चाहिन्छ ।

एजेन्डा केन्द्रित : 

नेपाली कांग्रेसले शान्ति र संविधान दिएर देशको राजनीतिक नेतृत्व सम्हाल्यो । संविधानसभा निर्वाचन सम्पन्न गरि ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि हो । विकास निर्माण र समृद्धिको लक्ष्य हासिल गर्न कांग्रेसका लागि अवसर र चुनौती दुवै छ । नेपालमा आजसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेको कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत र रक्षार्थ भूमिका खेल्नुपर्ने अवस्था छ । राजनीतिक परिवर्तनको मूलधारबाट दीगो शान्ति, स्थायित्व र आर्थिक क्रान्ति सृजना गरेर विकासशील राष्ट्रको रूपमा अघि बढाउने लक्ष्य कांग्रेसका सामु चुनौती छ ।

कार्यशैलीमा सुधार : 
राजनैतिक दल नीति, विधि र पद्धतिमा चल्न जरुरी छ ।  विभिन्न समय भएका सहमति, सम्झौता र परिवर्तनलाई जीवन्त राख्नु जरुरी छ । आन्तरिक रूपमा पटकपटक विभाजन र एकताले जनताको जनमतको रक्षा हुन नसकेको आलोचनात्मक हुन थालेका छन् । त्यसैले, नेतृत्वशैलीको सुधार र विकास गरी तदनुकूल पार्टी गतिविधि अघि बढाउनुको विकल्प छैन।

राजनीतिक दलले आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक गतिविधि अघि नबढाउँदासम्म राज्यका अन्य गतिविधिहरू पनि अघि बढ्ने सम्भावना छैन। तसर्थ, राजनीतिक दलले अगुवाइ गर्ने, राज्यका अन्य निकायहरूलाई पनि समयसापेक्ष आफ्ना गतिविधि अघि बढाउन प्रेरित गर्ने कार्यले मात्रै समग्र राज्यको लोकतन्त्रको रक्षा गर्न सम्भव हुनेछ र समाजवादी लोकतन्त्र स्थापना गर्न पनि सम्भव हुनेछ।

व्यावहारिक विज्ञानमा अनुसन्धान गर्ने त्रिविको संस्था हाल कहाँ छ ?

व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान (व्याविप्रअ) केन्द्र यही भदौ २३ गतेदेखि ४५ वर्षे भएको छ । यसको स्थ...