नेपाली क्रान्तिको शान्तिपूर्ण विकासबारे

शेरबहादुर विश्वकर्मा | कात्तिक १, २०७८

शान्ति अर्थात् एउटा प्रिय शब्द । निश्चय नै मानिसले शान्ति, सुख, सहजता र सुगमताका लागि अनादिकालदेखि पर्यन्त गर्दै आएको छ । मानवीय जीवनका उत्कन्ठालाई कार्यरूप दिन, मानवीय तृप्ति र जीवनका प्राकृतिक आवश्यकता पूर्ति गर्न प्रकृतिसँगको विजयपछि अन्तरमानवीय संघर्षको प्रारम्भ हुन्छ । त्यसले कैयौँ पटक ध्वंश, विनाश र विपत्ति निम्त्याएको छ । मानव जाति र सभ्यतालाई हायलकायल पारेको छ ।

विद्धानहरूले आजसम्मको मानव सभ्यताको आधुनिक इतिहासका झण्डै पन्चानब्बे प्रतिशत दिनहरू युद्ध, क्रान्ति, आन्दोलन र संघर्षका दिनहरूमा व्यतित भएको कुरा स्वीकार गरेका छन् । यी शब्दहरू आफैँमा अप्रिय लागे पनि यसबाट अलग रहन करिब मुस्किल प्रायः छ । 

इतिहासमा क्रान्ति र क्रान्तिकारी आन्दोलनहरू किन हुन्छन् ? के यसले नयाँ समाज जन्माउन अनादिदेखि अनन्तसम्म सकारात्मक परिणाम मात्रै ल्याउँछ त ? हामीले जतिसुकै पटक तिरस्कार गरे पनि क्रान्ति–बल प्रयोग किन अपरिहार्य छ, के यसको आफ्नो छुट्टै विज्ञान छैन त ? यी प्रश्नहरूमा घोल्लिरहँदा सवाल के उठ्छ भन्दा के मानव जातिको अस्तित्वका लागि क्रान्ति नभई नहुने विषय हो ? होइन यसको त आफ्नो विज्ञान छ ।

जसरी संसारका सबै पदार्थहरूको एउटा खास उपदेयता हुन्छ, जसरी सबै वस्तु–पदार्थहरूको आयु अर्थात् उद्भव, विकास र मृत्यु/नयाँ पदार्थमा रूपान्तरण हुन्छ त्यसरी नै क्रान्ति र क्रान्तिकारी आन्दोलनको विकास प्रक्रियामा बल प्रयोगको सिद्धान्तको पनि निश्चित प्रकारको उपयोगिता सान्दर्भिकता र आयु छ । कुनै पनि वस्तु र विचारको सर्वोपरि अस्तित्व हुन्न र छैन पनि । 

एकथरि मानिसहरू क्रान्ति र बल प्रयोगको भूमिकाबारे कुराहरू सुन्ने बित्तिकै उनीहरू यसबाट आत्तिन्छन् । भाग्छन् । तर्सिन्छन् र, यसको वस्तुपरक नियमबाट अलग्गिन खोज्छन् । यसलाई एउटा पापकर्म ठान्छन् । अन्ततः आफूहरू समाजशास्त्रको विकासका आमनियमहरूबाट निरपेक्ष रहेको ढोङ्ग गर्छन् र एक जोडी परेवा उडाउँछन् । 

हामीले विचार गर्नुपर्ने कुरा के हो भने निजी सम्पत्ति, वर्ग, वर्गीय शोषण र राज्यसत्ताको उत्पत्ति भएपछि पछिल्ला साढे पाँच हजार वर्षदेखि मानिसले कुनै न कुनै प्रकारका क्रान्ति, विद्रोह र युद्धसँग अनिवार्य रूपमा जोडिनु परेको छ भने आजपर्यन्त यसबाट उसले आफूलाई अलग गर्न सकेको छैन । बरु यी सबै लडाईंहरूलाई हामीले कसरी मूल्याङ्कन गर्ने र यसबाट स्थायी रूपमा पार पाउने बाटो के हुन सक्छ भन्नेबारे विचार गर्ने कि ?

युद्ध र शान्तिबारे एक जना जर्मन सैन्य विशेषज्ञ क्वाजवीजले त ‘युद्धलाई राजनीतिकै जारी रूप हो’ भनी अथ्र्याएका छन् । माओत्सेतुङले ‘युद्ध रक्तपातविहीन राजनीति हो भने राजनीति रक्तपातविहीन युद्ध’ को संज्ञा दिएका छन् । 

‘प्रत्येक पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउन बल (फोर्स) ले धाइको काम गर्छ ’ -कार्लमाक्स (पुँजी भाग १ पृष्ठ : ७७६)

यी मान्यताहरूका आधारमा हामी एउटा निचोड के निकाल्न सक्छौं भने यी दुईटा विपरीतार्थक लाग्ने शब्दको साल र नाल अविभाज्य रूपमा जोडिँदै आएको छ । समाजमा वर्ग, वर्गीय उत्पीडन र वर्गीय शोषणको रक्षाकवचको रूपमा राज्यसत्ता भन्ने एउटा अमृर्त संस्था छ, यो रहेसम्म यसबाट उन्मुक्तिका लागि मानिसले हरदम चेस्टा गरिरहन्छ । यसले एउटा क्रान्ति सँगसँगै नयाँ सभ्यता र सिर्जना लिएर आउँछ । यो नै ऐतिहासिक भौतिकवादी सिद्धान्तको एउटा मान्यता हो । तर सबै क्रान्ति र युद्धहरूले सदा नै अग्रगामी नतिजा नै लिएर आउँछन् भन्ने छैन । यसको उद्देश्य, वर्गस्वार्थ र चरित्रको आधारमा हरेक संघर्षहरूलाई न्यायपूर्ण र अन्यायपूर्ण गरी दुई भागमा बाँड्न सकिन्छ । हामी अन्यायविरुद्ध न्याय, शोषण–दमनविरुद्ध मुक्ति र यथास्थितिविरुद्ध परिवर्तनको लडाईंका समर्थक हौँ ।

नेपालमा तत्कालीन केपी शर्मा ओली सरकारसँग २१ फागुन २०६८ मा विद्रोही नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति गरेपछि र कामलाई जनतासँग जोड्ने गरी अगाडि बढेपछि नेपालमा उठिरहेको क्रान्तिकारी झण्डाप्रति स्वभावविक रूपमा केही प्रश्नहरू उठेका छन् । खासगरी पार्टीले जनमत संग्रहको राजनीतिक कार्यनीति वरिपरि आफूलाई केन्द्रित गरेपछि नेपाली क्रान्तिको अबको बाटो शान्तिपूर्ण नै होला त ? के शान्तिपूण ढंगले मुलुकको प्रधान अन्तरविरोध र राज्यसत्ताको प्रश्न हल गर्न सकिन्छ होल ? आदि । हो क्रान्तिको आगामी बाटो शान्तिपूर्ण नै हुन्छ र हुनुपर्छ । यो कुनै नयाँ प्रश्न होइन । क्रान्ति शान्तिपूर्ण हुन्छ वा सशस्त्र यो प्रश्न पुरानो सत्ताको तत्कालीन रवैयाप्रति निर्भर छ । क्रान्तिकारी आन्दोलनका आन्तरिक तथा बाह्य परिस्थितिहरूमा निर्भर हुन्छ, तर हामी निसन्देह प्रस्टै हुनै पर्छ कि इतिहासका कुनै पनि क्रान्तिहरू बल प्रयोगविना कहीँ पनि अन्तिम छिनोफानो भएका छैनन् र हुन पनि सक्दैनन् । यो नै मार्क्सवादको एउटा सार्वभौम सच्चाई पनि हो । 

रसियन कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सन् १९५६ पछि शान्तिपूर्ण संक्रमण, शान्तिपूण प्रतिस्पर्धा र शान्तिपूण सहअस्तित्व जस्ता ख्रुश्चेभी अवधारणाहरू अघि सारियो र अन्ततः विश्व समाजवादी क्रान्तिको धरोहर सोभियत संघको विघटन हुन पुग्यो । नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा दक्षिणपन्थी विचराधारा र मिलेराववाद एवं संसदवादले क्रान्तिकारी आन्दोलनको शान्तिपूर्ण संक्रमणको परिकल्पना गर्दै पनि आएको छ ।

यसरी कम्युनिष्ट आन्दोलनभित्र क्रान्ति कसरी गर्ने–शान्तिपूर्ण वा हिंसात्मक भन्ने मामलामा यो प्रवृत्तिले निरपेक्ष रूपमा शान्तिवाद र संसदवादको वकालत गर्दै मार्क्सवादको आधारभूत प्रश्नको तडमरोड समेत गरिरहेको छ । वस्तुको विकास मात्राबाट गुणमा हुन्छ, यो नै द्वन्द्ववादका तीन नियममध्ये एक हो । शान्तिबाट, शान्ति र फेरि पनि शान्ति नै हुन्छ ठान्नु भडुवा विकासवाद हो न कि क्रान्तिकारी मार्क्‍सवाद ।

सन् १९०५ को विद्रोह असफल भएपछि लेनिनले दुमाको प्रयोग, अस्थायी क्रान्तिकारी संयुक्त सरकार, संविधान सभाको चुनाव, शान्ति, रोटी र जमिन जस्ता शान्तिपूर्ण कार्यनीतिको शृङ्खलावद्ध विकासद्वारा क्रान्तिकारी रणनीतिको सेवा गर्ने बाटो अवलम्बन गरेका थिए भने मार्क्स स्वयंले युरोपको खास परिस्थिति र औधोगिक पुँजीवादको केन्द्रमा हुँदै गएको मजदुरहरूको जगेडा शक्तिको वृहत् केन्द्रीकरणको आधारमा शान्तिपूर्ण क्रान्तिको लागि सम्भावना देख्नु भएको थियो । पुँजीवादको प्रतिस्पर्धात्मक र प्रगतिशील चरित्र एकधिकारवादमा फेरबदल भएपछि भने त्यो सम्भावना टरेर गएको थियो । 

आजको हाम्रो ठोस परिस्थिति, भूमण्डलीकृत पुँजीवादको विद्यमान चरित्र र मुलुकको भू–राजनीतिक स्थितिलाई समेत हेर्दा नेपालमा क्रान्तिकारी आन्दोलनको शान्तिपूर्ण विकास अर्थात् जनमत संग्रहको कार्यनीतिद्वारा तमाम देशभक्त, प्रगतिशील र मध्यम वर्गीय समुदायलाई सुसंगठित गर्दै क्रान्तिको शान्तिपूर्ण विकासको सम्भावना बढेर गएको छ, तर शान्तिपूण संक्रमण होइन । कहिलेकाहीँ मानिसहरूलाई के लाग्न सक्छ भने शान्तिको कुरा गर्नु नै मार्सवाद विरोधि हुन्छ, शाति भन्नु नै क्रान्तिकारीहरूका लागि पापकर्म हो, क्रान्तिकारी हुनु भनेको त बम, बारुद र बन्दुकको कुरा मात्रै गर्नु हो ।

तर विषय त्यस्तो होइन र हुन पनि सक्दैन । यो सँगै ख्याल गर्नुपर्ने सवाल के छ भने क्रान्तिको शान्तिपूर्ण विकास भन्ने बित्तिकै संसद्को‍ उपयोगको कुरा गर्ने र बल प्रयोग भन्ने बित्तिकै दीर्घकालीन जनयुद्धमा आधारित छापामार कारबाहीको कुरा मात्रै गर्ने यी दुवै कम्युनिष्ट आन्दोलनका पुराना अतिहरू हुन् । हामीले क्रान्तिको शान्तिपूर्ण विकास गर्न सक्छौँ, तर शान्तिपूर्ण संक्रमण असम्भव छ  । वर्ग, वर्गीय सत्ताको प्रसङ्ग अगाडि आउने बित्तिकै पुरानो राज्य मेशिनरीतन्त्रको बलपूर्वक ध्वंशविना समाजवादी क्रान्तिको अन्तिम विजय र नयाँ उपरिसंरचनाहरूको निर्माण असम्भव छ । 

कार्लमाक्र्सले क्रान्तिकारी आन्दालेनको प्रक्रियामा पुरानो समाज भित्रबाट नयाँ समाज जन्माउने प्रक्रियामा बललाई धाईआमा–सुडेनीको संज्ञा दिनु भएको छ । नेपालमा क्रान्तिकारी परिस्थितिका दृष्टिले वस्तुगत अवस्था निकै परिपक्क हुँदै गएको छ । पुरानो सत्ता र उत्पादन सम्बन्धसँगको देश र जनताको अन्तरविरोध निकै माथिल्लोस्तरमा पुगेको छ ।

पुरानै राज्य मेशिनरीअन्तर्गत् विकसित उत्पादक शक्तिको लागि फल्ने, फुल्ने र हुर्कने वातावरण, उर्जा, क्षमता र आवश्यकता थेग्ने हिसाबले राज्य मेशिनरी असफलसिद्ध भएको छ । राष्ट्रिय संकट दिनानुदिन बढिरहेको छ । बेरोजगारी, गरिबी, महङ्गी, श्रम तथा पूँजी पलायन, व्यापार–घाटा, प्रतिव्यक्ति ऋणको वृद्धि, आय असमानता, शिक्षा, स्वास्थ्यमाथिको नागरिकको पहुँचमा ह्रास लगायतका समस्याहरू र समष्टीगत आर्थिक परिसूचकहरू बिग्रदो अवस्थामा छन् ।

राजनीति प्रणाली, सेना, अड्डा, अदालत, कर्मचारीतन्त्र लगायत सम्पूर्ण अवयवहरू माफियातन्त्र, घुसखोरी र कमिशनतन्त्रमा बदलिएका छन् । राज्यप्रतिको न्युन्नतम जनविश्वास समेत गुमेको छ । यो नै पुरानो सत्ताको संकट र क्रान्तिको लागि वस्तुगत परिस्थिति हो । आत्मगत दृष्टिले अझै पनि क्रान्तिकारी शक्तिको सुदृढीकरण अपर्याप्त हुनु, नेपाली समाज र स्वभावको बदलिँदो आकार, तत्कालीन जनयुद्धको असफलता, नेपाली समाजको भू–राजनीति अवस्थिति र दुई ठुला विश्व महाशक्तिहरूले मुलुकको आन्तरिक मामलामा बढ्दो चासो एवं सुक्ष्म व्यवस्थापन लगायतका दृष्टिले नेपाली समाज बल प्रयोगका लागि आन्तिम तयारीको स्तरमा आइपुगेको छैन । यो समग्र स्थितिमा राजनीतिक कार्यनीतिहरूको सुसूचित विकास गर्दै एउटा शक्तिशाली क्रान्तिको आँधीबेहरी ल्याउँन शान्तिपूर्ण क्रान्तिको विकासका लागि संघर्षका सबै रूपहरूको ठोस प्रयोगबारे हामीले ध्यान दिनैपर्छ । 

अन्तमा, क्रान्तिमा निर्णायक संघर्षका लागि आत्मगत र वस्तुगत परिस्थिति र सामाजिक क्रान्तिको वस्तुगत नियमबारे कार्लमाक्र्सको निम्न भनाई उद्धृत् गर्दै विट मारौँ हैँ, ‘विकासको एउटा निश्चित चरणमा पुगेपछि समाजका भौतिक उत्पादक शक्तिहरू विद्यमान उत्पादन सम्बन्ध (कानुनी भाषामा सम्पत्ति सम्बन्ध भन्न सकिन्छ, जसअन्तर्गत रहेर उनीहरू काम गर्दै आएका हुन्छन्) सँग टकराउन थाल्छन् । जब त्यो सम्बन्ध उत्पादक शक्तिहरूको विकासका निम्ती बाधक बन्छ, तब सामाजिक क्रान्तिको युग सुरु हुन्छ । त्यसपछि आर्थिक आधारमा परिर्वतन आउनुका साथै सिँगो विशाल उपरीसंरचनामा पनि धेरथोर तीव्रताका साथ परिवर्तन हुन पुग्छ ।’

परराष्ट्र मन्त्रीको कूटनीतिक कार्यसूची कस्तो छ ?

परराष्ट्र मन्त्री डा. नारायण खड्काले छिमेक र शक्ति मुलुकसँगको नेपालको सम्बन्धलाई सँगैसँगै अघि बढाउने नीति...

भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर विनिमयदरबाट बाहिरिन कति सम्भव छ ?

नरबहादुर थापा | असोज १८, २०७८

नेपालले २०१७ सालदेखि भारतीय रुपैयाँसँग स्थिर विनिमयदर प्रणाली अबलम्बन गर्‍यो, अहिलेसम्म त्यो प...

२४ वर्षअघि आजैका दिन प्रधानमन्त्री चन्दको मुखबाट ‘मुसा’ निस्केपछि...

हरिबहादुर थापा | असोज १८, २०७८

२०५४ असोज १८ । अर्थात्, २४ वर्षअघिको आज । प्रतिनिधि सभामा ‘मुसा’ प्रवेश भएको थियो । त्यो दि...