वंशवृक्ष देखाउँदा विवाद आउन सक्ने चेतावनीसमेत दिइयो
इतिहास, संस्कृति र मानवशास्त्रीय अध्ययनमा गहिरो रुचि भएका तर स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि गरेका डा. नवराज सुब्बाको मानवशास्त्रीय शोधमा आधारित कृति ‘किरात-लिम्बू संस्कृति : मानवशास्त्रीय विवेचना’ बजारमा आएको छ । किरात-लिम्बू सांस्कृतिक अध्ययनलाई मानवशास्त्रीय तथ्य, सिद्धान्त र दृष्टिकोणद्वारा पर्गेलिएको यो विशालकाय ग्रन्थ आकारले पनि मोटो छ र आकर (स्रोत-सामग्री) पनि प्रशस्त छन् । सकारात्मकवादमा आधारित यो पुस्तकले सत्तामीमांसा र ज्ञानमीमांसालाई छर्लंग्याइदिएको छ । प्रस्तुत त उनले यो पुस्तक किन र कसरी लेखे, नवराज सुब्बाको अनुभूति :
मभित्र जब चेतना आयो, त्यसपछि मनमा खुलदुली चल्न थाले । म कहाँबाट आएँ होला ? यो रुख, ढुङ्गा कसले बनायो होला ? यो खोल्सा, खोला, नदी, कहाँ पुग्छ होला ? धाराबाट बग्ने पानी निरन्तर कसरी उम्रिरहन्छ ? यी डाँडाकाँडा, हिमाल, खोला, नदी, संसार, पृथ्वी, जून, तारा ब्रह्माण्ड कसले रचना किन गर्यो होला ? ती मेरा बालसुलभ जिज्ञासालाई अभिभावक, गुरु, शास्त्रले मात्र शान्त पार्न सकेनन् । सामाजिक वर्ग, भेदभाव, छुवाछूत, जातपात, राजनीति, संस्कृति, धर्म मानव उपज वस्तु हुन् भन्ने बुझेपछि थप जिज्ञासा उत्पन्न भए । ती अवस्था कसरी सिर्जना भए, विकास भए होलान् ? यी र यस्ता जिज्ञासाले मन भरिन गयो । हेर्दै, बुझ्दै, पढ्दै मेरा धेरै जिज्ञासा शान्त भए । यद्यपि बाल्यकालका सृष्टिसम्बन्धी जिज्ञासा भने शान्त भएनन् ।
अध्ययनको क्रममा पेसागत विषयमा जनस्वास्थ्य अध्ययन गरेँ । यसले जीवनयापन र सामाजिक सेवालाई टेवा दिए तापनि मनमा गढेका मेरा जीवन र जगत्प्रतिका जिज्ञासा भने अनुत्तरित नै रहे । जीवन र जगत् व्याख्या गर्ने साहित्यको अध्ययन गरेँ । अध्ययन गर्दै जाँदा साहित्यले सुरुमा जिज्ञासा शान्त पार्न खोज्यो तर थप जिज्ञासा यसले पनि मेट्न सकेन । अर्थात् एक तहको जिज्ञासा मात्र साहित्यले शान्त बनायो । यो छटपटी भुसको आगोजस्तो भित्रभित्रै सल्केको रहेछ । त्यही भएर मैले संस्कृति, मानवशास्त्र, समाजशास्त्र र जनसंख्या, मनोविज्ञान विषयको अध्ययन गरेँ । त्यसबाट मलाई धेरै जिज्ञासाका जवाफ प्राप्त भए । यसले मनमा उठेका जिज्ञासा शान्त पार्ने आधुनिक क्षेत्रको ज्ञान भयो । विज्ञान जगत्मा भएगरेका ज्ञान र सिद्धान्तबारे जानकारी पहुँच सहज भयो ।
किरात मुन्धुम, वेदसम्बन्धी अध्ययन मेरो बाल्यकालदेखिको रुचिको विषय हो । मैले विद्यालय तहदेखि नै मुन्धुम, वेद तथा किरातसम्बन्धी अध्ययन सामग्री सङ्ग्रह गर्दै आएँ । कुनै दिन यसमा म गहिरो अध्ययन गर्नेछु भन्ने अठोट बाल्यकालदेखि थियो । मेरो घरमा पसल पनि थियो । त्यहाँ बिक्रीमा राखिएका पुस्तकमा केही लिम्बू ग्रन्थ पनि देख्दथेँ । ती पुस्तकका प्रति जतनले लुकाएर राखेको रहेछु । आजकल ती सामग्री बजारमा छैनन् । अहिले ती सामग्री मलाई असाध्यै काम लागेका छन् । हाल बजारमा किरात लिम्बूसम्बन्धी अध्ययन सामग्री प्रशस्त पाइन्छन् तर तिनमा राजनीतिक र रणनीतिक दृष्टिकोणले लेखिएका सामग्रीको बाहुल्य छ ।
एकदिन वंशावली लेख्ने सन्दर्भ आयो । फयङ साँबाको १०-१५ पुस्ता कोरेर त्यसमा मुन्धुम र इतिहासका कुरा अलिकति थपेर मेवाखोला लिङ्थाङ माङ्गेना यकलाई फयङ साँबावंश उत्पत्तिस्थल मुनातेम्बे देखाएर हालसम्मको वंशावलीलाई फयङ साँबाको पूर्ण वंशावली लेख्न मलाई सल्लाह, आग्रह र दबाब आयो । बृहत्तर वंशवृक्ष देखाउँदा विवाद आउन सक्ने चेतावनीसमेत मलाई दिइयो । ज्ञानको भोक मर्न नदिन म दृढसङ्कल्पित थिएँ । त्यसैले म उहाँहरूको अवाञ्छित आग्रह र धारणाबाट प्रभावित नभई अध्ययनले मागेको क्षेत्र तथा मानवशास्त्रीय दृष्टिकोणबाट समष्टिगत र बहुआयामिक अध्ययनमा निरन्तर लागेँ । किनभने यो विषय सहमति गरेर लेख्ने भन्दा पनि विशुद्ध अध्ययन अनुसन्धानको विषय हो भन्नेमा म विश्वास गर्दछु । अध्ययन गर्दा जे जति देखिन्छ त्यो प्रकाशमा ल्याउनु मेरो दायित्व हो । त्यसैले मैले मेरो अध्ययनलाई आवश्यक पर्ने सूचना उपलब्ध गराउन सबैमा आग्रह गरेँ ।
मानवशास्त्रीय अध्ययनले कुनै जातिविशेषलाई नहेरेर समग्र मानवजातिको विकासको अध्ययन र तुलना गर्ने गर्दछ । यही प्रकाशमा जातिविशेषलाई केलाउँदै समग्र मानव इतिहासको विकासको अध्ययन र तुलनासहित स्थानीय ज्ञानलाई जोड्ने काम अध्ययनमा गरिएको छ । यो अध्ययन तुलनात्मक अध्ययन विधिमा आधारित छ । यसले विद्यमान ज्ञान र सिद्धान्तलाई तथ्य, आँकडा र तर्कवितर्कसहित प्रजातिविवरणका ज्ञान र हालको यथार्थसित तुलना र सम्बन्ध गाँस्ने काम गरेको छ । यसमा मानवशास्त्र र अध्ययन विधिका मूल्य, मान्यतालाई शिरोपर गरिएको छ । यतिमात्र नभएर मानवशास्त्रबाहिरका सिद्धान्त र ज्ञानलाई समेत तुलनात्मक अध्ययनमा समावेश गरिएका छन् ।
मानवशास्त्रीय अध्ययन गर्दा तीनवटा आयाम छिचोल्नुपर्दछ । पहिलो आयाम हो, सांस्कृतिक सापेक्षता (Cultural Relativism) जसमा कुनै समुदायको व्याख्याविश्लेषण, सम्बन्धित जातिको सांस्कृतिक परिप्रेक्ष्य तथा दृष्टिकोणबाट गर्ने गरिन्छ । दोस्रो आयाम सांस्कृतिक जगत् (Cultural Universals) अन्तर्गत अध्ययन गरिने समुदायसित अन्य जातिको समान तत्व, ढाँचा, लक्षण, संस्थाको विकास र व्यवहारको खोज र तुलनात्मक अध्ययन गर्ने गरिन्छ । मानवशास्त्रीय अध्ययनको तेस्रो आयाम हो विश्व नागरिकता (Cosmopolitan) जसले विश्वलाई एक नगर मान्दछ र हरेक समुदायलाई एक नागरिकको हैसियतले हेर्दछ । यही समष्टिगत दृष्टिकोणले कुनै समुदायको विकास र व्यवहारको अध्ययन गर्नुपर्दछ ।
जातीय आग्रह, पूर्वाग्रहमुक्त रहेर कलम चलाएको छु । प्राज्ञिक मूल्य र मान्यतालाई ध्यान दिएको छु । कुनै जाति, समुदाय, उचाल्ने वा खसाल्ने काम मबाट जानाजान भएको छैन ।
मानवशास्त्रका उपर्युक्त सिद्धान्त र मान्यतालाई प्रस्तुत अध्ययनको मेरुदण्ड बनाइएको छ । फयङ साँबाको मुन्धुमलगायत संस्कृतिलाई स्वजातीय दृष्टिकोणले समेत व्याख्याविश्लेषण गरिएको छ । फयङ साँबासित निकटतम रक्तअनन्या स्थापित याक्थुङ, राय, सेनको ऐतिहासिकताको विश्लेषण गरिएको छ । त्यसभन्दा दूरका गोत्र किरात, खस, काशी, कश्यप, सौमर विकासक्रम, व्यवहारलाई पछ्याउने काम अध्ययनमा भएको छ । अझ काशी (अर्क/भग), गुत (कुतिक) गोत्र मिश्रित शक/काशी जातिसित किरातका अग्रज कुर्म (सौमर) वंशको रक्तमिश्रणसम्मको इतिहास पहिल्याइएको छ ।
भाषाविज्ञानको दौराको फेर समातेर मेसोपोटेमियाली इतिहास नियाल्दै कालान्तरमा विकसित किरात, काशी (शक/कठ/खस) र काशी (कश्यप/कच्छप) को संक्षिप्त रेखाचित्र खोजेर साझा गरिएको छ । जेहोस्, फयङ साँबालाई विश्व मानव समुदायको एक हिस्साका रुपमा स्थापित गर्ने प्रयास अध्ययनमा गरिएको छ ।
हेनरी डेभिड थोरे भन्छन, ‘ब्यूँझनेको मात्र दिन उदाउँछ ।’ यो लेखकको कोसिस अरु केही नभएर त्यही ब्यूँझने एक कोसिस मात्र हो । संसार देखेर, हेरेर, भोगेर, खोजेर, परीक्षण गरेर हर दिन आँखा खोल्ने प्रयत्न गर्दछु । टाढाबाट देखिने एउटा देउरालीमा पुगेपछि गन्तव्य अझ पर क्षितिजमा देखिने उज्यालो दृश्यले मन तान्छ । मनभित्रका तिनै तृष्णा र आँखाको दृष्टिमा म जीवनको अर्थ खोज्दछु । लाग्छ, जुन दिन मान्छेमा जिज्ञासा र आशा मर्दछन् त्यसदिन मानिसका यात्रा र गन्तव्य पनि समाप्त हुनेछन् ।
अध्ययनमा प्राज्ञिक मर्म र धर्मलाई कर्ममा यथासम्भव उतार्ने प्रयास भएको छ । भनिन्छ, लेखक पूर्वाग्रहमुक्त र स्वतन्त्र भएर लेख्नुपर्दछ । पूर्णरुपमा यो सम्भव नहोला तर सक्दो कोसिस गरेको छु । आफ्नो ब्रह्मले देखेको कुरा लेखकीय राय र निष्कर्ष इमानदारीपूर्वक पस्केको छु । राजनीतिक, रणनीतिक दृष्टिकोण नराखी अध्ययन, विश्लेषण गरेको छु । जातीय आग्रह, पूर्वाग्रहमुक्त रहेर कलम चलाएको छु । मूलत: प्राज्ञिक मूल्य र मान्यतालाई ध्यान दिएको छु । कुनै जाति, समुदाय, उचाल्ने वा खसाल्ने काम मबाट जानाजान भएको छैन । अनजानवश त्यसो हुनगए म माफी चाहन्छु ।
किरात लिम्बूको पहिचान जस्तो बृहद् विषय पर्गेल्न साँबा फयङ वंशावलीको लहरो समातेर तुलना गर्दै अघि बढिएको छ । वि.सं. २०५६ मा प्रकाशित पहिलो वंशावली (सङ्कलक- ऐतराज फयङ साँबा, प्रकाशक- नवराज सुब्बा) ढाँचालाई समेत आधार मानेर अध्ययन गर्दै अघि बढियो । त्यसमा आवश्यक सूचना सङ्कलन गर्ने काम पनि सम्पन्न भयो । दोस्रो चरणको अध्ययनक्रममा सूचना सङ्कलनमा मेरा भाइ धीरेन्द्रराज फयङहाङले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले विभिन्न ठाउँका व्यक्तिसित सम्पर्क गरी जुन मद्दत पुर्याए त्यसका लागि धन्यवाद छ । अभिलेख अद्यावधिक गरी वेभसाइटमा राख्न तथा सूचनालाई प्रविधिमैत्री बनाउन कौशलराज सुब्बा र निश्छलराज सुब्बाको योगदान पनि उल्लेख्य ठान्दछु ।
किरात लिम्बू विषयसँग सम्बन्धित बृहत्तर क्षेत्रको अध्ययन गरी त्यो जातिभित्रको एक थर/उपथर साँबा फयङको पहिचान निदान र निरुपण भएको छ । किरात पूर्व र उत्तरको वंशवृक्षको सैद्धान्तिक रेखाचित्र कोरिएका छन् । ऐतिहासिक कालका वंशावलीको खाका प्रस्तुत गरिएको छ ।
यस्ता वंशवृक्ष प्रस्तुतिमा जन्म र मृत्यु मिति पनि उल्लेख गरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव पाठकले दिने गर्दछन् । यसमा पहिलो कुरा त्यस्ता विवरण पाउन नै मुस्किल छ । अर्को कुरो पाए पनि त्यसलाई पुस्तकमा वंशवृक्ष बनाएर धेरै सूचना एकै ठाउँमा देखाउँदा प्राविधिक कारणले राख्न असहज हुने सम्भावना रहन्छ । त्यसलाई दूर गर्न सूचना प्रविधिको सहयोग लिन सकिन्छ । वंशवृक्षलाई सफ्टवेयरको मद्दतले सूचना डिजिटलाइज गरी अनलाइनमा थप तथ्याङ्क जस्तै:- जन्म, मृत्यु, फोटो, संक्षिप्त विवरणसमेत राख्न सम्भव हुन्छ । यसबारे हाल अध्ययन भइरहेको छ ।
(अजम्बरी पब्लिकेशनबाट प्रकाशित पुस्तक बजारमा उपलब्ध छ ।)