सप्ताहन्त

प्रत्येक मानिस यहाँ एक एक नामुद विद्रोही

निभाउन बिर्सिएर रातभर बलिरहेको टुकी
आकाश जस्तो नीलो हुन्छ
अनि यो आकाश रंगमा अनन्त आकाश देख्छु म
यो एक थोपा ज्योतिमा अनन्त सूर्य देख्छु म 
यो एक थोपा आँसुमा अनन्त सागर देख्छु म, 
अहो ! यो एक थोपा आँसु
भर्खरै देखेको सपनाको दुखान्त हो ।
के यहि एक थोपा आँसुले सोधेको हो, एक थोपा पानीको अस्तित्वको के मूल्य हुन्छ? 
त्यो समुन्द्रको अगाडि के यो हृदयको फिलिंगोले नै सोधेको हो एउटा टुकीको अस्तित्वको के मूल्य हुन्छ अनन्त आकाशको अगाडि,
के यो म आफैले सोधेको हुंला र 
यति सानो ‘म’ को अस्तित्वको के मूल्य हुन्छ
यो अनन्त अनन्त अस्तित्वको अगाडी
के यहि कारणले निदाउन खोज्छु म
अनन्त अस्तित्व भित्र पनि किन होश आइरहेछ मलाई
मेरो ‘म’ को हो ? 
उह ! यो अनन्त अनन्त अस्तित्वले किन निभाउन सकेन मलाई
यति सानो ‘म’को होशलाई

उह ! यो अनन्त ताराहरुको अगाडि किन पिलीपिली बलिरहन्छ टुकी
उह ! समुन्द्रको अगाडि किन टल्किरहन्छ एक थोपा शीत
समुन्द्रले एक थोपा शीतको हत्या गर्न सक्दैन
सूर्यले एउटा टुकीको हत्या गर्न सक्दैन 
एउटा मानिसले कतिका मानिसको हत्या गर्न सक्छ ?
उह ! त्यतिका आकाश गंगाहरुले एउटा बत्तीको हत्या गर्न सक्दैन
समुन्द्रले एक थोपा पानीको प्राण लिन सक्दैन
अरे ! एक थोपा पानी त समुन्द्र आफै हो, समुन्द्रले कसरी हत्या गर्न सक्छ समुन्द्रलाई
अरे ! एक थोपा ज्योति त आफै सूर्य हो, सूर्यले कसरी हत्या गर्न सक्छ सूर्यलाई
हाय अचम्म !! मानिसको हत्या मानिसबाट हुन सक्छ
मानिसको हत्या मानिसबाट हुन सक्छ

मानिसको जुलुसलाई काँडे झार झैं पन्छाउँछ यहां, एउटा मानिसले आफ्नो सुखको खेती गर्न
उह ! कस्तो तथाकथित मानिस हो यो ......
चन्द्रमाले जुनकिरी निभाउन हिंडेको कहिल्यै देखिन मैले
सूर्यले निभाउन हिंडेको कहिल्यै देखिन मैले -सानो टुकी
मानिस गरुंगो भयो रे उसलाई गरुंगो भयो रे उसलाई
अरे ! तथाकथित मानिस हो यो
मलाई थाहा छैन सूर्यलाई ज्योति कहिले गरुंगो लाग्छ
मलाई थाहा छैन समुन्द्रलाई पानी कहिले गरुंगो लाग्छ
असंख्य तारा र सूर्यहरुको अगाडि आफ्नो अस्तित्वको मूल्य अवश्य बुझेको हुनु पर्छ सानो टुकीले
त्यसकारण, रातभर बलेर गौरव बृक्षको टुप्पोमा चढेर निभिरहेको हुन्छ त्यो
उसलाई निश्चय नै थाहा हुनुपर्छ, सूर्य भित्र बलिरहेको उ आफै हो
अनि सूर्य आफू भित्र दन्दनाइरहेको छ
अनन्त समुन्द्रको अगाडि एक थोपा शीतले आफ्नो अस्तित्वको मूल्य अवश्य बुझेको हुनुपर्छ
त्यसकारण, गर्वपूर्वक घाँसको टुप्पोमा सुकेर जान्छ त्यो
उसले निश्चय नै बुझेको हुनुपर्छ समुन्द्र भित्र उ संकलित छ,
अनि समुन्द्र आफू भित्र प्रवाहित छ
उह ! मलाई थाहा छैन -
म भित्र ‘को’ प्रवाहित छ
ममा को संकलित छ
किन म होशमा आउन डराउँछु
होशमा आउनु नै मानौं जीवनको अपराध हो, अनि त्यहि अपराधको दण्ड
जीवनको छट्पटी हो
उह ! होशमा आएर सर्वप्रथम गरिने काम नै छटपटाउनु हो
यो सानो टुकीले होशमा आएर के गर्छ ?
एउटा विद्रोह गर्छ
बल्नु भन्नु नै विद्रोह हो
विद्रोह गर्दा आहा ! फालिने धुवाँ हो
र समेटिन्छ ज्योति
अनन्त अस्तित्व भित्र होश सल्वलाउंछ मेरो
हाय ! यो होशको हत्या गर्न किन लाख लाख उपाय गर्छु म
यो बिष.... त्यो बिष
आखिर होश त अमृत हो
म सानो छु, सानो हुन देउ मलाई
जति सानो होइन्छ, उति निर्भर भइन्छ
कमिला बाघदेखि तर्सेको कहिल्यै देख्दिन मैले
सानो हुन देउ मलाई
सानोको मूल्य कति चर्काे छ, घोचेर देखाउँछ सियोको टुप्पोले
(सिउन सकदैन एउटा अण्डरवीयर पनि दण्डीले)
मेरो कोठामा आखिर सानो टुकी नै पिलपिल बलेर निभिरहेको हुन्छ
सूर्य मेरो खाटमुनि कहिल्यै आएको छैन
भन, आकाश - गंगाले टाढैबाट आत्म समर्पण गरेको छ कि छैन यो अन्धकारको अगाडि
भन, चन्द्रमा झ्यालसम्म आएर डराएको छ कि छैन, यो अँध्यारोकोे अगाडि
भन, आखिर यही सानो टुकी अगाडि बढेको हो कि होइन यो भयानक अँध्यारोको अगाडि
भन, ठूला बडाको के मूल्य छ
पर्म आएको भुयु दाजु नै हो कि होइन
भन, अनायास मेरो ओंठमा जुन गीत गुञ्जन्छ
त्यो सिर्मांचाले रचेको हो कि होइन
म चाल पाउँछु, मेरो अस्तित्वको तिख्खर मूल्य

बेहोश हुनु अपराध हो
यो छट्पटी त्यही अपराधको दण्ड
टुकीले बुझ्नु पर्छ, सबभन्दा ठूलो सूर्य उ आफै हो
भुयुदाजुले बुझ्नु पर्छ, सबभन्दा ठूलो मानिस उ आफै हो
बुझ्नु पर्छ यो टुकीले कति सम्पन्न लोकको प्राणी हो उ, बुझ्नु पर्छ
भुयु दाजुले कति सम्पन्न लोकको प्राणी हो उ, बुझ्नु पर्छ यो आँशुले
कति सम्पन्न लोकको प्राणी हो उ, बुझ्नु पर्छ
भरखरै सपनामा आएकी बेइमान प्रेमिकाले कति सम्पन्न देशको प्राणी हो उ
किन त्याग्छे मलाई तिनी
कति मूल्यहीन छु म उसको आँखामा
उसको आँखामा मलाई मूल्यहीन हुन देउ
मैले बुझ्नु पर्छ, कति सम्पन्न देशको प्राणी हुँ म 
कुरा गर्दिन म चार भञ्ज्यांग भित्रको, कुरा गर्दिन म
रक्त नदीको सीमाना वारीको, कुरा गर्दिन म
दूधकोशीको सीमान वारिको
इतिहास पल्टाएको होइन मैले
                     छालाको
                     हाडको
                     मासुको
सम्झें मैले भयानक युद्ध,भयानक क्रान्ति,भयानक दमन
सम्झें मैले भयानक जुलुस, भयानक बम..
अहो ! दीर्घकालीन युद्धले मात्र पाएको हुँ मैले विजय
हात लागेको हो यो यन्त्र
न कामेर मेशिनमा होमेर
जव बाहिर निस्कन्छ टाँसिएको हुन्छ प्रत्येक व्यक्तिमा
कार,टेलिफोन,रेडियो,भिडीयो,दूरविन,माइक
अब त्यही फोन -
           बहिरो पारि दिएको छ
त्यही दूरबिन -
           अन्धो पारि दिएको छ
त्यही माइक -
           लाटो पारि दिएको छ
कोही कोही दुइ गाँस दहि चिउराले माइक थुनेर
चुपचाप छ
बन्द फोन,बन्द माइक, बन्द दूरबिन......
बन्दै बन्द भित्र
छटपटाउँछु म
यो छट्पटीको औषधि बेहोशी होइन
मलाई होशमा आउनु छ
ओहो ! मेरो खुट्टा बाँधिएको छ
भुयु दाजुले बुझ्नु पर्छ उसको खुट्टा बाँधिएको छ
बेइमान प्रेमिकाले बुझ्नु पर्छ उसको खुट्टा बाँधिएको छ
होशमा आउने बित्तिकै लिनु पर्ने यहाँ पीर होइन
गर्नु पर्ने विद्रोह हो
प्रत्येक मानिस यहाँ एक एक नामूद विद्रोही हो
निदाउने बेलामा खोलेर हेरुन उनीहरुले आ -आफ्नो भिडियो
हेरुन उनीहरुले आ -आफ्नो टेलिभिजन
थाहा पाउन उनीहरुले सबका सब हिरो हुन्
होश् गर्नु पर्छ उनीहरुले
कुन ठाउँमा बसेर आफ्नो नाटक हेर्छन उनीहरु सपनामा
त्यो ठाउँ नै मुक्तिको ठाउँ हो 
यो त सपना हो भनी धेरै पल्ट चाल पाएको छु
यही होशको विकास गर्नु नै मुक्तिको बाटो हो
प्रत्येक मानिस त्यही होस्बाट फल्छ, फुल्छ
पूmल होस् चाहे काँडाँ बोट एउटै हो
जसलाई प्रेम गर्ने इच्छा हुन्छ, उ पूmल हुन्छ
जसलाई मात्र प्रेमको नाटक हेर्ने इच्छा हुन्छ, उ काँडा बन्छ
यो आफनो आफनो स्वतन्त्रता हो
स्वतन्त्रता, न आशिर्वाद हो न श्राप हो
ओहो ! यो असमानताको जरा हो, वास्तवमा सबै समान हो
तिमी फूल हुन्छौ कि काँडा
उह ! फूल चाँडै ओइलिन्छ - त्यो एउटा भोगी हो
काँडा धेरै समय टिक्छ, उ मात्र दर्शक हो र एक योगी हो ।

(नेपालभाषाबाट अनूदित) अनुवादक : नारद वज्राचार्य

कार्टुनिस्टलाई फाँसी दिनुपर्छ भनेर सरकारी पत्रिकामा आइरह्‍यो

दुर्गा बराल | चैत २१, २०७७

३०-३० शृंखला इकागजडटकमको सुरु दिनदेखिको विशेष स्तम्भ हो । ३० वर्षसम्म टिकेको पञ्चायती व्यवस्था सकिएको पन...