सुबिन भट्टराईलाई प्रश्न- वातावरण विज्ञानको विद्यार्थी भएर किन रुख मास्ने काममा ?
‘समर लभ’ उपन्यासबाट एकाएक चर्चामा आएका लेखक सुबिन भट्टराईले हाल छैटौँ सन्तानको गर्भधारण गरेका छन् । छैटौँ कृति पूरा गर्न उनी हेटौँडाबाट केही दिनका लागि जनकपुरतिर लाग्दै छन् । पहिलो कृति ‘कथाकी पात्र’ कथासंग्रह छाप्न र विमोचन गर्न आफैँ मनग्य पैसा खर्च गरेका सुबिन भन्छन्, ‘जागिरका लागि धेरै ठाउँ धाएर, अनेक ठाउँमा बायोडाटा बुझाएर हातलागी शून्य भइरहेको चरम निराशाका दिनमा लेखेका कथा हुन् ती, तिनको डेलिभरीमा ऋण-सापटी लिएर आधा लाख जति सकेँ, तर पनि छैन केही गुनासो ।’
‘कथाकी पात्र’ अभागी र भाग्यमानी दुवै एकसाथ भयो । अभागी कसरी भने सुबिनले यसलाई ‘सप्रेम भेट’, ‘सप्रेम उपहार’, ‘वरिष्ठ फलानोज्यू, समीक्षार्थ’ भन्दै धेरैलाई थमाए । यो किताब पाउनेमध्ये ९९ प्रतिशतबाट कुनै रेस्पोन्स पाएनन् उनले । भाग्यमानी कसरी भने, यो पढ्ने एक प्रतिशतका शत प्रतिशत पाठकले नै यो किताब अचाक्ली मन पराए । यसको सुरुकै दुई कथा ‘औडाह !’ र ‘औडाह २’ पढेर धेरै पाठकलाई मीठो औडाह भयो । ‘कथाकी पात्र’ मन पराएका एक पाठककै कारण उनी चल्तीको प्रकाशक फाइनप्रिन्टसम्म पुगे । त्यसपछि त उनले पछाडि फर्केर हेर्नु पनि परेन । किताब लेखेरै दुईवटा गाडी फेरिसके, गाडी चलाउँदा पछाडि फर्केर हेर्न पनि त गाह्रै हुन्छ नि । प्रस्तुत छ, उनै सुबिनसित सानो संवाद :
तपाईं वातावरण विज्ञानमा स्नातकोत्तर गरेको विद्यार्थी, रुख मास्ने काममा किन लाग्नुभको ?
वातावरण विज्ञानका पुस्तक पढ्न पनि रुखै मास्नुपर्छ नि ।
‘साया’, ‘मनसुन’, ‘सुफी’ वा ‘सदा’मध्ये कोसित तपाईंलाई डेट जान मन लाग्छ ? (अनुमको नाम लिन नपाई !)
सुफी । मान्छेलाई सधैँ प्रेरणाको खाँचो हुन्छ । त्यो सुफीले भन्दा अरु कसले दिन सक्ला र ?
तपाईंको जीवनमा कसैले सिनेमा बनायो भने त्यो रोमान्टिक बढी होला कि ट्रयाजिक ?
रोमान्टिक र ट्रयाजिक दुवै हुन्छ । कम-बढी चाहिँ विभिन्न कालखण्डका तराजुमा जीवनलाई तौलेर नै हेर्नुपर्छ ।
सिनेमाको किरो हुनुहुन्छ, आफ्ना किताबमा सिनेमाको प्लट कत्तिको उडाउनुभको छ ? (धर्म सम्झेर भन्नुस् !)
उत्कृष्ट सिनेमा र उत्कृष्ट साहित्य कच्चा पदार्थ हुन् । राम्रा सिनेमाका राम्रा दृश्य अवचेतनमा लुकेर बसेका हुन सक्छन् । थाहै नपाई त्यो लेखनमा आइरहेको हुन्छ जस्तो लाग्छ । जानाजानी सारेको चाहिँ छैन ।
पहाडमा जन्मेको मान्छे किन सधैँ दिन-रात पहाडै चढ्नुहुन्छ तपाईं ? प्रायः चिसापानीतिर चढ्ने तपाईंमा हिँडाइको फूर्ति किन धेरै ?
हिँडाइले सिर्जनामा आएको ह्रासलाई पूर्ति गरिदिन्छ । स्वस्थ बनाउँछ । यो अब त जीवनशैलीको प्रमुख पाटो नै भइसक्यो ।
सहरका धेरै लेखक तपाईंलाई लेखन नै ठान्दैनन्, के भन्नुहुन्छ ?
सहरका लेखकलाई ‘लेखक’ भएकैमा बधाइ । म चाहिँ लेखक हुने प्रयास आजीवन गरिरहूँला ।
‘समर लभ’मा आफैँ किन हिरो नबनेको नि, अभिनय गर्न गाह्रो कि लेख्न ?
त्यसो होइन । साहित्यभन्दा पहिला म अभिनयमा थिएँ । रेडियो नेपालमा धेरै कथा-नाटकमा अभिनय गरेको छु मैले । टेलिभिजनको ‘ट्वाक्कटुक्क’मा खेलेको छु । रेडियो नेपालको ‘हातेमालो’ कार्यक्रम चलाएको छु । अभिनय र लेखन दुवै मानिसका मन जित्ने काम हुन्, दुवै गाह्रो छ ।
युवाहरूलाई बरालेको, यौनबारे मात्र सोच्ने लगाएको, सामाजिक सद्भाव भड्काएको गम्भीर आरोप छ यहाँलाई । अपराध स्वीकारेर जेल बसेर जेलभित्रैबाट आफ्ना मानसपिता विश्वेश्वरप्रसाद कोइराला (तपाईं बीपीबाट धेरै प्रभावित हुनुहुन्छ र आफ्नो एक लेखमा बीपीलाई मानसपिता भन्नुभएको छ) जस्तै खत्रा लेखक बनूँ भन्ने लाग्दैन यहाँलाई ?
म मात्र होइन बीपीजस्तो र जत्तिको कोही बन्ने सक्तैन । त्यो लोभ गर्नतिर लागियो भने जीवनभर रोए हुन्छ । म आफूसँग सन्तुष्ट हुन सके भइहाल्यो नि ।
यहाँ अस्ति आफ्नो घरमा पार्किङमा राखेको गाडीभित्र बसेर लेखिरहनुभको थियो । रेस्ट रुममा बसेर सोच्ने अनि गाडीमा बसेर लेख्ने हो तपाईं ?
म लेख्नलाई एकान्त खोज्दै जान्छु । चाहे त्यो रेस्ट रुम नै किन नहोस् । त्यो एक दिन घरमा धेरै मान्छे भएर एकान्त खोज्दा खोज्दै गाडीभित्र पुगेछु म ।
तपाईं किन आख्यान मात्रै छाप्नुहुन्छ, आफ्ना कविता बिक्तैनन् भनेर कि आफू आख्यान बन्न नसकेर ?
(राम्रो) कविता लेख्न नआएर ।