सप्ताहन्त

बाबुले छोरीलाई म्वाइँ खान भन्यो

विनोद दीक्षित | माघ ३, २०७७

हाम्रो एक सेमेस्टरको पहिलो जाँच सकिएको थियो । हाम्रो कोठाका रुसी साथी इमानले जाँचपछि छुट्टीमा आफ्नो घर रिगा जान हामीलाई बारम्बार भनिरहेको थियो । हामीले हुन्‍छ भनेका थिएनौँ । त्यसैले ऊ जाँच सिध्दिनेबित्तिकै गयो । बिदामा युनिभर्सिटीले नै सब्सिडी दिएर विभिन्‍न सहर १०, १५ दिनका लागि घुमाउने गर्दोरहेछ । आफूले जम्मा १० रुबल तिरे हुने । तर हामीले आफूले रोजेको सहरमा जान पाएनौं, म्यादमै नाउँ नलेखाएकाले अनि मैले कृष्णगोपाल शाक्य (त्रिविका प्राध्यापक) ले इभानकै सहर रिगा (हाल स्वतन्त्र देश लातभियाको राजधानी) जाने विचार गर्‍यौं र गयौं पनि । ठेगाना हामीसित भएकाले घर पत्ता लगाउन गाह्रो भएन ।

इभानको घरमा बाबु, आमा र एउटी बहिनी थिइन् । पुगेकै रात हो, हाम्रो सम्मानमा विभिन्‍न रुसी परिकारसहितको पार्टी गरियो । सबै परिकार एकै ठाउँमा राखिएको हुन्थ्यो अनि आफूलाई मन लागेको कुरा आफैँले झिकेर खाने । बूढाले सबैको ग्लासमा भोड्का हाले अनि हामी ६ जनाले गिलास एकअर्कासित जोड्दै चियर्स गर्‍यौँ । बूढाले पिउनुअघि सबैले एक सासमै सिध्याउनुपर्ने भन्‍ने निर्देशन दिए । सकी नसकी मैले सिध्याएँ, सबैले थपडी बजाए किनभने सिध्याउनेमा म सबभन्दा पछि परेको थिएँ । सोभियत संघलगायत पूर्वीय युरोपमा रक्सीमा पानी वा सोडा केही पनि नमिसाएर निट खाने चलन छ ।

खानपिन सुरु भएको केही बेरपछि बूढाले आफ्नो छोरी गाल्यालाई पाहुनासित नाच्न भने । गाल्या मनिर आई र नाच्न भनी । म उठें म्युजिकको तालमा स्लो डान्स ऊसित गरें । एकछिन पछि गाल्या कृष्णगोपाल शाक्यसित नाची । 
बूढाले अरू रुसी सरह नेपाललाई नेपल्स ठान्यो र ‘नजिकै छ नेपल्स, दुईचार दिन बस्‍ने गरी आउँछु, सरकारले मञ्जुरी दियो भने’ भन्यो । मैले इभानले र शाक्यले नेपल्स होइन, नेपाल हो, यो चीन र भारतको बीचमा पर्छ भन्यौं र संसारको सबभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट नेपालमा पर्छ भन्दा सुरुमा उसले बुझेन अनि इभानले माउन्ट एभरेस्टको ठाउँमा झोमोलुङमा भन्दा बल्ल उसले बुझ्यो ।

फेरि आमाले गाल्यालाई नाच्‍न भनी । हामी दुवै नाचिरहँदा बूढाले गाल्यालाई मसित गाला जोडेर नाच्न भने । गाल्याले त्यसै गरी । अनि केही बेरमा बूढोले मलाई ‘जवान केटो, म्वाइँ खाऊ उसलाई’ भने । मैले लाज मानेँ । फेरि बारम्बार भनेपछि गाल्याको गालामा म्वाइँ खाएँ । बूढोले ‘गालामा पनि म्वाइँ खान्‍छन्, ओंठमा खाऊ’ भन्दा मैले हिम्मत गर्न सकिनँ ।

केही बेरपछि ढोकामा कसैले घण्टी बजाएको सुनियो । बूढा उठे ढोका खोल्न । अनि त्यसैबेला गाल्याले भनिन्, ‘पापा, मिशा-साशाहरूमध्ये कोही आएको छ भने म घरमा छैन भन्‍नु अनि तपार्इंले नचिनेको केटा रहेछ भने त्यसलाई भित्र ल्याउनु ।’ बूढोले फर्किएर भने, ‘साशा रहेछ, तिमी घरमा छैनौ भनेँ ।’ हामी रूस गएको पाँच महिना मात्र भएको थियो । इभानको घरमा भएका घटनाले मलाई त्यसबेला खुबै आश्चर्यमा पारेको थियो ।

एउटै खाटमा केटी र म
अब अर्को कुरा १९६६ को अगस्ट महिनाको सुरुमा ब्ल्याक सीस्थित युनिभर्सिटीका छात्रहरूले रेस्ट गर्ने ठाउँ मकाप्से हामी गएका थियौँ, एक महिनाका लागि जम्मा २० रुबल दिएर । आउने, जाने, बस्‍ने खाने, घुम्ने सबै २० रुबल मात्र तिरेपछि जान पाइन्थ्यो ।

कस्तो संयोग, १५ अगस्त १९४५ मा मेरो जन्म भयो त्यसको दुई वर्षपछि मेरो जन्म दिवसमा भारतले स्वतन्त्रता पायो ।

हाम्रो गु्रपमा २५ जना जति भारतीय पनि थिए । सबैसित मेरो चिनजान थियो । ती २५ जनामध्ये १७-१८ जना हिन्दी बुझ्थे र ती मध्ये १०-१२ जना मात्र शुध्द हिन्दी बोल्थे । तिनीहरूत्रसित मेरो कुराकानी हिन्दीमै हुन्थ्यो र तिनीहरूलाई म हिन्दी गीत राम्रैसित गाउँछु भन्‍ने थाहा थियो ।

बिहान नुहाउँदै सन बाथ ब्ल्याक सी-मा गरिरहँदा एकजना भारतीय आई ‘शामको लन्‍चके बाद आज १५ अगस्त, हमारे स्वतन्त्रता दिवस उपलक्ष्यमे प्रोगाम है । बादमे दारु और संगीतका प्रोगाम भी होगा सबके सब नेपाली आना, और तुमको तो गाना भी पडेगा’ भन्दा मैले हुन्‍छ भनेँ ।

मलाई गाना गाउन स्टेजमा बोलाइयो । रमझम मज्जैसित सुरु भैसकेको थियो र चार, पाँच जनाले नाच्‍ने र गीत गाउने काम गरिसकेका थिए । स्टेजका माइकमा मैले फ्याट्ट भनिहालें, ‘तपाईंहरू आज १५ अगस्त, भारत स्वतन्त्र भएको समारोह मनाउँदै हुनुहुन्‍छ । संयोग हेर्नोस्, मेरो बर्थ डे पनि आजै हो, १५ अगस्तको दिन ।’

अनि त्यसपछि मलाई गाउन एकछिन रोक्न लगाए, अनि भारतको रंगीचंगी कागजले बनाइएको पातलो डोरीमा गाँसिएको झन्डा मनिर ल्याएर शरीरभरि बेर्दै ड्रिङ्सको ग्लास दिएर चियर्स गर्न थाले । झन्डै २० मिनेट त्यसो भयो र म पूरै भारतीय भएको जस्तो माहौल सिर्जना भयो ।

तिनको मप्रतिको त्यसबेलाको व्यवहार देखेर १५ अगस्तमा मेरो बर्थ डे हो किन भन्‍न परेको थियो भनी मेरो मनले आफैंलाई धिक्कारी रह्यो अनि एकाएक मलाई एउटा विचार आयो । मैले माइक लिँदै ‘एक मिनेट’ भन्दै भनेँ, ‘कस्तो संयोग, १५ अगस्त १९४५ मा मेरो जन्म भयो त्यसको दुई वर्षपछि मेरो जन्म दिवसमा भारतले स्वतन्त्रता पायो ।’ मैले यत्ति भनेपछि गीत गाउन थालेँ ।

लेख्‍ने कुरा धेरै छन् तर अब म एउटा अन्तिम कुरो लेख्छु-
१९६९ मा हाम्रो पढाइ सिध्दिने त्यसैले मस्कोमा अन्तिम नयाँ वर्ष राम्रोसित मनाऔं भनेर लुमुम्बा युनिभर्सिटीले आयोजना गरेको पार्टीमा हामी केही नेपाली छात्र समावेश भयौं । पार्टी ९ बजे सुरु हुने र अर्को वर्ष अर्थात् नयाँ वर्षको बिहान ४ बजेसम्म नाचगानसहित कार्यक्रम चल्ने थियो ।

मेरै छेउमा कानुन विषय पढ्ने युरी आफ्नो श्रीमती र अर्को एक केटीसित थियो । हामी बीच निकै कुराकानी भयो र त्यो केटीचाहिँ युरीको बहिनी रहिछे र सोभियत संघको सुदूरपूर्वमा रहेको सहर इर्कुत्समा बस्दिरहिछ तथा त्यहाँको एउटा कारखानामा काम गर्ने भएकाले मस्कोमा कारखानाको निरीक्षण गर्न आफ्ना कामदार साथीहरूसित आएकी रहिछ । झन्डै २ बजे रातिसम्म त्यही केटीसित नाचिरहियो ।

केही बेरमा बाबुले मलाई ‘जवान केटो, म्वाइँ खाऊ छोरीलाई’ भने । मैले लाज मानेँ । बारम्बार भनेपछि गाल्याको गालामा म्वाइँ खाएँ । बूढोले ‘गालामा पनि म्वाइँ खान्‍छन्, ओंठमा खाऊ’ भन्दा मैले हिम्मत गर्न सकिनँ ।

खानपिन सबै सिध्दिसके पनि सबै मानिस नाचिरहेका थिए, एक जना पनि घर फर्केका थिएनन् । युरीले भन्यो, ‘म नजिकै बस्छु, ट्याक्सी पाइँदैन होला, हिँडेर जाँदा आधा घण्टामा पुगिन्‍छ । मेरो डेरामा भोड्‌का तथा खानेकुरा छ । म चुप लागेर बसिरहें । पछि केटीले नै मलाई जान धेरै अनुरोध गरेपछि म तैयार भएँ । बाहिर आउँदा ट्याक्सी भेटियो ।

युरीले आफ्नो कोठामा लग्यो । कोठामा दुईवटा खाट, एउटा टेबुल, दुईवटा कुर्सी, दुईवटा सुटकेस र ब्याग थिए । उसको श्रीमतीले भोड्‌का तथा कालो पाउरोटी, चिज तथा ग्लास ल्याइन् । चारै जनाले थप डेढ घण्टासम्म खाइरह्यौँ । पछि युरीले मलाई त्यहीँ सुत्‍न भन्यो ।

मैले ठानेँ, एउटा खाटमा ऊ र म, अर्को खाटमा उसकी श्रीमती र बहिनी सुत्‍ने होला, त्यसैले मैले हुन्‍छ भनेँ ।  पछि त एउटा खाटमा युरी र उसकी श्रीमती सुते र अर्को खाटमा इर्कुत्सबाट आएकी केटी । म कोठाबाहिर निस्केर चुरोट खान थालेपछि युरी आएर ‘किन नसुतेको’भन्दै हात समात्दै केटी सुतेको खाटनिर लगेर बसाल्यो र आफू सुत्‍न गयो ।

म खाटमा एकातिर दुवै खुट्टा झारेर बसिरहें । पछि केटीले नै सुत्‍न बारम्बार मलाई भनी । म कोल्टे फेरेर सुतें तर अत्यन्त उकुसमुकुस अनुभव गरिरहें । केटी पूरै टाँस्सिएकी थिई । आधा घण्टा पल्टेपछि असह्य भई म उठें । केटीले ‘किन उठेको’ भनेर सोध्दा ‘चुरोट खान’ भनेर जवाफ दिएँ ।

म बाहिर आएँ । चुरोट सल्काएँ अनि १० मिनेट पछि बिस्तारै तल ओर्लेर सडकमा आएँ । घडीमा बिहानको ४:३० जति बजेको थियो अनि लुरुलुरु हिँड्दै होस्टलतिर लागेँ ।

(‘समीक्षा’ पत्रिकामार्फत लामो समय पत्रकारिता गरेका दीक्षितको संस्मरण पुस्तक ‘मेरा जीवनका कथा’बाट । यो पुस्तक मञ्जरी प्रकाशनले बजारमा ल्याएको छ ।)

म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँ हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनु हुन्थ्यो

पेमाला गुरुवाचार्य | मंसिर २०, २०७७

प्रेमको सुरुवात, भेटघाट र विवाह  त्यतिखेर म दार्जीलिङको गभर्मेन्ट कलेजमा पढ्थेँ र क्यासल्टन कटेजमा ...

ध्वनि

चे शंकर | मंसिर ६, २०७७

दृश्य १ झिसमिसे बिहानी । कुहिरोले गर्दा रंगमञ्चमा आकृति अस्पष्ट देखिन्छ । मञ्चको दायाँ भागमा मक्किसकेको ...

तन्द्रादेखि चंगासम्म : जहिल्यै आजै हो अन्तिम लाग्‍ने

दिपेन्द्र अधिकारी | मंसिर ६, २०७७

स्थानीय तहले विद्यालय खोल्ने नीतिगत निर्णय गरिरहँदा त्यसको केही दिन अगाडि मात्र शिक्षा, विज्ञान तथा प्रविध...