बालकृष्ण समको ११९औँ जन्मजयन्ती
आफ्नी भित्रिनीसँग अनुचित प्रेमसम्बन्ध जोरेको भनी बाबुबाटै समलाई विष
विविध भौतिक साधन र सुविधाले सम्पन्न सम्भ्रान्त राणापरिवारमा जन्मेका हुनाले बालकृष्ण सम (त्यतिखेर शमशेर) को बाल्यकाल सामान्यतया सुखद थियो । उनको पालनपोषण एवम् शिक्षादीक्षाको प्रबन्धमा कुनै कमी थिएन । तापनि बालक सम मानसिक रूपले दुःखी थिए । उनले जीवनको सुकुमार तथा संवेदनशील प्रहरमा नै केही दुःखद र त्रासद घटनाको अनुभव पाएका थिए ।
समले धाईको दूध छुटाइएको घटनालाई आफ्ना जीवनमा पहिले बजे्रको सबभन्दा ठूलो चोटका रूपमा सम्झना गरेको देखिन्छ । आमाको दूध नखुवाइने गरिएको र धाईको दूध पनि सानैमा छुटाइएको हुनाले समको बालमनमा गहिरो प्रभाव परेको देखिन्छ । वृद्धावस्थामा आएर उनले यस घटनालाई विघ्न महत्त्व दिँदै सम्झना गरेका छन् ।
सम दश वर्षको उमेरमा पुग्दाको कुरा । उनका बाजे डम्बरशमशेरकी सुसारे पार्वती भन्ने केटी घरकै डोले ज्ञानवीरसँग भागिन् । दुवैलाई पक्रेर ल्याई डम्बरशमशेरका आज्ञाले दुवैका पिँडौँलामा निर्घातसँग कोर्रा बर्साइयो । यो क्रुर घटना घटेको थियो । यस त्रासद र करुणाजनक घटनाबाट बालक सम कति प्रभावित भएका थिए भन्ने कुरो यसलाई ‘प्रेमपिण्ड’मा प्रयोग गरिएको छ भन्ने उनकै सूचनाबाट थाहा पाइन्छ ।
यसै उमेरमा एक दिन सम दाज्यू पुष्करशमशेर र फिस्टेसँग मिलेर तस्वीर छाप्ने कागतका टुक्राहरू लिई जताततै छाप्तै दौडादौड गरिरहेका थिए । पण्डित तिलमाधव देवकोटा उनीहरूलाई पढाउन भनी भुइँ बैठकमा आइसकेको कुरो उनीहरूलाई पत्तै भएन ।
चियाएर हेरिरहेका डम्बरशमशेरले किन पढ्न नगएको भनी सोध्न पठाउँदा उनीहरूले पण्डितजी आउनुभएको छैन भन्ने जवाफ दिएर पठाएछन् । यसमा झुटो बोलेको मानी कुनै घरायसी कारणले क्रुद्ध भएका डम्बरशमशेरले तीनै नातिहरूलाई बेतको छडीले बेसरी चुटेछन् । यो घटना घटेको दिनलाई पनि समले कहिल्यै बिर्सन नसकिने दुर्दिन मानेको देखिन्छ ।
यसरी कुटाइ खाएकै राती आफ्ना नानी (बालकृष्ण) लाई कुटेकामा डम्बरशमशेरसित ज्यादै रिसाएकी बूढी दिदी (गुनकेसरी द्वारे)बाट समलाई रणोद्दीप सिंहको हत्याकाण्ड र त्यसमा आफ्ना बाजे (डम्बरशमशेर)को भूमिकाबारे जानकारी प्राप्त हुन्छ ।
आफ्ना बाजे ज्यानमारा हुन् भन्ने थाहा पाउँदा सममा त्यसको प्रभाव कति गम्भीर रूपमा पर्दछ भने उनको त्यो रात भयानक सपनामा बित्छ । यी सबैको गहन प्रभाव परेका सम दाज्यूका तुलनामा आफूलाई बाजे-बज्यैको स्नेह कम मात्रामा प्राप्त भएको अनुभवबाट सर्वाधिक रूपमा मानसिक स्तरमा प्रपीडित र कुण्ठित थिए । यो कुरा उनका यी पंक्तिहरूले अभिव्यक्त गर्दछन्, ‘दाइ बालक कालमा रोगी थिए, उसमाथि जन्मैदेखि उनका दाहिने हातखुट्टा शिशुपक्षवातले साहै लुला र कमजोर थिए, साथसाथै उनी दूधजस्तै सेता, खेलाउन रहरलाग्दा थिए । त्यसैले हाम्रा बाजे बज्यै दुवै जनाका उनी प्राणभन्दा प्रिय थिए, म बलियो बाङ्गो संझिएर उनलाई विशेष पुलपुल्याउन हेला गरिएको थिएँ ।’
पुष्करशमशेरलाई खुसी पारी ठूलो देखाउन बाजेबज्यैले आफूलाई ‘आची’ उपनामले डाक्ने गरेको कुराले त बालक सम मर्माहत नै भएका थिए । उनकी ‘बूढी दिदी’ले वर्षौसम्म झगडा गरी उनको यो उपनाम नामेट गराएकी थिइन् । तापनि बज्यै परोक्षमा उनलाई यसै नामले सम्बोधन गर्दथिन् ।
बाजे बज्यैको यसै व्यवहारबाट सममा लघुताभास उत्पन्न भएको बुझिन्छ । बालक समले यी व्यक्तिगत कटु अनुभवबाहेक आफ्ना घरमा घटित अनेक मृत्युघटनाहरूको अनुभव पनि पाएको देखिन्छ । पहिले उनकी आमा जस्ती ‘बूढी दिदी’ मर्दछिन् । त्यसपछि उनकी काकी र बज्यैको देहान्त हुन्छ । यति मात्र नभई बालसखा गोप्रसाद र बुबुका छोराका निधनको दुःखद् अनुभव पनि उनलाई हुन्छ ।
उनले ‘बूढी दिदी’का स्मृतिमा ‘एक प्रभात–स्मरण’ (वि.सं.१९७६/७७) र बज्यैका स्मृतिमा ‘आर्यघाट’ (वि.सं. १९७८) लेखेको देखिन्छ । तर उनी ‘बूढी दिदी’का मृत्युबाट बढी प्रभावित भएका हुन्छन् । अरूका अपमान र ताडनाबाट बचाउने र सिहारसुसार गर्ने अनि आफूलाई अरूभन्दा ठूलो बन्न खूब पढ्ने र सिक्ने प्रेरणा दिने ‘बूढी दिदी’को असामयिक मरण बालक समका निम्ति अपूरणीय क्षति थियो र दुःखान्तीय पीडाको चर्को अनुभव थियो ।
००००
युवावस्थामा पाइलो हाल्नासाथ विवाहित भएका बालकृष्ण समलाई विवाहको एघार महिनापछि पुत्रप्राप्ति हुन्छ । तर ती पुत्र जन्मेको केही क्षणमा नै मर्दछन् । त्यतिखेर सम म्याट्रिकको जाँच दिन कलकत्ता गएका हुन्छन् र यो दुःखद् समाचार उनलाई उहीं प्राप्त हुन्छ । पुत्रशोकको यस घटनाबाट उनी निकै व्यथित हुन्छन् । घर फर्केको केही दिनपछि त्रिसट्ठी वर्षका उमेरमा बाजे डम्बरशमशेरको एक पुत्र जन्मँदा सम र उनकी श्रीमती (मन्दाकिनी सम) आफ्ना मृत पुत्रलाई सम्झी शोकमग्न हुन्छन् । सम पत्नीलाई गीतामा प्रतिपादित आत्माको अमरताको सिद्धान्त सुनाएर आश्वासन दिन खोज्दा जब उनको चित्त बुझाउन असमर्थ हुन्छन् तब उनी दार्शनिक चिन्तनमनन गरी यस निष्कर्षमा पुग्दछन् :
सुनें, देखें, परें, भोगें सब सन्देहपूर्ण छन् ।
खालि निश्चय यो माने जन्मने जति मर्दछन् ।
समयले यसै दुःखान्तीय अनुभवका मानसिकतामा ‘मिलीनद’ र ‘तानसेनको झरी’ जस्ता प्रारम्भिक दुःखान्त नाटक लेखेको देखिन्छ । प्रथम पुत्रको मृत्यु भएको आठ महिना पनि नबित्तै समका द्वितीय पुत्रको जन्म हुन्छ तर ती पनि दुई घण्टा बाँचेर मर्दछन् । यस्तो दुःखद घडीमा प्रेमपूर्ण दाम्पत्य जीवनमा डाहा गर्नेहरूले टुनामुना गरी समलाई सुसारे अमिनासँग फंसाएर बिगार्ने अनि सुकाएर मार्ने षड्यन्त्र रच्तछन् तर आरम्भमा नै रहस्योद्घाटन भएकाले त्यो षड्यन्त्र विफल हुन्छ । यस किसिमको अन्धविश्वासमा विश्वास नभए पनि आहारिसेहरूको नियत र कुचेष्टा देखेर सम निकै व्यथित हुन्छन् ।
मैले पढ्न नपाएको भोको हृदय पढाएर भर्न खोजें ।
पुष्करशमशेर बाबुसित छुट्टिदा बालकृष्ण समको कोठा उनका भागमा पर्न जान्छ र बालककालदेखि आफू बस्तै आएको कोठा उनले (समले) दाजुका निम्ति छोड्नुपर्छ । भावुक र सम्वेदनशील नवयुवक सम यस घटनाबाट प्रपीडित हुन्छन् ।
यस्तैमा समको जीवनमा यस्तो घटना घट्तछ जसले उनको औपचारिक शिक्षाको इतिश्री गरिदिन्छ । उनी जतिखेर आईएससीको द्वितीय वर्षको पढाइ पूरा गरी वार्षिक परीक्षाको तयारी गरिरहेका हुन्छन्, त्यतिखेर अकस्मात् तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरका हुकुमले उनले तोपको काम सिक्न देहरादुन जानुपर्ने हुन्छ । पढाइ अधूरै छाडी परदेशमा सैनिक तालिममा जोतिनुपर्दा अध्ययनप्रेमी सम खिन्न र उदास हुन्छन् ।
त्यस बेलाको आफ्नो मानसिक अवस्थाको चित्रण उनले यसरी गरेका छन्, “भैरव अगिल्तिरको बोकोजस्तै म पर्सिएँ । पर्सिपल्टै कप्तानी तानाबाना र खाकी लुगा लगाएर आठ महिनाकी गर्भवती स्वास्नीलाई घरमै छोडेर सारा पढाइ, रासायनिक, भौतिक विज्ञानका तथा अरू सब पुस्तकसाथै बीए, एमएका सुन्दर सपनाहरूलाई तिलाञ्जलि दिएर म नयाँ अपरिचित बाटो लागेँ ।’
उच्च शिक्षाको धोको पूरा गर्न नपाएका समलाई साथीहरू एमए भएकामा अत्यन्त नरमाइलो लाग्छ र आफ्नो देश र सरकारले एमएका प्रमाणपत्रलाई श्रद्धा गरेको देख्ता पश्चात्ताप हुन्छ । आफ्ना मुटुमा परेको चोटलाई उनी ‘मुटुको व्यथा’ लेखेर निको पार्न खोज्दछन् तर आफू बीए, एम.ए. हुन नपाएको हीनताबोध वा लघुताभासबाट उनलाई त्यतिखेर गएर मुक्ति प्राप्त भएको देखिन्छ जतिखेर एमएको प्रमाणपत्रधारी नभए पनि उनी त्रिचन्द्र कलेज र दरबार स्कुलमा नेपाली पढाउने शिक्षकमा नियुक्त हुन्छन् ।
यस विषयमा उनले आफ्ना अनुभव यसरी पोखेका छन् : “ज्येष्ठ २७ गते सोमबार (वि.सं. १९८७) देखि मैले त्रिचन्द्र कलेजमा पढाउन प्रारम्भ गरें। उही ज्येष्ठ ३१ गते शुक्रबारदेखि दरवार स्कूलमा मलाई फेरि बाल्यकालमा फर्केको आनन्द अनुभूत भयो। वि.सं. १९८१ सालमा लागेको घाउमा यसरी वि.सं. १९८७ सालमा आएर खाटा बस्यो । त्यो अब कुनै बेला दाग छोडेर बिस्तारै सहन सक्तथ्यो । मैले पढ्न नपाएको भोको हृदय पढाएर भर्न खोजें ।’
आफ्ना बाजे ज्यानमारा हुन् भन्ने थाहा पाउँदा सममा त्यसको प्रभाव कति गम्भीर रूपमा पर्दछ भने उनको त्यो रात भयानक सपनामा बित्छ ।
समलाई साहित्यका क्षेत्रमा घटित ‘मकैको खेती पर्व’ र ‘सूक्तिसिन्धु पर्व’ को ज्ञान विद्यार्थी अवस्थामा नै भइसकेको थियो र उनलाई बाबु (समरशमशेर) ले ‘मकै पर्व’को सम्झना गराउँदै बचेर लेख्ने सल्लाह पनि दिएका थिए ।‘गोरखा भाषा प्रकाशिनी समिति’ खडा भएको थियो र प्रकाशनपूर्व कुनै पनि पुस्तकको त्यस समितिबाट जाँच पास गराउनु अनिवार्य थियो । दार्जिलिङबाट ‘मुटुको व्यथा’ लेखिसकेपछि त्यसको प्रकाशन गर्न उनले ठूलो साहस, संघर्ष गर्नुपरेको थियो ।
‘मकैको खेती’ लेखेर कृष्णलाल झ्यालखान परेपछि लुकीछिपी आउने पत्रपत्रिकामा प्रकाशित सूर्यविक्रम ज्ञवाली र धरणीधर शर्माका क्रान्तिकारी लेख र भारतमा चलिरहेको गान्धीको आन्दोलनबारे पद्मदत्त रटौरीद्वारा प्राप्त जानकारीबाट प्रभावित भई उत्तेजित भए । बलि काँप्ने कविता लेख्न चुलबुलाएका सम नेपालको तिनताकको सास बन्द गरिदिने परिस्थितिमा उकुसमुकुस अनुभव गर्दै थिए । यसरी उकुसमुकुसिएका युवा साहित्यकार समको उत्तप्त चेतनाले त्यस समयको वातावरणलाई पदपदमा आलोचना गरिरहन्थ्यो तापनि चन्द्रशमशेरको दाह्रीले बराबर उनका कलमलाई अल्झाएर अघि सर्न दिँदैनथ्यो ।
चन्द्रशमशेरको अग्निबाण जस्तो हेराइले उनको (समको) कलमका टुप्पामा रसाइसकेको मसीलाई पनि सुकाइदिन खोज्दथ्यो । चन्द्रशमशेरको अनुदार र कठोर शासनमा अभिव्यक्तिको संकट अनुभव गरिरहेका बालकृष्ण सम भीमशमशेरको क्रुर र तानाशाही शासनमा अस्तित्वकै संकटबाट समेत त्रस्त हुन जान्छन् र भीमशमशेरकै पालामा भएको राजनैतिक षड्यन्त्र र ‘लाइब्रेरी पर्व’बाट गम्भीर रूपले प्रभावित हुन्छन् ।
आफूप्रति विशेष सदय र सहानुभूतिशील रहेका जुद्धशमशेरको शासनकाल समका निम्ति निकै अनुकूल रहे पनि निजका प्रधानमन्त्रित्वका समयमा नै वि.सं. १९९७ मा भएको ‘सहिदपर्व’ले भने उदारतावादी र देशभक्त समलाई आन्तरिक रूपबाट व्यथित पारेको देखिन्छ । यति मात्र नभई वि.सं. १९९८ मा परिस्थितिवश आफैले कुरा लगाउनाका कारणले जुद्धशमशेरका हुकुमले झ्यालखान परी क्षयरोगले ग्रस्त भएर मर्ने प्रजातन्त्रवादी नवयुवक लक्ष्मीनन्दन चालिसेको दुःखान्तबाट समले ठूलो विषाद र आत्मग्लानिको अनुभव पनि गर्नुपरेको देखिन्छ ।
बीए, एमएका सुन्दर सपनाहरूलाई तिलाञ्जलि दिएर म नयाँ अपरिचित बाटो लागेँ ।
यी कटु अनुभवहरूका साथै समले युवावस्थामा आफ्नो परिवारमा दाजुसितको मात्र नभएर जन्मदातासँगको सम्बन्धमा समेत कटुता र तिक्तता आएको नमीठो एवम् कष्टकारी अनुभूतिका ज्वालामा पिल्सिनुपरेको देखिन्छ । समरशमशेर ईर्ष्यालु थिए र उनी आफ्ना छोरा बालकृष्ण समसित पनि ईर्ष्या गर्दथे भन्ने समकै भनाइबाट थाहा पाइन्छ । यी दुई पितापुत्रमा घरकी एक केटीसँगको प्रणयसम्बन्धलाई लिएर ज्यादै नराम्रो टक्कर परेको बुझिन्छ । यस प्रसङ्गलाई लिएर समरशमशेरले बालकृष्ण सममाथि आफ्नी भित्रिनीसँग अनुचित प्रेमसम्बन्ध जोरेको शङ्का गरी यो कुरा शासकहरूसमक्ष पुयाएको र पुर्पच्छे हुँदा त्यो आरोप असत्य ठहरिएकाले बालकृष्ण समलाई दोषमुक्त गरिएको चर्चा पाइन्छ ।
समरशमशेरले बालकृष्ण समका निवासमा जाने पानीका धारामा विष हाली उनलाई सपरिवार मार्ने उद्योग गरेको जुन टिपोट समले आफ्ना दैनिकीमा गरेका छन् सायद यो त्यसै प्रेमप्रसङ्गको शङ्काले उत्तेजित भएर समरशमशेरद्वारा छोराको विरुद्ध गरिएको प्राणघाती दुष्कर्म थियो ।
०००
सम प्रौढावस्थामा आइसकेपछि अर्थात् उनी चालीस वर्षका भइसकेपछि देशमा राणाविरोधी भावना बढ्दै जान्छ र यसको असर उनमा पर्दै जान्छ । वि.सं. २००७ मा उनी आफ्नो परिवारका केही सदस्यसाथ राणातन्त्रका विरोधमा भइरहेको क्रान्तिमा सहभागी हुन जुलुस लिएरसडकमा निस्कन्छन् र झ्यालखाना पर्छन् । उनका साथ जुलुसमा भाग लिने न्हुछेमान पुलिसको प्रहारले मारिन्छन् । राणाशाहीको पतनपछि झ्यालखानाबाट मुक्त भएका बालकृष्णशमशेर जबरा न्हुछेमानको बलिदानबाट अत्यन्त प्रभावितसमेत हुन्छन् र आफ्ना नाममा लागेको ‘शमशेर जबरा’ त्यागी आफ्नो थर ‘सम’ राखेर साधारण नेपालीका रूपमा प्रजातन्त्रको स्वागत गर्दछन् ।
०००
समको वृद्धावस्था पनि जति सुख, सन्तोष र शान्तिले पूर्ण हुनुपर्दथ्यो त्यस्तो देखिँदैन । वि.सं. २०१८ मा राजनीतिक कारणले ज्वाइँ मारिएको र छोरी रश्मिराज्यलक्ष्मीले पतिको सती जान आत्महत्या गरेको दारुण शोकको अनुभव उनले गर्नुपरेको देखिन्छ । यस्तै उनलाई आफ्ना एक मात्र छोरा जनार्दन समकी धर्मपत्नीको असामयिक निधन हुँदा पुत्रवधूको शोक पनि पर्छ र उनले बाँचुन्जेल आफ्ना प्यारा छोराले पत्नीका विरहमा व्याकुल भई अत्यधिक सुरासेवन गरेर फियो जलाउँदै शारीरिक तथा मानसिक पीडासाथ जीवन बिताइरहेको कष्टप्रद अनुभव गरिरहनुपरेको देखिन्छ ।
(११९ वर्षअघि आजकै दिन माघ २४ गते नेपाली नाटक र कविता विधामा स्थापित साहित्यकार बालकृष्ण समको जन्म भएको थियो । यो अंश ‘समको दुःखान्त नाट्यचेतना’बाट लिइएको हो । यो उपाध्यायको पीएचडी शोधमा आधारित पुस्तक हो । यहाँ छापिएको खण्डमा परेका सबै सन्दर्भसाग्री पुस्तकमै पढ्न सक्नुहुनेछ । सबै जिज्ञासा यहीँ मेटाउन खोज्नुभन्दा साझा प्रकाशनबाट प्रकाशित उपाध्यायको पुस्तक पढ्न सक्नुहुन्छ । धेरै स्रोत त समको आत्मकथा ‘मेरो कविताको आराधन’ नै हो । उपाध्यायका ‘नेपाली नाटक तथा रंगमञ्च ः उद्भव र विकास’, ‘दुःखान्त नाटकको सिर्जन परम्परा’, ‘प्रतिनिधि नेपाली एकांकी ः विश्लेषण र मूल्यांकन’, ‘रिमाल ः व्यक्ति र कृति’जस्ता पुस्तक प्रकाशित छन् ।)