सप्ताहन्त

अर्काइभबाट:

एक्लै, निर्विकल्प एक्लै !

कृष्ण शर्मा |
चैत १४, २०७७ शनिबार ६:३७ बजे

सन् असीको दशकको सुरुवातमै हजुरबुबाको देहान्त हुँदा म करिब दश वर्षको मात्रै थिएँ । म र मेरो भाइ सुशीललाई मलामी जान दिइएको थिएन । कारण, घामको किरणझैँ स्पष्ट थियो । बुबाआमाको नजरमा हामी जीवनको त्यो कठोर अन्त्य देख्नका लागि नितान्त कलिला थियौँ । यति कलिला कि आमाको मन न हो, हजुरबुबा बितेको तेस्रो दिनदेखि नै हामी सबै बच्चाहरूलाई लुकाईलुकाई तरकारी र दालमा सिधे नुन राखेर दिन थाल्नुभएको थियो ।

आशौचका बाह्रौँ र तेह्रौँ दिन अन्य सदस्यका लागि अघिल्ला दिनहरू जस्तै शोकपूर्ण थिए होलान् तर म र भाइ जस्ता यायावरका लागि भने एक हिसाबले उत्सवमय थिए । हामी दुवै घरमा आउने नयाँ पाहुनाहरूसँग रमाउने भएकाले ती दिन हाम्रा लागि हामीले के गर्न जानेका छौँ र के गर्न सक्छौँ भनेर देखाउने अवसर बनेका थिए । 


त्यसमाथि पाहुनाहरूले बुबाहरूसँग धेरै कुरा गर्न नपाउने भएकाले हामीसँग कुरा गर्न, हाम्रो अध्ययनबारे सोध्न ती पाहुनाहरू हामीसँगै नजिकिन्थे । अहिले जस्तो भए सम्भवतः उनीहरू टेलिभिजन वा सेलफोनमा झुण्डिरहेका हुन्थे र हजुरबुबासँगका तस्बिर फेसबुकमा सेयर गरिरहेका हुन्थे । र, हामी पनि उनीहरूलाई सायद वास्तै गर्दैनथ्यौँ होला । हाम्रो समय पनि फेसबुक वा इन्स्टाग्राम वा स्न्याप्चाट वा ट्विटरले चोरिसकेको हुन्थ्यो होला ।
त्यसको करिब पाँच वर्षपछि मावली हजुरबुबा बित्नुभयो । त्यसताका हामी नौ कक्षामा पढ्थ्यौँ । उहाँको मलामी जाँदा पनि मैले मृत्युलाई भयानक घटनाको साटो रोमाञ्चक ठानेँ । त्यो किन पनि भएको थियो होला भने, हजुरआमाले मृत्युपछि स्वर्ग गइन्छ भनिरहनुहुन्थ्यो । हजुरआमाको वचनले हाम्रो कलिलो चेतनामा गहिरो छाप नछोड्ने कुरै थिएन ।

सानैदेखि यात्राको पारखी भएकाले हुनसक्छ, मानिस स्वर्ग जाने अवसरको अवलोकन गर्न पाउने कुरालाई म कसरी अरोमाञ्चक ठान्‍न सक्थेँ र ?  मावली हजुरबुबाको अस्थि जलेर धुवाँ आकाशमा उठ्दै गर्दा मैले उहाँको आत्मा उडेर स्वर्ग गइरहेको सम्झेको थिएँ । कठै, त्यो मेरो बाल-बुद्धि !

म जुन गतिमा शारीरिक र मानसिक रूपमा हुर्किदै गएँ, लगभग त्यही रफ्तारमा मृत्युबारे मेरा विचार छेपारो जस्तै सल्बलाइरहे । बिस्तारै-बिस्तारै, घस्रिँदै-घसिँ्रदै जताततै पुगिरहे । मत बदलिरहे । मनलाई अस्थिर बनाइरहे । हिजोका मतहरूको निर्मम हत्या गरे, त्यसपछि अर्कै मतलाई क्रमशः ताज पहिर्याइरहे । त्यसैले हुन सक्छ- मृत्युबारे मनभित्र मत बाझिएको क्षण म अझै पनि दिक्दारीसहितको रोमाञ्चक चुनौती महसुस गर्छु ।

त्यो त्यही समय थियो, जतिबेला म मृत्युलाई आफू जस्तै एउटा पात्र मात्र पनि सम्झन्‍नथेँ । डराउने त झन् कुरै भएन । त्यो समयमा मैले यति बेगवान जिन्दगी बाँचे कि मृत्यु कोसौँ पछाडि पर्थ्यो । कहिलेकाहीँ दौडेर ऊ मेरो सामुन्‍ने आउँदा मैले तुरुन्तै अर्को बाटो फेर्थें अनि ऊ फेरि पनि पछाडि पर्थ्यो । मैले महसुस गरेको थिएँ पटक पटक मृत्यु मेरो जीवनदेखि लोभिएर म बाँचेको भंगिमा हेर्न भंगालाहरूमा कुरी बस्थ्यो । जब उसले महसुस गर्थ्यो कि म अरु जस्तै उसलाई कुरेर बस्नेमध्येको थिइनँ, ऊ मविरुद्ध थप ईर्ष्यालु हुन्थ्यो ।

जीवन न हो- आश्चर्यहरू दिइरहन्छ । कुमालेको चक्रमा घुमाइरहन्छ । दृष्टिभ्रममा भुलाइरहन्छ ।

स्कुल क्याम्पसमा नेपाली र अंग्रेजी साहित्यको विद्यार्थी भएकाले कक्षा उक्लिनकै लागि पनि जीवन जस्तै मृत्युबारेमा धेरै पढ्ने र लेख्ने काम भयो, जुन आजभोलि व्यर्थै पढेर समय खेर फालेजस्तो लाग्छ- मेरी अर्धाङ्गिनीले भने जस्तै । एमए पढ्दाताका मित्रहरू - गोपी र थानेश्वर सापकोटा - सँग रक्सी पिउँदै आत्महत्यामार्फत जीवन उत्सर्ग गरी मृत्युको मजा लिने योजनासमेत बन्यो । त्यो लहडी योजना कसरी तुहियो, थाहा भएन तर आज सम्झँदा खुसी लाग्छ - धन्य ! त्यो योजना हामीलाई मार्नुअघि नै तुहिएछ । अन्यथा, आज कसरी त्यसबारे रोमाञ्चित हुँदै यसरी विस्तारमा लेख्न पाइन्थ्यो ?

सम्झना भएसम्म, मेरा आफ्नालाई खोसेर मबाट टाढा कतै लैजाला कि भनेर म मृत्युसँग एक पटक मात्र डराएको छु । हजुरआमा मोटरगाडी दुर्घटनामा परेपछि डाक्टरले खतरामुक्त नभन्दासम्म मेरो कलिलो मनले उहाँलाई बचाउन हजारौँ पटक ईश्वरलाई अनुरोध गरिरह्यो । यद्यपि, म त्यति धार्मिक थिइनँ । ईश्वर छन् भन्‍ने कुरामा एकदमै विश्वस्त पनि थिइनँ, त्यो समयमा । स्नातकोत्तरको विद्यार्थी थिएँ । फ्रेडरिक नित्सेको सन् १८८४ मा प्रकाशित ‘जराथ्रुस्त’ नामक पुस्तक कनीकुथी पढ्दै थिएँ जसमा भगवान्को मृत्यु भएको घोषणा गरिएको थियो । बूढामावली-काकाहरूसँग बस्थेँ । भुवन काका रुसबाट सिभिल इन्जिनियरिङ गरेर भर्खरै फर्कनुभएको थियो । भूत, प्रेत, भगवान् सब मिथ्या हुन भन्‍नुहुन्थ्यो । कम्युनिस्ट दर्शनसम्बन्धी उहाँका व्याख्यान सुनेको पनि धेरै भएको थिएन । तर जब घटना-दुर्घटना आफ्ना टाउकामा बजारिन्छन्, पढाइ र दर्शनका कुराले खासै अर्थ राख्दा रहेनछन् । ईश्वर थिए र मैले गरेको पुकार सुनेपछि बचाए वा हजुरआमाको आयु लामो थियो, दैव (छन् यदि कतै भने) ले नै जानून् । 

मोटर दुर्घटना हुँदा उहाँ ७४ वर्षकी हुनुहुन्थ्यो । १०३ वर्ष बाँचेर २०१५ मा उहाँको आत्माले शान्तिपूर्वक देहत्याग गर्यो । त्यतिबेलासम्म त म मृत्युलाई हत्केलामा राखेर स्वयंलाई उडाउने र उतार्ने भइसकेको थिएँ । अमेरिकाका करिब ४३ राज्य र अनगन्ती सहरहरूमा जागिरको सिलसिलामा सयौँ पटक विमान चढ्दै-उत्रँदै गर्दा दुर्घटनामा परुँला कि भन्‍ने भयले कहिल्यै छोएन ।

भदाहा दाजु प्रेम खनाल कोरियाबाट फर्केपछि बुटवल जाँदा फे...रि अर्कोपल्ट नराम्ररी बस दुर्घटना भएको थियो । रातको समयमा नवलपरासीको चोरमारा नजिकै ओरालो जङ्गलमा बस पल्टिँदा म निद्रामा थिएँ । जाग्नुअघि नै मैले होस गुमाएको रहेछु । सख्त घाइते भएर पनि मैले मृत्युसँग लड्ने सामर्थ्य भने गुमाएको रहिनछु । मलाई कारण थाहा छैन तर म मर्दिनँ भन्‍ने कुरामा शतप्रतिशत निश्चिन्त थिएँ । कोही नजिकैको मान्छे आफ्नै साथमा छ भने त्यो उमेरमा मृत्यु गौण बन्दोरहेछ जस्तो लाग्छ अहिले । घाउ गहिरो थियो, रगत निकै बगेको थियो तर म तलाउको जलजस्तै शान्त थिएँ । मनमा म बाँच्न पुगेकै छैन भन्‍ने हुटहुटी थियो । प्रेमले पछि त्यो घटनाबारे भन्थे, ‘साला तँ त मर्छस् जस्तै लाग्या थियो, बाँचिस् यार ।’

मृत्युसँगका मेरा सानातिना साक्षात्कारहरूले सधैँ सधैँ मलाई दोहोरो व्यक्तित्वमा फसाइरहे । मृत्युसँगका त्यस्तै साक्षात्कारका कारणले नै मैले जीवनलाई अलि बढी माया गरेको हुनुपर्छ । तर अहिले जब म स्वयंलाई ऐनामा हेर्छु र देख्छु, यी तिलचामले केश, यी हिउँ जस्ता दाह्री र देख्छु नाकका दुबै पोराको नजिकबाट चिउँडोसम्म अँजुलि बनाउँदै गएका र केही बाक्लिँदै गरेका धर्सा अनि लाग्छ का...स यी धर्सा समानान्तर मात्रै भइदिएका भए ! अनि हेर्छु, अलिक अगाडि खिचिएका ती तस्बिर जसमा समयले निर्दयतापूर्वक वक्ररेखा खिच्ने मौका पाएकै थिएन । कठै, बल हुँदा मृत्युलाई कैद मात्रै गर्न पाएको भए !  

मान्छे मर्दा कसरी शरीरभित्रको श्वास अचानक हावा बन्छ र मर्नेका लागि त्यही हावा श्वास बनेर पुनः मानिसभित्र जान किन सक्दैन भन्‍ने आम जिज्ञासामा अचेल म रुमल्लिरहेको छु । पल कलानिथिको २०१६ मा प्रकाशित ‘ह्वेन ब्रेथ विकम्स एयर’ नामक २५६ पेज लामो विश्वप्रसिद्ध पुस्तक र मृत्युदर्शनसम्बन्धी अन्य अनेक पुस्तक पढिसक्दा पनि म अनुत्तरित छु । कस्तो मूर्ख म ! नमरी कसरी स्वर्ग देखिन्थ्यो ?

म आज सम्झँदा पनि छक्क पर्छु, प्राणले हजुरआमाको शरीर छोड्दाको क्षणको कुरा सुन्दा । बुबाले भन्‍नुहुन्थ्यो- त्यो बिहान हजुरआमाले तुलसीको मैरो नजिक गुन्द्री बिछ्याउन भन्‍नुभयो । त्यहाँ सुतेर छोराछोरी, नातिनातिना, पनातिपनातिना, खनातिखनातिना सबैका नाममा जल पिउनुभयो । त्यसपछि उहाँका आँखा सधैँका लागि शान्तपूर्वक बन्द भए । इच्छामृत्युजस्तो - कस्तो सजिलो मरण - राष्ट्रकवि माधव घिमिरेले आफ्नो मृत्युका लागि भनेर कवितामा उनेर राखेको मालाजस्तो !

यसबीचमा बागमती वा त्यस्तै थुप्रै नदीनालाका जलले धेरै मानिसको अस्तु आफूसँगै समाहित गरेर लग्यो । धेरैका मृत्युका खबर वायुमण्डलमा घुमिरहे । धेरै पटक मलामी जानुपर्‍यो । बाजेको पुस्ता सकियो । बुबाको पुस्ता पनि आधाउधी सकिएको हुनुपर्छ । आफ्नै पुस्ताका केही नाम इतिहास हुँदासम्म पनि मृत्युलाई सहज बनाउन सकिएन भने अन्त्य भयङ्कर हुन्छ भन्‍ने कुरामा म द्विविधा देख्दिनँ । हृदयमा कतै लुकिरहेको मृत्युप्रतिको बाँकी भयलाई कोरोना कहरले सोहोरेपछि म निश्चिन्त छु कि अब म रुन्‍न । आँसुका थोपा परेलाको डिलमा टल्पलाउन्‍नन् । मुटुले ठाउँ छोड्दैन । स्वासले गलामा आएर हड्ताल गर्दैन । दिल र दिमागबीच मत बाझिदैन । कोभिडले जीवनलाई क्षणभंगुर प्रमाणित गरिदिएपछि त द्विविधा पाल्नु मूर्खताबाहेक केही होइन भन्‍नेमा अब म विश्वस्त छु । 

सिंगो विश्व विविध प्रकारका कोरोना भाइरस संक्रमण र मृत्युका आँकडाहरू केलाइरहेको छ । सञ्चारमाध्यमहरूले तिनै आँकडालाई यसरी उपयोग गरिरहेका छन्, मानौँ मृत्युले उनीहरूलाई आफ्नो दूतका रूपमा नियुक्त गरेको होस् । मलाई त कहिलेकाहीँ दिक्क पार्छन् भने यस्ता समाचारले मृत्यु नबुझ्‍ने र डराउनेहरूका लागि कति त्रासको वातावरण सृजना गराउँदा हुन् ?

बिहान कफीसँगै आफँैले कुनै समय काम गरेको ‘दि वासिङ्टन पोस्ट’का पाना पल्टाउँछु । त्यसका पेज पनि मृत्यु दंशबाट भरिएको देख्छु । सायद महामारीको समयमा मृत्युकै राज हुन्छ । पहिलो अनि दोस्रो विश्वयुद्धको समयमा पनि यस्ता पत्रिकाहरू यसरी नै मृत्युदूत भएथे र नारीहरूले सायद तिनैले आफ्ना सिन्दूर पुछेथे...। 

दोस्रो वेभमा छिमेकसम्मै आयो कोरोना । साताको एक पटक मात्रै अति आवश्यक सामान किन्‍न बजार जाने ती निक रसेल बूढालाई छोएछ । त्यस दिन कफी किन्‍न आइन्स्टाइन बेगल छिरेका रहेछन् । त्यहीँबाट सरेको रे । अस्पतालमा दुई साता लामो संघर्षपछि हिजो मात्रै अन्तिम श्वास फेरेछन् । म गम खान्छु- ती सधैँ घरमा कालो कफी बनाएर हामीलाई समेत बोलाई सँगै पिउने बूढालाई त्यस दिन कुन लहडले आइन्स्टाइन बेगलतिर लतारेको थियो होला ?

कवि शिरोमणि लेखनाथ पौड्यालले भने जस्तै मृत्यु आउने नै हो, मिति पुगेपछि । तर मैले लाख गम खाँदा पनि नअघाउने भोक चाहिँ के हो भने- त्यो मिति पुग्ने आधार के हो ? बूढा रसेल मिति पुगेरै त्यस कफी पसलमा पगेका थिए त ? ठीक छ उनी बूढा भइसकेका थिए । मैले मानेँ । तर मृत्युले निलकण्ठ चापागाईंकी ती कलिली नौ वर्षे बालिकालाई के आधारमा करेत सर्पको टोकाइमार्फत मिति पुर्‍याइदियो ? जीवन न हो- आश्चर्यहरू दिइरहन्छ । कुमालेको चक्रमा घुमाइरहन्छ । दृष्टिभ्रममा भुलाइरहन्छ ।

प्रेमले भन्थे- साला, तँ त मर्छस् जस्तै लाग्या थियो, बाँचिस् यार ।

म यदाकदा सपनामा ती व्यक्तिहरूसँगको साक्षात्कार देख्छु जो भौतिक रूपमा हामीबीच छैनन् । अस्ति राति हजुरबुबा मेरो सपनीमा आउनुभयो । मौका पाउनासाथ सोधिहालेँ, ‘हामीलाई छोडेर जाँदा कस्तो महसुस गर्नुभएको थियो ?’सायद हजुरबुबाले मेरो चित्त दुखाउन चाहनुहुन्‍नथ्यो । त्यसैले अलिक घुमाएर जवाफ दिनुभयो, ‘बडो सकस भएको थियो तिमीहरूलाई छोडेर, तिमीहरूको आँखा छलेर भाग्नुपर्दाको त्यो क्षण ।’
‘मर्दा भाग्नुपर्छ र ? हजुरआमा त सजिलै जानुभो जस्तो लाग्छ !’

हजुरबुबाको आँखामा चमक आयो । उत्सुकतासाथ सोध्नुभयो, ‘कहिले ?’‘हजुरलाई थाहा छैन ?’हजुरबुबाले भन्‍नुभयो, ‘बल्ल त बिहे गर्ने समय हुँदै छ । खोजेको थिइनँ । तर अब भेटिहाल्छु नि ।’ मलाई बूढाबाजे स्वर्गमा रोमाञ्चित भएको पटक्कै मन परेन । मैले कुरालाई अर्कैतिर लगेको अनुभूति भयो, आफैँलाई सुधारेँ र पहिलेकै मेलोमा ल्याएँ, ‘त्यसो भए अब भन्‍नुहोस्, तपाईं किन हामीलाई सानैमा छोडेर जानुभयो ?’‘तिमीहरूको बुबालाई जिम्मा लगाएर छोडेको हो त !’ बूढाले आश्वस्त पार्दै फेरि उम्किने मौका खोजे ।‘त्यसो भए भन्‍नुहोस्- मर्दा कस्तो अनुभव हुन्छ ?’

‘तेरो सोधिरहने बानी अझै हटेको रहेनछ । अब त आफैँ बुझ्‍ने कोसिस गर्नुपर्‍यो नि ! सधैँ अरुको राय लिएर आफ्नो सोच्ने शक्तिलाई सुत्न दिएर कसरी हुन्छ ?,’ उहाँ दिक्किनुभयो । तर म उहाँ दिक्किनुभएकामा दिक्किरहेको थिएँ । ‘अरु कुरामा पो दिक्क मान्‍नु त ! ... नमरी अनुभव गर्न नसकिने कुरामा पनि खोते थापेर हुन्छ ?’हजुरबुबालाई पश्चाताप भएछ तर्कहीन रूपमा मेरा पाका जिज्ञासालाई निरुत्साहित बनाउन खोजेकामा ।

उहाँ केही भन्‍न खोज्दै हुनुहुन्थ्यो, घडीले बिहानको ६ बजायो र उठ्ने घण्टीले मेरो निद्रासँगै सपनीसमेत भगायो । म सपना टुटेकामा घडीसँग रिसाएँ । ‘अलार्म अन’ गरेर सुतेकामा आफैँसँग रिसाएँ । त्यसलाई बेवास्ता गरेर सुतिरहन नसकेकामा रिसाएँ । तर फेरि महसुस गरेँ, म घडीसँग वा आफैँसँग रिसाउनुको कुनै तुक थिएन ।

साँच्चि, हामी किन यसरी बेतुकका कुरामा यति विधि सधैँ रिसाइरहेका हुन्छौँ ? फेरि मलाई ती बितेका मानिसहरूसँगको लगाव किन ? के म मर्न खोजिरहेको छु ? उनीहरू नजिक जान खोजिरहेको छु ? हो नै वा होइन नै भने पनि यसमा त्यस्तो विधि उपद्रव किन ? गन्तव्य त्यही हो भन्‍ने जान्दाजान्दै पनि यो मनभित्र विद्रोह किन ? डर किन ?

त्यसै दिन बिहान अमेरिकाको न्युयोर्क र ब्राजिलको रियोमा हजारौँको संख्यामा कोरोनाबाट जीवन गुमाएकाहरूलाई पुर्न लहरै खनिएका खाल्डाका वृत्तदृश्य देखाएर टेलिभिजनले मेरो दिक्दारीमाथि दिक्दारी थपिरहेको थियो । ती खाल्डा देखेर मैले माओवादीले नेपाली सेनालाई मारेर पुर्न भनी खनेका पश्चिम नेपालको जङ्गलका खाल्डा सम्झिएँ । कति जीवन पुरिए होलान्, आफन्तको जानकारीविना ? युद्धमा गएकाहरू नफर्किएकामा तिनीहरूका परिवारमा पर्न गएको पीडा सम्झेर धेरै पटक पसिनाले निथ्रुक्क भएको छु म । र, मलाई यो पनि थाहा छ- समयले प्रचण्डलाई गल्ती गरेको महसुस गराई नरुवाउँदासम्म यस्तो पसिनाको अर्थ छैन । 

मलाई स्यामुअल बेकेटको ‘वेटिङ फर गोदो’को याद आउँछ । मलाई बागमती किनारको शान्त वातावरणमा कसैलाई जलाइरहेका आगोका लप्काहरू आ-आफूसँगै लड्दा निस्किएको चिच्याहटले पोल्छ । जति बुझेजस्तो लागे पनि मृत्यु किन सर्पजस्तै पुरानो काँचुली छोडेर मनभित्र आश्चर्यका नयाँ काँचुलीमा बेरिन्छ ? म थप दिक्क हुन्छु । त्यसै दिन साँझ कोरोनाले सहरलाई निल्दै गर्दा म फुत्कने चेष्टाले होइन कि बाँच्नुपर्ने बाध्यताले टाढा कतै पुग्न चार्टर विमान चढ्छु ।

विमान भूतघरजस्तै थियो- आधाभन्दा बढी सिट खाली थिए । पहिला जस्तो रौनक थिएन विमानमा । चकमन्‍न, सुनसान, पुरानो दिल्लीको हवेली जस्तो । साँझको धुमिलोमा विमान रनवेबाट उड्दै गर्दा यस्तो प्रतीत भयो- मानौँ, मलामी जाँदै छु तर आफू पनि कहिल्यै नफर्किने गरी । विमानका पखेटा शान्त थिए तर दिक्दारीले मेरो मनका पखेटा हल्लिरहेका थिए । यसअघि उज्याला, हँसिला देखिने विमान परिचारिकाहरूसमेत निष्प्राण, बुख्याँचा जस्ता लागेका थिए । मास्क लगाएर कफी र पाउरोटी बाँड्दै हिँडेका तिनीहरूलाई मैले ह्यालोविनका किन्‍नरी वा भनौँ मृत्युदूत जस्तै देखिरहेको थिएँ । 

मलाई लाग्यो, म विमानमै बिमार हुँदै छु । मलाई मर्नुपर्ने डरले भन्दा पनि कोरोनाले मृत्युअघि दिने पीडाको भयले सताइरहेको थियो । सायद मेरो मनले सधैँ चाहन्छ, म हजुरआमाको जस्तै शान्त मृत्यु मर्न सकूँ । तर पनि मैले पाउरोटी स्वीकारेँ । एउटै विश्वास थियो- खानाबाट कोरोना सर्दैन र म एक्लै एउटा अभागी सिपाही जस्तै निर्जन जङ्गल वा हिलाम्मे सिमानामा मर्नेछैन । तर जसरी जहाँ मरे पनि मृत्यु त मृत्यु नै हो । दुःख एउटै कुरामा थियो कि म महामारीको अवधिमा मरेँ भने मलामी हुने छैनन् । परिवारले समेत मेरो अस्तु देख्‍न पाउने छैन । तर फेरि सोचेँ- साला...मरे पछि ...राजा । मलामीको अर्थ सायद जिउनेहरूलाई हुन्छ, मरी जानेलाई के अर्थ राख्ला र खै ?

शरीर र मन कमजोर हुँदा बलिया वा सशक्त विचार आउँदैनन् । मलाई पटक्कै मन नपरे पनि विमानभित्र मेरो हालत ठीक त्यस्तै थियो । गए रातिको सपनाको याद आइरहेथ्यो । हजुरआमाको पनि याद आइरहेथ्यो । मरेका मान्छेको मात्र याद आइरहेको थियो, म आकाशमा बत्तासिइरहेको बेला । यति बेलाको हवाइ यात्रा पहिलेको जस्तो थिएन ।

पछिल्लो समयतिर हजुरआमाले भन्‍नुहुन्थ्यो, ‘बितिसकेका मान्छे सपनामा आए भने त्यसको अर्थ आफू मर्ने दिन नजिक आएको हो ।’ सोचेँ, आकाशमै मरिएछ भने पनि ठीकै छ । फेरि सोचेँ, मृत्यु त जन्मेको समयदेखि नै भइरहेको छ भने म किन यति हतास ? यही सोचले अलि त्राण आयो शरीरमा ।

सधैँ अरुको राय लिएर आफ्नो सोच्ने शक्तिलाई सुत्न दिएर कसरी हुन्छ ?

पछाडि कसैले खोक्यो । जहाज हिउँ जस्तै चिसो थियो । सायद उसले न्यानो कपडा ल्याएको थिएन । कोरोनाका कारण आजकाल जहाजले पछ्यौरा बाँड्दैन भन्‍ने थाहा थिएन सायद उसलाई । बाक्लो बादलमा छिरेपछि उम्कने जिजीविषामा विमानले लामै संघर्ष गर्यो । प्रायः सबै यात्रीले मुटु नजिकै हात लगेर आँखा चिम्लिए । सायद आ-आफ्ना भगवान्लाई पुकारा गरिरहेथे, वर्षौं पहिले मैले गरे जस्तै । मैले एकनास प्रेमपूर्वक उनीहरूलाई हेरेँ । थर्थराइरहेका ओठ हेरेँ । सायद बिन्ती गरिरहेका थिए, बाँच्‍नका लागि ईश्वरसँग ।

मलाई अचानक सपनीमा हजुरबुबाले सबै कुरा आफैँले अनुभव गर्नुपर्ने भनेको कुरा याद आयो । मलाई पल कलानिथिको हुट्हुटी याद आयो । अचम्मसँग मैले नचाहँदा नचाहँदै पनि मृत्यु र मरेका मानिस मात्र देखिरहेको, सोचिरहेको थिएँ म । कस्तो निकृष्ट, जल्लाद सोचाइ होला मेरो ? अरुले जीवनका लागि प्रार्थना गर्दै गर्दा म मृत्यु सोचिरहेको थिएँ । अनि, उसैलाई ललकारिरहेको थिएँ ।

तर जब जहाजले बादललाई पछाडि पार्यो र बिस्तारै सन्तुलनमा आयो, मानिसहरूले आँखा खोले । उनीहरूको अनुहारमा यन्त्रवत् चमक आयो । म उनीहरूलाई हेरेर फिस्स हाँसेँ । तर मेरो त्यो हाँसोले मलाई नै गिज्याएको थियो भन्‍ने कुरामा म विश्वस्त थिएँ ।

बडो विषादपूर्ण छ, यो जीवन । पहिले यस्तो लाग्थ्यो- म डराउँदा मृत्यु मलाई जिस्क्याएर खुसी हुन्छ, त्यो शङ्कर भुसालले गाउँका चेलीबेटीलाई जिस्क्याएर खुसी भएजस्तै । मेरो मुटु हत्केलामा आएर गुटुमुटु बस्थ्यो । मृत्यु मेरो आँखाको नानीमै आएर लाखे नाच्थ्यो । जहाजका ती यात्री जस्तै म आँखा बन्द गरेर कहिल्यै नदेखेको, कहिल्यै महसुस नगरेको ईश्वरलाई सम्झन्थेँ । आजकाल म तटस्थ बस्छु । सबै घटनालाई साक्षी भावले हेर्छु । पहिले जुन कुराले छुन्थे, पोल्थे, घायल बनाउँथे, उचाल्ने र पछार्ने गर्थे; आजभोलि ती सबले केही गर्दैनन् । जसरी आउँछन्, त्यसरी नै जान्छन् । सानो खहरे खोलाको जलजस्तै निष्पक्ष रूपमा आउँछन् र शीतल दिएर जान्छन् । 

मलाई ईश्वर हुनु र नहुनुले अब खासै फरक पार्दैन । नित्सेका ईश्वरसम्बन्धी तर्कहरू त्यत्तिकै कुतर्क लाग्छन् जति पण्डितका शिव-महिमा र गरुण-पुराण । ईश्वर छन् भने पनि म उनलाई आफ्नो सहयात्री ठान्छु । समानान्तर यात्रा गर्ने हिम्मत राख्छु । उनले मसँग यात्रा गर्न चाहेनन् भने पनि केही गुनासो छैन । म त्यसरी नै यात्रा गर्छु, जसरी गर्दै आइरहेको छु । एक्लै ! निर्विकल्प एक्लै !


Author

थप समाचार
x