प्रवास

हङकङमा खोटाङका धनराज गुरुङको शंकास्पद मृत्यु भएको परिवारको दाबी

इकागज |
साउन १२, २०७९ बिहीबार २०:४४ बजे

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका घर भइ हाल हङकङ बसिरहेका धनराज गुरुङ मृत फेला परेको घटनालाई परिवारले शंकास्पद मानेका छन् ।

गुरुङ हङकङको किंसपार्कमा ठूलो र अग्लो रुखमा झुण्डिएको अवस्थामा गत ५ असारमा मृत फेला परेका थिए । इभिनिङ वार्कमा निस्किएका गुरुङको मृत्युको कारण स्पष्ट नभएकाले परिवारले घटनालाई शंकास्पद मानेका छ । 


बेलायतमा रहेकी श्रीमतीलाई ४ असारमा अंग्रेजीमा ‘अट्याक्ड’ लेखेर मेसेज पठाएको, मान्छे चढ्नै मुस्किल पर्ने रुखमा झुण्डिएको भनिएको, मृतकका आफन्त पुग्न अगावै शवलाई जमिनमा झारिसकेको, प्रयोग भएको भनिएको डोरी प्रहरीले अनुसन्धानका लागि लगिसकेको भनिएको लगायतका आधारमा परिवारले घट्नालाई शंकास्पद मानेको हो ।

गुरुङ आफैँ पनि ढाडको समस्याबाट पीडित थिए । त्यो अवस्थाको मान्छे रुखमा चढेर झुण्डिएको विषयलाई आफन्तले पत्याएका छैनन् । हङकङ प्रहरीले भने गुरुङको आत्महत्या भएको दाबी गरेको पीडित आफन्तको भनाइ छ ।

गुरुङको शव १० साउनमा काठमाडौं ल्याएर स्वयम्भुमा दाहसंस्कार गरिएको छ । तर, परिवारले उनको मृत्युलाई शंकास्पद ठानेपछि शव बुझ्नुअघि पाथेका समाज काठमाडौंको पहलमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बुझ्न माग गरेको थियो ।

गुरुङको मृत्युको विषयमा नेपाल सरकार र हङकङ सरकारले थप अनुसन्धान र खोज गर्नुपर्ने पारिवारको माग छ ।


Author

थप समाचार
x