प्रवास

नेपाल–भारत संयुक्त सैनिक तालिम सम्पन्न

इकागज |
असोज १७, २०७८ आइतबार १९:४६ बजे

काठमाडौँ – भारतको पिथौरागढमा इन्डो–नेपाल बटालियन लेभल कम्बिनेड तालिम सम्पन्न भएको छ । ४ असोजबाट सञ्चालन भएको उक्त तालिम शनिबार औपचारिक रूपमा सम्पन्न भएको हो ।

उक्त तालिममा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना र भारतीय सेनाका ४ सय जना फौज सहभागी भएका थिए । संयुक्त सैनिक अभ्यासमा विभिन्‍न सैनिक युद्धकला, अभ्यासका साथै विपद एवम् कोभिड– १९ जस्ता महामारीका बेला सुरक्षा फौजको भुमिका आदिबारेमा अभ्यास गरिएको थियो भने सहभागी फौजहरूले आ–आफ्नो पेशागत अनुभव आदान–प्रदान पनि गरेका थिए ।


भारतीय सेना मध्यकमाण्ड सेनापति रथी एसएस महलले अन्तिम प्रवचन गरेको उक्त कार्यक्रममा नेपाली सेनाको मध्यकमाण्ड हेक्वाका कमाण्ड सेनापति उपरथी विनयविक्रम राणा, श्री नम्बर ३ बाहिनी अड्‍डाका बाहिनीपति सहायक रथी कुमारबाबु थापा, दुवै देशका सैनिक सहचारीहरू तथा भारतीय सेनाबाट सहभागि गणका कमान्डिङ अफिसर नितिनकुमार कलदन्ते लगायतको उपस्थिति थियो ।

नेपाली सेना र भारतीय सेनाबीच सम्पन्न यस सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक शीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाको विश्वास छ ।


Author

थप समाचार
x